‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्याका लागि प्रस्थान
वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरबाट आइपुगेको ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ शुक्रबार अयोध्या प्रस्थान गरेको छ।
अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाका लागि जनकपुरबाट जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा वीरगन्जमा बिहीबार बेलुकी आइपुगेको टोलीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत गरेका थिए।
त्यस अवसरमा मधेस प्रदेशका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, वीरगन्ज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य लगायतले यात्रामा सहभागीहरूलाई माला र खादाले स्वागत गरेका थिए।
शुक्रबार बिहान उक्त यात्रा वीरगन्जबाट रक्सौल हुँदै अयोध्याका लागि प्रस्थान गरेको हो। वीरगन्जको आदर्शनगरस्थित राणीसती अतिथिसदनबाट निस्किएको यात्रालाई मेयर सिंहले मितेरी पुलसम्म पुगेर बिदाइ गरेका थिए।
शुक्रबार बिहान वीरगन्जबाट प्रस्थान गरेको यात्रा भारतको गोरखपुर हुँदै शुक्रबार नै रातिसम्म अयोध्या पुग्ने बताइएको छ।
अयोध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिखमा हुने प्राणप्रतिष्ठा र उद्घाटनका लागि नेपालको जनकपुरबाट वीरगन्ज हुँदै प्रस्थान गरेको भार (कोसेली) सहितको यात्रामा चाँदीको धनुष , तीर,चरण पादुका, मिठाइका विभिन्न परिकार, आभुषण, लुगाकपडा पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण लगायतका सामग्री समावेश छन्।