फस्टायो बाँझो जग्गामा आलुखेती
जोमसोम : सडक सञ्जालले जोडिए सँगै उपल्लो मुस्ताङी किसानले विस्तारै बाँझो जग्गा उपयोगमा ल्याउन थालेका छन्। सडक नहुँदा सदियौं वर्षदेखि सुक्खा पठारका रूपमा रहेको बाँझो प्रयोगविहीन जग्गालाई स्थानीय कृषकले व्यावसायिक कृषि कर्मका रूपमा अपनाउन थालिएको हो।
सरकारले कृषि क्षेत्रको समुन्नत विकास तथा प्रवद्र्धन गर्दै खेर गइरहेका बाँझो जग्गालाई उपयोगमा ल्याएर गरिब तथा विपन्न कृषकको जीविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पहल गरेसँगै उपल्लो मुस्ताङमा बाँझो जग्गा उपयोगमा ल्याउन सुरु गरिएको हो। लोमान्थाङ गाउँपालिका–३ ठिङ्गार गाउँका बाँझो जग्गामा आलुखेती लगाउन सुरु गरिएको छ। आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले आलु साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको सशर्त अनुदान २४ लाख र स्थानीय लाभग्राही किसानको समूह ठेकार कृषक समूहको १८ लाख ३० हजार रुपैयाँ लागत साझेदारीमा सामूहिक आलुखेती गरी पकेट स्थापना गरिएको थियो। योपटक कार्यक्रममा ठिङ्गरका गाउँका १३-१३ घरधुरीको आबद्धता छ।
वर्षौंदेखि पठार जग्गाका रूपमा बाँझो रहेको जग्गामा गाउँका १३ घरधुरीले सामूहिक रूपमा मिलेर आलुखेती गरेका हुन्। उनीहरूले यसअघि सबै घरधुरीको आ–आफ्नो व्यक्तिगत लालपुर्जावाला जग्गा भए पनि सदुपयोगमा ल्याउन सकेका थिएनन्। संघीय सरकारको आलु पकेट कार्यक्रमले उनीहरूको कृषि कर्म निकै फस्टाउन थालेको छ। धुलो उड्ने जग्गा अहिले मोहरमा परिणत हुन थालेपछि ठिङ्गरका किसान दङ्ग छन्।
ठिङ्गरमा सामूहिक आलु खेती गर्न थालेपछि उनीहरूको बाँझो जग्गा हरियालाीमा परिणत भएको हो। आलु पकेट भनिएको बाँझो जग्गामा मौसम अनुसारका विभिन्न तरकारी उत्पादन गर्ने तयारीमा छन्, ठिङ्गरका किसान। ठेकार कृषक समूह संस्था दर्ता गरी बाँझो जग्गाका लागि उर्वराभूमिमा परिणत गर्दै जीविकोपार्जन सुधारमा लागिपरेको लोमान्थाङ गाउँपालिकाका कृषि शाखा अधिकृत नीराजन कटुवालले जानकारी दिए। स्थानीयको ७० रोपनी लालपुर्जा वाला बाँझो जग्गालाई चक्काबन्दी गरी सम्याएर खेतीयोग्य भूमिमा परिणत गरेको कृषि शाखा अधिकृत कटुवालको भनाइ छ। संघीय सरकारको सशर्त बजेट र स्थानीयको संयुक्त लगानीमा आलु पकेट विकास कार्यक्रम कार्यान्वयनमा आएको उनले बताए।
ठिङ्गर गाउँमा सामूहिक आलुखेती विस्तार सबैका लागि अहिले लोभलाग्दो बनेको छ। उनीहरूका लागि चालू आर्थिक वर्ष २०८०÷८१ का लागि थप ३० रोपनी जग्गा विस्तार गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि शाखा अधिकृत कटुवालले जनाए गरे।
लोमान्थाङको ठिङ्गर गाउँका किसानले बाँझो जग्गामा आलु खेती गरेर सुरुवाती वर्षमै करिब ५ सय क्विन्टल आलु उत्पादन गरेको ठेकार कृषक समूहका अध्यक्ष कर्मा सम्टुक गुरुङले जानकारी दिए। उनले प्रतिकेजी ६० रुपैयाँका दरले गाउँमै बिक्री गर्दा करिब ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको बताए। ‘पहिलो वर्षमै राम्रो प्रतिफल निस्किएको छ, बाँझो जग्गामा आलु फल्दैन कि भन्ने चिन्ता थियो, समूहका अध्यक्ष गुरुङले भने, ‘सबै घरधुरी किसानको परिश्रम र मेहनत अनि उचित मलजल र व्यवस्थापनले राम्रो नतिजा दिएको छ।’ उनले अहिले सामूहिक खेतीलाई बिस्तार गर्दै १ सय रोपनी जग्गामा आलुखेती गर्ने योजना रहेको सुनाए।
ठिङ्गरका किसानले स्थानीय जातको सेतो आलुको खेती गरेका हुन्। उपल्लो मुस्ताङमा एकबाली मात्र हुने भएकाले आलु खेतीले राम्रै आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको छ। खेतीका लागि स्थानीय स्तरमा पालन गरिएका भेडा, च्यांग्रा, झोपा, याक–चौंरीको मल प्रयोग सकिने भएकाले पनि आलु खेती सप्रिएको किसान राजु गुरुङले बताए। उनले स्थानीय जातका सेतो आलुको जिल्लामै धेरै माग भएकाले बजारीकरणका लागि समस्या नभएको बताए। अग्लो उचाइको चिसो भूगोलमा उत्पादन गरिएको आलुको माग बढी भएको उनले बताए।
उपल्लो मुस्ताङमा खेती योग्य जमिन ज्यादै न्यून छ। यहाँ उत्पादन भएको सबै आलु व्यापारीले खरिद गरी पोखरा पु¥याएका थिए। ठिङ्गरको ठेकार कृषक समूहले गत वर्षको चैत वैशाखमा आलु लगाएर भदौ-असोजमा खेतबाट आलु निकालेका थिए। आलु पकेट व्यवस्थापन, मलजल, खनजोत र बजारीकणका लागि सामूहिक रूपमा खटिने र आम्दानीको मुनाफा पनि समान रूपले वितरण गर्ने गरेका छन्।