पोर्चुगलका प्रस्तावित राजदूत सनिल नेपालको नाम सुनुवाई समितिबाट अनुमोदन
काठमाडौं : संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाई गर्दै सर्वसम्मतरूपमा अनुमोदन गरेको हो।
नेपालबिरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्ता छलफल र प्रस्तावित राजदूतसंग संसदीय सुनुवाई गरेको थियो। सुनुवाई पछि समितिले सर्वसम्मतरूपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए।
गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। सुनुवाई समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।