गोठै रमाइलो


गोरखा : आठ वर्षको उमेरदेखि भेडीगोठमा बसेका चुमनुब्री—३ पाङसिङका नवीन गुरुङलाई घरभन्दा गोठै प्यारो लाग्छ। गाउँमा आयो भने मान्छे धेरै भेटिने, धेरै मान्छेका धेरै कुरा सुन्नुपर्ने, घर व्यवहारको उस्तै तनावी कुरा सुन्नुपर्ने। आफ्नो घरको पनि तनाव, अर्काको पनि तनावका कुरा सुन्नुभन्दा गोठमै बस्दा स्वर्गीय आनन्द लाग्ने उनको अनुभव छ। 

‘सबैभन्दा रमाइलो त लेकमा गोठ लगेको बेला हुन्छ’, नवीन भन्छन्, ‘पहाडको टुप्पामा जता हेर्‍यो उतै धेरै फराकिलो चहुर, घाँसेमैदान हुन्छ। भेडा अर्काको बारीमा पसेर बाली खाइदेला भन्ने पिर पनि नहुने। रमाइलोबाहेक अरू केही हुन्न।’ गाउँमा आउँदा कोही मोबाइल हेरेर दुनियाँभरका कुरा गर्ने, कोही राजनीतिको कुरा गरेर दिक्क पार्ने उनले बताए।

उनी अहिले भर्खर २१ वर्ष पुगे। विवाह गरेका छैनन्। अब विवाह गर्ने, गोठमै रमाइलो जीवन बिताउने सौख उनले सुनाए। ‘एउटा साँढेको २५ हजार पर्छ। वर्षमा १० वटा बेच्न सकियो भने साउदी, कतार जानेलाई जित्न सकिन्छ’, उनी भन्छन्, ‘गाउँमा आउँदा अरू विदेश जाने कुरा गर्छन्। मलाई त गोठै रमाइलो। कमाइ पनि हुने, रमाइलो पनि हुने।’ लेकको ठूलो चौर, घाँसे मैदानमा भेडा छोडेर आनन्दले बस्न मज्जा आउने उनको भनाइ छ। ‘तर ठूलो जंगलमा भेडा हरायो भने खोज्दाखोज्दै हैरान भइन्छ। त्यतिबेला चाहिँ दुःख हुन्छ’, उनी भन्छन्, ‘कहिलेकाहीँ गोठमा एक्लै भइयो र बिरामी परियो भने पनि गाह्रो हुन्छ।’

अहिले उनको भेडा बेसी झरेका छन्। गाउँभन्दा पारि चिसापानीको खुला आकाशमुनि रहेको गोठ देखाउँदै उनी भन्छन्, ‘ऊ हेर्नुस् त त्यो गरामा गएराति भेडा बास बसेको हो। अहिले उज्यालो भएपछि सबै चर्न गइसके। भकारीले बारेर राखेको छ नि त्यहाँ भेडाको बच्चाहरू छन्। बच्चा निस्किए भने फर्कन जान्दैनन्। कि हराउँछन्, कि जंगली जनावरले खाइदिन्छ। त्यसैले तिनीहरूलाई दिनभर भकारीले बारेर राख्छौं। बेलुका आमा आएपछि आमासित बस्छन्।’

null

एउटा गोठमा कम्तीमा चार, पाँच घरधुरीका भेडाहरू राखिन्छ। कुनै गोठमा दुई सय, कुनैमा तीन सय वटा भेडाहरू हुन्छन्। ‘जति धेरै भेडा भए पनि गोठालाले आफ्नो भेडा सजिलैसँग चिन्छन्’, नवीनले भने। त्रिपाल पाउन पाए गोठमा बस्ने गोठाला र भेडालाई धेरै ठूलो राहत हुने उनले बताए। अहिले भेडा बेंसी झार्ने सिजन हो। कोदो, मकै भित्र्याएर बारी खनिएपछि चराउन र मोल्न बारीमा गोठ झारेको अर्का भेडी गोठाला बलबहादुर गुरुङले बताए।

‘मंसिरमा गाउँसम्म झारिन्छ। चैत लागेपछि लेक लैजानु पर्छ। बच्चा पाउने भएका र सुत्केरी हुने बेला औंलमा पर्‍यो भने राम्ररी सप्रिँदैनन्। त्यसैले तल झार्नुभन्दा लेक लैजाँदा नै हामी खुसी हुन्छौं।’ अरू ठाउँमा भेडागोठ राख्ने परम्परा विस्तारै घट्दै गए पनि पाङसिङमा भेडागोठ राख्ने चलन यथावत् रहेको उनको भनाइ छ। पाङसिङ भेडापालनका लागि जिल्लाको सबैभन्दा चर्चित ठाउँ हो। यहाँँका १ सय १६ घरधुरीमध्ये करिब ७० घरधुरीले भेडापालन गरेका छन्। 

‘हाम्रो वडा नं. ३ का किसानका २८ वटा गोठहरू छन्। तिनीहरूमध्ये १५ वटा पाङसिङकै हो’, पाङसिङ घर भर भएका वडासदस्य विकास गुरुङ भन्छन्, ‘एउटा गोठमा करिब पाँच घरधुरीका भेडाहरू हुन्छन्।’ 

एकजनाकै कम्तीमा ५० वटादेखि दुई—तीन सयवटासम्म भेडा हुने उनले बताए। गोठमा खानेपानीको दुःख हुने उनको भनाइ छ। पाङसिङका भेडाहरू मंसिर, पुस, माघ, फागुन महिनामा गोरखा, धादिङ र लमजुङ जिल्लाका विभिन्न भूभागसम्म पुग्छन्। गोरखाका साबिकका मान्बु, स्वाँरा, लापु, बारपाक, सौरपानी, लाप्राक, गुम्दा, सिङ्ला, उहिया, घ्याच्चोक, हंशपुर, खरिबोट गाविस तथा लमजुङका विभिन्न गाविसहुँदै बेंसीसहरसम्म लैजाने अर्का भेडी गोठाला लाङ्वा गुरुङले बताए। 

‘म त सानैदेखि गोठमै हुर्केको हो। अहिले पनि गाउँघरभन्दा गोठै प्यारो लाग्छ। म गोठमा बसेन भने भेडा कसले चिन्ने ?’, उनी भन्छन्, ‘कुनैकुनै लेकमा पानी खान पाइँदैन। कतै जुकाभित्र हिँड्नु पर्छ। कुनै बेला हिउँ परेर सुत्न, बस्न सकिँदैन। त्यतिबेला साह्रै दुःख हुन्छ।’ आफूले बेलामा पढ्न नपाए पनि भेडा बेचेको पैसाले अहिले छोराछोरीलाई काठमाडौंंमा राखेर पढाएको उनले बताए। ‘दुइटा छोरी, एउटा छोरा छ। आफूले दुःख पाए पनि उनीहरूलाई चाहिँ पढाएको छु’, उनले भने, ‘ठूलो छोरीलाई चाहिँ विदेश पठाएको छु।’

गाउँमा प्राचीनकालदेखिको भेडीगोठको परम्परा यथावत् रहेको वडासदस्य विकास गुरुङको भनाइ छ। ‘भेडीगोठ अन्यत्र मासिँदै गएको छ भन्ने सुनिन्छ। हाम्रोमा भने यथावत् छ। त्यसैले मैले भेडीगोठ संरक्षण र विकास गर्ने कार्यक्रम बनाएर पालिकासँग बजेट माग गरेको छु।

यस वर्ष त्रिपाल किन्नका लागि दुई लाख रुपैयाँँ बजेट परेको पनि छ’, उनले भने, ‘अरु ठाउँमा २०, २५ वटा बाख्रा पाल्नेले सरकारी अनुदान खाएका छन्। यहाँ दुई, तीन सय भेडा पाल्ने किसान छन्। तर कहीँबाट अनुदान आएको छैन। किसानलाई माग गर्ने मेसो पनि छैन, फुर्सद पनि छैन।’ संघीय सरकार तथा प्रदेश सरकारले यहाँँका सिदासादा किसानलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.