लागूऔषधको दलदलमा कैलाली

लागूऔषधको दलदलमा कैलाली
फाइल तस्बिर
सुन्नुहोस्

टीकापुर : सीमावर्ती भारतसँगको खुला सीमानाका रहेको कैलाली पछिल्लो समय लागूऔषधको दलदलमा फस्दै गएको छ। सीमावर्ती क्षेत्रबाट हुने लागूऔषध कारोबार र प्रहरीले दर्ता गरेका मुद्दाका आधारमा कैलाली लागूऔषधको दलदलमा फस्दै गएको हो। 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार लागूऔषधसँग जोडिएका मुद्दामा कैलाली दोस्रो जिल्लामा पर्दछ। पहिलो जिल्लाका रूपमा रहेको काठमाडौंपछि कैलालीमा लागूऔषधका मुद्दा बढी दर्ता भएको देखिन्छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा काठमाडौंमा ४९३ लागूऔषध मुद्दा दर्ता भएका छन् भने कैलालीमा ३४७ वटा मुद्दा दर्ता भएका छन्।  

कैलालीसँगै मोरङ, पर्सा, झापा, सिराहा, कञ्चनपुर, बाँके, मकवानपुर र सुनसरीमा लागूऔषधका मुद्दाहरू बढी दर्ता छन्। लागूऔषध ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले दर्ता गरेका मुद्दाका आधारमा कैलाली दोश्रो जिल्लाका रुपमा रहेको बताए। ‘एक वर्षमा दर्ता भएका मुद्दाहरूका आधारमा कैलाली देशभरिमै दोस्रो जिल्लाका रुपमा रहेको छ’, उपरीक्षक जोशीले भने ‘पहिलो नम्बरमा काठमाडौं छ भने तराई क्षेत्रका अधिकांश जिल्लाहरू लागूऔषधको दलदलमा फस्दै गएको देखिन्छ।’

साथीहरूसँगको संगत, पारिवारिक समस्या, मानसिक समस्या, शैक्षिक समस्या, सेवन गर्ने उत्सुकता, सीमा क्षेत्रबाट हुने सहज आपूर्ति लगायतका कारण लागूऔषधका मुद्दाहरू बढ्दै गएको उपरीक्षक जोशीले बताए। ‘मुद्दाको तथ्यांक अनुसार २५–२९ वर्ष उमेर समूहका ३५ प्रतिशत, २०–२४ वर्ष उमेर समूहका ३४ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका १३ प्रतिशत लागूऔषध प्रयोगकर्ताहरू रहेको देखिन्छ’ उपरीक्षक जोशीले भने ‘पाँच वर्ष अगाडि नेपालमा १ लाख ३० हजार बढी लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए भने हाल उक्त तथ्यांकमा निकै वृद्धि भएको पाइन्छ, यही अवस्था रहे कलिलो उमेरका युवायुवती लागूपदार्थको दलदलमा फस्दै जाने देखिन्छ।’

प्रहरी उपरीक्षक जोशीले लागूऔषध नियन्त्रण सामाजिक रोग भएको बताउँदै यसको नियन्त्रणका लागि घरपरिवार, समाज र सबै तहले सक्रियता देखाउनु पर्नेमा जोड दिए। नागरिक समाज टीकापुरका पूर्व संयोजक भीमराम चपाईले लागूऔषधको दलदलले २०–३५ वर्ष उमेर समूहका युवाहरू फस्दै गएको बताए। ‘देशको सक्षम उमेर समूहका युवाहरू लागूऔषधको दलदलमा फस्दै गएका छन्’ चपाईंले भने ‘यसमा प्रहरी मात्रै नभएर स्थानीय, प्रदेश र संघीय सरकारले गम्भीरताका साथ नियन्त्रणमा लाग्न जरुरी छ।’ 

उनले नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए। टीकापुरस्थित नयाँ बिहानी पुनःस्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवरले पारिवारिक भेदभाव, सामाजिक दृष्टिकोण र साथीभाइसँगको संगतले लागूपदार्थको चङ्गुलमा युवाहरू फस्दै गएको बताए। ‘लागूऔषध सेवनकर्ताहरू रोगी हुन्, उनीहरूलाई परिवारका सदस्य र समाजले गर्ने व्यवहारले थप समस्या पर्दै जाने गरेका हुन्छन्’, कुँवरले भने ‘त्यसकारण पारिवारिक वातावरण, साथीभाइसँगको संगत, समाजले हेर्ने दृष्टिकोण र राज्यले समेत यसको न्यूनीकरणका लागि योजना बनाउनै पर्छ।’ 

लागूपदार्थका पूर्व दुर्व्यसनी रहेका कुँवरले पुनःस्थापना केन्द्रहरूले लागूपदार्थमा लतमा परेकालाई उद्धारको पहल गरेको भए पनि त्यो पर्याप्त नभएको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.