देउता बनाउने मान्छेको कथा

समीक्षा

देउता बनाउने मान्छेको कथा

कालु कुमालेको जीवनीले एक व्यक्तिको जीवनका उतारचढावमात्र नभई कुमालेहरूको इतिहास र ज्ञान प्रणालीलाई पनि उजागर गरेको छ। एकदिन बाले उनलाई माटोको डल्लो दिएर बाराहीको मुख बनाउन लगाए। देवाली पूजाका मूल देउता बाराहीको मुख याद गरी बनाए। सही आकार नआइन्जेल दोहोर्‍याइरहे।

माटाको भाडा बनाउने कला मानव समाजको विकाससँगै अघि बढेको एक प्राचीनतम ज्ञान क्षेत्र हो। नेवार समुदायभित्रको कुमाले (कुम्हाः) भाडासम्बन्धी शिल्पगत दक्षताका कारण प्रसिद्ध छन्। कुमालेको रैथाने ज्ञान नेपाली समाजको सांस्कृतिक सम्पदाको एक विशिष्ट उदाहरण पनि हो। 

उनीहरू मानिसलाई जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने भाँडाकुँडा बनाउँछन्। यस समुदायका पुर्खा हाँडीगाउँका शिवसिंह प्रजापतिलाई कला दक्षताका कारण तत्कालीन शासकले सिपालु दक्ष प्रजापति र समुदायको थकाली अर्थात् ‘थकू’ को उपाधि दिएको इतिहास छ। तिनै दक्ष प्रजापति थकूका सन्तान हुन्, नेपालका प्रतिष्ठित कलाकार क्रोधकला शिरोमणि कालु कुमाले (कुम्हाः)। कला साधना र शिल्पगत दक्षताका एक धरोहर कालु कुमालेको जीवनी देउता बनाउने मान्छे हालै प्रकाशित भएको छ।

कालु कुमालेको जीवनीले एक व्यक्तिको जीवनका उतारचढावहरू मात्र नभई कुमालेहरूको इतिहास र ज्ञान प्रणालीलाई पनि उजागर गरेको छ। दक्ष प्रजापति थकू (थपाः कुम्हाः) खलक चोभारको आदिनाथ र पाटन टंगालको बसुन्धरा देवीको पूजा र व्रतका लागि आवश्यक भाँडाकुँडा बनाउने जिम्मेवारीसँग जोडिएका छन्। उनका पुर्खालाई काठमाडौंबाट पाटन ललितपुरमा लगिएको रहेछ। तत्कालीन शासकले कुमाले परिवारको सुरक्षाका निम्ति विशेष ढ्वाखा (ढोका) निर्माण गरी थपाःटोलमा सारेका थिए (पृ.१६)। कालु कुमाले त्यही खलकका हुन्। पारिवारिक पेसाका कारण उनी 

सानैबाट माटोसँग नजिक भए।

भाडा निर्माणका लागि फागुन र चैत्रमा माटो खोज्ने, पाटनको ज्याठा छें परिसरको अलगअलग खाल्डोमा भण्डारण गर्ने, माटो पिट्ने, केलाउने कार्यमा संलग्न भए। पारिवारिक माहोलका कारण सानैबाट माटोको खेलौनाहरू बनाउन सुरु गरे। एकदिन बाले उनलाई माटोको डल्लो दिएर बाराहीको मुख बनाउन लगाए। देवाली पूजाका मूल देउता बाराही (धुम्बाराही)को मुख याद गरी बनाए। सही आकार नआइन्जेल दोहोर्‍याइरहे। अन्तमा बालाई पनि चित्त बुझ्यो। त्यसपछि अष्टमातृका गण नाच (गँ प्याखँ) मा भएका आठैवटा मूर्तिको मुखाकृति बनाउन कोसिस गरे। माटोको काममा दक्षता प्राप्त गरेपछि उनले आफ्नो सीपलाई मूर्तिकलातिर विस्तारित गरे।

कालुको जीवनको ठूलो हिस्सा अभाव, समस्या र संघर्षमा नै बित्यो। बाल्यकालमा किताब किन्न १० रुपैयाँको जोहो गर्न नसक्दा पढाइलाई पूर्णविराम लगाउन बाध्य भएका थिए। १५ वर्षको उमेरमा विवाह भएपछिको जिम्मेवारी र आर्थिक अभावका कारण उनी पुख्र्यौली पेसाभन्दा अरू नै काममा लागे। आर्थिक अभावकै सन्दर्भमा उनी लेख्छन्, ‘मसँग फेरफार गरेर लगाउने लुगा नहुँदा कतिपटक लक्ष्मीमायाको चोलो लगाएर खेतमा काम गर्न गएँ। ...म पनि भरिया बन्न भीमफेदी गएँ’ (पृ. ६२)। उनी मूर्तिकलामा दक्ष भए पनि त्यसबेला उनको कलाले उचित मूल्य पाउन सकेन। खाना लाउनकै अभावमाझ उनी भारी बोक्नेदेखि रातरातभर परालको जुक्ता बनाउने, सुकुल बुन्ने काम पनि गर्थे।

जीवनीकृतिले इमानदारीको माग गर्छ। तथापि पछिल्लो समय आएका जीवनी लेखनमा आत्मस्वीकृतिभन्दा आत्माश्लाधा ज्यादा भएको सुनिन्छ। लेखक स्वयम् आफ्नो जीवनजानकार भएकाले पाठकले विश्वास गरिदिनुको विकल्प हुन्न। तथापि कालु कुमालेको जीवनीमा भने इमान्दार अभिव्यक्तिका अनेकन दृष्टान्त भेटिन्छन्। परिवारमा अभाव भए पनि पुल्पुलिएर हुर्किएका एक्लो छोरो उनी विवाह गरेर सन्तान भइसक्दा पनि श्रीमती लक्ष्मीमायालाई काममा केही सहयोग नगरेको स्वीकार्छन्।

सिन्को नभाँची मीठो खान खोज्ने बानी, सुर्ती तमाखुमात्र नभई केही समय जुवातिर पनि लागेको स्वीकारेका छन्। समयसँगै जब उनमा पारिवारिक जिम्मेवारीको चेत पस्छ, तब मरिमेटेर आर्थिक उपार्जनका निम्ति लागेको देखिन्छ। जति दुःख गर्दा पनि अभावको भुँमरीबाट निस्किन नसक्दाको बखत भने उनी भन्छन्, ‘दुःख हाम्रो परिवारको अटुट साथी थियो। न हामी दुःखबाट मुक्त हुन सकिरहेका थियौं न दुःखले हामीलाई सखाप पारेको थियो’ (पृ. ६४)।

२०२२ सालतिर संघरत्न शाक्यबाट मूर्ति बनाउने कामको प्रस्ताव पाएपछि भने उनको आर्थिकस्थिति क्रमिक रूपमा सुधार हुन्छ। उनमा भएको मूर्तिकला क्षमता, शिल्पगत निपुणता तथा मेहनतका कारण उनले सफलता प्राप्त गर्दै जान्छन्। उनी मूर्ति बनाउने पहिलो कुमाले मूर्तिकारको रूपमा चिनिन थाल्छन्। २०३५ सालतिर नै उनी क्रोध कलामा दक्खल राख्थे। एकदिन लामा गुरुहरू पाल्देन ल्हामुको मूर्ति बनाउने मूर्तिकारको खोजी गर्दै उनीकहाँ आइपुग्छन्। उनले आठ महिनाको अथक परिश्रमपछि छ्वास्कामुनि अजिमाको मैनको मूर्ति तयार पार्छन्।

त्यसपछि माटोको साँचो तयार गर्नेदेखि धातुमा ढाली बुट्टा काँटी पूर्णता प्रदान गर्न लगभग दुई वर्ष लाग्छ। जीवनमा पहिलोपटक उनले कलाबापत उचित सम्मान र नगद प्राप्त गर्छन्। त्यस मूर्ति गाडेन जाङ्त्से नोर्लिङ थासाङ गुम्बा मनगढ, कर्नाटक भारतमा स्थापित गरिएको छ। त्यही समारोहमा उनलाई क्रोध कलामा निपुण कलाकार भनी घोषण गरिन्छ।

कालुको जीवन अनेकन उतारचढावसहित अघि बढेको छ। उनले आफैंले बनाएको मूर्ति चोरीको आरोपदेखि आफ्नै परिवारभित्रको घातप्रतिघात पनि बेहोरेका छन्। उनको जीवन अनुभूतिका विविध आयाम छन्। यस पुस्तकमा उनका अत्यन्त चर्चित भएका मूर्तिहरूको अनौठो रचना गर्भहरू समेटिएको छ। सम्भवतः एक कलाउपासक विपनामा मात्र नभई अद्र्धचेतना पनि कला नै सोच्छ।

त्यस्तै एक घटना छ– एक झिसमिसे बिहान भटमास उखेल्न बारीतिर जाँदा साढे सवार जट्टाधारी शिवजी देख्छन्। मनमस्तिष्कमा स्पष्ट टंकन भएको शिवाकृति उनले कलामा उतार्दछन् (पृ. ९७)। त्यही मूर्ति उनको सर्वाधिक प्रसिद्धमध्येको एक बन्न पुग्छ। अर्धांगिनी लक्ष्मीमायाको देहावसानपछिको अत्यन्त पीडादायी समयमा उनले शिवजीले सतीदेवलाई काँधमा राखेर संसार घुमेको मूर्ति तयार पारेका छन्।

आफ्नो कलाको मूल्य नै चाल नपाई केवल कलाकर्ममा समर्पित कालुले नाम, पैसा सबै प्राप्त गरे। तथापि कुनै बखत परिवारभित्रकै सदस्यको घातले टुक्रिएका उनलाई साइलो छोरो राकेशले दरिलो साथ र भरोसा प्रदान गरेका छन्। सामाजिक कार्यमा सधैं समर्पित कुमालेले विभिन्न मन्दिरको चोरी भएको देउता बनाइदिएका छन्। पाटन क्वाछेंस्थित बालकुमारी मन्दिरको भैरव, सतुंगलको वैष्णवी मन्दिरको अष्टमातृका गण, ज्वागल धटलको धनवन्तरी बाराहीको मूर्तिलगायत उनैको कला हो। उपत्यकाका विभिन्न मन्दिर तथा गुम्बाहरूमा प्रतिस्थापित गरिएका मन्दिर एकसरो हेर्न र पुज्न पुगेपछि उनलाई लाग्छ, 

‘ओहो, म त मूर्ति होइन, देउता बनाउने मान्छे पो रहेछु’ (पृ. १६९)। उनी देउता बनाउने मान्छे भएका छन्। ९१ वर्षीय उनीले अनुशासन, धैर्य र ध्यानलाई जीवन बाँच्ने तरिका बनाए। जो अझै ज्यासलमा काम गर्न पुग्छन्।

कालु कुमालेको जीवनी देउता बनाउने मान्छेले एक दीर्घकला साधकको व्यक्तिगत भोगाइसँगै समाज स्मृतिका विविध पाटाहरू उजागर गर्छ। सामान्य लेखपढसम्ममात्र गर्न सक्ने कुमाले परिवारका कालु कुमालेको मूर्तिकलायात्रा, उनले प्राप्त गरेको सफलता र अन्ततः क्रोधकलाको निपुणताका कारण प्राप्त गरेको क्रोधकला शिरोमणि उपाधिसम्मको यात्रा आश्चार्यमय लाग्छन्। उनको जीवनी हरेक पाठकका निम्ति प्रेरणाको स्रोत हुन सक्छ। उनले बनाएका मूर्तिहरू विश्वप्रसिद्ध भिक्टोरिया एल्बर्ट संग्रहालयदेखि नेपाल, भारत, तिब्बत लगायतका देशका गुम्बा र मन्दिरहरूमा स्थापित छन्। उनी कालु कुमाले (कुम्हाः) उर्फ देउता बनाउने मान्छे हुन्।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.