ठेला पसलमा सुन्तला किन्न गएका भारतीय नागरिक नक्कली नोटसहित पक्राउ
रौतहट : जिल्लाको चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित ठेला पसलमा सुन्तला किन्न गएका भारतीय नागरिक २० हजार नक्कली नोटसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार राज्यको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया टोलका ३८ वर्षीय सुरेन्द्र ठाकुर रहेका छन्।
इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री शर्माले पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत रौतहटबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको बताए।
ठाकुर नक्कली नोटको पेसेवर कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए। गत मंसिर ३० गते पक्राउ गरिएको भए पनि सोमबार अदालतबाट म्याद थप गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
ठाकुरले बालचपुरमा रहेको ठेला पसलमा एक किलो सुन्तला खरिद गरेको र एक हजारको नोट दिएपछि पसलेले प्रहरीलाई सूचना दिएका थिए। इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक आनन्द रायको टोलीले शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो।