भिजिट भिसामा यसरी हुन्छ मानव तस्करी

भिजिट भिसामा यसरी हुन्छ मानव तस्करी

काठमाडौं : तपाईंले एजेन्टलाई कति बुझाउनु भयो ? उनी एकछिन अल्मलिइन्। र भनिन्, ‘एक रुपैयाँ पनि बुझाएको छैन। मेरो त खर्च नै भएको छैन।’

किन झुट बोल्नु भएको ? प्रहरी अधिकृतले प्रश्न गरे। ‘हैन सर, मलाई त पैसा लाग्दैन भनेका थिए। भिनाजु पर्नेले भिसा मिलाएका हुन्। टिकटसमेत मैले काटेको हैन। काठमाडौं बस्दाको खर्चसमेत मैले तिर्नु परेन।’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र रूपन्देही सुनवलकी ओझा थरकी एक युवतीबीचको संवाद हो यो। 

भिजिट भिसामा दुबई जान लागेकी ती युवती सुरक्षा चेकजाँचका क्रममा फर्काइएकी थिइन्। गलत कागजात र बैंकको नक्कली कागजात भएको भन्दै विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले दुबई जान रोकेका थिए। 

ooo

अपराध अनुसन्धान कार्यालयको ३ नम्बर फाँट बाहिर पनि केही युवती उभिएका छन्। उनीहरू भिजिट भिसामा दुबई जान लाग्दा रोकिएका हुन्। उनीहरूको कागजातसहितको पासपोर्ट अपराध अनुसन्धान कार्यालयमा छ। पासपोर्ट लिनका लागि अहिले हरेक दिन त्यहाँ युवतीहरूको भीडभाड हुने गर्छ। त्यहाँ पुग्ने अधिकांश युवतीहरू पैसा खर्च नगरिकन भिसा लगाएको बताउँछन्।  

ooo

धादिङकी २७ वर्षीया रिजाल थरकी युवती पनि पासपोर्ट लिने यही लाइनमा थिइन्। उनी रोजगारीका लागि माल्टा जान लागेकी थिइन्। यसका लागि दुबईसम्म भिजिट भिसामा गएर, त्यहाँबाट माल्टा जाने उनको योजना विमानस्थल सुरक्षा चेकजाँचकै क्रममा बिग्रियो। उनले बनाएको शैक्षिक प्रमाणपत्र र पुलिस रिपोर्ट गलत थियो। उनको कागजात र पासपोर्ट अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयमा आएको छ।  

ooo

गत कात्तिक १० गते नेपालबाट दुबई हुँदै ओमानको मस्कट पुगेकी तामाङ थरकी महिला बलात्कार तथा यौनहिंसामा परेको घटना सार्वजनिक भएको थियो। फेक श्रमस्वीकृति बनाएर उनलाई एजेन्टले मस्कट पुर्‍याएका थिए। मस्कटमा उनी नेपाली नागरिकबाट बलात्कारमा परेकी थिइन्। उनी नेपाली नागरिक तथा एजेन्ट नवीन राईबाट बलात्कारमा परेकी छन्। उनी अहिले नेपाली दूतावास ओमानको संरक्षणमा छन्। राईलाई ओमान प्रहरीले पक्राउ गरेको छ। 

फेक श्रमस्वीकृति बनाएर ओमान गएको घटना सार्वजनिक भएसँगै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले आन्तरिक छानबिनसमेत गरिरहेको छ। फेक डकुमेन्टका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनी दुबई पुगेकी थिइन्। अध्यागमन कार्यालय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले उक्त घटनाका विषयमा आन्तरिक छानबिन भइरहेको बताएका छन्।  

ooo

२ महिनामा १,५१३ राहदानी अनुसन्धानमा, २४६ को कागजात नक्कली

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार गत असोज १५ गतेदेखि यही मंसिर २७ गतेसम्म १ हजार ५ सय १३ वटा पासपोर्ट अनुसन्धानका लागि यस कार्यालयमा आएका छन्। भिजिट भिसामा विदेश जानेहरूका लागि नक्कली कागजात बनाउने, तथा प्रलोभन दिएर विदेश पठाउने ३७ जना एजेन्टहरू पक्राउ परेका छन्। 

गत शनिबार मात्रै यही कसुरमा थप दुई जना सहयोगी पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेका मनोज तामाङ र रामेछापका पदम लामा शनिबार पक्राउ परेका हुन्। लामा निमा छिरिङ ट्राभलका कर्मचारी र मनोज उक्त ट्राभलका सञ्चालक हुन्। उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर तथा संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। 

काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको तथ्य प्रहरीले फेला पारेको छ। राठौर भन्छन्, ‘पक्राउ परेका व्यक्तिहरूले संगठित रूपमा कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्र्ट र बैंक विवरणलगायत नक्कली बनाउने गर्थे। सरकारी कर्मचारीसहित, एजेन्ट, कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरूले एयरलाइन्ससँग सेटिङ गर्ने गर्थे। एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँ दिएर मानिस पठाउने गरेका थिए।’ 

  • रोजगारीको प्रलोभनमा, युवतीहरूलाई फ्रि मै पुर्‍याइन्छ दुबई
  • दुबई ट्रान्जिट बनाएर, तेस्रो मुलुकमा मानव तस्करी
  • दुई महिनामा १५१३ राहदानी अनुसन्धानमा, २४६ को कागजात नक्कली

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार अध्यागमनका कर्मचारीसँग मिलेमतो गरी नक्कली कागजातमै विदेश पुर्‍याइन्छन् नेपाली। यसरी गएका महिलाहरू घरेलु हिंसामा समेत पर्ने गरेका छन्। पुरुषलाई पनि जोखिमयुक्त काममा लगाउने गर्थे। मोटो रकम तिरेर यसरी विदेश गएकाहरू अप्ठ्यारो काम गर्न बाध्य पारिएका थिए। 

यस कार्यमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको छ। उनले मिलेमतोमा तीन सयभन्दा बढी व्यक्तिलाई भिजिट भिसामा विदेश पठाएको प्रहरीको दाबी छ। उक्त कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एन्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनाललगायत ३७ जना पक्राउ परेका छन्। 

भिजिट भिसामा नेपाली युवतीहरू निःशुल्क जान्छन् 

भिजिट भिसामा भन्दै विदेश जाने र घरेलु कामदारको रूपमा अन्य मुलुक गएर समस्यामा पर्ने नेपालीको संख्या धेरै छ। पछिल्लो समय सरकारले भिजिट भिसामा विदेश जानेमाथि कडाइ गरेको छ। प्रहरीका अनुसार भिजिट भिसामा जानेमध्ये ८० प्रतिशत दुबईको भिसा लगाएका हुन्छन्। 

दुबईलाई ट्रान्जिट बनाएर ओमान, कुबेत, कतार, माल्टा, साउदीलगायतका देशमा घरेलु कामदारको रूपमा जाने नेपालीको संख्या उल्लेख्य छ। 
प्रवक्ता रेग्मी भन्छन्, ‘घरेलु कामदारको रूपमा खाडी मुलुक जान महिलालाई कडाइ गरेपछि, एजेन्टहरूले भिजिट भिसाको बहानामा मानव तस्करी धन्दा बढाएका हुन्। यसरी जानेहरूको बैंक इस्टेटमेन्ट बनाइदिने, प्लस टु पास गरेको शैक्षिक कागजात बनाउनेदेखि लिएर दुबईबाट अर्को मुलुकसम्म लैजानको लागि एजेन्टहरूले काम गर्ने गर्छन्। दुबईबाट अन्य खाडी मुलुक जाने प्रत्येक महिलाबाट १ हजारदेखि २ हजार दिराम लिएर त्यहाँँका एजेन्टले रोजगारीको बहानामा अन्य देश पठाउने गर्छन्।’ 

प्रहरी अनुसन्धानका क्रममा एजेन्टले पैसा खाएर घरेलु कामदारका रूपमा खाडी पुगेका महिलाहरू समस्यामा पर्ने गरेका छन्। भिजिट भिसामा जानेहरूको तुलनात्मक संख्या हेर्दा २० देखि ३५ वर्षभित्रका महिलाहरूको संख्या बढी छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी भन्छन्, ‘अध्यागमनबाट चेकजाँचका लागि आएको पासपोर्टको संख्या हेर्दा पनि यसरी विदेश जानेमा महिला बढी छन्। ७० प्रतिशत महिला हुँदा ३० प्रतिशत पुरुषको संख्या छ। यसमा पनि धेरै जना २० देखि ३५ उमेर समूहका छन्।’ 

एसपी केसी भन्छन्, ‘खाडी मुलुकमा नेपाली महिलाको माग उच्च भएको भन्दै एजेन्टहरूले विभिन्न बहानामा नेपाली युवतीलाई यहाँँबाट फ्रिमा नै पुर्‍याउने गरेका छन्।’ कम पढेका, एकल महिला तथा निम्नवर्गीय महिलालाई उच्च कमाइ हुने प्रलोभन दिएर एजेन्टहरूले नेपाली महिलालाई खाडी मुलुक लैजाने गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीका अनुसार कतिपयले भिजिट भिसामा नै जानको लागि २ देखि ३ लाख बुझाउने गरेको छन्। कतिपय घटनामा महिलाहरूलाई भिसा प्रोसेसको क्रममा लाग्ने खर्च, सपिङ खर्च, खान बस्नलगायतका सबै खर्च एजेन्टले नै खर्च गर्ने गरेको बुझिएको छ। 

डीएसपी पन्थीका अनुसार सामूहिक रूपमा नै भिजिट भिसामा विदेश जाने महिलाको संख्या बढेपछि विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीसमेत चनाखो भएको छ। उनीहरूले श्रम स्वीकृति, पुलिस रिपोर्र्ट तथा शैक्षिक कागजात र बैंक इस्टेटमेन्टजस्ता कागजात चेकजाँचमा कडाइ गरेका छन्। गत असोज १९ गतेदेखि यो दुई महिनामा भिजिट भिसामा जान लागेका १५ सय जना फर्काइएका हुन्। यसरी फर्काइने सबैको कागजात नक्कली भेटिएको थियो। 

अध्यागमन विभागका प्रवक्ता प्रेमप्रसाद दाहालका अनुसार घरेलु कामदारका लागि नेपाली महिलालाई खाडी मुलुक जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। दुबईसम्मको  भिजिट भिसा लगाएर खाडी मुलुक जाने महिलाको संख्या बढेकाले सुरक्षा तथा कागजात चेकजाँचमा सरकारले कडाइ गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.