होटलका हीरा

होटलका हीरा
सुन्नुहोस्

अनुभवले व्यवसायमा सफल बनाउँछ भन्ने हीराले सिकेका छन्। भन्छन्, ‘जसले जे जानेको छ, त्यसमै मेहनत गर्नुपर्छ। दिन सबैको आउँछ। अनि आफू होस् वा अरू, सकेको सधैं गर्नुपर्छ। सेवा गरे मेवा मिल्छ।’

भनिन्छ ‘कर्म गर, फल अवश्य मिल्नेछ।’ यही भनाइलाई आत्मसात् गरेका होटेल व्यवसायी हुन्, महोत्तरी बर्दिबासका हीरा गौतम। ‘न्वारनमै राखेको ‘हीरा’ नाम उनका लागि अहिले हीराजस्तै चम्किएको छ’ भन्छन् नजिकबाट चिन्ने र बुझ्नेहरू। आफू सानै हुँदा बुवाले १७ वर्षसम्म आफ्नै थरको नामबाट ‘गौतम होटेल’ चलाउँदाको अनुभवले उनलाई अहिले सफल व्यवसायी बनाएको हो। बुवाको बलबुतामा सानो टहरोबाट सुरु भएको गौतम होटल बर्दिबासको मध्यचोकमा चम्कँदै धनुषाको मिथिला नगरपालिकामा ‘फोर स्टार’सम्म पुगेर ठडिएको छ, त्यही नाममा। अनि, अहिले पनि उत्तिकै खट्छन्, ८१ वर्षीय बाबु नरहरि र छोरा हीरा गौतम।  

उमेरले ४८ वर्ष पुगेका हीराले अन्य व्यवसायमा हात नहालेका भने होइनन्। तर, योबाहेक अरू व्यवसायले चमक पाएन। केही वर्ष बुवालाई होटेलमा सघाएका उनले बर्दिबास बजारमा २/३ वर्ष ठेक्काको काम पनि गरे। तर, पार लागेन। काठमाडौंमा पो केही गरेर उद्यमी बन्न सकिएला भन्ने सोचेर त्यहाँ गई गलैंचा कारखाना खोले। दुई वर्ष तानमा घोटिए तर सफलता हात परेन। सन्तोषभन्दा समस्या बढे। अनि फर्किए आफ्नै ठाउँ बर्दिबास। भन्छन्, ‘लगभग २०५५/०५६ सालमा हुनुपर्छ। १० हजार ऋणले पिरोलेको थियो, बल्लतल्ल चुक्ता गरेपछि आनन्द आयो। अनि पुनः बुवाले थालेको होटेल व्यवसाय अघि बढाएँ।’

होटेल व्यवसायमा चम्कनुको कारण भने उनी ‘हस्पिटालिटी’ नै ठान्छन्। हीरालाई यस्तै व्यवसाय पनि मन पर्छ जहाँ सेवा र सत्कार दुवै होस्। अनि, ‘हस्पिटालिटी’लाई प्राथमिकतामा राख्दै २०५७ सालबाट पुनः मीठो खाना बनाएर ग्राहकको मन जित्न थाले। छाप्रोबाट खाना खुवाउँदै घर बनाए। कोठा थपे र खानेमात्रै होइन, बस्नेसम्मको सेवा दिने अवस्थामा उकालो चढे। त्यो दिन सम्झँदै उनी भन्छन्, ‘पहिला त हाम्रो होटल छाप्रोजस्तै थियो। खासै त्यस्तो ठूलो होटल त थिएन। त्यहाँ खाना खुवाउने मात्रै व्यवस्था थियो। बिस्तारै ८ कोठा बनायौं। त्यो निरन्तर खचाखच हुन थाल्यो। परिवारबाटै होटल सञ्चालन गरेका थियौं। ग्राहकले खाना र सेवा मन पराउनुभयो। त्यही हो सफलताको सिँढी।’

बिस्तारै गौतम होटल बर्दिबासमा हीराझै चम्कियो। चम्कनुको कारणबारे उनै हीरा गौतम भन्छन्, ‘बसोबासको राम्रो बन्दोबस्त ग¥यौं। थोरै कोठा भए पनि एकदमै सफा राख्थ्यौं। पाहुना सन्तुष्ट हुन थालेपछि माग बढ्दै गयो। ग्राहकको मागबमोजिम सेवासुविधा थप्दै गयौं। रुम थप्दै गयौं, रेस्टुरेन्टको क्षमता बढाउँदै गयौं। हलको माग भएपछि एउटा हल बनायौं। चाप बढ्यो। हलकै संख्या चार पुर्‍याएर सेवा पनि बढायौं। दिनरातको मेहनतले नै आज यो अवस्था पायौं।’ जुन काममा लाग्यो त्यसलाई नै राम्रो गर्छु भन्ने सोचेमा जेमा छ त्यसमा नै सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी।

दोलखाको च्याँमा भन्ने ठाउँबाट बर्दिबास पुगेको गौतम परिवार अहिले मधेस प्रदेशमै यस व्यवसायमा अब्बल बनेको छ। बर्दिबास झरेपछि नै जन्मिएका हीराको बाल्यकाल पनि त्यहीँ बित्यो। औपचारिक शिक्षा र व्यावहारिक शिक्षा बर्दिबासमै लिए। बर्दिबासको जनता माध्यमिक विद्यालयमा पढेर एसएलसी पास गरे। भन्छन्, ‘आईए चाहिँ रौतहटबाट पास गरेको हुँ। त्यसपछाडि व्यवसायमा लागें। लगातार होटल व्यवसायलाई कसरी राम्रो बनाउने ? कसरी प्रमोसन गर्ने ? भन्नेतिर नै ध्यान गयो।’

‘मानिसलाई केही न केहीमा सफलता मिल्छ, तर त्यो केमा भन्ने चाहिँ चिन्नु पर्छ।’ भन्ने पुरानो भनाइ नै छ। हीरालाई लाग्छ, ‘मेरो सफलता होटेल व्यवसायमै हो भनेर लेखेको रहेछ। र, आजसम्म यो व्यवसायको खुट्किलो ओर्लनु परेको छैन।’ अझै होटेल त हजारौं फरकफरक सोच र विचार भएका व्यक्ति ठोक्किने ठाउँ। सबैको मन जितेर अघि बढ्नु चुनौती नै हुन्छ। भन्छन्, ‘जुन व्यवसायमा हुन्छौं, त्यसलाई अझै प्रोमोसन गर्ने हो। अझै राम्रो बनाउने पक्कै पनि सबैको सोच हुन्छ। सातवटै प्रदेशमा गौतम होटलको एउटा–एउटा शाखा बनाउने सोच छ।’

व्यवसाय सफल बनाउने उनले नेपालका होटेल र सेवामात्रै अध्ययन गरेनन्। हस्पिटाली क्षेत्रकै धेरै पुस्तक पढे। किनकि उनलाई थाहा थियो, होटेल चम्काउने ‘गाँठी कुरो’ हस्पिटालिटी नै हो। उनलाई त्यहीँ कुराले साथ दियो। भन्छन्, ‘पुस्तक त धेरै पढें, अनि देश—विदेश भ्रमण गरेर यो क्षेत्रको अध्ययन पनि गरें।’ यो बीचको समयमा उनले ११ वटा देशको भ्रमण गरेर खानाको परिकार, सेवा र सत्कारको अवस्था बुझे। ‘विदेश जाँदा होस् वा नेपालकै विभिन्न ठाउँमा पुग्दा प्रायः फरक फरक खालका होटलमा बसें। त्यहाँको अनुभव मजाले लिएँ। त्यो कुराले पनि अलि बढी होटल व्यवसायलाई व्यवस्थित गर्न सहयोग गरेको छ। अहिले धनुषाको होटलमा त्यो अनुभवले स्पोर्ट गरेको छ’, उनी भन्छन्।

२३ वर्षसम्म निरन्तर होटेलमै लाग्दा यो अवस्थामा पु¥याउन सफल भएको उनी बताउँछन्। अहिले त ‘गौतम होटेल’ यो क्षेत्रको ब्रान्ड नै बनेको छ। पहिलेको अवस्था सम्झँदै उनी भन्छन्, ‘बीचमा तीन वर्ष विभिन्न समस्याले बन्द भयो। बुवाले त्यही जग्गा र घर बैंकमा धितो राखेर बरफ फ्याक्ट्री खोल्नुभयो। ऋण तिर्न नसकेका कारण लिलाम हुने अवस्था आयो। सम्पत्ति बेचेर ऋण चुक्ता ग¥र्यौं। बुवाले होटल व्यवसायलाई निरन्तरता दिन सक्नु भएन। अनि आफ्नो पेसाभन्दा फरकतिर जानुभयो। अनि उहाँलाई समस्या भयो। व्यवसाय राम्रो हुँदाहुँदै पनि बरफ उद्योगले गर्दा होटल व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो। पछि पुनः यसै नामबाट हामीले सुरु ग¥यौं, त्यसपछि समस्यामा फस्नु परेन।’

अनुभवले व्यवसायमा सफल बनाउँछ भन्ने हीराले सिकेका छन्। भन्छन्, ‘जसले जे जानेको छ, त्यसमै मिहेनत गर्नुपर्छ। दिन सबैको आउँछ। जुन कुरा सिकेभोगेको छु। त्यही व्यवसाय २०५७ बाट सुरु गरेपछि कहिले पनि त्यो कमजोर भइनँ।’

सफल व्यवसायी हीरा आपूmमात्रै यो व्यवसायमा सफल हुनुपर्छ भन्ने सोच्दैनन्। उनको होटेलबाट काम सिकेका सयौंले यसै क्षेत्रमा हात हालेर सफल हुँदै पनि गएको सुनाउँछन्। सुझाव र सल्लाह माग्न आउनेलाई उनी सुझाव मात्रै दिँदैनन्, योजना बनाउन र काम गर्न पनि सिकाउँछन्।

त्यसैले उनको होटेलमा काम गर्नेहरू त्यहाँ वर्षौंसम्म रहेर काम सिक्छन्। मिहेनतले काम गर्छन्। होटेल व्यवसायमा सफल हीरा सामाजिक काममा पनि उत्तिकै खटिएको भेटिन्छन्। बर्दिबास क्षेत्रका हरेक सामाजिक काममा उनको नाम अग्रस्थानमै आउँछ। सहयोगका लागि अपिल गर्न पुगेकाहरू खाली हात फर्कंदैनन्। भन्छन्, ‘सकेको सधैं गर्नुपर्छ। सेवा गरे मेवा मिल्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.