कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पूरा
हेटौंडा : काठमाडौंमा शनिबार हुने नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ। काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा पुस ७ गते हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।
केन्द्रीय सभापति देउवाले बिहान साढे ८ बजे सम्मेलनको औपचारिक रूपमा समुद्घाटन गरेर सुरु गर्ने नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारी र अन्य शीर्ष नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तालिका रहेको छ। सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका १ सय १९ पालिका सभापतिहरू सहभागी हुने कांग्रेस बागमती प्रदेश प्रवक्ता एवं प्रचारप्रसार समिति संयोजक तिलक रुवालीले बताए।