समाज बदल्न नसक्ने राजनीति

समाज बदल्न नसक्ने राजनीति
सुन्नुहोस्

तर खै ? यहाँ त दैनिकी धान्ने सरकार र सरकारहरू मात्र भेटिए। जसरी पनि अर्को निर्वाचनमा चुनाव जित्ने नेताहरू मात्र देखिए। अनि सत्ताामा पुग्न मरिमेट्नेहरू देखिए तर देखिएनन् पुगेपछि गर्नुपर्ने कामहरू अनि नयाँ सोच र योजनामा।

‘क्षमता छ भन्दैमा हुँदैन, वर्षौंदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हातेलेन्सले त्यो पनि दुई मिनेटमै त्यही सूर्यको प्रकाशको सहायतामा जलाइदिन सक्छ।’ नेपालका नेताहरू यो भनाइजस्तै हातेलेन्स बनेर परिणाम दिन सक्नुपथ्र्यो तर बनिदिए सूर्यको फिजारिएका किरण। हाम्रा नेताको दिमाग सूर्यका किरणहरू जसरी हजारतिर छरियो। केन्द्रित भए त केवल आफ्नो र आफ्नाका लागिमात्र भए, समाज र देशका लागि भएनन्, जुन प्रजातान्त्रिक परिपाटीविपरीत छ।

नेताहरूको वर्तमान वर्षौं लगाए पनि यौटा काम राम्रो गर्न नसक्ने छरिएका किरणहरूको ताल हो। पञ्चायत फालेका नेताहरू हुन् वा राजतन्त्र फालेका नेताहरू जो खासमा समाज बदल्न नसक्ने होइनन्। जसरी पञ्चायत र राजतन्त्र फाल्दा एक भए अर्थात् हातेलेन्स भएर कागजको टुक्रो जलाउने सामाथ्र्य राखे, त्यसरी नै देश बदल्ने सामाथ्र्य राख्नुपथ्र्यो, दुर्भाग्य, हुन सकेनन्। क्षमता छैन होइन छ नेताहरूमा तर क्षमता छ मात्रै भनेर कुनै काम बन्दैन। आजको नेपाली समाजको अवस्था यसकै परिणति हो। आजको देश अविकासको अवस्था अनि समृद्धिको बाधक पनि यही नै हो।

दलहरूमा थोरैमात्र विवेक बाँकी छ भने तिनले अब सिद्धान्त होइन, बाटो बदल्न जरुरी छ। सामान्य नागरिकले पनि सामान्य दिमाग लगाएर एउटा रुखको अध्ययन गर्‍यो भने सजिलै थाहा पाउँछ कि रुखले हरहमेशा पात बदल्ने गर्छ न कि जरा। अनि सबैले जानेबुझेकै कुरो हो कि ऋतु बदलिएसँगै सुकेको रुख पनि अर्को ऋतु आउनासाथ हरियो हुन्छ। यस भनाइले यो पुष्टि गर्छ कि पुराना नेता बुढा भए थोत्रा भए अब कामै लाग्दैनन् भन्ने होइन, तिनमा पनि रुखमा हरियाली बन्ने क्षमताजस्तै अपार सम्भावना छ।

नागरिकले मत हाल्नेबेला विचार गर्नुपर्ने कुरा के चाहिँ हो भने ‘त्यो रुखको जरामा किरा लागेको छ कि छैन ?’ यो पनि बिर्सन मिल्दैन, नेताहरूकै गैरजिम्मेवार प्रवृत्तिले नेपाली समाज जस्ताको तस्तै छ। अझ भनौं, अझ बिग्रिइसकेको छ। पुरानै लयमा फर्कन पनि कम्तीमा पाँच वर्ष लाग्छ। एक दृष्टिले सोच्ने हो भने बिम्ब भइसक्यो नेपाली समाज ‘दुःखी समाज’ भन्ने। यो भाष्यलाई गलत साबित गर्दै मूलतः राजनीतिक दलहरूले बदल्न सक्नुपर्छ। किनकि यो परिस्थितिको मुख्य जिम्मेवार भनेकै राजनीतिक नेताहरू नै हुन्।

पछिल्लो १० वर्षको राजनीतिक विश्लेषण गर्ने हो भने त दलका नेताहरूको खुदो पल्टिएको अवस्था छ। देश विकास गर्न नसके पनि त्यसको जग त तयार पार्न सक्थे नि नेताहरूले। २०४६ पछिको ३४ वर्षको अवधि त उर्वर समय हो नि तर विकासको स्वस्थ्य बिज नै रोपेनन् नेताहरूले। नेपालभन्दा गरिब र अविकसित देशहरूले यही ३०–४० वर्षको अवधिमा आफूलाई विश्वका समृद्ध देशसँग टक्कर दिने हैसियत बनाएको हाम्रै आँखाले हेरिरहेको छ। यो सबै देखेर पनि विकल्पहरूको खोजी गर्ने हिम्मत कुनै दलले गर्न सकेका छैनन्। नयाँ भनिएका दलले पनि विकल्प दिन सक्ने आधार नागरिकलाई आजसम्म दिन सकेका छैनन्।

राजनीति भनेकै लामो प्रक्रियाको परिणति हो। सामूहिक प्रक्रियाको परिणाम हो। ‘मिसन २०८४’ भन्नु बहर गोरुले देखाउने फूर्तिजस्तै हो। फेरि पुराना दलका सबै काम गलत पनि त छैनन्। पाकेका ती दलले आफूलाई थोरै बदले सम्भावना तिनमा पनि प्रशस्तै छन् किनकि नेतृत्वमा पुस्तान्तर हुनेबित्तिकै पुरानाको सल्लाह र नयाँको आविष्कारसँग युवाको साथ हुनेबित्तिकै नहुने भन्ने पनि छैन। अब दलहरूले मुलुकको आवश्यकता र नागरिकको चाहनासँग जोडेर एजेन्डाहरू तय गरेर अघि बढ्नुपर्छ। राजनेतासँग सही संस्कृति छ भनेर नागरिकले त्यसलाई अपनाउने अवस्था बन्नुपर्छ। विश्व तुलनामा हेर्दा नेपाली नागरिक असल छन्। मात्र सही नेतृत्वको अभाव छ।

अविकसित समाज हुनु नै गरिब हुनु हो। यो भाष्य नेपाली समाजमा किन पनि प्रतिबिम्बित भइरहेछ भने हामी सम्पत्ति नभएर गरिब भएका होइनौं, भएको सम्पत्ति नचिनेर गरिबको ट्याग भिरिरहेका छौं। सुन नदेखेर वा परिचालन गर्न नजानेर/नचाहेर नुन माग्ने प्रवृत्तिसँग कसको के लाग्छ ? असफलता झेल्ने आँट÷हिम्मत जुटाउन नसकेरै हामी सफल हुन सकिरहेका छैनौं। हामी असफल हुने अर्को पनि कारण छ– हामी सबै जान्दछौं, अरूको सही सल्लाह भए पनि मान्दैनौं। दोस्रो, मन परेको मान्छेहरूले दिएका सल्लाह भने ‘फिल्टर’ नै नगरी सबै मानिदिन्छौं। जबसम्म मानिसले ‘स्वविवेक’ प्रयोग गर्दैन तबसम्म उसले आफ्नो जीवनशैली उच्च बनाउन सक्दैन अनि सक्दैन स्थिर बनाउन पनि। खासमा नेतृत्वमा पुग्नेहरूले स्वविवेक प्रयोग नगर्नुको परिणाम समाजले भोग्दैछ।

नेपालकै एक नेताले भनेका थिए, ‘राजनीतिक आन्दोलनभन्दा नेता बदल्न कठिन छ। सही नेतृत्व नहुँदा राजनीतिक दलभित्र गुट, फुट, अन्तरविरोध र संघर्ष छ।’ दलकै नेतृत्व सही हुन नसकिरहेको बेला देशले कसरी सही नेतृत्व पाउला ? सबैलाई थाहा छ, बुवाआमा सही भए परिवार सप्रन्छ। संस्कृतिले भरिएको परिवारले मात्र समाजलाई योगदान दिन सक्छ। संस्कारले युक्त दल, संगठनले बलियो दल र सामूहिक प्रयासमा परिणाम देख्ने दलहरू नहुञ्जेल देशले कसरी निकास पाउँछ ? आजका मितिमा झन्डै आठ लाख युवा बेरोजगार छ। कमाउन र अध्ययन गर्न बिदेसिने युवाको त कुरै भएन। आठ लाख हल्लिएर हिँड्दा दलका नेताको मन चस्स नहुनु भनेकै दलीय नेताको चेत कति छ भनेर बुझ्न सक्ने आधार खडा हुनु हो।

खासमा यी युवा समाज अनि दलहरूको विकृति, बेथिति र विसंगतिविरुद्ध सडकमा आउनुपर्ने हो तर सकेका छैनन्। राजनीतिक दलहरूले युवालाई विभिन्न सीप र तालिम प्रदान गर्नुपर्ने हो। संस्कृति सिकाउनुपर्ने हो, विभिन्न ज्ञान र विज्ञान सिकाउनुपर्ने हो। यो अभिभारा दलमात्र होइन, नागरिक समाजको पनि हो। तर खै ? यहाँ त दैनिकी धान्ने सरकार र सरकारहरू मात्र भेटिए। जसरी पनि अर्को निर्वाचनमा चुनाव जित्ने नेताहरू मात्र देखिए। अनि सत्तामा पुग्न मरिमेट्नेहरू देखिए तर देखिएनन् पुगेपछि गर्नुपर्ने कामहरू अनि नयाँ सोच र योजनामा।

भनिन्छ, ‘विश्व बदल्नुअघि आफ्नै देश बदल। देश बदल्नुअघि आफ्नै समाज बदल। समाज बदल्नुअघि आफैंलाई बदल। आफूलाई बदल्नका लागि सोच बदल।’ के नेपालका नेताहरूले अब यत्ति कुरो बुझ्लान् ?मनन् गर्लान् ? कार्यान्वयन गर्लान् ? बस्, हेर्न बाँकी छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.