संकटको डिलमा सेतो गिद्ध

संकटको डिलमा सेतो गिद्ध
पोखराको फेवाताल किनारको चट्टानी पहाडमा गुँडमा ओथारो बसेको सेतो गिद्ध। तस्बिर : मिलन बराल

पोखरा : सेतो (गोब्रे) गिद्ध अन्य प्रजातिका गिद्ध जस्तै संकटमा पर्दै गएको पाइएको छ। सेतो गिद्धको जीवविज्ञान, खतरा र संरक्षणसम्बन्धी पोखरामा गरिएको एक अनुसन्धानबाट यस प्रजातिको गिद्धले अण्डा पारेदेखि कोरलेर हुर्काइ उडान भर्ने बेलासम्म प्रजनन् सफल दर ३१ प्रतिशत मात्र रहेको पाइएको छ। 

सेतो गिद्धको जीवविज्ञान, खतरा र संरक्षणसम्बन्धी अध्ययन गरेका अनुसन्धानकर्ता मिलन बरालका अनुसार गत वर्षको फागुन महिनादेखि यस वर्षको वैशाख महिनासम्म पोखरा उपत्यकामा गरिएको अध्ययनले यस प्रजातिका गिद्धको प्रजनन् सफलता दर ३१ प्रतिशत मात्र पाइएको बताए। यस अवधिमा पोखरा उपत्यकामा फेला परेका सेतो गिद्धका १६ गुँडमा ५ वटा गुँडका ६ बचेरा मात्र हुर्केर उडान भर्न सफल भएको पाइएको हो। सेतो गिद्धले वर्षमा एउटादेखि दुइटासम्म अण्डा पार्छ। सेतो गिद्धले दुइटा अन्डा भने निकै कम मात्र पारेको पाइएको छ। 

यसरी गिद्धको प्रजनन् दर असफल हुनुमा प्राकृतिक र मानवीय दुवै कारण रहेको अनुसन्धानकर्मी बरालले बताए। सेतो गिद्धले पहाडको चट्टान र रूख दुवैमा गुँड लगाउँछ। यसरी लगाइएका गुँडबाट प्रजनन् दर असफल हुनुमा मानवीय कारणमा वनमा डढेलो, गुँड भएकै पहाडबाट ढुंगा निकाल्ने, वरपर मानवीय गतिविधि हुनु, आहाराको उपलब्धता कम हुनु, बेलैमा बचेरालाई आहारा खुवाउन नसक्नुलगायत रहेका उनले सुनाए। प्राकृतिक कारणमा बाँदर, मलसाप्रोले गुडबाट अण्डा झिक्नु, बेमौसमी पानी परेर अण्डा नस्ट हुनुलगायत रहेको पनि उनले सुनाए। 

सेतो गिद्धको प्रजनन् प्रक्रिया फागुन महिनादेखि सुरु भएर साउनसम्म सकिने गर्छ। गँुंड बनाउने क्रममा भाले पोथीले काम विभाजन गरेको पाइएको छ। भालेले धेरै समय गुँड बनाउन सुकेको दाउरा, कपडा, घुरान, कपास, गोबर र माटो ल्याउँछ। गुडमा मास्क, खादा पनि भेटिने गरेको छ। यसरी निर्माण सामग्री भालेपोथी दुवैले ल्याउने भए पनि धेरै निर्माण सामग्री भालेले ल्याउने र गुँडमा बसेर बनाउने काम पोथीले गर्ने पनि बरालले सुनाए। 

बच्चा कोरल्ने बेलामा ६० प्रतिशत समय पोथी र ४० प्रतिशत समय भाले गुँडमा ओथारो बस्ने गरेको पाइएको छ। चीलहरूमा पोथी धेरै बस्ने र आहारा भालेले ल्याउने गरेको भेटिए पनि सेतो गिद्धमा भने समय तालिका मिलाएर पालैपालो बस्ने गरेको पाइएको उनले बताए।
चल्ला हुर्काउने बेलामा भालेले धेरै चारा ल्याउने गर्छ। सेतो गिद्धले बचेरालाई खुवाउने चारामा धेरै जसो कुखुराको भुँडी र टाउँको ल्याउने गरेको पाइएको छ। यसरी ल्याएको चारा सानो सानो टुक्रा बनाएर खुवाउने गर्छन्। चल्ला निस्कनुभन्दा अघि फेरि सुकेको दाउरा र कपडा ल्याएर पुनः गुड मर्मत गरेको पाईएको पनि उनले सुनाए। बरालले यस अध्ययनका क्रममा गुँड नजिकैका विद्यालयका विद्यार्थी र समुदायमा गिद्ध संरक्षण सचेतना कार्यक्रम पनि गरेका थिए। द रुफोर्ड फाउन्डेसनको सहयोगमा बरालले सेतो गिद्धको जीवविज्ञान, खतरा र संरक्षणसम्बन्धी अध्ययन गरेका हुन्। 

विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन्। तिमध्ये दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन्। नेपालमा दक्षिण एशियामा पाइने सबै ९ प्रजातिका गिद्ध पाइन्छन्। नेपालमा पाइने गिद्धमध्ये ६ प्रजातिका रैथाने र ३ प्रजातिका आगन्तुक प्रजाति छन्। तीमध्ये कै एक प्रजाति सेतो गिद्ध हो। सेतो गिद्ध दक्षिण एशिसामा पाइने गिद्धहरूमा सबैभन्दा सानो गिद्ध हो। सेतो गिद्धको लम्बाइ ६० देखि ७० सेमी हुन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.