सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुर्याउन छलफल भइरहेको छ : सभामुख घिमिरे
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार ललितपुरमा १५ औं मानवअधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक दल र नेताहरुले आफ्नो दायित्वलाई बुझ्दै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका हुन्।
सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनलाई बिर्सिएर पीडितले शान्ति महसुस गर्ने गरि समाधान खोज्नका लागि आवश्यक कानूनले पूर्णता पाउन बाँकी रहेको उनको भनाइ छ।
सभामुख घिमिरेले १८ वर्षअघि शान्तिप्रक्रियामा हस्ताक्षर भएर समाज अघि बढेपनि विविध कारणले आधारभूत रुपमा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने काम अधुरो नै रहेको धारणा राखे। उनले संसद्को आगामी अधिवेशनमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे।
सभामुख घिमिरेले असहमतिका रूपमा रहेका पक्षलाई सहमतिमा ल्याउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन आफूले पनि छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा मानवअधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो।