चुक्ता पुँजी पुगेन बिमा कम्पनीको, हकप्रदकै भर कम्पनी

चुक्ता पुँजी पुगेन बिमा कम्पनीको, हकप्रदकै भर कम्पनी

काठमाडौं : नेपाल बिमा प्राधिकरणले जीवन बिमा र निर्जीवन बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्‍याउन दिएको समयअवधि ८ महिना नाघिसक्दा पनि अझै २२ कम्पनीले पूरा गर्न सकेका छैनन्। यद्यपि ६ ओटा कम्पनी (२ जीवन बिमा र ४ निर्जीवन बिमा कम्पनी)को भने चुक्ता पुँजी तोकिएको सीमाअनुसार पुर्‍याएको तथ्यांकमा देखिन्छ। 

यसबाहेकका बाँकी कम्पनीले पुँजीवृद्धि कसरी गर्ने भनेर नेपाल बिमा प्राधिकरणमा योजना बुझाएका छन्। अधिकांशको योजनाअनुसार पुँजी पुगे पनि प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छैन। यद्यपि एकै पटक अब सबैको वृद्धि भएको चुक्तापुँजी यो आर्थिक वर्ष अन्त्यसम्म वित्तीय प्रतिवेदनमा समावेश गर्ने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए। 

प्राधिकरणले २०७८ चैत ९ गते मर्जर तथा प्राप्ति लगायतमार्फत २०७९ चैत्रसम्ममा चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएको थियो। जस्मा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनु पथ्र्यो। हाल सञ्चालनमा जीवन बिमा १४ र निर्जीवन बिमा कम्पनी पनि १४ ओटा छन्। यसमध्ये मर्जर प्रक्रियामा सहभागी भएर पनिअझै ३–३ ओटा जीवन र निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी पुगेको छैन।

यसबाहेक पुँजी नपुगेका कम्पनीहरूले हकप्रदलगायतका योजना बिमा प्राधिकरणमा पेस गरिसकेका छन्। प्राधिकरणले गत चैत्रसम्म पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको थियो। सोहीअनुरूप कम्पनीहरूले बोनस, हकप्रद र मर्जरलाई अवलम्बन गर्नेयोजना पेस गरेका थिए। 

मर्जरबाट ६ कम्पनीले सकेनन् पुँजी जुटाउन

यसबीच,मर्जरपश्चात् पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापुँजी पुर्‍याउन सकेनन्। सानिमा रिलायन्सको अझै २० प्रतिशत अर्थात् ८१ करोड ६० हजार रुपैयाँ पुँजी अपुग छ। 

जस्ले गर्दा तोकिएको पुँजीमध्ये ४ अर्ब १८ करोड ४० लाख रुपैयाँमात्रै छ। यसैगरी सूर्यज्योति लाइफको हालसम्मको पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपैयाँमात्र छ। सो कमपनीको अझै १० प्रतिशत पुँजी पुगेको छैन। यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पनि चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ। यसको पुँजी पुग्न अझै १७ प्रतिशत बाँकी छ। 

यस्तै, निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी साढे २ अर्ब पुर्‍याउनु पथ्र्यो। तर हिमालयन एभरेस्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्सको पुँजी अझै अपुग छ। जस्मा हिमालयनको हालसम्म २ अर्ब २३ करोड ९९ लाख हाराहारीमा मात्रै भएकाले अझै २० प्रतिशत रकम पुगेको छैन। यस्तै युनाइटेडको झन् १ अर्ब ९० करोड ४५ लाख हाराहारीमा भएकाले अझै ३२ प्रतिशत पुँजी थप्नुपर्ने देखिन्छ। सानिमा जी आईसी इन्स्योरेन्सको चुक्तापुँजी २ अर्बमात्रै छ। यसले तोकेको सीमासमम पुर्‍याउन अझै २५ प्रतिशत पुँजी वृद्धि गर्नुपर्छ। 

यसरी पुँजी पुर्‍याउन प्रयास गर्दागर्दै नपुगेका बिमा कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्न माग गरे भने अनुमति दिने प्राधिकरणका अध्यक्ष सिलवाल बताउँछन्। उनकाअनुसार यो विशेष मर्जरपछि पनि पुँजी नपुगेकाको हकमा लागू हुनेछ। ‘कतिपय कम्पनीको पुँजी तोकिएको सीमासम्म पुगिसके। प्रिमियममा आईपीओ जारी गर्ने भनेकाहरूले गरेर पनि खातामा गएर पैसा जम्मा भइसकेको छ। 

रिजर्भमा पैसा जम्मा भए पनि पुँजी कायम भइसकेको छैन तर यसलाई प्राधिकरणले उक्त कम्पनीको पुँजी पुग्यो भनेर घोषणा गर्न मात्रै बाँकी छ,’अध्यक्ष सिलवालले अन्नपूर्णसँग भने, ‘सबै कम्पनीहरू पुँजी पुर्‍याउने योजना पेस गरेअनुसार लागि परेकाले अब पुँजी पुर्‍याउने सबालमा धेरै समस्या छैन। सबैको वृद्धि भएको चुक्तापुँजी यो आर्थिक वर्ष अन्त्यसम्म वित्तीय प्रतिवेदनमा समावेश गर्नेछौं।’

विदेशी कम्पनीको शाखा कार्यालयलाई केन्द्रले पुँजी दिने

बिमा प्राधिकरणले विदेशी बिमकका रूपमा दर्ता भई सञ्चालनमा रहेका बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्न निर्देशन दिएको थियो। साथै, संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न भनेको थियो। 

नेपालमा सञ्चालित विदेशस्थित बिमकका शाखा कार्यालयहरू दि ओरिएन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र मेटलाइफ एलिकोको अपुग पुँजी मुख्य कम्पनीले दायित्व बेहोर्ने भएको छ। यसबाहेक विदेशी बिमकको संयुक्त लगानी भएको लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमात्रै छ। यो कम्पनीको अझै २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँपुँजी अपुग छ। यो कुल सीमाको ८८ प्रतिशत हो।

यसैले लाइफ इन्स्योरेन्सले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृत दिइएको बिमा प्राधिकरणले जानकारी दिएको छ। यसैगरी, तत्काल बिमा नियमावली २०४९ को दफा १५ क बमोजिम स्थापना भएको सहायक कम्पनीएनएलजी इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँमात्रै छ। सो कम्पनीको पुँजीपुर्‍याउन ६६ प्रतिशत अपुग छ। यसकारण सोही प्रतिशतबराबरको हकप्रद सेयर जारी गर्न बिमा प्राधिकरणले स्वीकृत दिएको बताएको छ।यसैगरी, पुँजी नपुगेकोप्रभु इन्स्योरेन्स कम्पनीले विदेशी साझेदारसँग संयुक्त उपक्रम गरी पुँजी पुर्‍याउने प्रस्ताव पेस गर्ने भएको छ। प्रभुको हालसम्मको पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँछ।यसको पुँजी ८२ प्रतिशत अपुग छ। 

यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले पुँजी बढाउन अचल सम्पत्ति बिक्री गरी पुँजीकरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ।यो कम्पनीको चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ४ सय रुपैयाँछ। तोकिएको सीमामा पुर्‍याउन ६८ प्रतिशत पुँजी पुगेको छैन। यसैले कम्पनीले अचल सम्पत्ति पुँजीकरण गर्ने निर्णय गरेको छ। 

सञ्चित मुनाफा, हकप्रदबाट पुँजी जुटाउँदै ३ कम्पनी

यसैगरी पुँजी नपुगेका एसियन लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीले सञ्चित मुनाफा, हकप्रद जारी गरी पुँजीकरण गर्ने प्रस्ताव पेस गर्नेभएका छन्। एसियन लाइफको हाल ३ अर्ब १५ करोड ५३ लाख ५ सय १७रुपैयाँ चुक्ता पुँजी छ। यसको अझै ५९ प्रतिशत पुँजी पुगेको छैन।यस्तै, नेसनल लाइफको ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँपुँजी छ। यसले ८ प्रतिशत पुँजी वृद्धि गर्नुपर्छ। यसपछि नेको इन्स्योरेन्सको पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँछ। यसले पुँजी गर्न अझै २५ प्रतिशत थप्नुपर्छ। 

यी ६ कम्पनीको पुँजी पर्याप्त 

बिमा प्राधिकरणले तोकेबमोजिमको पुँजी पूरा भएका जीवन बिमकहरूमा नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्। नेपाल लाइफको पुँजी सीमाभन्दा पनि बढी अर्थात् ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपैयाँ रहेको छ। यो हालसम्मको जीवन बिमामध्येकै सबैभन्दा बढी चुक्तापुँजी भएको कम्पनी हो। यसपछि पुँजी पर्याप्त हुने हिमालयनको ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार ६ सय २ रुपैयाँछ।

यस्तै, चुक्तापुँजी पर्याप्त भएका निर्जीवन कम्पनीहरूमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन्।उक्त कम्पनीको चुक्ता पुँजी क्रमशः २ अर्ब ६५ करोड ४९ लाख, २ अर्ब ६२ लाख २६ करोड २६ लाख, २ अर्ब ८० करोड ६५ लाख र ३ अर्ब २ करोड ९३ लाख हाराहारीमा छ। निर्जीवन बिमा कम्पनीमध्ये हालसम्म सबैभन्दा बढी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पुँजी रहेको छ। 

चार बिमा कम्पनीले प्रिमियम थपेर आईपीओ

तोकिएको चुक्ता पुँजी पूरा गर्नचारबिमा कम्पनीले प्रिमियममा आईपीओजारी गर्ने योजना पेस गरेका थिए। जस्मा आईपीओ जारी गर्नुअघिको पुँजी आईएमई लाइफ इन्स्योरेन्सको २ अर्ब ८० लाखमात्रै छ। यस्तै, सन् नेपाल लाइफ इन्स्योरेन्सको हाल २ अर्ब २४ करोड, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ८० करोड, सिटिजन लाइफ इन्स्योरेन्सको २ अर्ब ६२करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। अपुग पुँजीको प्रिमियममा आईपीओ जारी गर्न बिमा प्राधिकरणले अनुमति दिएको थियो। सोहीअनुसार गरिसकेकाको पुँजी पुग्नेछ। 

सरकारी स्वामित्वको कम्पनी

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका राष्ट्रिय जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी पनि अपुग छ। उक्त अपुग पुँजी सरकारले थप्ने प्रक्रियामा रहेको बिमा प्राधिकरणले जानकारी दिएको छ। हाल राष्ट्रिय जीवन बिमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.