फ्रायडको भूत

फ्रायडको भूत

यसरी आमाको छाती चुस्दा तथा आमामा आश्रित रहँदा बालकले अनुभूत गर्ने सुरक्षा भाव तथा शारीरिक एवं मानसिक सन्तुष्टिलाई यौनतुष्टिसँग लगेर जोड्नु मानव जाति र सृष्टिकै अपमान हो।

अंग्रेजी पदावली ‘क्राउड बिहेभियर’ले भीडतन्त्र, भीडको व्यवहारजस्ता शाब्दिक अर्थ दिए पनि अहिले हेरिल्याउँदा यसका विशेषताहरूलाई यी कोशीय अर्थले व्याख्या गर्न सक्ने देखिँदैन। सामान्यतः क्राउड बिहेभियर कुनै हूलदंगा, विद्रोह, जुलुस, नारा वा सम्प्रदायलगायत कुनै व्यक्तिले प्रतिप्रादन गरेको सिद्धान्त कुनैलाई पनि छोडेको देखिन्न। क्राउड बिहेभियरको प्रकृति र विशेषता केलाउँदा यो पदावली नेपालीमा प्रचलित ‘हुइयाँ’ शब्दसँग मेल खाने देखियो। 

प्रस्तुत लेखमा फ्रायडद्वारा प्रतिपादित कथित फ्रायडवाद अर्थात् मनोविश्लेषणको सिद्धान्तका सन्दर्भमा देखिएको हुइयाँबारे दृष्टिकोण राख्ने प्रयास छ।

फ्रायडको नाम सुनेको बीए पढ्न थालेपछि हो। मनोविश्लेषण सिद्धान्तका आदिप्रवर्तक मानेर विश्वका अनेक विश्वविद्यालयका विभिन्न विषय र तहको पाठ्यक्रममा यिनले प्रतिपादन गरेका मनोविश्लेषणको सिद्धान्त पनि पढाउने चलनअनुरूप हामीलाई पनि साहित्य सिद्धान्तअन्तर्गत फ्रायडवाद पढाइएको हो। यिनले लेखेका मनोविश्लेषणसम्बन्धी अनेक कृतिहरूले यिनलाई महान् चिन्तक, मनोवैज्ञानिक तथा विशिष्ट लेखकका रूपमा स्थापित गरेको यथार्थ पनि सबै सामु छ। यसले कला, साहित्य, समालोचनाका साथै अन्य विविध क्षेत्रमा गहिरो प्रभाव पारेको यथार्थलाई नकार्न सकिन्न। यति हुँदाहुँदै पनि यिनका सिद्धान्तसम्बन्धी अनेक व्याख्या, विश्लेषण मात्र नभएर अनेक आलोचना पनि उत्तिकै रूपमा भइरहेकै छन्।

मानिसका सम्पूर्ण क्रियाकलापको मूल कारक कामशक्ति वा कामवासनालाई मान्ने फ्रायडले साहित्य, कला आदिको मूल प्रेरक पनि कामवासना नै हो भन्ने धारणा व्यक्त गरेका छन्। अझ कला र साहित्यमा मात्र नभएर मानिसका प्रत्येक क्रियाकलापमा कामवासना वा कामशक्ति नै उत्प्रेरक तथा मुख्य सञ्चालक हुन्छ भन्नेजस्ता यिनका यसखाले सिद्धान्तप्रति मेरो सदा असन्तुष्टि रहेको हो। परीक्षाका लागि पढ्नैपर्ने, घोक्नैपर्ने बाध्यता भएकाले मात्र हो, मेरो चेतन एवं अवचेतनमा फ्रायडका कतिपय सिद्धान्तप्रति असन्तुष्टि मात्र होइन, घोर आपत्तिसमेत थियो र अहिले पनि छ। तिनमा पनि विशेषगरी ‘शिश्न ईर्ष्या’, ‘मातृरति ग्रन्थि’ (इलेक्ट्रा कम्प्लेक्स) तथा ‘पितृरति ग्रन्थि’ (इडिपस कम्प्लेक्स) जस्ता फ्रायडद्वारा प्रतिपादित कतिपय सैद्धान्तिक व्याख्यासँग कहिल्यै सहमत हुन सकिनँ र सक्दिनँ पनि सायद। यिनका सिद्धान्तमा आफू सहमत हुन नसकेका सन्दर्भको चर्चा तल क्रमशः गर्छु।

शिश्न ईर्ष्या

फ्रायडले उल्लेख गरेको ‘शिश्न ईर्ष्या’ पदावलीलाई ‘बालकमा शिश्न अभिमान र बालिकामा शिश्न ईर्ष्या उत्पन्न भई बालिकामा शिश्नको अभाव खट्कने हुनाले हीनताको भावना जागृत हुन थाल्छ’ भनेर ब्राउनले व्याख्या गरेका छन्।

उल्लिखित व्याख्यामा सहमत हुन अन्तर्मनले कहिल्यै पनि दिएन किनकि शिश्न अभिमान तथा शिश्न ईर्ष्या बालबालिकामा निहित प्राकृतिक एवं जैविक गुण नभएर पारिवारिक एवं सामाजिक वातावरणले सिर्जना गरेको मनोविज्ञान हो। पितृसत्तात्मक समाजमा बालकले खानपानलगायत अन्य सम्पूर्ण स्वतन्त्रता उपयोग गर्न पाउने र आफूसरहका दिदीबहिनीलाई कतिपय सन्दर्भमा बन्देज लगाइने क्रियाकलाप देखेका कारण बालकमा अहम्को भावना विकसित हुन थाल्छ। यही अहम्लाई नै शिश्न अभिमान भनी व्याख्या गरिएको हो।

यसैगरी समान उमेरका दाजुभाइले उपभोग गरेको सुविधाबाट आफू वञ्चित हुनुपर्दा बालिकामा हीनताबोध हुन थाल्नु स्वाभाविकै हो। यसैलाई शिश्न ईर्ष्या भनिएको हुनुपर्छ तर यस प्रकारको ईर्ष्या लिंगका कारण नभई आफ्नै परिवेशमा भोग्नुपर्ने पक्षपातपूर्ण व्यवहारका कारण हुने हो। बालकमा हुने शिश्न अभिमान र बालिकामा हुने शिश्न ईर्ष्याको खण्डन गर्न नेपाली समाजमा प्रचलित एउटा सन्दर्भ नै पर्याप्त हुन्छ।

नेपाली सामाजिक तथा पारिवारिक सन्दर्भका दैनन्दिन घटनाहरूमा बालकहरूले बढी सुविधा उपभोग गर्न पाए पनि चाडबाड एवं विभिन्न सन्दर्भमा छोरीलाई टीका लगाएर गोडा ढोगी दक्षिणा दिने तथा छोरालाई चाहिँ नदिने र उल्टै उसलाई सबका गोडा ढोगाउने चलन सर्वविदितै छ। यस अवस्थामा समान उमेरको बालक प्रत्यक्षदर्शी छ भने उसले आफ्ना दिदीबहिनीप्रति ईर्ष्या गर्दै अभिभावकसँग झगडा गरेको देख्ने हामी थुप्रै साक्षी छौं। बालिकामा शिश्न ईर्ष्या हुन्छ भन्ने फ्रायड र यसलाई व्याख्या गर्ने ब्राउनले नेपाली समाजका बालकमा देखिने यस प्रकारको असन्तुष्टिलाई कसरी व्याख्या गर्थे होलान् ?

यस दृष्टिले हेर्दा उल्लिखित शिश्न ईर्ष्याको सन्दर्भ फ्रायड तथा ब्राउनले उल्लेख गरेजस्तो लिंगका कारण नभई पक्षपातपूर्ण व्यवहारका कारण उत्पन्न हुने हो। त्यसैले यो परिवेशजन्य हुन्छ। सायद फ्रायड र ब्राउनलाई यो नेपाली परिवेशको जानकारी भएको भए शिश्न ईर्ष्या बालक र बालिका दुवैमा हुन्छ र यो देश, काल एवं परिवेशसापेक्ष हुन्छ भन्ने सिद्धान्त पो प्रतिपादन हुन्थ्यो कि ? यस सन्दर्भमा केटीहरूमा शिश्न ईर्ष्या हुन्छ भनेर फ्रायडको हवाला दिने कतिपय बौद्धिक मित्रहरू भेटेकी छु। भलै फ्रायड र ब्राउनलाई त यसखाले नेपाली परिवेशको ज्ञान थिएन तर यसरी शिश्न ईर्ष्याको सिद्धान्तलाई आँखा चिम्लेर समर्थन गर्ने, त्यसको व्याख्या गर्ने नेपाली समाजका बौद्धिक मित्रहरूले बालकमा देखिने यस प्रकारको शिश्न ईर्ष्यालाई के नाम दिने होला ?

मनोलैंगिक उत्पत्तिको सिद्धान्त

फ्रायडले मनोलैंगिक उत्पत्तिको सिद्धान्तमा कामशक्ति र यौन प्रवृत्तिलाई केन्द्रबिन्दु मानेर उचित, अनुचित सबै कार्यका मूलमा कामशक्ति वा यौनशक्तिको भूमिका रहन्छ भनेर व्याख्या गरेका छन्। फ्रायडका अनुसार मानिसको विकासका पाँच चरणमध्ये तेस्रो चरणका रूपमा रहेको लैंगिक अवस्था भनेको ३ वर्षदेखि ५ वर्षसम्म रहेको हुन्छ। यस अवस्थामा आनन्दको केन्द्र यौन अंगहरू हुन्छन्, बालबालिका विपरीत लिंगको अभिभावकसँग आकर्षित हुन्छन् र यो आकर्षण यौनमा केन्द्रित हुन्छ तर उसले सामाजिक डर र लाजको कारण दबाएर राखेको हुन्छ र बालबालिकामा आत्मग्लानी हुन थाल्दछ।

त्यसैले यस्तो आकर्षणलाई कम गर्न पराअहम्को विकास हुन्छ। यस अवस्थामा बालकको आमासँग आकर्षण हुन्छ जसलाई ‘मातृरति ग्रन्थि’ अर्थात् इडिपस कम्प्लेक्स भनिन्छ। यस्तै बालिकाको बुवाप्रति हुने आकर्षणलाई ‘पितृरति ग्रन्थी’ अर्थात् इलेक्ट्रा कम्प्लेक्स भनिन्छ। यस अवस्थामा बालक आमाप्रति आकर्षित हुन्छ र पितालाई प्रतिद्वन्द्वी देख्न थाल्छ भने बालिका आफ्नो पिताप्रति आकर्षित हुन्छे र आफ्नी आमालाई प्रतिद्वन्द्वी मान्न थाल्छे।

अब विभिन्न सन्दर्भबाट यसको चर्चा गरौं। पहिलो कुरा तीन वर्षदेखि पाँच वर्षको उमेरमा बालबालिका विपरीत लिंगी अभिभावकप्रति आकर्षित हुने नभएर जसका साथमा धेरै समय बिताउने समय जुरेको हुन्छ तथा जसले धेरै माया गरेको अनुभूत गर्छ ऊप्रति आकर्षित हुन्छ, त्यो पनि फ्रायडले भनेजस्तो यौनिक दृष्टिले नभएर निकटता र सुरक्षाको भावनाले आकर्षित हुने हो। यस अवस्थामा ‘विपरीत लिंगी अभिभावकप्रति यौन आकर्षण हुन्छ’ भन्ने फ्रायडको अवधारणा एकछिनलाई मानिदिने हो भने पनि ‘बालकले सामाजिक डर र लाजको कारण दबाएर राख्छ’ भन्ने कुरा अत्यन्त कपोलकल्पित, हास्यास्पद एवं त्रुटिपूर्ण देखिन्छ किनकि ३ वर्षदेखि ५ वर्षसम्मको उमेर भनेको डर तथा लाज लाग्ने उमेर पटक्कै होइन, त्यसमा पनि आफैंलाई माया गर्ने व्यक्तिसँग।

यस उमेरमा ऊ अत्यन्त निर्दाेष हुन्छ र उसले औपचारिकता र अनौपचारिकताको भेद नै पहिचान्न सकेको हुँदैन। यस उमेरमा सामाजिक डर एवं अवगाल भन्ने कुरा उसले पत्तोसमेत नपाउने हुनाले कतिपय पारिवारिक एवं व्यक्तिगत गोप्य सन्दर्भहरू निर्दाेष ढंगले सार्वजनिक रूपमै व्यक्त गरिदिने गरेको प्रशस्तै उदाहरण हामीले देखे, सुनेको र भोगेको पनि हो। सामाजिक डर र लाज भन्ने भेउ नै नपाउने हुनाले यस उमेरमा उत्पन्न हुने भनिएको कथित यौनाकर्षणलाई दबाउने प्रश्न नै उठ्दैन। यस धर्तीका प्रत्येक मानिसले देखेको अनि भोगेको यस यथार्थलाई कुनै पनि सिद्धान्तले प्रमाणित गर्नु पर्दैन, स्वतः स्पष्ट छ।

अब लिऊँ इडिपस कम्प्लेक्सलाई। फ्रायडको यो सिद्धान्त ग्रिक पुराकथामा प्रचलित इडिपसको सन्दर्भबाट लिइएको हो। यस सिद्धान्तअनुसार ३ वर्षदेखि ५ वर्षसम्मको उमेरमा बालकले आफ्नी आमालाई यौन आकर्षणको केन्द्र देख्छ र आमातर्पm आकर्षित हुन्छ र बाबुलाई प्रतिस्पर्धीको रूपमा हेर्दै ईर्ष्या महसुस गर्न थाल्छ।

यस सन्दर्भमा हेर्दा जुनसुकै परिस्थिति, समय र स्थानमा रहे पनि कुनै पनि सन्तान प्राकृतिक एवं जैविक रूपले जहिले पनि बाबुका तुलनामा आमासँग नै निकट हुन्छ भन्नलाई कुनै सिद्धान्तको आवश्यकता नै पर्दैन। कुनै पनि समय, भूगोल, संस्कार एवं संस्कृतिले यस सत्यलाई फरक पार्न सक्दैन। प्रकृतिप्रदत्त यो तथ्य घामजस्तै छर्लंग छ। यस तथ्यलाई विश्वसाहित्यमा देखिएका अनेकौं कालजयी कृतिहरूले पनि पुष्टि गरिसकेका छन्।

विश्वसाहित्यमा आमासँग सम्बन्धित थुप्रै कृति प्रकाशन भएका छन् र त्यस्ता कृति छोरा वा छोरी दुवैले लेखेका छन्। अन्य सन्दर्भ परै राखेर हेर्दा पनि यस उमेरसम्म कतिपय बालक लगभग आमाको छाती चुसिरहेको पनि हुन सक्छ र आफ्ना हरेक क्रियाकलापका लागि आमामै आश्रित हुन्छ। यसरी आमाको छाती चुस्दा तथा आमामा आश्रित रहँदा बालकले अनुभूत गर्ने सुरक्षा भाव तथा शारीरिक एवं मानसिक सन्तुष्टिलाई यौनतुष्टिसँग लगेर जोड्नु मानव जातिकै अवमूल्यन हो, सिंगो सृष्टिकै अपमान हो।

यहाँनेर फ्रायडको दृष्टि नपुगेको अर्काे कुरा छ, सन्तान यो उमेरमा आइपुग्दा बरु उसको बाबुचाहिँ सन्तानसँग ईर्ष्या गर्ने स्थितिमा पुग्ने सम्भावना अत्यधिक रहन सक्ने अनुभव संसारका अधिकांश आमाबाबुले गरेको हुनुपर्छ। व्यावहारिक यथार्थ हेर्ने हो भने सन्तान यस अवस्थामा रहँदा आमाको सम्पूर्ण ध्यान सन्तानको स्याहारसुसारमा केन्द्रित हुन जान्छ। कतिपय अवस्थामा रतिरागलाई सन्तानप्रतिको बात्सल्यले जित्ने हुँदा पतिप्रति पत्नीको ध्यान एवं आकर्षण कम हुनु पनि स्वाभाविक नै हो। यसले गर्दा लोग्नेले स्वास्नीबाट पर्याप्त समय नपाउने स्थिति रहन्छ।

अझ भनौं, समागम निमन्त्रणामा पनि आमाले सन्तानतिरै ध्यान दिएर लोग्नेलाई बेवास्ता गर्न बाध्य हुने परिस्थिति सिर्जना हुने सम्भावनालाई पनि नकार्न सकिन्न। सन्तानकै कारण आफूले चाहेका बेला शारीरिक तुष्टि प्राप्त नहुँदा एउटा बाबु सन्तानप्रति ईर्ष्याभाव राख्ने स्थितिमा पुग्न सक्छ। ऊ आफ्ना सन्तानप्रति कठोर व्यवहारसमेत देखाउन तयार रहेको कुरा अधिकांश महिला एवं पुरुषले अनुभूत गरेकै हुनुपर्छ। निर्दाेष एवं अञ्जान बालबालिकाको यौन विश्लेषण गर्ने फ्रायडले यस्तो परिवेशमा कामवासनाले राँकिएको एउटा पुरुषको यौन मनोविश्लेषण गर्नेतर्पm किन ध्यान नदिएका हुन् कुन्नि ?
भलै फ्रायडले त गरेनन् नै तर फ्रायडको यस सिद्धान्तलाई आँखा चिम्लिएर समर्थन गर्ने विद्वान्हरूले क्षणिक नै भए पनि अधिकांश बाबुमा देखिन सक्ने यस प्रकारको ईर्ष्याजन्य व्यावहारिक यथार्थलाई मनोविश्लेषणको कुन सिद्धान्तअन्तर्गत व्याख्या गर्लान् ? यस दृष्टिले हेर्दा फ्रायडद्वारा प्रतिपादित यस सिद्धान्तलाई सिंगो सृष्टिकै विपरीत अनर्गल अभिव्यक्ति मान्न सकिन्छ।

संसारको कुनै पनि कुनामा सन्तान सामान्यतया पिताको तुलनामा आमासँग नै निकट हुन्छन्, कतैकतै अपवाद देखिए बेग्लै कुरा। यस्तो अपवाद सिर्जनाका लागि कुनै पनि बाह्य कारकले भूमिका खेलेको हुन सक्छ। आमा रोगी भएर सन्तानमाथि उचित ध्यान पु¥याउन नसक्नु वा अनेक प्रकारका बाह्य कारणले सन्तान र आमासँगै बस्न नपाएका कारण छोराछोरीसँग निकट हुन नसक्ने परिस्थितिमा सन्तान बाबुसँग निकट देखिन सक्छ। अर्काेतिर कुनैकुनै परिवारमा सन्तान आमासँग भन्दा बाबुसँग निकट देखिएको हो कि भन्ने कहिलेकाहीँ कसैकसैलाई भ्रम पनि पर्न सक्छ तर फ्रायडले उल्लेख गरेको यस उमेरमा होइन।

बाह्य परिवेशसँग घुलमिल हुने उमेरमा पुगेपछि अलि जिज्ञासु स्वभावका बालबालिकाले पितासँग बढी समय बिताउन चाहेको हो कि भन्ने देखिन सक्छ किनकि अधिकांश सामाजिक एवं पारिवारिक परिवेशमा उसका सामान्य ज्ञान एवं बाह्य संसारसँग सम्बद्ध अनेकखाले जिज्ञासाहरू शान्त गर्न आमाका तुलनामा बाबु सक्षम हुने सामाजिक, पारिवारिक एवं शैक्षिक स्थिति टड्कारो रूपमा रहेको हुन्छ। यसै कारणले मात्र कुनैकुनै बालक पितासँग निकट भएको हो कि भन्ने भ्रम हुन जान्छ, अन्यथा सामान्य अवस्थामा आमाका तुलनामा बालक पितासँग कुनै हालतमा पनि निकट हुँदैन।

आमा र छोराबीचको यौनसम्पर्कको सन्दर्भलाई लिएर हाम्रो परम्परामा विरुपाक्षको किंवदन्ती पनि नभएको होइन तर आमासँग विरुपाक्षको समागम परिस्थितिवश अञ्जानमा हुन गएको एउटा दुर्घटना मात्र हो, यौनाकर्षणका कारण होइन। विरुपाक्षले पछि यसको प्रायश्चित्त गर्ने प्रयास गरेको किंवदन्ती पनि हामी सबैलाई थाहा भएकै हो।

फ्रायडले व्याख्या गरेको चौथो चरण सुप्तावस्था अवस्था हो। यो चरण ५ वर्षदेखि १२ वर्षसम्म मानिन्छ। फ्रायडका अनुसार यस अवस्थामा यौन आवेगहरू दमित हुन्छन् र बालक शान्त हुन्छ। फ्रायडले गरेको यो व्याख्या त झन् मानवीय प्रकृतिभन्दा विपरीत देखिन्छ किनकि यौन आवेग दमित हुँदा त झन् असामान्य अवस्थामा पुग्नुपर्ने होइन र ?

अर्काेतर्फ यस अवस्थामा बालबालिका बाह्य परिवेशसँग साक्षात्कार हुन पुग्छ। यस उमेरमा आइपुग्दासम्म उसले यदाकदा बाबुआमाबीच हुने समागमको दृश्य पनि देख्न पाएको पनि हुन सक्छ। यस्तो अवस्थामा यौनआवेग दमित नभएर ऊ त्यसप्रति झन् उत्सुक हुनजान्छ।

हाम्रोभन्दा पृथक् सांस्कृतिक एवं सामाजिक धरातलमा फ्रायडले आफ्नो भौतिक एवं मानसिक परिवेशअनुरूप यो सिद्धान्त प्रतिपादन गरेका कारणले पनि हाम्रो सन्दर्भमा उनका कतिपय सैद्धान्तिक मान्यताहरू अस्वाभाविक एवं अमान्य देखिन गएका हुन् भनेर कसैले तर्क तेस्र्याउँछ भने त्यो झन् अर्काे त्रुटि हुन्छ, किनकि जुनसुकै भौतिक, मानसिक एवं सांस्कृतिक परिवेशमा रहे पनि शाश्वत मानवीय भावना एवं अनुभूति खासै फरक हुँदैन। फ्रायडको समयमा पनि त्यताका सन्तानहरू आमाकै छाती चुसेर हुर्किएका हुन्, आमाकै निकट हुन्थे। त्यसैले उनले प्रतिपादन गरेको इडिपस कम्प्लेक्स र इलेक्ट्रा कम्प्लेक्स सत्यको नजिक देखिँदैनन्।

मेरा दृष्टिमा ती कोरा कल्पना हुन्, अझ भनौं बर्बराहट मात्र हुन्। मनोविश्लेषणको सिद्धान्तले समाज, परिवेश आदिको व्याख्या विश्लेषण नगरी बाह्य यथार्थको उपेक्षा गर्ने हुनाले पनि यस्ता सृष्टिविरोधी, मानवविरोधी व्याख्या भएका हुन् तर मानिसको मनोविज्ञान निर्माणमा परिवार, समाज, संस्कार, परिवेश आदिले ठूलो भूमिका खेल्ने यथार्थ घामजस्तै छर्लंग छ। यहाँनेर फ्रायडको दृष्टि नपुगेकै हो। यसरी हेर्दा फ्रायडवादका कतिपय सन्दर्भहरू पनि हुइयाँकै स्तरभन्दा फरक लाग्दैनन् मलाई।

नेपाली सन्दर्भ

अर्काे उदेकलाग्दो सन्दर्भ, नेपाली साहित्यमा विजय मल्लद्वारा लिखित ‘अनुराधा’ उपन्यासलाई कथित फ्रायडिय सिद्धान्तको भट्टीमा जबर्जस्ती कोचिएको छ। यस उपन्यासमा उल्लिखित फ्रायडको सिद्धान्तसँग मेल नखाने अनेक सन्दर्भलाई पनि फ्रायडिय सिद्धान्तको हवाला दिँदै अपव्याख्यासमेत गर्न खोजिएको छ। आमा र दिदीहरूले अनुराधाको रिस गर्नुलाई अधिकांश समालोचकहरूले ‘अनुराधामा इलेक्ट्रा कम्प्लेस भएकाले अनुराधाकी आमाले उसको रिस गरेकी हो’ भन्नसम्म पछि परेका छैनन्।

यसरी नेपाली साहित्यमा इलेक्ट्रा कम्प्लेक्सलाई अपख्याख्या गर्ने चलन कर्मकाण्डकै रूपमा स्थापित गराइएको छ र यो क्रम अझै जारी छ, तर फ्रायडको कुनै सिद्धान्तले पनि आमा छोरीप्रति ईर्ष्यालु हुन्छन् भनी संकेत नगरेको तथ्यप्रति कसैको पनि ध्यान नजानु र अनुराधाप्रति आमाले गरेको व्यवहारलाई इलेक्ट्रा कम्प्लेक्ससँग जोडेर व्याख्या गरिनु आफ्नो विवेकलाई बिर्सेर हुइयाँको पछि दौडनु हो र यो नै फ्रायडिय भूतले तर्साएको तथ्यलाई पुष्टि गर्ने उल्लेखनीय उदाहरण हो।

उल्लिखित कतिपय सैद्धान्तिक मान्यताहरू पश्चिमी परिवेशमै पनि अमान्य एवं आपत्तिजनक भनेर व्याख्या गर्दै कतिपयले तिनका विरोधमा आवाज उरालेको पनि पाइन्छ। छिमेकी देश भारतमै पनि यसको आलोचना गरेर अनेक लेख लेखिएका छन् तर हाम्रा विश्वविद्यालयहरूमा यो सिद्धान्त पढाउने र यसबारे लेख्ने गुरुहरूले हुबहु यो सिद्धान्तको व्याख्या गरेको पाइन्छ तर आफ्नो विवेकपूर्ण दृष्टिकोण कसैले पनि व्यक्त गरेको भेटिएको छैन, न पढाउँदा न लेख्दा। हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीलाई प्रश्न गर्न, आलोचनात्मक टिप्पणी गर्न नसिकाई घोकन्ते बनाउनुको परिणाम हो यो।

नेपाली साहित्यमा इलेक्ट्रा कम्प्लेक्सलाई अपख्याख्या गर्ने चलन कर्मकाण्डकै रूपमा स्थापित गराइएको छ र यो क्रम अझै जारी छ। फ्रायडको कुनै सिद्घान्तले पनि आमा छोरीप्रति ईर्ष्यालु हुन्छन् भनी संकेत नगरेको तथ्यप्रति कसैको पनि ध्यान नजानु र अनुराधाप्रति आमाले गरेको व्यवहारलाई इलेक्ट्रा कम्प्लेक्ससँग जोडेर व्याख्या गरिनु आफ्नो विवेकलाई बिर्सेर हुइयाँको पछि दौडनु हो र ?


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.