प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी

'वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानका लागि अनुसन्धानकर्ताको क्षमता वृद्धि गर्नुपर्छ'

'वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानका लागि अनुसन्धानकर्ताको क्षमता वृद्धि गर्नुपर्छ'
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 विराटनगर  : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुक्रबार एकदिवसीय प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको आयोजना गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित गोष्ठीको उद्घाटन प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले गरेका छन् ।

समीक्षा गोष्ठीले अनुसन्धानलाई थप सशक्त बनाउन मद्दत पुग्ने मन्त्री राईले बताए । ‘अपराध अनुसन्धानका सवालमा नेपाल प्रहरी विश्वमै परिचित संगठन हो । समायोजन चाँडै भएर प्रहरी प्रदेश मातहत आउने विश्वास छ,’उनले भने, ‘प्रदेश सरकार र प्रहरीबीच समन्वय हुँदा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिन्छ । यसका लागि सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ 

अपराध अनुसन्धान,नियन्त्रण र सुरक्षाका सवालमा धेरै नबोल्ने र काम गरेर देखाउने पक्षमा प्रदेश सरकार रहेको राईको भनाइ छ । ‘समाजमा अपराधका नयाँ रूप देखा पर्न थालेका छन् । अनुसन्धानमा धेरै असजिला र अप्ठेराहरु आउन थाले,’उनले भने, ‘तर, पनि प्रहरी अधिकारीको तदारुकताले अनुसन्धान अब्बल बनिरहेको छ । चुनौतीलाई पार लगाउन नेपाल प्रहरी सक्षम छ ।’ 

प्रहरीलाई भौतिक हिसाबबाट सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् । प्रहरी समायोजना भएपछि भौतिक संरचना थप विस्तार गरिने राईले बताए । बेला–बेला हुने समीक्षा गोष्ठीले निरन्तर अनुसन्धानमा खटिने प्रहरी अधिकारीलाई थप शक्ति र हौसला प्राप्त हुने उनको भनाइ छ । 

प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाले अपराध अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायहरू पहिल्याउन गोष्ठीको आयोजना गरिएको जानकारी दिए । गोष्ठीले प्रदेशमा भएका अपराधको अवस्थासहित अनुसन्धानका सबल तथा दुर्बल पक्षको पहिचान गरेर छलफल एवं अन्तरक्रियाका माध्यमबाट समस्याको निराकरण गरी ठोस योजना बनाउन मद्दत पुग्ने उनको भनाइ छ । 

‘प्रभावकारी एवं वस्तुनिष्ठ अनुसन्धानले मात्र फौजदारी मुद्दामा सफलता हासिल गर्न सकिन्छ । प्रहरीले सीमित स्रोत साधनका बाबजुत सबै पक्षसँग समन्वय गर्दै अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ,’ एसएसपी सापकोटाले भने, ‘समाज र प्रविधिको द्रुत विकाससँगै अपराध अनुसन्धानमा नयाँ चुनौती देखा पर्न थालेका छन् । वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानका लागि अनुसन्धानकर्ताको क्षमता वृद्धि गर्नुपर्छ ।’ 

सरकारवादी फौजदारी मुद्दाको आधारशीला भनेकै अनुसन्धानबाट तयार पारिएका लिखत र दसी प्रमाणहरू रहने भन्दै उनले गोष्ठीबाट निस्किएको निचोडले आगामी दिनमा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनका अनुसार अशिक्षा, अभाव, बेरोजगारी, कुलत, कुसंस्कार तथा रुढीवाढी संस्कार, चिन्तन, अहमता र प्रतिशोधका कारण समाजमा अपराध बढिरहेका छन् । ‘अपराध कम हुनुको साटो दिन प्रतिदिन नयाँ ढंगबाट बढिरहेको कुरा प्रहरीमा दर्ता भएको उजुरी र मुद्दाबाट पुष्टि हुन्छ,’ सापकोटा भन्छन्, ‘पीडितलाई न्याय र पीडकलाई सजाय गरी दण्डहीनताको अन्त्य गर्न अनुसन्धान प्रक्रियाको मुख्य भूमिका रहन्छ ।’न्याय सम्पादन अनुसन्धानबाट तयार पारिएका लिखत, कागजात, प्रमाण र अभियोग दाबीमा आधारित हुने हुँदा सानो गल्तीले सामाजिक न्यायमा प्रतिकूल असर पर्नेतर्फ अनुसन्धानकर्ता सचेत हुनुपर्ने उनको भनाइ छ । 

मिसिल (अनुसन्धान प्रतिवेदन)को अंग पुर्‍ याउन अनुसन्धान निष्पक्ष, शंकारहित, स्वतन्त्र र प्रमाणमुखी हुन आवश्यक रहेको भन्दै एसएसपी सापकोटोले पीडित र पीडकको सुरक्षामा ध्यान दिनु प्रहरीको दायित्व भएको बताए । उनका अनुसार प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले प्रहरीको छवि उच्च बनाउन प्रहरी कार्यालयको सौन्दर्यकरण र अपराध अनुसन्धानलाई विशेष प्राथमिकतामा राखेका छन् । 

प्रदेशमा अहिले पीडित पुनः भेटघाट कार्यक्रम, क्यूआर कोडको प्रयोग, आत्महत्या न्यूनीकरण, लागूऔषधविरुद्धको अभियान तथा पुराना मुद्दा फर्छोट एवं अध्ययन, फरार प्रतिवादी पक्राउ, जनचेतनामूलक सुरक्षा सुनिश्चितता अभियान, भन्सार चोरी–निकासी नियन्त्रण, अपराध अनुसन्धान ‘रिफ्रेसमेन्ट’ तालिम, हिरासतमा पुस्तकालयको व्यवस्था, अपराधको प्राविधिक विश्लेषण एवं अपराध नियन्त्रणका लागि विभिन्न सुरक्षा निकायसँग समन्वय एवं छलफल गर्ने लगायतका कामहरु भइरहेको छ । 

गोष्ठीमा अपराध नियन्त्रण र चुनौती, अनुसन्धानको विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मजवुत सुरक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका, आगामी कार्ययोजना, अनुसन्धान पद्धति र उपलब्धी,अनुसन्धानमा देखापर्ने समस्यालगायतका विषयमा छलफल हुने सापकोटाले बताए । उनका अनुसार अनुसन्धान अधिकारीहरुले अपराध अनुसन्धानसँग सम्बन्धित जिल्लागत विवरण एवं वस्तुस्थितिका बारेमा जानकारी गराउने छन् । 

गोष्ठीमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रामेशप्रसाद राजभण्डारी, नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एवं एआईजी टेकबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीराज पौडेल, उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह–न्यायाधिवक्ता नारायणबहादुर थापा, प्रहरीका एसएसपीहरु राजन अधिकारी, मनोजकुमार यादव, बसन्त रजौरेलगायत प्रदेशका १४ वटै जिल्लाका प्रहरी अधिकारी, सरकारी वकिलहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.