मेलम्चीको खानेपानी ‘एक महिनाभित्रै’
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण र पानी पथान्तरणको काम पुनः सिनो हाइड्रोलाई नै दिइएको छ। चिनियाँ निर्माण व्यवसायी सिनो हाइड्रोलाई पुनः काम दिने समझदारी भएसँगै आयोजना पुनर्निर्माण गर्ने बाटो खुलेको हो।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको मेलम्ची खानेपानी विकास समिति बोर्ड बैठकले सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। यसअघि सरकारले सिनो हाइड्रोले पानी पथान्तरण गर्न लापरबाही गरेको भन्दै ठेक्का तोड्न सकिने जनाएको थियो। आयोजनाको काम गर्न राखेको धरौटी हाइड्रोले माग गरेको र कामै नगरेको भन्दै समितिका कार्यकारी निर्देशक जाकी अहमद अन्सारीले ठेक्का रद्द गर्ने विषयमा छलफल चलिरहेको बताएका थिए।
सिनोले मेलम्चीमा इन्टेक र सुरुङको गरी दुई ठेक्का पाएको थियो। दुवै ठेक्का गरी हाइड्रोले १० करोड रुपैयाँ धरौटी राखेको थियो। आयोजनाले धरौटी रकम फिर्ता गर्न नमिल्ने जनाएपछि हाइड्रोले अदालतमा मुद्दा दायर गरेको थियो। अहिले आयोजना र हाइड्रोबीच पुनः काम गर्ने समझदारी भएपछि मेलम्ची आयोजना अघि बढ्ने भएको हो।
समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ। समझदारीपत्रमा समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनोका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सिनोसँग भएको समझदारीअनुसार विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र कार्य सम्पन्न भई मेलम्चीको पानी सुरुङमा पथान्तरण हुनेछ।
द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने समिति र सिनोबीचको समझदारी पत्रमा उल्लेख छ। हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। इटालियन कम्पनी सीएमसीले आयोजनाबाट हात झिकेपछि २०७६ आसोज १२ गते आयोजनाको सुरुङमार्गको बाँकी काम एक वर्षभित्र सक्नेगरी ८५ करोड रुपैयाँमा सिनोसँग सम्झौता गरेको थियो। निर्माण सम्पन्न भएपछि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौंमा अस्थायी रूपमा दुई महिना वितरण गरिएको थियो।
तर, २०७८ असार १ गतेको बाढीले आयोजनामा क्षति पुग्यो र बन्द भयो। त्यसपछि मन्त्रिपरिषद्को निर्णयबमोजिम आयोजनामा काम गरिरहेको सिनोलाई लागत थप गरी काम गराइयो। नौ महिनापछि अस्थायी संरचनाबाट दुई महिना पानी पठाउने काम भयो। त्यसपछि फेरि २०७९ जेठदेखि मंसिरसम्म वर्षाका कारण आयोजना बन्द गरियो। मंसिरपछि सात महिना काठमाडौंमा पानी लगियो।
२०८० साल असार ८ गते वर्षायामको जोखिमलाई दृष्टिगत गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो। २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडबक्र्समा क्षति पु¥याएको थियो। जसका कारण मेलम्चीको पानी काठमाडौं लगिएको थिएन। गएको पुस १ गते सभामुख देवराज घिमिरे मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु– १ अम्बाथानको निरीक्षण गर्न पुगेका थिए। उनले जतिसक्दो चाँडो पानी काठमाडौं लगेर काठमाडौंका बासिन्दालाई पानी खुवाउन निर्देशन पनि दिएका थिए। तर पुस २ गते मेलम्चीको पानी ल्याउन प्रयत्न नगरिएको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले प्रदर्शन गरेको थियो। मेलम्चीको स्थलगत भ्रमणसमेत गरेको समितिले पानी वितरणमा कुनै प्राविधिक समस्या नभई केवल व्यवस्थापकीय समस्या मात्र रहेको पनि जनाएको थियो।
समितिले खानेपानी मन्त्री तथा विकास समितिलाई ज्ञापनपत्र दिई शुक्रबारसम्म आफ्ना मागका बारेमा सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरू अगाडि ल्याउने जनाएको थियो। समितिको मागलाई ध्यान दिँदै खानेपानी मन्त्रालय र समितिले सिनोसँग समझदारी गरी काम गर्न सहजीकरण गरेको हो। अब सिनोसँग सम्झौता भएपछि समयसीमा भित्रै मेलम्चीको पानी काठमाडौं पुग्ने आशा जागेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्त बताउँछन्। निर्माण व्यवसायीलाई जति छिटो परिचालन ग¥यो उति छिटो काठमाडौंमा पानी पुग्ने सम्भावना रहेको पन्तको भनाइ छ। ‘जेजस्ता बाधाहरू भए पनि हामी सकेसम्म छिट्टै काठमाडौंवासीलाई पानी ख्वाउँछौं,’ पन्तले भने।
यसअघि सिनोलाई काम गर्न समितिले अनुरोध गरेको थियो। सिनोेले यसभन्दा अघि नै काम सम्पन्न गरिसकेको र अहिले उपकरण अन्यत्र लगाई सकेकाले एक महिनाका लागि ल्याएर काम गर्न नसक्ने जानकारी दिएको थियो। ‘जसरी पनि आयोजना सम्पन्न गर्नुपर्छ, ठेकेदार कम्पनीसँग निहुँमात्र खोजेर हुँदैन भनेर अहिले कामको जिम्मेवारी पुनः सिनोलाई नै दिएका हौं,’ पन्तले भने, ‘सम्झौता तोडेर अर्को ठेकेदार नियुक्ति गरेर सबै प्रक्रिया पूरा गर्दा बर्खा लागिसक्ने भएकाले पनि यही कम्पनीलाई काम गर्ने वातावरण मिलाउन समिति लागेको हो।’
निर्माण कम्पनीले द्रुत रूपमा काम सुरु गर्ने हो भने पानी पथान्तरण कार्य एक महिनाभित्रै सकिने आयोजनाको सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर बताउँछन्। ‘काम सुरु कहिलेबाट हुन्छ र कामको गति हेरेर मात्रै पानी कहिले पथान्तरण हुन्छ भन्ने जानकारी दिन सकिन्छ’, उनले भने, ‘दू्रत गतिमा काम गर्ने हो भने एक महिना पनि लाग्ने देखिँदैन।’
‘स्थानीय सरकारको सहयोग हुन्छ’
मेलम्ची खानेपानी आयोजनास्थल रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा प्राविधिक रूपमा त्यति ठूलो समस्या नरहेकाले काम सुरु गरेको १५÷२० दिनमा काम सकिएर पानी काठमाडौं पठाउन सकिने बताउँछन्। उनले पानी पथान्तरणका लागि स्थानीय सरकारले सहयोग गरिरहेको बताए। ‘हामी जतिसक्दो चाँडो पानी काठमाडौं पठाउन आतुर छौं’, उनले भने, ‘बाटोको समस्या अनि स्थानीय समस्या केही होइन यसमा। यसको समस्या भनेको समिति र ठेकेदारको हो।’ स्थानीय तहमा विकास निर्माणको काम, स्थानीयले पाउने लेबीलगायतका विषयमा केही माग रहे पनि पानी पथान्तरण तुरुन्तै गरिनुपर्ने उनले बताए। अम्बाथानमा रहेको हेडबक्र्स भू-वनोट तथा बाढीपहिरोको जोखिमका कारण एक किलोमिटर सार्नुपर्ने एडीबीको प्रतिवेदनअनुसार काम अगाडि बढाउनुपर्ने शेर्पाले बताए।