सुनसरीबाट स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ
विराटनगर : सुनसरीबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रूपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउत रहेका छन् । राउतले स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको सूचना बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय इटहरीमा आएको थियो । त्यसलगत्तै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई भोक्राहानरसिंह गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले बताए । उनका अनुसार रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । राउतको साथबाट २१ लाख ५७ हजार ९ सय ३५ रूपैयाँ बरामद भएको कर्णजीतले बताए ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । साथबाट एक हजार दरको ९ सय ४, ५ सय दरको २ हजार ५ सय ४, १ सय दरको १९, २०, १० र ५ दरको १/१ वटा नेपाली नोट बरामद भएको सशस्त्रले जनाएको छ ।
बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने सशस्त्रको अनुमान छ । पक्राउ परेका राउत हुण्डी कारोबारी हुन् कि अवैध कारोबारीका भरिया हुन् भन्ने बारेमा खुल्न बाँकी छ ।