पिथौरागढमा भारीले थिचिएका परमलेहरू

पिथौरागढमा भारीले थिचिएका परमलेहरू
बझाङ देउलेकका परमले बोहरा भारतको पिथौरागढमा भारी बोक्दै र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पिथौरागढमा भारी बोक्न पुगेकाहरू।

पिथौरागढ (भारत) : जवानी थियो, जस्तो गरुङ्गो भारी पनि जुरुक्क उचाल्थे। ठमठम गर्दै भनेकै ठाउँमा पुर्‍याइदिन्थे। हातको हात पैसा पाउँथे। अनि, शरीरमा जोस पनि उस्तै हुन्थ्यो। फेरि भारी बोक्ने काम खोजिहाल्थे। दिनमा जति धेरै भारी बोक्न पाइयो, त्यति नै कमाइ हुन्थ्यो। मनमा खुसी पनि छाउँथ्यो। बझाङ देउलेकका परमले बोहराले यसरी नै जवानी बिताए, भारतको पिथौरागढमा। 

हुन, त उनको पिठ्यूँको भारी अझै छुटेको छैन। उमेरले ५० पछ्याउन थालेका बोहरा अहिले पनि पिथौरागढको सिमैलगैर बजारमा दिनभर भारी बोक्ने कामकै खोजीमा भौंतारिन्छन्। उनले भारी नबोके परिवार नै भोकै हुने अवस्था छ। अब त त्यही भारी बोक्ने काम पनि पाइन छोडेकोमा बोहरा चिन्तित छन्। भन्छन्, ‘कहिले काम पाइन्छ, कहिले त कामै पाइन्न।’ 

गाउँमा कमाइ खाने जग्गा पनि थिएन। घर परिवारको मुखमा माड लगाउनै धौ–धौ थियो। स्वदेशमा मजदुरी गर्छु भन्दा कामै पाइँदैनथ्यो। त्यसैकारण बोहरा ९ वर्षकै उमेरमा मुग्लान पसे। अनि, सुरु गरे भारी बोक्ने पेसा। झन्डै ३५ वर्ष भयो, उनले भारी बोक्न थालेको। बोहरामात्र होइनन्, सुदूरपश्चिमका विभिन्न जिल्लाका बासिन्दा पिथौरागढमा भारी बोक्ने पेसा गर्छन्। यसैबाट उनीहरूको दैनिकी चलेको छ। तर अब भने भारी बोक्ने कामै पाइन छोडेपछि उनीहरू चिन्तित छन्। ‘पिथौरागढमै भारी बोकेर परिवार पाल्न थालेको ३५ वर्षभन्दा बढी भइसक्यो,’ बोहराले भने, ‘पाँच छोराछोरी र श्रीमती छन्। मेरै मजदुरीको कमाइ उनीहरूको लालनपालनमै ठिक्क हुन्छ।’

गाउँका अरू दुई जनासँग मिलेर बोहराले पिथौरागढमा मासिक दुई हजारमा कोठा भाडामा लिएर बसेका छन्। काम नपाइए त्यही भाडा तिर्न पनि गाह्रो हुने गरेको छ। दिनभरी मजदुरी गरे दैनिक ६ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बोहराले बताए। सधैंजसो मजदुरी गर्न पनि पाइँदैन। ‘काम पाएको दिन त हाम्रो छाक मज्जाले टर्छ, काम पाइएन भने भोकै सुत्नुपर्छ,’ बोहराले पीडा सुनाए। 

भारी बोकेर हुने आम्दानी घर परिवारका लागि आवश्यक सामग्री किनमेलमै सकिने गरेको बोहराले बताए। आर्थिक अभावकै कारणले छोराछोरीलाई राम्रोसँग पढाउन नसकिएको भन्दै दुःख व्यक्त गरे। ‘छोराछोरी पनि सानै छन्,’ उनले भने, ‘पैसाकै अभावले राम्रो शिक्षा दिन सकेको छैन। दिनभरिको मजदुरीले घर परिवारको जोहो गर्नमै सकिन्छ।’ 

पिथौरागढ बजारमा सुदूर र कर्णालीका थुप्रै नेपालीहरू मजदुरी गरिरहेका छन्। ‘हुम्ला, जुम्ला, सुर्खेत, अछाम, बझाङबाट यहाँ मजदुरी गर्न आउनेको संख्या धेरै छ,’ उनले भने, ‘यहाँ मजदुरी गर्नेहरू सबै नेपाली हुन्। यहाँको मान्छेले मजदुरी गर्दैनन्।’

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका हजारौं नेपाली भारतीय सहरमा मजदुरी गर्न बाध्य रहेको सुनाए। उनले मातृभूमिका पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुःखेसो गरे। ‘गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम आएको थियो त्यसमा मजदुरी गर्न पनि आफ्ना आफ्ना मान्छे राख्छन् देशमा त मजदुरी गर्न पनि पाइएन,’ बोहराले भने, ‘गरिबका लागि नेपालमा मजदुरीको काम पनि पाइँदैन। नेताकै हालिमुहाली छ आफ्ना आफ्ना खोज्छन्।’  पिथौरागढमा कमाएको पैसा घर फर्किंदा किनमेलमै सकिने गरेको उनले बताए।

‘चार/पाँच महिनामा भएको कमाइले यहीबाट लत्ता, कपडा लगेर घर जान्छौं,’ उनले भने, ‘त्योबाहेक नगद पैसा घरमा पुग्दैन।’ पिथौरागढको बजार छेउमै गोर्खाली किल्ला छ। जहाँ अंग्रेजहरूलाई परास्त गर्दै निरन्तर २५ वर्ष गोर्खालीले शासन गरेका थिए। त्यहाँ पुग्दा हरेक नेपालीको छाती चौडा हुन्छ। तर किल्ला नजिकै रहेको पिथौरागढ बजारका गल्लीमा कोही भारी बोक्दै त कोही भारी बोक्ने काममा भौंतारिरहेका भेटिन्छन्– सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हजारौं नेपालीहरू। घरदेश छाडेर परदेसिएका हजारौं नेपाली यही बजारमा भारी बोक्दै परिवार पाल्न विवश छन्। 

बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशीको व्यथा पनि उस्तै छ। ‘गाउँमा खेतीपातीको काम सकेर यहाँ आएको केही दिनमात्रै भयो,’ सिलथाम बजारमा भेटिएका जोशीले भने– ‘यहाँ मजदुरी गर्न आए पनि अझै काम पाइएको छैन।’ उनले पनि पिथौरागढमा मजदुरी गरेर परिवारको जोहो गरेको ४० वर्ष भइसक्यो। घरनजिकै भएकाले पिथौरागढमा उनको आउजाउ चलिरहन्छ। यसअघि उनले ठेकेदारमार्फत भारतको वन विभागमा मजदुरीको काम गरेका थिए। ‘अहिले पनि त्यतै काम पाइन्छ कि भनेर खोज्दैछु,’ जोशीले भने ‘यहाँ मजदुरी गर्न सजिलो छैन, बाध्यताले आएका हौ।’

जोशीका तीन छोरा छन्। एउटा छोरा रोजगारीका लागि भारतको बैङ्गलोर पुगेका छन्। दुई छोरा भने घरमै छन्। आर्थिक अभावकै कारण छोरा पनि रोजगारीका लागि छिमेकी मुलुक जान बाध्य भएको दुःखेसो गरे। ‘दुई छोरा घरमा छन्। उनीहरू पनि काम नपाएर त्यसै बसेका छन्,’ उनले भने– ‘देशमा रोजगारी नहुँदा एउटा छोरा परदेसिएको छ।’ जोशी जस्तै परिवारको जोहो गर्न पुर्चौडीका उत्तम सिंह धामीले पनि पिथौरागढमा मजदुरी गर्न थालेको ३० वर्ष भयो। उनी ६ महिना खेतीपातीको काम गर्न घर फर्किन्छन् भने ६ महिना पिथौरागढमा मजदुरी गरेर परिवारको पेट पाल्छन्। यहाँ मजदुरीका लागि आउने अधिकांश नेपालीहरू ६ महिनामात्रै यहाँ मजदुरी गर्ने गरेको उनले सुनाए। ‘खेतीपातीको समयमा फर्केर घरको काम गर्छाै र अरू बेला मजदुरीका लागि भारत आउने गर्छांै, धामीले भने– ‘यहाँ नआई कहाँ जानु ? नेपालमा त मजदुरी गर्न पनि पाइँदैन।’ 

भारी बोकेको कमाइले लत्ता, कपडा लगेर घर जाने गरेको बताए। ‘भारी बोके पनि कमाइ राम्रो छैन। छोराछोरीलाई स्कुल पढाउन सकेको छैन,’ उनले भने, ‘मजदुरीको काम गर्ने हो, दिनको ६ सय रुपैयाँ मिल्छ। यसले परिवार पाल्नै ठिक्क हुन्छ।’ मजदुरी गर्न पनि सबै बेला नपाइँदा कहिले भोकै बस्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

पहिला घिउ बेच्थें, आजभोलि श्रम 

तीन दशक अघिसम्म सुदूरपहाडका नेपालीहरू घिउ बेच्न पिथौरागढ जान्थे। घिउबाट आएको पैसाले आवश्यक सामग्री किनेर ल्याउथे। त्यतिबेला वस्तु र वस्त्रको व्यापार हुन्थ्यो। अहिले त्यही सहरमा नेपालीहरूको पसिनाको व्यापार चलेको छ। करिब अढाई सय वर्षअघि त्यही सहरमा गोर्खालीले राज्य गरेको इतिहास भेटिन्छ। त्यतिबेला राजनीतिक पल्ला भारी गोर्खालीकै काँधमा थियो। अहिले गोर्खालीको पिठ्यूँमा भारी छ।

null

देशमा काम पाइए अर्काको देशमा पसिना बगाउने रहर आफूहरूलाई नभएको यहाँ आउने नेपालीहरू बताउँछन्। ‘नेपालमा त नेताहरूले आफ्नै घरपरिवार मात्रै बनाउन खोज्छन्, पिथौरागढको सिलथाम बजारमा भेटिएका केशव धामीले भने– ‘हाम्रो देशमा विकास भएको भए उतै मजदुरी गरेर खान्थ्यौं।’ 

भट्ट मुख्यमन्त्री हुँदाको खुसी पनि टिकेन 

२०७४ सालको निर्वाचनका यहाँ मजदुरी गर्नेहरू अधिकांश गाउँ फर्के। मतदान गरे। देशमै रोजगारीको आशा बोकेर स्वदेश फर्केका थिए। त्यतिबेला भारतमा नोकरी गरेका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पनि भए। मजदुरी गर्नेहरूमा अर्कै खुसी थियो। किनकि मजदुरको पीडा मुख्यमन्त्री भट्टले सम्बोधन गर्ने उनीहरूमा आशा थियो। तर, उनीहरूको जीवनमा कुनै परिवर्तन आएन। 

त्यसैकारण पुनः निराश भए, यहाँका नेपाली मजदुरहरू। ‘त्यो बेला आशा भएरै हामीहरू पनि रोजगारी छोडेर मतदान गर्न गएका हौ,’ केशव धामीले भने, ‘नेताहरू सत्तामा पुगेपछि आफ्नै घर बनाउन र आफ्ना मान्छे जागिर लगाउनमै सीमित भए। हाम्रो व्यथा सुन्ने कोही भएनन्।’ उनले स्वदेशप्रतिको माया भए पनि राजनीतिक दलहरूले स्वदेशमा गरिखाने वातावरण नबनाएको बताए। 

‘हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन् मेरो जिल्ला बैतडीमा फलाम खानी छ सरकारले उत्खनन त गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारी स्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुन्छन्।’ उनले पुर्चौडी बैतडीमा रहेको फलाम खानी उत्खनन गरेर सञ्चालनमा ल्याइदिए आफूहरू घर नजिकै रोजगारी पाउने बताए। 

कुनै बेला पुर्चौडीमा रहेको फलाम खानीबाट फलाम निकालेर भाँडाकुँडाहरू बनाएर बिक्री गर्ने गरिन्थ्यो। ‘पुर्खाको समयमा पुर्चौडीमै फलामखानी उत्खनन गरेर भाँडाकुँडा बनाइन्थ्यो,’ धामीले भने–‘अहिले पनि सरकारले त्यस ठाउँमा फलाम खानी उत्खनन गर्न सके सुदूर र कर्णाली क्षेत्रका अधिकांशले रोजगारी पाउने थिए।’

नेपाल–भारत सीमा झुलाघाटस्थित महाकाली नदीमा इस्ट इन्डिया कम्पनीले बनाएको झोलुंगेपुल छ। यहाँबाट कर्णाली र सुदूरका जिल्लाबाट छोटो दूरी भएकाले पनि थुप्रै नेपालीहरू मजदुरी गर्न पिथौरागढ पुग्ने गरेका छन्। 

पिथौरागढको पुरानो नाम ‘सोर’ हो। अहिले पनि ज्याला–मजदुरी गर्न पिथौरागढ जाने अधिकांश नेपालीले ‘सोर’ गएर पैसा कमाउने भन्ने गरेका छन्। कर्णालीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिस नुन लिन ‘सोर’ अर्थात् अहिलेको पिथौरागढ जाने गरेका थिए। अहिले पनि उपचार र किनमेलका लागि सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपाली पिथौरागढ पुग्ने गरेका छन्। 

नेपाल–भारत श्रमिक आप्रवासनमा विद्यावारिधि गरेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा.दीपकचन्द्र भट्ट करिब दुई सय वर्ष अगाडिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भारतमा गई रोजगारी गर्ने प्रचलन रही आएको बताउँछन्। ‘संख्यात्मक रूपमा भारतमा काम गर्न जाने नेपाली श्रमिकहरूको संख्या बढी भएता पनि भारतीय श्रमिकहरूले नेपालबाट नेपाली कामदारको भन्दा दुई गुणा बढी रकम लैजाने गरेका छन्,’ भट्टले भने– ‘भारतमा काम गर्ने नेपाली कामदारहरूको यकिन संख्या नभए पनि सुदूरपश्चिम प्रदेशबाट मात्रै कम्तीमा चार लाख नेपाली श्रमिकहरू भारतमा मजदुरी गर्न बाध्य छन्।’ कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट औसतमा दैनिक चार/पाँच सय नेपालीहरू काम खोज्दै जाने गरेको उनी बताउँछन्। null

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पिथौरागढमा भारी बोक्न पुगेकाहरू। 

नेपाली श्रमिकहरू परम्परागत रूपमा भारतका विभिन्न टाढाटाढाका सहरमा जाने प्रचलन रहेको र बढीजसो नेपाली श्रमिकहरू अदक्ष कामदारको रूपमा भारतीय सहरहरूमा काम गरिरहेको उनको भनाइ छ। ‘नेपाली श्रमिकहरू भारतमा गएर चौकीदारी, होटेलमा काम गर्ने, भारी बोक्नेजस्ता काममा बढी हुन्छन्,’ डा.भट्टले भने– ‘भारतीय श्रमिकहरू नेपालमा आएर मिस्त्री, कपाल काट्ने, ग्रिल, टायल, मोटरसाइकल मर्मत र सडक कालोपत्रेलगायतका काममा बढी हुन्छन्।’ उनले नेपाली श्रमिकहरू काममा फाइदा नहेरी साथीहरूको लहैलहैमा लागेर जाने गरेको तर भारतीय श्रमिकहरू फाइदा हुने काम मात्रै गर्ने गरेको बताए।

‘एक जना नेपाली कामदारले औसतमा २० हजार आयआर्जन गर्दा एक जना भारतीय कामदार नेपाली सहरबाट ४० हजार (दुई गुणा) आम्दानी गर्दछन्,’ उनले भने ‘नेपालीहरू कमाएको आधा रकम भारतमै खर्च गरेर आउँछन्। तर भारतीय श्रमिकहरू नेपालमा कुनै पनि खर्च नगरी कमाएको सबै रकम भारतमा लगेर जान्छन्।’ उनले नेपाली श्रमिकहरू भारतबाट फर्किने बेला कपडा, भाँडाकुँडा, मोबाइल र खानेकुराजस्ता सामानहरू किनेर 
स्वदेश फर्किने गरेका छन्।

भारतको रोजगारी नभए नेपालीहरूको रोजीरोटीमै समस्या हुने भएकाले यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्ने डा.भट्ट बताउँछन्। ‘नेपाली श्रमिकहरूलाई भारतमा जानुको विकल्प छैन,’ उनी भन्छन्, ‘परिवार पाल्न जानैपर्ने बाध्यता छ।’ सरकारले भारतमा जाने कामदारहरूको विवरण राख्नुपर्ने र नेपालमा भारतीय कामदारहरूलाई विस्थापित गर्नका लागि सरकारले सीपमूलक तालिमहरूको व्यवस्था गरेर स्थानीय स्तरमै राजगारी सिर्जना गर्नुपर्ने उनले बताए। ‘अहिले पनि अदक्ष कामदारकै रूपमा नेपालीहरू भारत जाने गरेका छन्।’ उनले भने– ‘नेपाली श्रमिकको सामाजिक सुरक्षासँगै सीपमूलक तालिम आदिका विषयमा सरकारले ध्यान दिन जरुरी छ।’ 

यस्तो छ गोर्खाली किल्ला

भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ बजार गोर्खालीका लागि विशेष महत्त्वको छ। यहाँस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ। पर्खालको चौडाइ पाँच फिट चार इन्च रहेको छ। पर्खालमा बन्दुक चलाउन मिल्ने १ सय ५२ वटा प्वाल छन्। नालापानी किल्लाजस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो। 

nullपिथौरागढको गोर्खाली किल्ला

जहाँ गोर्खालीले अंग्रेजहरूलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए। तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकहरूलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए। त्यतिबेला गोर्खाली सेनाहरूले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहासका जानकारहरू बताउँछन्।

‘विशाल नेपालको अभियानलाई पश्चिमतिर फैलाउने क्रममा तत्कालीन गोर्खा सैनिकले सुरुवातमा यहीँ किल्ला कब्जा गरेका थिए,’ इतिहास जानकार हेमबाबु लेखकले भने– ‘यही किल्लाबाट गोर्खा सैनिकले निरन्तर कुमाउ गडवालमा २५ वर्ष शासन गरेको थियो।’ उनले तत्कालीन इस्ट इन्डिया एन्ड कम्पनीलाई गोर्खा सैनिकलाई परास्त गर्दै उक्त किल्ला कब्जा गरेको बताए। 

‘गोर्खा शासकहरूले आफ्ना प्रशासकहरू राखेर कुमाउ गडवाल क्षेत्रमा निरन्तर २५ वर्ष शासन गरेको इतिहास छ।’ उनले भने– ‘यो किल्लामा गोर्खालीहरूको वीरताको इतिहास छ।’ अहिले यो किल्ला गोरखा किल्ला एवम् लन्दन फोर्टका नामले परिचित छ। नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७८९ मा गोर्खाली सेनाले आफ्नो सुरक्षाका लागि यो किल्ला निर्माण गरेका थिए। नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला

दुवै भारतको उत्तराखण्डमा पर्छन्। ‘बहादुर शाहको नेतृत्वमा आएको गोर्खाली सेनाले यो किल्ला कब्जा गरेको थियो।’ इतिहास जानकार रमेश पन्त मितबन्धुले भने– ‘यही किल्लाबाट कुमाउ गडवालमा गोर्खालीले निरन्तर २५ वर्ष शासन गरेको हो।’ गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ। किल्लाभित्र गहिरो कुवा रहेको इतिहास भए पनि अहिले उक्त ठाउँमा पीपल रोपिएको उनले बताए। यो किल्ला गोर्खालीहरूको इतिहाससँग जोडिएकाले नेपालीहरूका लागि महत्त्वपूर्ण रहेको रहेको वीरबहादुर चन्दले बताए। 

‘६१ वर्षअघि मैले पिथौरागढमा अध्ययन गर्दा यो किल्लामा गोर्खाली किल्लाका नामले चर्चित थियो,’ चन्दले भने– ‘यो किल्ला नेपालीहरूका लागि महत्त्वपूर्ण र ऐतिहासिक छ।’ किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको उनको भनाइ छ। गोर्खाली किल्लामा रहेको शिलालेखमा विभिन्न वंशले राज्य गर्ने क्रममा सैनिकस्थलका रूपमा उपयोग गरेको उल्लेख छ।  पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अंग्रेजहरूले शासन गरेको पनि उल्लेख गरिएको छ। अहिले उक्त किल्लाको संरक्षण भारत सरकारले गरिरहेको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.