चुनौतीपूर्ण अवसरमा नयाँ विश्वविद्यालय

चुनौतीपूर्ण अवसरमा नयाँ विश्वविद्यालय
फाइल तस्बिर।

नेपालमा थुप्रै इतिहास छन्। मल्लकालीन इतिहास छन्, शाहकालीन इतिहास छन्। तर, मुलुकको इतिहास छैन। मेची—महाकाली जोड्ने इतिहास छैन। नेपाली—नेपाली जोड्ने इतिहास छैन।’ नेपाल प्रज्ञा प्रतिष्ठानको २०२६ सालमा गठित नयाँ प्राज्ञ परिषद्को पहिलो बैठकमा सदस्य सूर्यविक्रम ज्ञवालीले नवनियुक्त कुलपति केदारमान व्यथितलाई भनेका वाक्य हुन् यी।

समिति बनाएर अवधारणासमेत सार्वजनिक भइसकेको अवस्थामा पशुपति क्षेत्र विकास कोषले श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापनार्थ विद्धत्जनको राय संकलनार्थ गतसाता आयोजना गरेको गोष्ठीमा पंक्तिकार भने साहित्यका उनै विद्धान् ज्ञवालीका प्रस्तुत विषय सम्झिरहेको थियो। ५४ वर्ष बितेछ तर आजसम्म त्यो काम हुन सकेको छैन। सम्भावनाको संसारले तान्छ मलाई। गोष्ठीमा प्रस्तुत विश्वविद्यालय तयारी समितिको ‘विचार—पत्र’का दुई शब्दले तान्यो। मनमात्र तानेन, मुटु नै चिमोटियो। चिन्नेजान्नेका लागि म सञ्चारकर्मीमात्र होइन, साहित्यकार पनि हुँ। भन्नुहोला, भावना मिसियो यसमा। राष्ट्रभक्ति हुने कुन नागरिकलाई मुलुकको इतिहास लेखिने विषयले नछोला र ?

विचार—पत्रमा लेखिएका दुई शब्द हुन्, ‘नेपाल अध्ययन’। विश्वविद्यालयको दोस्रो कार्य भनी उल्लेख भए पनि श्रीपशुपति जोडेर बनाइने विश्वविद्यालयको सार्थकता यसमै भेट्टाएँ। यो किन पनि भने हालसालै सम्पन्न गरेको मेरो एमफिलको थेसिसले दिएको निष्कर्षले देखाएको एउटा बाटो यसमै समाहित छ। स्वदेशी तर विश्वसम्पदा अनि नेपाली संस्कृति र सभ्यताको जग श्रीपशुपतिनाथमा विदेशी विद्धान् क्याडेनियन प्राध्यापक ह्यारोल्ड ए. इन्निसको सिद्धान्त ‘द बायोस अफ कम्युनिकेसन’को ‘टाइम बायोस्ड कम्युनिकेसन’ मिसाएँ। दर्शनाचार्य उपाधि दिने मेरो यो ‘अनुसन्धान’ले पृथक दृष्टिकोण दिएको छ।

नेपाल राष्ट्रको उत्पत्ति र श्रीपशुपतिनाथको उद्भवको समय करिब एउटै हुनु, त्यसबेलादेखि हालसम्मका सबैजसो शासक पशुपतिनाथसँग जोडिनु र उसबेलैदेखि पशुपतिनाथले नेपाललाई विश्वभर चिनाउँदै आउनु आदि सबै सबै घटना र सन्दर्भ (जो मेरो अनुसन्धानमा पनि मूलस्थान ओगेटेका छन्)ले नेपालका लागि पशुपतिनाथ जोडिएको विश्वविद्यालय सार्थक हुन आउँछ। किनकि यो यसअघि स्थापित र सञ्चालित १६ विश्वविद्यालयभन्दा पृथक हुन्छ नै, हुनुपर्छ पनि।

पश्चिमा लेखक स्टेफनआर कोभेले भनेका थिए, ‘तिमीले जे जानेका छौ, त्यो अरूलाई बाँड, अन्यथा त्यो बिर्सिन सक्छ वा मासिन सक्छ। तिमीले जानेका कुरा अरूलाई बाँड्नु भनेको बारीमा बिउ छरेजस्तै हो। बिउ माटोमा परे उम्रन्छ ढुंगामा परे चराले खान्छ र अर्को ठाउँमा गएर विष्टा गर्छ र त्यो बिउ उम्रन्छ। बिउ मासिँदैन।’ कोभेको यो भनाइले आफूले प्राप्त गरेको ज्ञान प्रयोग गर्नुपर्छ भन्ने बोध भएकैले सन्दर्भ उप्काएको हुँ। हुनतः पशुपतिनाथ ‘महासागर’को स्वरूपमा भएकाले मेरो शैक्षिक अनुसन्धान ‘एक गाग्री पानी’मात्र हो। तर यत्ति हो, कुनै तीर्थ पुगेर ल्याएको पानी एकैथोपा किन नहोस्, अन्यत्रको पानीमा मिसाउँदा त्यसको महŒव बेग्लै हुन्छ। दर्शनाचार्यमा अनुसन्धानले दिएको निष्कर्ष हो, ‘पशुपतिनाथ याज अ कम्युनिकेटर अफ सिभिलाइजेसन एक्रोस द एराज’। जसले विश्वमा नेपाल चिनाउन सांस्कृतिक बिम्बको रूपमा कामसमेत गरेको छ, गरिरहेकै छ। यति हुँदासम्म हामी नेपालीले ‘नेपाल अध्ययन’ गरेका छैनौं। अब त नगरी हुन्न। भन्नेले १७ विश्वविद्यालय भनेर खिसिट्युरी गर्लान्। काग कराउँदै गरुन्, सरोकारवालाले परिणामबाट ‘गतिलो सन्देश’ दिनैपर्छ। संस्कृति, सम्पदा र इतिहासबाट नेपालको उचाई सगरमाथा बनाउने हो।

यो सन्दर्भ जोड्नुपर्ने कारण स्पष्ट छ कि पाशुपत क्षेत्र आफैंमा खुला संग्रहालय हो। जसलाई प्राचीन नेपालको प्रतिबिम्ब मान्न सकिन्छ, मानिँदै आएको पाइन्छ। विश्व सम्पदा सूचीमा सन् १९७९ मै सूचीकृत भइसकेको सम्पदा हो। धेरै लक्ष्य र उद्देश्य यसअघिका विश्वविद्यालयका होलान् तर श्रीपशुपतिको काम र परिणाम तीभन्दा पृथक र विशेष हुनुपर्छ जसले साँच्चै नागरिकलाई ‘नेपाली नागरिक’, ‘राष्ट्रभक्त नागरिक’, ‘सुसंस्कृत नागरिक’, ‘कर्मशील नागरिक’सँगै ‘भव्य र दिव्य नागरिक’ पनि बनाउने छ। यो दलीय भागबन्डामा नियुक्त हुने विश्वविद्यालय हुनेछैन, विषयविज्ञ र तनमनले काम गर्ने कर्मचारीले चल्नेछ। संस्कृतिमन्त्रीको सक्रियतामा सुरु भए पनि सरकारको अनुदानको अपेक्षा गर्नेछैन, आफ्नै जगमा उभिनेछ।

मन्त्री शब्द जोड्दै गर्दा मन चसक्क भएको छ, कतै यो विश्वविद्यालयको विषय तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बालसाहित्य प्रतिष्ठानको गठन प्रक्रिया अघि बढाएजस्तो त हुँदैन ? राष्ट्रपतिले आधाउधि पु¥याएको यो काम त सरकार परिवर्तनसँगै अड्किएको छ भने मन्त्रीले थालेको विश्वविद्यालयले के कति मान्यता पाउला आगामी दिनमा ? त्यसैले सम्पदा, सभ्यता र संस्कृति जोडिएको यो विश्वविद्यालयलाई राजनीतिबाहिर राखेकै वेश। जसले अनेकौं अनुसन्धानमार्फत मेची—महाकाली जोड्ने इतिहास लेखोस्, नेपाली—नेपाली जोड्ने इतिहास कोरोस् अनि मुलुकको इतिहास रचोस् ! किनकि अनुसन्धानलाई पन्छाएर आजसम्म नेपालले विश्वलाई विकास र समृद्धि देखाउन सकेको छैन। नेपाल विश्वमा किन र कसरी अनि के कारणले पृथक अस्तित्व भएको मुलुक हो भनेर प्रमाणित गर्न सकेको छैन। भएका संस्कृति, मूर्त÷अमूर्त सम्पदा, सभ्यता र अनुपम प्रकृति देखाउन र विज्ञानसम्मत छन् भनेर अनुसन्धानले पुष्टि गर्न नसकेरै ‘सुन’ बिछ्याएर ‘नुन’ खोजिरहेको छ नेपाल। यसकारण श्रीपशुपति हिन्दू विश्वविद्यालय आवश्यकमात्र होइन, अत्यावश्यक पनि छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.