३३ केभी सबस्टेसन प्रसारण लाइन धमाधम विस्तार

३३ केभी सबस्टेसन प्रसारण लाइन धमाधम विस्तार
हिमाली जिल्ला मुस्ताङमा ३३ केभी सबस्टेसनका लागि  प्रसारण लाइनको काम धमाधम हुँदै। तस्बिर : सुन्दरकुमार थकाली।
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारण लाइन विस्तारको काम सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङसम्मको १ सय ३ किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन विस्तार गर्न लागेको हो। 

मुस्ताङको कोवाङदेखि उपल्लो मुस्ताङसम्म अहिले ११ केभी प्रसारण लाइन सञ्चालनमा छ। प्राधिकरणको मापदण्डमा एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म बढीमा ५० किमिभन्दा माथि हुनु हुँदैन भन्ने छ। तर, हाल कोवाङदेखि माथि उपल्लो मुस्ताङसम्म करिब १ सय ५० किमि भन्दा बढी दूरीमा ११ केभी प्रयोगमा छ। जसका कारण विद्युत् भोल्टेज तलमाथि हुने, चारैतिर विद्युत् समस्या उत्पन्न भइरहने गरेको छ। हालको ११ केभी प्रसारण लाइनबाट जिल्लामा पटकपटक विद्युतीय समस्या हुने गरेको छ। यही विद्युतीय समस्यालाई समाधान गरी दीर्घकालीन रूपमा विद्युत् सेवा भरपर्दो र प्रभावकारी बनाउन प्राधिकरणले ३३ केभी प्रसारण लाइन विस्तारको काम अघि बढाएको प्राधिकरणका इन्जिनियर विमलराज रावतले जानकारी दिए।

प्राधिकरणले ११ केभी प्रसारण लाइनलाई विस्थापित गरी मुस्ताङको चैले र चराङमा दुई अलग-अलग सबस्टेसन निर्माण गर्ने तयारी गरेको छ। यसका लागि प्राधिकरणले गत कात्तिक २ गते ठेक्का आह्वान गरेको छ। प्राधिकरणले सबस्टेसनको कुल लागत गोप्य राखेको र ठेक्का सम्झौता भएपछि पाउने कम्पनी र ठेक्का लागत सार्वजनिक हुने प्राधिकरणका इन्जिनियर रावतको भनाइ छ।

प्राधिकरणले ३३ केभी सबस्टेसनको ठेक्का आह्वान अघि ३३ केभी प्रसारणका लागि सन् २०२३ को जुलाईमा ठेक्का आह्वान गरेको थियो। प्राधिकरणले विद्युत् प्रसारण लाइन विस्तार गर्न २७ करोड ६५ लाख रुपैयाँ लागतमा प्याराडाइज विल्डर्स काठमाडौंसँग ठेक्का सम्झौता गरेको छ। प्याराडाइजका प्रबन्ध निर्देशक किरण दाहालका अनुसार प्राधिकरणसँग दुई वर्षभित्र सक्ने गरी सम्झौता भएको हो। यसका लागि कम्पनीले मंसिरको पहिलो सातादेखि मुस्ताङको ताङ्वेदेखि माथिल्लो क्षेत्रमा विद्युत् पोल गाड्ने र पोलको ६ फिट गहिराइमा पीसीसी खन्ने काम सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक दाहालले बताए।

यता, प्याराडाइजका इलेक्ट्रिकल इन्जिनियर सन्तोष प्याकुरेलसहितको जनशक्ति विद्युत् पोल विस्तार र प्रसारण लाइनको तार जोड्ने काममा खटिएका छन्। अहिले पहिलो चरणमा कोवाङदेखि चैलेसम्म र दोस्रो चरणमा चैलेदेखि चराङसम्मको दूरीमा ३३ केभी प्रसारण लाइन विस्तारको काम अघि बढाउने कम्पनीका इन्जिनियर प्याकुरेलको भनाइ छ। मुस्ताङमा ३३ केभी सबस्टेसन निर्माणका लागि चैले र चराङमा जग्गा छनोट भइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उनले ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणपछि मुस्ताङले झेल्दै आइरहेको विद्युत् समस्याको अन्त्य हुने दाबी गरे।प्राधिकरणले नेपाल—चीन उत्तरी कोरलानाकासम्म भरपर्दो विद्युत सेवा पुर्‍याई उत्तर–दक्षिण व्यापारिक मार्गलाई टेवा पुर्‍याउन ३३ केभी सबस्टेसन तथा प्रसारण लाइन विस्तारलाई उच्च प्राथमिकतामा राखेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.