हाँसो सबैको रोजाइ हो। त्यसैले हास्य कलाकार मनोज गजुरेल दोहोर्याइरहन्छन्, ‘जो हाँस्छ, त्यो धेरै बाँच्छ।’ जीवनको यहीँ औषधि बनेर दर्शक र श्रोता हँसाउने केही चर्चित हास्य कलाकार पछिल्लो समय गुमनाम जस्तै बनेका छन्।
कोही बाध्यताले त, कोही समय र अवस्थाले यो क्षेत्रमा पुनः चम्कन सकेका छैनन्। दर्शक भने उनीहरूको अवस्था खोजिरहेका छन्। आजको अंकमा अन्नपूर्णकर्मी रविन भट्टराईले १० चर्चित हास्य कलाकारको ठेगान खोजेका छन्।
जजको लाइनमा सन्तोष
त्यो समयका दर्शकलाई लाग्छ, ‘हिजोआजका कुरा’ भनेकै सन्तोष पन्त हुन्। अनि, सन्तोष पन्त भनेकै ‘हिजोआजका कुरा।’ तर, आज त्यहीँ कुरा इतिहास बन्यो। पन्त कलाकारभन्दा पनि जजमा सीमित बनिरहेछन् पछिल्लो समय। पहिलेको आफ्नो ब्रान्डलाई कहिले चलचित्र बनाउन खोज्छन् त कहिले स्टेजमा प्रस्तुत गर्न, तर अहँ दर्शक किन हाँस्न छाडे उनले भेउ पाएका छैनन्। नत्र, यो समय पनि उनी हास्य क्षेत्रमा चम्किएका अभिभावक कलाकार नै कहलिन्थे। टेलिभिजनका कुनै बेलाका प्रख्यात अभिनेता उनी अहिले आफ्नै परीक्षामा छन्।
नेपाली टेलिभिजनका एक स्मरणीय पात्र हुन्, सन्तोष पन्त। उनले ६९९ भाग ‘हिजोआजका कुरा’ प्रसारण गरेका थिए। झुपडीदेखि दरबारसम्म एकसाथ रुचाइएको त्यो कार्यक्रम २०६३ मा बन्द भयो। राजनीतिकै कारण यो बन्द भएको उनी बताउँछन्। झन्डै एक दशकको विश्रामपछि उनले त्यो कार्यक्रम दुई वर्षसम्म कान्तिपुर टेलिभिजनमा ११७ भाग देखाए पनि।
तर, समयले साथ दिएन। २०५३ सालतिर तत्कालीन महाप्रबन्धक नीर शाहको अनुरोधमा ‘आजभोलिका कुरा’ सुरु भएको थियो। पहिले पाक्षिक कार्यक्रम थियो, पछि राजा वीरेन्द्रले दरबारमै बोलाएर भनेछन्,‘आई युज्ड टु वाच योर प्रोग्राम सन्तोष। इट्स भेरी इन्ट्रेस्टिङ। ह्वाई डन्ट यु मेक विक्ली ?’ ‘राजाको फर्माइस पूरा गर्नैपर्यो। ‘हिजोआजका कुरा’ साप्ताहिक भइहाल्यो,’ उनी भन्छन्। त्योभन्दा पहिल्यै पनि उनी चिनिइसकेका थिए। ‘दोषी को ?’ ‘मीत बा,’ ‘लौ आयो,’ ‘कठै,’ ‘एउटा कुरा,’ ‘कस्तो लाग्यो ?’ आदि टेलिसिरियलमार्फत दर्शकको दिमागमा घुसेका थिए। ४५ सामा ‘नरिसाउनुस् है’ नामक शृंखलामार्फत ‘क्रोमा टेक्निक’ भिœयाएको देखेर अमेरिकी निर्देशक नै छक्क परेछन्। हलिउडमा भर्खर आएको प्रविधि उनले ख्यालख्यालमै सिकेछन्। एउटै कार्यक्रममा उनले ५–६ जनाको चरित्र अभिनय गरे रे। ११ महिनामा ५८ वटा विभिन्न चरित्र निर्वाह गरेकाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’को हल्ला पनि चल्यो।
आफूलाई जन्मजात कलाकार मान्छन् सन्तोष। तीन वर्षकै उमेरमा ल्याब्रोटरी स्कुलको वार्षिकोत्सवमा पहिलो नृत्य प्रस्तुति दिएछन् तत्कालीन युवराज वीरेन्द्रको अगाडि। सात वर्ष पुग्दानपुग्दै राष्ट्रिय नाचघरमा ‘मोनो एक्ट’ गरेबापत स्वर्णपदक पाए राजा महेन्द्रको हातबाट। पन्तको पुख्र्यौली थलो हो, गोरखाको छेपेटार। अध्ययनका लागि बनारस पसेको उनका पुर्खाले काठमाडौंमै खाँबो गाडे। अझै पनि नयाँ पुस्ताका लागि सामाजिक कटाक्षमूलक कार्यक्रम देखाउने अतिरिक्त आकांक्षा छ रे उनमा। अहिले उनी हास्य कलाकार छनोट प्रतिस्पर्धाका जज र केही कार्यक्रममा सीमित बनेका छन्।
अल्मलिएका राजाराम
राजाराम पौड्याल लोकप्रिय हास्य कलाकार हुन्। थुप्रै चलचित्र, टेलिसिरियल तथा कमेडी सोमा उनले कलाकौशल पस्किसकेका छन्। युगदेखि युगसम्म, दक्षिणा, प्रेमपिण्ड, सेन्टी भाइरस, लक्का जवान, श्रीलगायत दर्जनौं चलचित्रका साथै टेलिसिरिल र कमेडी सोमा समेत काम गरेका उनी उमेरले ६ दशक पार गरिसकेका छन्। तर, कामप्रति उनको ऊर्जा भने उत्तिकै छ। कामलाई कहिल्यै पनि दबाब महसुस नगर्ने उनी चलचित्रमा काम गर्दा अहिलेसम्म स्क्रिप्ट नपढेको बताउँछन्। आफ्नो संवाद पनि सुटिङमा गएर सरर हेरेर अभिनय गर्ने गरेको उनी सुनाउँछन्। तर, पछिल्लो समय उनी पनि ओझेलमा नै छन्।
केही सोमा बसेर हाँस्न र जबर्जस्त हँसाउनमै उनको यो समय खर्च भइरहेको छ। केही चलचित्रमा अभिनय पनि गरिरहेका छन्। तर, उनको हँसाउने कला एउटै छ। पहिलेको जस्तो उनको चर्चा छैन। करिब ४१ वर्षअघि ‘वासुदेव’ फिल्मका लागि पहिलोपटक क्यामेरा अघिल्तिर उभिएका थिए रे राजाराम। फिल्ममा उनको एउटा सिन थियो। त्यो पनि साह्रै सानो।
तर, त्यही बिन्दुबाट सुरु भएको कलायात्रा उनको जीवनको लय बनिदियो। आज पर्यन्त उनी फिल्मभन्दा दायाँबायाँ लागेका छैनन् रे। उनकै सबै भनाइलाई आधार मानेर तुलना गर्ने हो भने उनी त्यो बेलादेखि यो बेलासम्म फिल्म र फिल्मभन्दा कतै नगएका सग्लो दस्तावेज हुन् भन्दा हुन्छ। जसले नेपाली फिल्मको एउटा सिंगो कालखण्ड गुजारेका छन्। उनी अझै पनि यसै लयमा दौडने सोचमा छन्।
पुनः चम्कन खोज्दै शिवहरि
चर्चित हास्य टेलिशृंखला ‘जिरे खुर्सानी’का पुराना निर्देशक एवं कलाकार हुन्, शिवहरि पौड्याल । ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ थेगो मात्रै होइन, उनको उपनाम नै बन्यो यो टेलिशृंखलाबाट। स्टेजबाट अभिनय सुरु गरेका पौडेलले टेलिशृंखला, फिचर फिल्म, विज्ञापनलगायत अरू धेरै विधामा काम गरेका कलाकार हुन्। नेपाली चलचित्र एवं सिरियलमा मौलिक नेपाली परम्पराले स्थान पाउनुपर्छ भन्ने मान्यता राख्ने उनी अहिले यो क्षेत्रबाट गुमनाम छन्। बेला मौका, म्युजिक भिडियोमा झुल्कन्छन् र हुरीको दियो जस्तो झ्याप्प हराउँछन्। कतै कतै स्टेज चढेर हसाउने कोसिस पनि गर्छन्। तर, पहिले जस्तो उनी चम्किन सकेका छैनन्।
करिब २८–३० वर्षअघि सुनील पोखरेलको निर्देशनमा पहिलोपटक ‘सेचुवाको असल मान्छे’मा अभिनय गरेका थिए। त्यहाँ उनले हजामको भूमिका निर्वाह गरेका थिए। त्यहाँबाट नै उनलाई कलाकार त्यसमा पनि हँसाउने कलाकार बन्ने जोस चलेको थियो रे। लय संग्रौलाको निर्देशनमा निर्माण भएको सिरियल ‘ऊ अब एक्लो छैन’ मा काम गरेवापत दुई सय रुपैयाँ पाएको दिन उनी भुल्न सक्दैनन्। भन्छन्, ‘त्यो पैसा कही दिन त खर्च नगरी राखें। अन्तिममा रिमझिम भोजनालयमा भात खाएँ र सकें।’
उनीसँग अरूलाई हँसाउने बनावटी किस्सामात्रै हैन, जीवन भोगाइमा आफ्नै हँसाउने किस्सा पनि बनेका रहेछन्। भन्छन्, ‘९÷१० वर्षको हुँदा नै हो हाम्रो घरनजिकै तामाङ दाइको बारीमा कात्तिके बोडी निकै फलेको थियो। हामी बोडी चोरी चोरी खान्थ्यौं। एकदिन तामाङ दाइले कराए। हामी भाग्यौं। टाढै पुगेपछि यसो हेरेको त दाइ देखिएनन्। फर्किएर बिस्तारै आउँदै थिएँ। उनी त कान्लामुनि लुकेर बसेका रहेछन्। मलाई च्याप्प समाते। कट्टु खोलेर फाल्दिए, अनि कारबाही गरे।’ उनी अझै हँसाउने र निर्देशन गर्ने क्षमतालाई तिखार्ने र समय अनुकूल बनाउने सोचमा छन्। भन्छन्, ‘निर्देशनसँगै म्युजिक भिडियोमा अभिनय र केही चलचित्रमा पनि काम गरिरहेको छु। पुनः उदाउने डाँडा खोजिरहेको छु।’
चर्चाको बाटोमा चिप्लिएका दमन
‘मेरी बास्सै’जस्तो लोकप्रिय कमेडी सिरियल सुरु गरेर थुप्रै कलाकार जन्माएका हास्य कलाकार तथा निर्देशक हुन् दमन रूपाखेती। मेरी बास्सै, झ्याइँ कुटी झ्याइँ हुँदै हाक्काहाक्कीसम्म पुग्दा निकै आरोह—अवरोह पार गरे। कतै साथी छुटे कतै काम। अहिले पनि यो क्षेत्रमा उनलाई गुमनाम हुने पो हो कि भन्ने डर छ। तर, केही न केही उट्पट्याङ गरिरहेका छन्, पुरानै शैलीमा।
त्यसैले पनि उनी नयाँ पुस्तामा परिचित त्यति हुन सकिरहेका छैनन्। एकताका दमन रूपाखेती र जितु नेपालको जोडीलाई दर्शकले निकै रुचाएका थिए। तर दमन—जितुको जोडी छुटेपछि जितु जिरे खुर्सानीतिर र दमन मेरी बास्सैतिर लागेका थिए। पछिल्लो समय भद्रगोल, जिरे खुर्सानी, ब्रेक फेललगायतका सिरियल नेपाल टेलिभिजनबाट प्रसारण बन्द पनि भए। त्यसपछि हाक्का—हाक्की कमेडी सिरियलमा उनी आए। मेरी बास्सैमा घरज्वाइँको भूमिकामा चर्चित भएका दमनले हाक्का—हाक्कीमा त्यही चरित्रलाई पुनरागमन गरे।
तर, यो कुरा अहिलेका दर्शकले यहाँ पढेर मात्रै थाहा पाउनुपर्ने अवस्था बनेको छ। उनी अझै पनि नयाँ पुस्तालाई के दिन सकिन्छ सोचिरहेको बताउँछन्। उनको कलाकारितामा रुचि सानै उमेरदेखि थियो रे। मान्छेको हाउभाउ र बोलीचालीलाई दुरुस्तै उतार्ने कोसिस गर्थें रे। सधैं हाँसीमजाक गरिरहने भएकाले साथीहरूले अभिनय गर्न प्रेरित गर्थे उनलाई। मनमा भने ठूलो भएपछि प्राध्यापक बन्छु भन्ने थियो उनको। बुवा प्राध्यापक भएकाले उनलाई पनि उहाँ झैं बन्नुपर्छ भन्ने लाग्थ्यो।
भन्छन्, ‘बुबाले सधैं पढाइमा ध्यान दिन भन्नुहुन्थ्यो। मेरो भाग्यमा भने कलाकार बनेर बाँच्न लेखेको रहेछ।’ २०४३ सालमा रेडियो नेपालमा नाटक खेल्न गएका थिए उनी। त्यतिबेला वासुदेव मुनालले नाटकमा अभिनय गराएका थिए रे। अनि नाटकमा बोलेर पनि पैसा पाउन थालेपछि अभिनयमै रस बस्दै गयो उनलाई। रेडियो नाटक हुँदै टेलिसिरियल र फिल्मतिर अभिनय सुरु गरेका थिए उनले। कलाकारिताबाटै नाम र दाम पाइरहेकाले अरू काममा लाग्न मन लागेन र यो अवस्थासम्म पुगे।
अभिनयमा फर्कँदै पल्पसा
हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ उपनामले चिनिन्छिन्। हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा यो नामबाट चर्चित उनी पछिल्लो समय पहिलेजस्तो सक्रिय कलाकारितामा छैनन्। कारण, दुवै मिर्गौला फेल भएपछि अभिनयबाट टाढा भइन्। पुनः ‘मेरी बास्सै’मा फर्केर अभिनय गरे पनि उनमा पहिले जस्तो ऊर्जा छैन रे। हालसम्म उनले ‘मेरी बास्सै’बाहेक उनले थुप्रै टेलिसिरियल, चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी छन्। यो धेरैलाई थाहा भएको कुरा हो। तर यो धेरैलाई थाहा छैन, उनी व्यवसायमा पनि उत्तिकै सक्रिय छन्।
काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसन अगाडि एउटा रेस्टुरेन्ट छ, ‘नेपाली भोजन।’ यही रेस्टुरेन्टकी साहुनी पनि हुन्, पल्पसा। यो उनको एक्लो प्रयास भने होइन। सम्पूर्णदेव थापा, विष्णु पौडेल, आरसी पन्त यसमा साझेदारी उनी जोडिएकी रहिछिन्। २०७१ सालको अन्त्यतिरबाट ‘नेपाली भोजन’ सञ्चालनमा आएको रहेछ। मिस नेपालमा भाग लिएर रंगमञ्चमा आएकी उनी ब्युटी प्याजेन्टका कार्यक्रमहरूमा पहिले सक्रिय रूपमा पुग्ने गरेकी थिइन्। त्यस्ता कार्यक्रममा जजको रूपमा सहभागी हुन्थिन्। उनले पहिले धेरै स्कुलहरूमा डान्स पनि सिकाइन्। उनले पहिले तीनवटा सिरियल नियमित खेल्थिन् रे। अहिले बेलामौका ‘मेरी बास्सै’मा मात्र अभिनय गर्छिन्। आउँदा दिनमा पनि स्वास्थ्यले साथ दिए उनी यसै क्षेत्र साथै व्यवसायमा लाग्ने बताउँछिन्।
हँसाउने सुर खोज्दै शूरवीर
शूरवीर पण्डित हास्य कलाकारितामा ‘दाह्री बा’का नामले चर्चित छन्। यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन्। यो सिरियलबाट उनी सर्वत्र चिनिए। कलाकारितामा शूरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद पण्डित हो। २०४३ सालदेखि नियमित कलाकारितामा रमाउँदै आएका उनी समकक्षीको तुलनामा धेरै पछि छन्। त्यसैले पनि उनी अहिले पनि भन्छन्— कलाकारिता पेसा बनाउने कोसिसमै छु। उनले यसो भने पनि उनी हास्य क्षेत्रमा पछिल्लो समय हराउँदै गएका छन्। उनी अझै पनि यस क्षेत्रमा चम्कने बलमै भेटिन्छन्। ५० भन्दा बढी टेलिसिरियल र त्यतिनै संख्यामा चलचित्र र एक सय हाराहारीका म्युजिक भिडियोमा अभिनय गरेका पण्डित आर्थिक रूपले धेरै पछि परेका छन्। त्यसैले पनि होला उनी मोटरसाइकल चढ्दा सीधा बाटो डोर्याउँछन्, ओरालो स्टार बन्द गरेर चढ्छन् रे।
कलाकारिताकै कारण केही समयअगाडि उनको मृत्युको झुटो खबरसमेत फैलिएको थियो। ‘मेरी बास्सै’मा मृत्युको अभिनय गरेका कारण उक्त खबरको सामना गर्नुपरेको उनी बताउँछन्। भन्छन्, ‘झुटो खबरले मेरो मृत्युपछि आफन्त कति विक्षिप्त हुन्छन्, जिउँदै अनुभव भयो।’ उनले जीवनमा यस्ता उकाली ओराली धेरै भोगेका छन्।
भन्छन्, ‘मेरो कमेडी कलाकार बन्ने प्रयास जारी छ।’ लामो समयदेखि कलाकारितामा निरन्तर रहे पनि उनी कलाकारिता हिलोमा फसेको गाडी जस्तै बनेको बताउँछन्। किनभने उनको र यस क्षेत्रमा लागेका कलाकारिताले आर्थिक रूपमा अझै गति लिन सकेका छैनन् रे। राम्रो कलाकारका रूपमा चिनिने उनको सपना जीवितै छ। राम्रो कलाकारको नाम लिँदा आफ्नो नाम आओस् भन्ने इच्छा उनमा छ। कलाकारिता अगाडि नेपाल सरकारको अधिकृत बन्ने सपना थियो रे। ‘सिन्दूर’ भन्ने नेपाली फिल्म हेरेपछि उनलाई कलाकारिताको भूत चढेछ। त्यहाँबाट उनको यात्रा यता कोल्टिएको उनी बताउँछन्।
कहिलेकाहीँ काम नपाएर त्यसै बस्नुपर्ने अवस्था पनि उनी भोगिरहेका छन्। भन्छन्, ‘कहिले काम आउँछ, थोरै बजेट छ भनेर भन्छन्। ल भनेर काम गर्यो। त्योबाट पनि कम पाइन्छ। काम लगाएर धेरैले पैसा दिँदैनन्। त्यस्तो बेला दुःख लाग्छ। धेरै पहिले काम गरेको पैसा उठाउन अहिले पनि धाउँदैछु।’ लाज ढाक्ने सिम्पल पहिरन उनलाई मन पर्छ रे। भन्छन्, ‘सर्टपाइन्ट, कमिज सुरुवाल, दौरा सुरुवाल बढी प्रयोग गर्छु।’
सकारात्मक समयको पर्खाइमा ‘धुर्मुस’
गीत नै छ, ‘४० कटेसी रमाउला...’ तर, हास्य कलाकारिताको क्षेत्रमा खम्बा झैं उभिएर सामाजिक काममा लागेका सीताराम कट्टेल (धुर्मुस) ४० कट्न लागे तर अझै खुसी छैनन्। कलाकारितामा चम्किएका उनी जब सामाजिक काममा लागे, तब समस्यामा परे। ‘एकीकृत बस्ती’ निर्माण गर्दै चितवनमा क्रिकेट रंगशाला निर्माणसम्म पुग्दा उनले कलाकारिताको अनुभवभन्दा धेरै मुलुक र राजनीति बुझे। अनि, यसै मार्गमा अल्झिए। उनी भन्छन्, ‘अब मेरो बाटो कता ?’ हो, उनी हास्य कलाकारिता क्षेत्रबाट हराएका मात्रै छैनन्, आफैं हाँस्न नसक्ने अवस्थामा पुगेको बताउँछन्।
क्रिकेट रंगशाला निर्माणका क्रममा भोगेका समस्याले उनी अझै थलिएकै छन्। बेलामौका सामाजिक विषयलाई समावेश गर्दै म्युजिक भिडियोमार्फत श्रीमती कुञ्जना घिमिरे (सुन्तली)को साथमा स्क्रिनमा देखिने उनी रंगशालाको विषयलाई सल्ट्याएर पुनः कलाकारितामै फर्कने सोचमा छन्। भन्छन्, ‘अहिले मेरो समय होइन होला, त्यसैले समस्यामा परें, कुरा बुझाइरहेको छु। एक दिन त मेरो पनि समय आउने छ नि।’ बुवा बोधराज र आमा कमला कट्टेलको जेठो छोरोका रूपमा २०४० असार ४ गते जन्मिएका उनी आफूमात्रै होइन, हरेक नेपालीलाई खुसी बनाउने सपनामा भासिए। उनीसँग कलाकारितामा गर्न सक्ने धेरै कुराको अनुभव र ज्ञान छ। अब पुनः सो ज्ञान प्रयोगमा आउने दिन आउनेमा उनी आशावादी छन्।
पुनरागमनको बिन्दु खोज्दै निर्मल
नेपाली चलचित्र क्षेत्रमा भन्दा पहिले टेलिसिरियलमा ‘गैंडा’ उपनाममा चर्चित बनेका हास्य कलाकार हुन्, निर्मल शर्मा ‘गैंडा’। मोटो र ठूलो शारीरिक बनावटकै कारण उनको उपनाम कलाकारिता क्षेत्रमा लाहाछाप लाग्यो। दर्शकले पनि यसै नामले चिन्ने भए।
नेपाली फिल्मी उद्योगमा साढे दुई दशक बढी बिताइसकेका उनी पछिल्लो समय पनि गुमनामजस्तै छन्। उनको यात्रामा ठूलो पर्दा, टेलिसिरियल, विज्ञापन र थुप्रै म्युजिक भिडियोमा देखियो। तर, पछिल्लो समय अझ झिरझिर बनिरहेको छ। यो उनी आफैं पनि स्विकार गर्छन्। उनले कलाकारिता क्षेत्रमा कयौं नाममा भूमिका निर्वाह गरे। तर, दर्शकले सम्झिने र चिनिरहने नाम ‘गैंडा’ नै बन्यो। यो नाम उनलाई हास्य टेलिशृंखला ‘तितोसत्य’ले दिएको हो।
गाउँदेखि सहरसम्म चर्चित बनाएको हो उनलाई यसले। उनेको यो नाम स्क्रिप्टमा नभएकै समयमा सुटिङ गर्दा दीपकराज गिरीको मुखबाट निस्किएको रहस्य उनले खोले। एक दृश्य खिच्ने क्रममा दीपकराजले निर्मललाई ‘गैंडा’ भनेर गाली गरेको यो शब्दले उनको कलाकारिता चम्कियो। रियल लाइफमा निक्कै कुल मान्छे उनी रिल लाइफमा कहिले त्यस्तो देखिएनन्। ‘तितोसत्य’भन्दा अघि निर्मलले तीनवटा फिल्म निर्माण गरिसकेका थिए। अन्य पाँच वटा सिरियलमा विभिन्न पात्र देखिएका थिए। दर्जनभन्दा धेरै विज्ञापनमा काम गरे। त्यसपछि पनि उनले थुप्रै ‘क्यारेक्टर’ फिल्मी नगरीमा छाइरहे। अझै यही उद्योगमा काम गर्ने र गरिरहने सोचमा रहेको उनी सुनाउँछन्।
महादेव अमेरिका पलायन
कलाकार महादेव त्रिपाठीको डिमान्ड कुनैबेला स्टेज कार्यक्रमदेखि विदेश टुरमा उच्च थियो। उनलाई हास्य कलाकार भनेर नचिन्ने कमै थिए। मेलापर्वमा हुने कार्यक्रममा उनी निकै व्यस्त थिए। उनले खेलेका केही फिल्मले पनि राम्रै कमाइ गर्थे।
विदेशका कार्यक्रममा समेत उनलाई भ्याइनभ्याइँ हुन्थ्यो। तर उनको अहिलेको परिस्थिति ठीक विपरीत छ। उनी गुमनाम छन्। केही अघि टिकटक लाइभमा आएर उनी भावुक मात्र भएनन्, सबै कलाकारलाई घमण्ड नगर्न आग्रह पनि गरे। आफू घमण्डले यो अवस्थामा पुगेको बताए। उनले त्यहाँ भने, ‘यति घमण्ड कि मजस्तो डान्सर कोही छैन, म जस्तो जादुगर कोही छैन। म जस्तो कमेडी कोही छैन, म जस्तो क्यारिकेचर गर्ने कोही छैनजस्तो फिल हुन्थ्यो मलाई।’
आज आएर धेरै वर्षपछि महादेवलाई मनका कुरा पोख्न मन लाग्यो। ‘त्यो घमण्डले आज मलाई भित्रभित्र रुवाइराखेको छ। रोइरहेको छु म आफैंमा पनि। घरमा बस्दा के सोच्छु भन्दा जिन्दगीमा सबैथोक रमाइलो हो। इन्टरटेन्मेन्ट हो। म इन्टरटेन्मेन्ट दिने कलाकार हुँ। तर आज म भित्रभित्रै रोइरहेको हुन्छु। हुन त म प्रोग्राम गर्न २८ वटा देश घुमिसकें। तर गए पनि म भित्रदेखि खुसी छैन।
अहिले राम्राराम्रा भाइबहिनी, राम्रा जादुगर, डान्सर, क्यारिकेचर र कमेडियन आउनुपर्छ।’ उनको यो भनाइले नै प्रस्ट पार्छ कि उनी अहिले यो क्षेत्रमा चम्कन सकेनन्। उनी अहिले अमेरिकामा बस्छन्। यो क्षेत्रबाट पलायन जस्तै भएका छन्। अमेरिकामा हुने केही कार्यक्रममा देखिने गरे पनि उनको पहिले जस्तो चर्चा छैन।
नयाँ कामको सोचमा नीरु
‘ठ्यास कुमारी’ र ‘निर्मली’ उपनामले कलाकारिता क्षेत्रमा परिचित छिन्, हास्य कलाकार नीरु खड्का। तर, धेरैले उनलाई यो क्षेत्रमा नदेखेको लामो समय भयो। उनी गुमनाम जस्तै बनेकी छन्। उनका दुबै उपनाम हास्यशृंखला ‘मेरी बास्सै’ले दिएको हो। यसै टेलिशृंखलाबाट सर्वत्र चर्चित बन्न सफल उनलाई ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ गीतको म्युजिक भिडियोले भने निर्दयी सौतेनी आमाको रूपमा पनि चिनाएको थियो।
चलचित्रको कोरस डान्सरबाट कलायात्रा थालेकी नीरुले थुप्रै म्युजिक भिडियो, सडक नाटक, स्टेज ड्रामा, विज्ञापन चलचित्र र चलचित्र अभिनय गरिसकेकी छन्। क्यारिकेचरमा पनि माहिर उनले स्टेज कार्यक्रममा लागि स्ट्यान्डअप कमेडी, नृत्यसमेत गर्छिन्। अनि उनी कोरियोग्राफर पनि हुन्। दुई दशकभन्दा बढी समय कलाकारितामा बिताएकी नीरुले कलायात्रामा थुप्रै आरोह अवरोहको सामना गरिन्। पछिल्लो समय कलाकारिता भन्दा निर्देशनमा जम्ने प्रयास पनि उनको थियो। तर, चर्चा कम भयो। उनी आफैं टेलिचलचित्रमा लागेर उपलब्धिपूर्ण काम गर्न नसकेको बताउँछिन्।
भन्छिन्, ‘कर्मको हिसाबले चल्ने हो। कर्ममा लागिरहे। त्यस्तो वाह–वाह भन्ने बुलन्द गरे, अभिनयमा इँटा थपे भन्ने जस्तो लाग्दैन। तर, मेरी बास्सैको एउटा निर्मली पात्रको माध्यमबाट सबैको घरमा पुग्न पाएको छु। यो मेरा लागि अवसर हो।’ मेरी बास्सैको काम कोरोनाको समयमा सुरक्षित रहेरै भयो। त्यहाँसम्म उनी क्रियाशील रहिन् पनि। तर, त्यसपछिका इच्छाले उनलाई गुमनाम बनायो। कोरोनाका कारण थला परेको चलचित्र र टेलिचलचित्रको क्षेत्र अरू क्षेत्रभन्दा चाँडै पुरानै अवस्थामा फर्कन सक्छ भन्ने सोचिन् तर त्यो भएन। उनले भूकम्प र कोरोना पछिका दिनमा पारिवारिक र
व्यावहारिक धेरै उतारचढाव व्यहोरिन्। अब पनि केही नयाँ गर्ने सोचमा उनी रहेको उनका निकट बताउँछन्।