जो क्यान्सर हुँदा नि गीतमै रमाइन्
तारा थापा, सदाबहार गायिका
‘फूल झरे पनि काँडा झर्दैन’ उनैले गाएको यो गीतको भाव जस्तै छिन् गायिका तारा थापा। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन। फूल जस्तो शरीरलाई बुढ्यौलीले छोइसके पनि काँडा जस्तो तिखो र सुरिलो स्वर भने उनको अझै उस्तै छ। तर, यो स्वरले संगीत र शब्द पाएर श्र्रोताको मनमा च्वास्स छुन नपाएको भने वर्षाैं भयो। गायिका थापा अहिले पनि क्यान्सरले थलिएको शरीरका साथ आराम गरिरहेकी छन्। तर, कतै–कतै सांगीतिक कार्यक्रममा पुग्दा र माइक पाउँदा भने ती सदाबहार गीत गुनगुनाउन हिचकिचाउँदिनन्।
उनीसँग यस्तो पनि अनुभव छ– क्यान्सरको शल्यक्रिया गरेको १८ दिनमै सात वटा गीत गाएकी थिइन्। सात दशक नजिकको उमेरसम्म पुग्दा पनि उनमा ती चर्चित गीत गाउँदाको अनुभव ताजै छ। ‘फूल झरे पनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सय थरी बाजा एउटै ताल’, ‘कलिलो तामालाई सोध रामलाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी। हजार बढी गीतमा आवाज दिएकी उनले पछिल्लोपटक २०७० सालमा गीति एल्बम निकालेकी थिइन्। उनलाई पुरानो गीतहरूको म्युजिक भिडियो बनाउने इच्छा भने अझै छ।
सुगमका साथै लोक ढुकढुकीलाई छाम्ने गीतमा सुमधुर स्वर भर्ने अग्रज गायिका तारा थापाले जीवनका ४३ वटा हिउँद–वर्षाहरू नेपाली आधुनिक तथा लोकसंगीतमा समर्पण गरिसकेकी थिइन्।
२०३५ देखि २०४० सालसम्म संगीत क्षेत्रको उर्वर समय थियो उनको। उनले त्यतिबेला गाएका गीतहरू अहिलेका पुस्ताले उत्तिकै मन लगाएर सुन्छन्। क्यान्सरको अप्रेसनपछि तंग्रिँदै उनले पछिल्ला समय पनि नेपाल, हङकङलगायतका स्थानमा पुगेर आफ्ना कालजयी गीतहरू सुनाइन्। ३० वर्षअघि गाएका पुराना गीतहरू सुनाउँदा सुन्नेहरूले नयाँपन महसुस गरेको उनी अनुभव बताउँछिन्। नेपाली गीत/संगीत जगत्का अद्वितीय नायक गोपाल योञ्जनको संगत, प्रशिक्षण र संगीतमा गाउन पाउनु गौरवको विषय ठानिन्थ्यो। उनले योञ्जनकै संगीतमा थुप्रै कालजयी गीत गाएकी छन्।
२०२८ चैत २८ गते रेडियो नेपालमा सरोजगोपालको शब्द र सीके रसाइलीको संगीतमा पूर्णसिंह नेपालीसँग संयुक्त रूपमा ‘माझी दाइ डुंगा तारिदेऊ...’ बोलको गीत गाएर नेपाली संगीत क्षेत्रमा श्रीगणेश गरेकी उनलाई एकदिन सहपाठी मीरा राणाले डोर्याउँदै पुर्याइन्, गोपाल योञ्जनको डेरामा। त्यतिबेला, योञ्जन पाटन अस्पतालको छेउमा बस्थे। त्यसपछि चिनजान भयो र त्यही समयावधिमा थापाले योञ्जनको संगीतमा गाइन्, ‘तारी नदेऊ हे माझी दाइ माइतीको पाप लाग्ला है।’ अहिले पनि यो गीत उत्तिकै लोकप्रिय छ।
२०३५ साल उनको जीवनमा नौलो मोड बनेर आयो। गोपाल योञ्जनको नेतृत्वमा धेरै चर्चित गीतहरू जन्मिए। उनीसहित कल्याण शेरचन, क्षेत्र गुरुङ, पूर्ण नेपाली, शशि राई र मिथिला शर्माहरूको एउटा समूह नै बन्यो। र, योञ्जनको संयोजनमा ‘कलिलो तामालाई, सोध रामलाई’, ‘काली पनि देखें मैले गोरी पनि देखें मैले’, ‘माछापुच्छ्रे भन्नु मात्रै धौलागिरी अग्ला’, ‘पाँच भाइ छोरा, तीन छोरी’जस्ता चर्चितसमेत गरी आठवटा गीत रेकर्ड भए।
ती गीतहरूले तत्कालीन नेपाली लोकसंगीत क्षेत्रमा अग्रगामी छलाङ नै मारे। त्यही समय उनले योञ्जनकै संगीतमा किनारा भेट्न खोज्दाखोज्दै, रोएर जान्छु आफैं म त, हजुरलाई भनी साँचें सारा जोवनजस्ता हरेकको मुटुको स्पन्दनमा अटाउने गीतहरू गाइन्। जति गाइन्, चर्चाको शिखरमै पुगे ती गीतहरू। र, अहिलेसम्म पनि ती गीतहरूका वजन घटेका छैनन्। उनी अहिले भन्छिन्, ‘मैले राज्यका लागि उल्लेख्य देन दिएकी छु र अब मेरो स्वास्थ्यको पनि राज्यले पनि ख्याल गर्नुपर्छ।’
मवीवी शाहको गीत गाउँदा...
मीरा राणा,सदाबहार गायिका
वरिष्ठ गायिका मीरा राणाको परिचय शब्दले होइन, उनीद्वारा स्वरबद्ध गीत, ‘मखमली चोलो चाहिँदैन...’ ले नै दिन्छ। रेडियो नेपालमा गुञ्जिरहने यो गीतले उनको परिचय दिइरहेको हुन्थ्यो, गीत आउन साथ सबैले भन्थे, ‘ऊ...मीरा राणाको गीत आयो।’ करिब १७ सय बढी गीत गाएकी राणा अहिले ती जमानाको कुरा सुनाउनमै मक्ख छिन्।
२०३५ पुसदेखि रेडियो नेपालमा गीतसंगीतको सेवा उनी कर्मचारीकै रूपमा खटिइन्। सुरुमा सुब्बा पदमा नियुक्त भएकी उनी २०६६ असोजमा मुख्य संगीत प्रबन्धकका रूपमा सेवानिवृत्त भइन्। उनको जन्म २००८ असोज विजया दशमीका दिन काठमाडौंको कमलपोखरीमा भएको थियो। पिता पं. शम्भुप्रसाद मिश्र र माताको निर्मलाको कोखबाट उनको जन्म भएको हो। दाजु, दुई भाइ र बहिनीको साथमा हुर्किएकी उनको घरमै संगीतमय वातावरण थियो।
शम्भुप्रसाद तबलाका ज्ञाता थिए। मीराले भारतको इलाहाबादबाट संगीतमा विशारद गरेकी हुन्। २०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर उनले गीत गाएकी थिइन्। त्यसबेला गीत रेकर्ड हुँदैनथे। विभिन्न भाषा र करिब दुई दर्जन चलचित्र–गीत पनि उनले गाएकी छन्। अहिले उनी यिनै कुरा सम्झिएर र बाँडेर दिन बिताउँछिन्। उनका चार दशक अघिका ती गीतहरू आजसम्म पनि जनमानसको मनमस्तिष्कमा गुञ्जायमान छन्।
आवाजमा उच्चता, भावनाको गहिराइ अनि मिठासमा व्याप्तता र एक फरक प्रस्तुति मीरा राणाको गायकीको विशेषता हुन्। करिब ७० वर्षको उमेर चलायमान रहँदा मीराको गायन अभ्यास र हार्मोनियमको आवाज भने निरन्तर चलायमान छ। पाँच दशक लामो सांगीतिक यात्राको क्रममा १७ सय गीत गाउन सफल उनले नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, उदितनारायण, राम थापालगायतका प्रसिद्ध गायकसँग स्वर दिएकी छन्।
निजामती कर्मचारीको यात्रामा
तीर्थकुमारी थापा,सदाबहार गायिका
‘म त खादिनँ कुवाको पानी...,’ यो गीत नसुन्ने कमै होलान् संगीत मन पराउने दुनियाँमा। हुन त पूर्वराजा वीरेन्द्रले पनि यो गीत धेरै सुनेका थिए रे। हो सबैको मनमा छुने यस्तो गीतमा आवाज भर्ने गायिका हुन्, तीर्थकुमारी थापा।
‘डाँडामामाथि बिहानै,’ ‘ढुंगे बगर,’ ‘बारीको डिलमा ओखरबोट,’ ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ,’ ‘झम्के फुली नाकैमा बुलाकी,’ ‘कति बोलाउँ सुरेली पुग्दैन,’ ‘माछी मारन हो दाइ हो’ जस्ता कालजयी गीतमा उनले स्वर दिएकी छन्। यति उदाहरण दिँदा पक्कै पनि तपाईंलाई लागेको हुनुपर्छ– उनी अहिले के गर्दैछिन् ? गायिका थापा अहिले बेलामौका एकल सांगीतिक साँझमा देखिन्छिन्। पहिलेका सुमधुर गीत गाएर स्रोतालाई लठ्ठ पार्छिन्।
उनीसँग संगीत क्षेत्रका भोगाइ धेरै छन्। पिता हर्षबहादुर सिंह र माता ज्ञानीकुमारी सिंहकी सुपुत्रीका रूपमा तीर्थकुमारीको जन्म २००७ फागुन २३ ललितपुर महानगरपालिकाको सिद्धिपुरमा भएको हो। कलानिधि संगीत महाविद्यालयबाट संगीतको प्रशिक्षण लिएकी तीर्थकुमारीले २०२८ सालमा रेडियो नेपालमा ‘कहिलेमा हुने होला नानी, तिमी पीपल म वर’ युगल गीत रेकर्डिङ गरेर गायन र सांगीतिक यात्राको विधिवत् पदार्पण गरेकी हुन्।
वरिष्ठ गायिका तीर्थकुमारीको आवाजमा २०२८ सालदेखि हालसम्म रेडियो नेपाल र विभिन्न निजी रेकर्डिङ स्टुडियोबाट एक हजारभन्दा बढी लोकगीत, भजन, राष्ट्रिय भावका गीत, आधुनिक गीत, विभिन्न भाषा–भाषिकाका गीतहरू र नेपालभाषा (नेवार भाषा)का अनेकौं गीत रेकर्ड भएका छन्। जसमध्ये करिब पाँचवटा लोकगीतिसंग्रह, ६ वटा नेवार गीतिसंग्रह, एउटा लोकगीतको सीडी र रत्न रेकर्डिङ संस्थानबाट १३ वटा डिस्क रेकर्ड प्रकाशित छन्।
एक–से–एक सदाबहार ती गीत आज पनि कर्णप्रिय छन्। लोकप्रिय र नेपाली जनजिभ्रोमा झुन्डिएका छन्। तीर्थकुमारीले नेपाल सरकारको निजामती सेवाअन्तर्गत हुलाक सेवा विभाग र सञ्चार मन्त्रालय हुँदै रेडियो नेपालमा अधिकृत पदमा कार्य गरिन्। यसरी उनले नेपाल र नेपालीको सेवा गरिन्। गीतसंगीतको सेवा गर्ने लक्ष्य लिएर जीवनको अमूल्य ६ दशक निरन्तर साधना गरिन्। बाँकी उमेर पनि गीतसंगीतको उत्थान, विकास र वृद्धिमा समर्पण गर्ने उनको रुचि छ।
देशको अवस्थाले टाढिएकी गायिका
सपनाश्री, गायिका
१० वर्षकै उमेरमा ‘टोलाई बस्छु कहिलेकाहीं..’ बोलको आधुनिक गीतले श्रोताको मन जित्न सफल गायिका हुन्, सपनाश्री। तर, अहिले उनी गुमनाम छिन्। तर, बेलाबेला न्युयोर्कमा आयोजना हुने विभिन्न कार्यक्रममा भने उनी देखिन्छन्। पहिलेकै गीत गाएर मक्ख छिन्। नेपालमा छँदा लामो समय गीतसंगीतमा बिताएकी सपनाले अमेरिकामा पनि गीत गाउनेबाहेक अन्य काम गर्नु परेको छैन रे।
घरैभित्रदेखिको सांगीतिक माहोल र पहुँचले सपनाश्रीलाई रेडियो नेपाल प्रवेश गर्न अप्ठेरो परेको थिएन त्यो समय। उनका बाबु मदन परियार रेडियो नेपालका वरिष्ठ म्युजिसियन थिए। बाबुको हात समाउँदै रेडियो नेपाल छिरेर पाँच वर्षकै उमेरमा पहिलोपटक बालगीत रेकर्ड गराएकी थिइन् उनले। त्यसपछि वासुदेव मुनालले चलाएको बालकार्यक्रममा बालगीत गाउँदागाउँदै आधुनिक गीत गाउन उनले थालिन्।
काठमाडौंको महाबौद्धमा जन्मिएकी सपनाले त्यतिबेला संगीतबारे राम्रो बुझेकी पनि थिइनन्, जतिबेला उनले ८/१० वटा गीत रेकर्ड गराइसकेकी थिइन्। स्वर्गीय रानी ऐश्वर्याको जन्मोत्सवमा गीत गाउँदा उनी पहिलो भएर दुईपटक पुरस्कार पाएकी थिइन्। ‘पूर्वतिर उज्यालो घामको, माया लाग्छ नेपाल आमाको’ पहिलोपटक रेकर्डिङ गरेको यो बालगीत कत्तिको चल्यो/चलेन उनलाई नै थाहा छैन रे।
१० वर्षकै उमेरमा आधुनिक गीत रेकर्ड गराएको बेला उनको स्वर परिपक्व भइसकेको थिएन। ‘हेरेको तिमीलाई आँखाले होइन...’ बोलको गीतले उनलाई चर्चित आधुनिक गायिकाको पहिचान दिएको हो। उनलाई पनि सबैभन्दा मनपर्ने गीत पनि यही हो। स्वर पूरै खुलेपछि उत्तमलाल श्रेष्ठको रचनामा र द्वारिकालाल जोशीको संगीतमा सगरभरि जून तारा भन्ने गीत गाएकी हुन्। उक्त गीतले निकै चर्चा कमाएको थियो भने हेरेको तिमीलाई बोलको गीतले सपनालाई चर्चित आधुनिक गायिकाको पहिचान दिएको हो। जब उनी आधुनिक, नेवारी, भोजपुरी र चलचित्रका गीत गाउन व्यस्त हुन थालिन्, जतिबेला दैनिक तीन/चारवटा गीत रेकर्ड हुन थाले र उनी चर्चाको शिखर चुम्न थालिन् त्यति नै बेला सन् २००३ मा पहिलोपटक अमेरिका आउने अवसर पाइन्।
कार्यक्रमको सिलसिलामा दुईपटक अमेरिका आउजाउ गरेपछि सन् २००६ मा उनी यतै बसोबास गर्ने उद्देश्यले पुगिन् र यो क्षेत्रबाट क्रमशः टाढा भइन्। त्यतिबेला माओवादी आन्दोलनले नेपालको अवस्था अत्यन्तै बिग्रिसकेको थियो। सधंै बन्द, हडताल, आन्दोलनले गीतसंगीतका काम निरन्तर हुन सकेका थिएनन्। छोराछोरीले लगातार स्कुल जान पाएनन्। त्यस्तो अवस्थादेखि दिक्क लागेर सन्तानको भविष्य खोज्न अमेरिका आएको उनी बताउँछिन्। उनले हालसम्म आधुनिक, फिल्मी, भोजपुरी, नेवारी भाषामा गरी दुई हजारभन्दा बढी गीत गाइसकेकी छन्।
एल्बम छाडेर स्टेजमा मात्रै
नलिना चित्रकार,पप गायिका
कुनै समय नेपाली पप गायनको एकछत्र राज नै थियो नलिना चित्रकारको। मुलुकभित्र मात्रै होइन, युरोपका विभिन्न मुलकमा पुगेर गीत आएकी नलिनाले हजारौं गीतमा आवाज दिइन्। तर, अमेरिका भासिइन्। हाल परिवारसहित अमेरिकामा बस्दै आएकी नलिना बेलामौकामा सांगितिक कार्यक्रममा देखिन्छिन्। नेपालभित्र भने हिजोआज नलिना करिब गुमनाम छिन्।
नेपालमा सांगीतिक गतिविधि धेरै नहुने भएकाले उनले पहिले झैं स्टेज तताउने मौका पाएकी छैनन् रे। त्यसैले होला नलिना अमेरिका र क्यानडामा रहेका नेपालीतिर आकर्षित भएकी। उनका अनुसार स्वदेशभन्दा विदेशमा धेरै आकर्षित हुनुको कारण हो देशभित्र सांगीतिक कार्यक्रम नहुनु र पहिलेजस्तो संगीत क्षेत्रबाट कमाइ नहुनु। प्रविधिको विकासले गीतका एल्बम पहिलेजस्तो बिक्दैनन्। देशभित्र कन्सर्टहरू हुँदैनन्। त्यसको विकल्पमा बिदेसिनु उनको बाध्यता हो भन्छिन् उनी।
क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नलिना कार्यक्रमका लागि भने अहिले पनि डुलिरहेकी हुन्छिन्। पछिल्लोपटक नयाँ गीत ननिकालेकी नलिना अझै पनि आफ्ना उही पुराना सदाबहार गीत सुनाइरहेकी छन्। उनलाई ‘गोरी काली सानी मोरी...’, ‘पानीपानी भयो...’, ‘रङ कसैको...’ ‘जिन्दगी जिन्दगी...’ लगायत गीतले उनलाई चिनाएको छ। अहिले प्रविधिमा भएको विकासका कारण गायकगायिका बन्न भने सजिलो भएको उनी तर्क गर्छिन्। ‘संगीतको जानकारी नै नभएको मानिस पनि प्रविधिको सहारा लिएर गायकगायिका बन्न सक्छ’, उनी भन्छिन्, ‘यो कारणले हामी ओझेलमा हौं।’ रेडियो, टेलिभिजन, अनलाइन र युट्युबजस्ता माध्यमले नयाँ गायकगायिकाले एक्सपोजर पनि उत्तिकै पाइरहेका छन्। तर यसलाई भने उनले सकारात्मक ठानेकी छन्। त्यसैले अहिले उनले आफ्नो सहारा अमेरिकाको स्टेज रोजेकी छन्।
संगीतमा खारिएका गायक
बच्चु कैलाश,सदाबहार गायक
आफ्नै रचना, संगीत र स्वरमा नेपाली गीतसंगीतको उत्पत्ति गर्न सक्ने क्षमता भएका व्यक्ति हुन्, बच्चु कैलाश। ‘टाढा–टाढा जानु छ साथी एक फेर हाँसिदेऊ’ उनकै पूर्ण उत्पादन हो यो चर्चित गीत। तर, पछिल्लो समय यो गीत जस्तै उनी सांगीतिक दुनियाँबाट कता टाढा पुगे खोज्नुपर्ने अवस्था छ। धेरैले उनको नाम रेडियो नेपालमा सुनेका छन्। तर, पछिल्लो समय गुमनाम छन्।
शब्दको गहनता एकातिर छँदैछ अर्कोतिर ती शब्दलाई लयमा रूपान्तरण गरी उपयुक्त संगीत संयोजनले गीतलाई जीवन्त र कालजयी बनाउन सक्ने खुबी थियो, बच्चुमा। १९९५ साउन १५ गते काठमाडांैमा जन्मिएका बच्चु कैलाशले केही दिनमै आमा गुमाए। उनी सानैदेखि एकान्त मन पराउँथे। साथीभाइ र आफन्तसँग घुलमिल हुन नखोज्ने उनको एक्लो प्रवृत्तिको सहारा भने गीतसंगीत नै थियो। भनिन्छ, उनी सानामा ज्यादै रुन्थे। हुर्किंदै गर्दा गीतसंगीतको भावमा डुबेर रुन थाले।
पाँच वर्षको कलिलो उमेरदेखि गीत गाउन सुरु गरेका बच्चु कैलाशले गीत गाएको मन नपराउने आफन्तहरू बढ्दा, मन पराउने स्रोता बढी थिए। उनले कक्षा आठमा पढ्दै गर्दा रेडियो नेपालमा गीत गाउने अवसर पाए। त्यतिबेला उनले आफ्नै रचना र संगीतमा रहेको ‘निराश नहोउ साथी, आँसु आँसुमै डुबेको छ जीवन, नडराउ साथी’ बोलको गीत गाए। त्यसपछि भने उनले एउटा उचाइ प्राप्त गरे। अनि उनी यो दुनियाँमा दौडन थाले। त्यही गीत सुनेको भोलिपल्ट मास्टर रत्नदास प्रकाश बच्चु कैलाशलाई खोज्न निस्किएका थिए रे। यसरी रत्नदास प्रकाशसँगको साथमा रहेपछि बच्चु कैलाशको जीवनमा कायापलट भयो। उनी गीतसंगीतको क्षेत्रमा यसरी खारिए कि कुनै बेला उनी राजदरबारमा संगीतको प्रशिक्षण गरे। राजा महेन्द्रका छोराछोरीलाई संगीत सिकाउने काम पनि गरे। जीवनलाई दुखैले खार्दो रहेछ भन्ने पाठ उनीबाट सिक्न सकिन्छ।
कल्पनाको गगन, बिर्सन होइन, त्यो आँखाले लौन मलाई मार्यो, तिमीले होइन, जुनेली रातमा लगायतका झन्डै दुई हजार बढी गीतमा कालजयी आवाज दिएका बच्चु कैलाशले नेपाली संगीतको क्षेत्रमा लगभग दुई दशकको समय उनले बिताएका छन्। २०४७ सालदेखि भने बच्चु कैलाश एकाएक संगीतको क्षेत्रबाट पलायन भएजस्तै देखिन्छन्। यसो हुनुमा उनका आत्मिय मित्र पुष्प नेपालीको मृत्यु हुनुले पनि हो भन्ने एक खालको अड्कलबाजी छ।
अर्कोतिर, उनी कसैको अगाडि झुक्न नचाहने स्वाभिमानी गायक हुन्। न त उनी कसैको डर–धम्कीमा डराउँछन् न त पैसामै बेचिन्छन्। कुनै बेला मन्त्रीका घरभित्र हुने विवाह, ब्रतबन्ध अनि यस्तै समारोहमा गायकगायिकालाई उपस्थित गराएर त्यहाँ रहेका पाहुनाहरूको इशारामा गीत गाउन लगाएपछि भने त्यो देखेर बच्चु कैलाश निराश भए। अहिले नेपाली गीतसंगीत र गायकगायिकाहरूले सहनु परेको हेपाहा प्रवृत्तिबाट दिक्क भएर उनी टाढा भएका हुन सक्छन्। हाम्रो सम्पर्कसमेत उनीसँग हुन सकेन।
युगकविको गीतले चम्किएपछि ...
योगेश वैद्य,सदाबहार गायक
नेपाली सुगम संगीतमा गायक योगेश वैद्यको आफ्नै उचाइ छ। उमेरले ८० पुग्न लागेका उनको गलाको शक्ति र सामथ्र्य अहिले पनि उस्तै छ। अनि छ साधना र समर्पण पनि उस्तै। अचेल पनि उनी गुनगुनाइरहेका भेटिन्छन्। तर, संगीतको बाहिरी दुनियाँभन्दा फरक ठाउँमा। त्यसैले त उनी गुमनाम जस्तै छन्।
कोही मन खाने मान्छे भेट्यो कि सुनाइहाल्छन् केही न केही। २०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि उनको चर्चा हुन थालेको रहेछ। भाषिक आन्दोलन चलिरहेको त्यो समय साहित्यिक तथा सांस्कृतिक अभियानमा सक्रिय हुन थालेका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठलगायतको साथ थियो।
२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गीत गाएपछि उनी अझै चर्चित भए। वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे। जागिरे जीवनमा पनि उनी संगीतमा निरन्तर लागिरहे। वैद्यले मवीवी शाहले लेखेको ‘नेपाल मेरो तिमीलाई उपहार भो’ गीत २०२७ सालमा रेकर्ड गराए। ‘सपना भुलाई सारा’ उनले २०४४ सालमा गाएको गीत हो। त्यो गीत रेकर्ड हुँदा यसका रचनाकार को हुन् वैद्यलाई थाहै थिएन। शिव अधिकारीले लेखेको यही गीत पछि वैद्यको पर्याय बन्यो। गीतसंगीतमै सात दशक बिताएका उनलाई अझै संगीतको धीत मरेको छैन। उनी जीवनभर संगीतकर्मलाई निरन्तरता दिन चाहन्छन्।
गायकदेखि नायकसम्म
निमा रुम्बा,गायक/नायक
गायकमात्र होइन नायक पनि बनेर कुनै समय चर्चाको शिखरमा पुगेका थिए निमा रुम्बा। अझै नयाँ पिँढीका त उनी आइडल नै थिए भन्दा फरक नपर्ला। तर, उनी अहिले गुमनाम छन्। संगीतभन्दा पर नेपथ्यमा हराएका छन्।
निमाले गाएका मिस् क्याटवाक, हुरीबतास, आऊ आऊ न, प्रीति बस्यो, साँझमा पनि तथा मेरी प्रियसी गीतले दर्शकमाझ राम्रो छाप छोडेका छन्। उनको परिचयको दायरा गायक, गीतकार र संगीतकारको रूपमा मात्र सीमित छैन। उनले चलचित्रमा नायक भएर पनि अभिनय गरेका छन्। दर्जनौं स्वदेशी तथा विश्वव्यापी ब्रान्डहरू जस्तै कोकाकोला, डाबर नेपाल प्रोस्टाइल, इमामी फेयर एन्ड हेन्डसम, एसियन पेन्टस नेपाल, साकालाका बुम नुडल्स, नानो नुडल्स आदिका ब्रान्डराजदूतसमेत बनेर सबैमाझ थप चिनिएका थिए।
पहिलोपटक फिल्म ‘कागबेनी’मा अभिनय गरेका उनले लामो समयपछि ‘छिरिङ’ चलचित्रबाट अभिनयमा कमब्याक गरेका थिए। सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका निमाले सन् १९९४ मा एकल एल्बम ‘सुन सुन’ लिएर आएका थिए। उनलाई सर्वाधिक लोकप्रिय गायकमा स्थापित गरेको गीत भने ‘मिस् क्याटवाक’ हो। यो गीत उनको दोस्रो एल्बम ‘मेमोरिज’ मा समावेश थियो, जुन १९९६ मा सार्वजनिक भएको थियो। गीतमा अमर खड्कीको शब्द तथा संगीत थियो भने भिडियोलाई भूषण दाहालले इमेज च्यानलका लागि निर्देशन गरेका थिए।
यसपछि उनले सन् २००० मा ‘हुरीबतास, सन् २००२ मा ‘लोलिता’, सन् २००४ मा ‘फेथु’, सन् २००६ मा ‘प्राइड’ र सन् २०११ मा ‘रंगाऊ कि म’ एल्बम बजारमा ल्याए। एक समय नेपाली पप रक संगीतमा उनले डेढ दशकजस्तो वर्चस्व कायम गरे। संगीत दुनियाँमा उनलाई सदाबहार गायकसमेत भन्ने गरिन्छ। धेरै वर्ष दर्शक/श्रोताको मन जितेका गायक रुम्बा पछिल्लो समय गायनबाट निष्क्रिय जस्तै देखिन्छन्। उनको स्वरमा रहेका गीत सार्वजनिक नभएको लामो समय भइसकेको छ। कतिपयले उनी गायन छाडेर पलायन भएको समेत भन्ने गरेका छन्। यस प्रकारको चर्चा नहोस् पनि कसरी ? उनका आवाजमा गीत नआएकै वर्षौं भइसकेको छ।
पछिल्लो समय उनी देश तथा विदेशमा हुने कार्यक्रमहरूमा व्यस्त हुने गरेका छन्। उनले आफ्ना पुराना चर्चित गीतहरू लिएर धेरै विदेशी मुलुकमा प्रस्तुति दिएका छन्। कोरोना महामारीभन्दा अगाडि उनको विदेशका मञ्चमा राम्रो माग थियो। दर्शक अझै उनको गायन पहिलेको जस्तै होस् भन्ने चाहिरहेछन्। हामीसँग उनको सम्पर्क नभए पनि आशा गरौं, उनको गीतसंगीतको पुनरागमन चाँडै हुनेछ।
लोकगायकीमा स्वरको ‘गड गिफ्ट’
राजु परियार,लोकगायक
नेपाली लोकसंगीतमा चर्चित नाम हो, राजु परियार। उनको स्वरलाई धेरैले ‘गड गिफ्ट’ नै भन्थे। लोकसंगीतमा पहिलो नम्बरमा उनकै नाम आउँथ्यो। तर, अहिले त्यही गायक गुमनाम छन्। राजु परियारले झन्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन्। उनको नयाँ गीत लिएर आउने सुससार देखिँदैन।
राजुले गाएका धेरै गीतले संगीतको दुनियाँमा बाजी मारेका छन्। परियार पछिल्लो ४/५ वर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन्। लमजुङ स्थायी घर भएका उनको अहिले बसोबास कहाँ छ ? के गर्दै छन् ? किन गाउने छाडे ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन्। उनको उत्तर आएको छैन। हामीले उनलाई सम्पर्क गर्दा सम्पर्कसमेत हुन सकेन।
काठमाडौंमा झन्डै आधा दर्जन रेकर्डिङ स्टुडियोले लोकगीत रेकर्ड गर्छन्। तर, ती स्टुडियोमा राजु परियार नपुगेको सञ्चालकहरू बताउँछन्। वरिष्ठ गायिका बिमाकुमारी दुरा पनि यसरी उनी यो क्षेत्रबाट हराउँदा लोकगायकी क्षेत्र पछि परेको महसुस गर्छिन्। परियार र दुराको पुरानो घर लमजुङ नै हो। परियार पोखरा बस्छन् रे भन्नेसम्म सुनेको उनी बताउँछिन्। केही समयअघि तीजमा एक दुईवटा गीतमा स्वर दिएका थिए राजुले। राजुको स्वर विस्थापित होइन, उनी आफैं यो क्षेत्रबाट अलग भएको देखिन्छ। मोबाइल नम्बर फेरिरहने र स्थायी बसोबासको थाहा नहुँदा राजुको स्वरमा गीत रेकर्ड भएका छैनन्।
गीतको मर्म नबिग्रने गरी गीत गाउने सफल गायकको कोटीमा राजु पर्थे। उनको नजिककाहरू भन्छन्, ‘पछिल्लो समयमा घरायशी समस्याले उनी विक्षिप्त भएर यसो गरे।’ देश/विदेशमा हुने सांगीतिक कार्यक्रममा उनको माग निकै बढ्दो छ। तर उनी सम्पर्कमा छैनन्। २०६२ सालतिर राजुले एकै दिन ६ वटा गीत रेकर्ड गरेका थिए। उसैबेला एउटा गीत गाएको पाँच हजार पारिश्रमिक लिने राजुको माग अहिले पनि उस्तै छ। उनले गाएका फूलमा मौरी, डुल्ने बेलामा, धोका दिनेलाई के भनौं र खोइ, भैंसी पालेर, रुमाल धोको छु, सुनपानी, लालुपाते नुग्यो भुइँतिरलगायत गीत सफल छन्।
पुरानै लय खोज्दै नेपाली तारा
दीपक लिम्बू,पहिलो नेपाल तारा
सांगीतिक रियालिटी शो ‘नेपाली तारा’बाट उदाएर संगीतको दुनियाँमा फड्को मारेका गायक हुन्, दीपक लिम्बू। पहिले उनी यसरी चम्किएकी उनको चमकले अरू छायाँमा परे। तर, यसरी यो क्षेत्रको अग्रपंक्तिमा उभिएका उनी अहिले कुन लहरमा छन् ? धेरैको प्रश्न हो यो। ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता गीतले श्रोताको मन मज्जाले जितेको थियो। स्टुडियोदेखि स्टेजसम्ममा दीपक लिम्बूको माग चुलिएको थियो।
तर, पछिल्लो समय क्रमशः उनको स्वर सुनिन छाड्यो। उनी यो क्षेत्रबाट कता पुगे ? खोतल्ने जमर्को श्रोता र शुभचिन्तकले गरिरहेका छन्। उनी आफैं भने अझै यो क्षेत्रमा रहिरहेको दाबी गर्छन्। भन्छन्, ‘म हराएको छैन, खोज्नेले नखोजेका मात्रै हुन्।’ उनका अनुसार गीत गाउने मेलोमेसो हिजो जसरी नमिलेको मात्रै हो रे। पहिलेको तुलनामा गीतहरू कम आएकाले उनी आफू सुस्ताएको स्वीकार भने गर्छन्। कुनै समयमा चलचित्रमा पाँच/छ वटासम्म गीत हुन्थे। कतिपय चलचित्रका सबै गीत उनैले गाए। अहिले कुनै कुनै चलचित्र त गीतविहीन पनि हुन्छन्। उनले त्यसो हुँदा पनि काम कम भएको बताउँछन्। र, यो क्षेत्रबाट टाढा देखिएको दाबी गर्छन्। तर, ती स्थान पनि नयाँ गायकले ओगटेको प्रस्ट देखिन्छ। दीपक ‘क्यानडा बस्न गए’ भन्ने हल्ला पनि नचलेको होइन। सांगीतिक कार्यक्रमको सिलसिलामा क्यानडा पुगेको भए पनि आपूm त्यतै नहराएको उनी बताउँछन्। त्यहाँ तीन महिना, त्यसपछि अमेरिकामा चार महिना बसेर नेपाल फर्किएका दीपकको विदेश यात्रा बाक्लै हुन्छ, तर सांगितिक दुनियाँ उनको पातलिँदै छ। उनका गीत फाट्टफुटमात्रै आइरहे पनि चलेनन्।
करिब १४/१५ वर्षअघि रेखा थापाको ‘हिम्मत’ चलचित्रका लागि गाएको ‘मेरो कल्पनामा आज एउटी परी...’ बोलको गीतले पाश्र्व गायनमा उनलाई चिनाएको थियो। त्यसयता पाश्र्व गायनमा दीपकको ‘जादु’ नै चल्यो। ‘घायल’ चलचित्रको ‘माया गर मायालुले‘ बोलको गीत पल्छिलो समय टिकटकमार्फत पुनः चर्चामा रह्यो। दीपक आज पनि आफू पुरानै जोश, जाँगरका साथ गीतसंगीतमा लागिरहेको र पुरानै लयको खोजीमा रहेको बताउँछन्।