अस्ताए अग्रज पत्रकार पोखरेल

अस्ताए अग्रज पत्रकार पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेपाली पत्रकारितामा पहिलो पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। पोखरेलको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो। उनलाई लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले सताएको थियो। पोखरेलको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

पहिलो पुस्ताका अगुवा पत्रकार

झन्डै चार दशकअघि पत्रकारिता प्रशिक्षणका लागि स्थापित नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)का संस्थापक सदस्य सचिव हुन्, पोखरेल। उनले एनपीआईको दुईपटक अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। निजी क्षेत्रको पहिलो पत्रकारिता प्रशिक्षण संस्थाका रूपमा ख्याति कमाएको एनपीआईबाट हालसम्म मुलुकभर करिब पाँच हजार व्यक्तिले तालिम लिइसकेका छन्। 

सोही इन्स्टिच्युटका उत्पादक हुन्, नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहाल। शिक्षक मासिकका सम्पादक दाहाल नेपाली पत्रकारिताको क्षेत्रको आधारस्तम्भमा पोखरेलको स्मरण गर्छन्। ‘उहाँले नै प्रेसका सिद्धान्तहरू पढाउनु भएको हो। पहिलो पुस्ताका अगुवा पत्रकार हुनुहुन्थ्यो।’ वरिष्ठ पत्रकार दाहालले भने, ‘नेपाली पत्रकारितामा लेखन, सम्पादन, अध्ययन÷अध्यापन र अभ्यासमा पोखरेलको योगदानको सम्झना सधैंभरि रहिरहने छ।’

४० वर्षभन्दा लामो पत्रकारिता करियरमा पोखरेलले सरकारी सञ्चारमाध्यम र पत्रकारिता प्रशिक्षण उल्लेखनीय योगदान गरेका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने पोखरेल राष्ट्रिय समाचार समितिको रिपोर्टर (संवाददाता) बाट सेवा गर्दै सम्पादक र कायममुकायम महाप्रवन्धकसमेत भएका थिए।

गोरखापत्र राष्ट्रिय दैनिकको प्रमुख सम्पादक, द राइजिङ नेपालको सहसम्पादकका रूपमा काम गरेको अनुभव छ। उनी समाजसेवा राष्ट्रिय समन्वय परिषद्का सदस्य, नेपाल विज्ञान लेखक संघका संस्थापक, रोयल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बोर्ड सदस्यलगायतका पदमा रहेर काम गरिसकेका छन्। उनी मानवअधिकार आयोगको सदस्यसमेत बनेका थिए।

अब्बल प्रशिक्षक 

एनपीआईबाट प्रशिक्षण पाएका सञ्चारकर्मीले मूलधारको मिडियामा नेतृत्व गरिसकेका छन्। एनपीआईकै दोस्रो ब्याचका प्रशिक्षार्थी तीर्थ कोइराला अहिले सोही संस्थाको अध्यक्ष छन्। २०४२ सालमा स्थापित एनपीआईबाट हालसम्म लामो र छोटो अवधिको गरी झन्डै ५ हजार जनाले प्रशिक्षण लिएका छन्।

सरकारी तहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा मात्र पत्रकारिताको पढाइ भइरहेको बेला पोखरेललगायतले निजीस्तरबाट प्रशिक्षण इन्स्टिच्युट स्थापना गरेका हुन्। सोही इन्स्टिच्युटबाट प्रशिक्षण लिएका सञ्चारकर्मीहरूले बीबीसी नेपाली सेवादेखि राष्ट्रिय दैनिक र अनलाइन मिडियाको सम्पादकीय नेतृत्वमा छन्। 

विभिन्न अवधिको तालिम दिने एनपीआईको लामो अवधिको तालिममा डिप्लोमा इन जर्नालिज्म र १० महिने तालिम पर्छन्। यो अवधिको तालिम लिने सञ्चारकर्मीको संख्या झन्डै एक हजारको हाराहारीमा छ। ‘पत्रकारिताको दिगोपना, दीर्घकालीन सोच राख्ने देशभक्त सञ्चारकर्मी हुनुहुन्थ्यो,’ इन्स्टिच्युटका अध्यक्ष एवं वरिष्ठ पत्रकार कोइरालाले भने, ‘नेपाली पत्रकारितामा मात्र होइन पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ।’ सैद्धान्तिक ज्ञान पाएका सञ्चारकर्मीहरूले पोखरेलको योगदान सधैं स्मरण भइरहने उनीहरूले बताएका छन्। 

सन्तुलित पत्रकारिताका अभियन्ता 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वविभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले पत्रकार पोखरेलले गरेको पत्रकारिता अनुशरणीय भएको बताए।  ‘अप्ठेरो परिस्थितिमा प्रेस स्वतन्त्रता, सन्तुलित पत्रकारितामा अभियान चाल्नुभयो। त्यसमा हामी पनि संलग्न रह्यौं,’ विगत स्मरण गर्दै प्राध्यापक खनालले भने, ‘व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामा लागेका सशक्त अभियन्ताको देहान्तले पत्रकारितामा ठूलो क्षति पुगेको छ।’

पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलालका साइँलो छोरा हुन्, पोखरेल। पोखरेलका एक श्रीमती, दुई छोरी र एक छोरा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.