ललितपुरले अंक बाँड्यो
काठमाडौं : ललितपुर सिटी एफसी र धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक-एक अंक जोडेका हुन्। दुवै टोलीले आफ्नो अपराजित यात्रालाई भने कायमै राखेका छन्। लगातार दुई खेलमा जित निकालेको धनगढी तेस्रो खेलमा बराबरीमा रोकिँदा सात अंकसहित लिगको शीर्ष स्थानमा छ। धनगढीले यसअघि नवप्रवेशी वीरगन्ज युनाइटेडलाई २–१ र बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको थियो।
यसैगरी तीन खेलमा एक जित र दुई बराबरीको नतिजा निकालेको ललितपुर सिटी एफसी पाँच अंकका साथ दोस्रो स्थानमा छ। पहिलो खेलमा बुटवल लुम्बिनीलाई २–० गोलले पराजित गरेको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो। शनिबार दुवै टोली स्पष्ट तीन अंक बटुल्ने रणनीतिका साथ मैदान प्रवेश गरे पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाउन बाध्य भए। ललितपुरको तुलनामा धनगढीले गोलका लागि केही बढी अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो।
ललितपुरले पनि पाएका केही राम्रा अवसरमा चुक्दा लगातार दोस्रो पटक बराबरीमा रोकिन पुग्यो। शनिबार नै भएको भएको अर्को खेलमा झापा एफसीले पहिलो अंक जोडेको छ। एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिम समयमा गोल गर्दै झापाले १० खेलाडीमा समेटिएको पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै एक अंक जोडेको हो। ओचिलोच समान्दारले इन्जुरी समयमा गोल गर्दै झापालाई पहिलो अंक दिलाएका थिए। आवास लामिछानेको पास प्रिसोले फुत्काएपछि ओचिलोभले जाली चुमाएका थिए।