सीताको घरबाट रामलाई ११०० पोका सगुन

सीताको घरबाट रामलाई ११०० पोका सगुन
फाइल तस्बिर।
सुन्नुहोस्

जनकपुरधाम : भारतको अयोध्यामा भगवान् रामको नवनीर्मित मन्दिर प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट ११ सयवटा भार (कोसेली, सगुन) पठाइएको छ। २२ जनवरी तारेखमा प्राणप्रतिष्ठाको अवसर पारेर राम मन्दिरका लागि जनकपुरधामबाट भारयात्रा गर्दै ११ सय पोका कोसेली पठाइएको हो। 

भारयात्रा जनकपुरधामबाट अयोध्याका लागि बिहीबार बिहानै प्रस्थान गरेको हो। कोसेलीमा चाँदीले बनाइएको तिर–धनुष, चाँदीकै खराउ र अन्य आभूषण पनि पठाइएको छ। जनकपुरधामस्थित जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णव, मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको बिदाइपछि भारयात्रा भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि प्रस्थान गरेको हो। अयोध्या भगवान् रामको जन्मभूमि हो। जहाँ रामको १ सय ६१ फिट अग्लो मन्दिर निर्माण हुनेछ।

भारत यात्रालाई बिदाइ गर्दै मधेसका मुख्यमन्त्री यादवले आफ्नै कार्यकालमा भगवान् रामको नवनिर्मित मन्दिर र माता सीताको ससुरालीमा घरवासको भार पठाउन पाउँदा गौरवान्वित महसुस भएको बताए। मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको विभिन्न भागको परिक्रमा गर्दै उनीहरूलाई बिदाइ गर्दै भने, ‘सीताको ससुरालीमा नयाँ घर निर्माणमा माइती पक्षको तर्फबाट घरमा कुनै सामानको अभाव नहोस् भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ।’

बिहीबार राति भार यात्रा वीरगञ्जमा विश्राम गर्ने छ। जनवरी ५ तारिखमा भारयात्रा अयोध्या पुग्नेछ। अयोध्या पुगेको भोलिपल्ट भारयात्रामा लगिएका पाहुर अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका पुजारी एवं भार समिति संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए। 

पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरू छन्। यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुकालगायतका गरगहनासमेत पाहुरमा राखिएको छ। भारयात्रामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भगवान् रामको घर अर्थात् चेली माता सीताको नवनीर्मित घरमा गृहप्रवेश कार्यक्रममा यहाँबाट कोसेली लिएर जान पाउँदा जनकपुरधामवासी मात्रै नभई सम्पूर्ण मिथिलावासी गदगद रहेको बताए।

जनकपुरधामबाट निस्केको भारयात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ। मलंगवाबाट बारास्थित गढीमाई दर्शनपछि वीरगञ्जमा रात्रि विश्राम गर्ने कार्यक्रम छ। वीरगञ्जमा वास बसेको भोलिपल्ट निस्किने भारयात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ।
 
जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम छ। भारतको सर्वोच्च अदालतले गत २४ कात्तिकमा अयोध्याको बाबरी मस्जिद भएको स्थान भगवान् श्रीरामको जन्मभूमि भएको फैसला गरेपछि भारत सरकारले त्यहाँ २.७७ एकड जमिनमा राममन्दिर निर्माण गर्ने निर्णय गरेको थियो। सरकारले रामभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरेर मन्दिर निर्माणको तयारी थालेको थियो। यसअघि महन्त दासले नेपाल, नेपाली जनता र मिथिला नगरीका तर्फबाट चाँदीको इँटासमेत चढाएको उनका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। 

भारतमा लामो समय शासन गरेको मुगल शासकले सन् १५२८ मा राम मन्दिरलाई विस्थापन गरी अयोध्यामा बाबरी मस्जिद निर्माण गरेपछि भारतमा विरोध हुँदै आएको थियो। विश्वहिन्दु महासंघका सदस्य मिथुन साहले अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरिका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रो अटल आस्था र विश्वास रहेको छ। सनातन हिन्दूधर्मले निर्धारण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथि रहेको हुँदा हामी नेपालीहरू पनि महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वित भएका छौं।’ दुइटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उनका उत्तराधिकारी महन्थ रामरोशन दाससहित जनकपुरका करिब ५ सयभन्दा बढी मानिस बिहीबार आयोध्या प्रस्थान गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.