कहाँ छन् यी १० चर्चित खलनायक ?

कहाँ छन् यी १० चर्चित खलनायक ?

भनिन्छ, ‘अभिनय एउटा प्रक्रिया हो, तर कारणसहितको।’ हो, त्यसैले अभिनयले मानिसको मन च्वास्स पार्छ, अर्थात् छुन्छ। यो च्वास्स पार्नु त्यति सजिलो छैन कलाकारका लागि। हाउभाउ, शब्द उच्चारण र अध्ययनले मात्रै हुँदैन, शारीरिक बनावटले पनि साथ दिनुपर्छ।

एक समय थियो, चलचित्रमा देख्दै डरलाग्दा शारीरिक बनावट भएकाहरू ‘खलनायक’ अर्थात् ‘गुण्डा’को भूमिकामा हुन्थे। उनीहरू वास्तविक जीवनमा सरल भए पनि पर्दामा कठोर नै देखिनुपथ्र्यो। र, चर्चित पनि हुन्थे। त्यो समय उनीहरूको यो विधामा ‘राज’ नै चल्यो। त्यसरी राज गरेका खलनायक अहिले गुमनाम छन्। तीमध्ये १० चर्चित खलनायकको ठेगान अन्नपूर्णकर्मी रविन भट्टराईले खोजेका छन् :

कहिले राजनीति, कहिले पर्दामा नीर

नेपाली चलचित्रमा अमिट नाम हो, नीर शाह। उनलाई माया र सम्मान गर्नेहरूले उपनाम नै दिएका छन्, ‘नीर राजा’। नेपाल टेलिभिजनका जन्मदाता पनि भनेर चिनिन्छन् उनी। वास्तविक जीवनमा सबैका प्रिय बन्न रुचाउने नीर चलचित्र दर्शकका लागि भने पर्दामा क्रूर बनेर देखिन्थे। उनको ‘डाइलग’ त्यस्तै हुन्थ्यो। अनि, हेराइ र पोसाक लगाई पनि। चलचित्रमा देख्नेहरू उनका अघि उभिन डराउँथे रे। त्यसैले उनलाई निर्देशक, कलाकारमात्रै नभई चरित्र अभिनेताको रूपमा चित्रण गरिएको छ। तर, पछिल्लो समय उनी यो क्षेत्रमा कमै देखिएका छन्।

null

राजपरिवारको एक सदस्य भएका नाताले उनले न कहिल्यै त्यो सम्बन्धको फाइदा उठाए न त पहुँचको बारेमा धाकधम्की दिएर सान नै देखाए। नेपाली कलाकारिता विधामा सडकदेखि महलसम्म उनको व्यवहार र उठबसमा कहिल्यै पनि उतारचढाव आएन। भनिन्छ नि ‘हातमा दिए पनि ठीक पातमा दिए पनि ठीक...।’ यो भनाइ नीर शाहको कलाकारिता र जीवनमा वर्षौंदेखि मेल खाँदै आएको उनलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन्।

नीर शाह कुनै समय कलाकारिता, सिनेमा निर्माण र आफूले सञ्चालन गरेको टेलिभिजन च्यानलका कारण आर्थिक मारमा पनि परेका थिए। त्यस्तो प्रतिकूल अवस्थामा पनि उनी डग्मगाएनन्, निरन्तर लागि नै रहे कलाकारितामा। ५५ वर्षको फिल्मी करिअरमा उनले दर्जनौं फिल्ममा अभिनय गरे। धेरै फिल्म निर्देशन गरे। यसबीचमा बेकारमा काम गरिएछ भन्ने फिल्महरू पनि गरियो भन्छन् उनी। त्यसमध्येकै प्रोजेक्टमा पर्छ रे पञ्चायतकालमा बनाएको ‘पच्चिस वसन्त’ फिल्म। अहिले आएर सोच्दा त्यो नबनाएको भए नै राम्रो हुन्थ्यो भन्ने लाग्छ रे उनलाई।

शाहले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘परिवर्तन’ हो। कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दूर, गौंथली, जीवनसाथी, वाचा बन्धन, मुनामदन, सानो संसार, किस्मतलगायत उनी अभिनीत हिट फिल्म हुन्। शाहले वासुदेव, पच्चिस वसन्त, वसन्ती, राजमती, सेतो बाघलगायत फिल्म निर्देशन गरेका छन्। उनले लेखेका गीत पनि निकै चर्चित छन्।

नारायणगोपालले गाएको ‘पर्खिबसें आउला भनी’, फिल्म स्वर्गको ‘छोरी मलाई भागी भागी नसताऊ’, प्रकाश श्रेष्ठले गाएको ‘गहिराइमा डुब्दै नडुब’, फिल्म वसन्तीको ‘प्यारी वसन्ती’ लगायतका उनले रचेका चर्चित गीत हुन्। नेपाली फिल्ममा उनलाई ‘भीष्म पितामह’ पनि भन्ने गरिन्छ। पछिल्लो समय उनी नेपालमा भन्दा धेरै अमेरिकामा बस्छन्। त्यसैले उनी यो क्षेत्रबाट अलि टाढा छन्। केही चलचित्रमा फाट्टफुट्ट देखिन्छन्। अब पनि यसै क्षेत्रको विकास र राजनीतिमा पनि केही गर्ने सोचमा उनी रहेको उनको निकटहरू बताउँछन्।


बुढेसकालमा रमाउने बाटो खोज्दै खड्गी

नेपालमा सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने व्यक्तिका रुपमा चिनिन्छन्, राजेन्द्र खड्गी। उनी आफैं चरित्र नायकका रूपमा पनि परिचित छन्। दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका खड्की गायक पनि हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। उनले करिब ४२ वर्षअगाडि गाएको आफ्नै गीतको केही वर्षअघि म्युजिक भिडियो बनाए। स्वभावमा अरूभन्दा फरक रहेको स्वयम् बताउँछन्। उनको दैनिकी देशविदेशमा हुने कार्यक्रममा डुलेर, घुमेर र बेलामौका विवादित अभिव्यक्ति दिएर बित्ने गरेको छ।

null

भन्छन्, ‘अब त बुढेसकाल लागेछ। ४ बजे नै निन्द्राले छोड्छ। उठ्छु र साथीभाइको सम्पर्कमा रहेर कुराकानी गर्छु। तीन कप जति बेड टी खाएपछि फ्रेस हुन्छु र वार्मअप गर्छु। त्यस्तो हेभी एक्सरसाइज गर्दिनँ। सामान्य काममा दिन बिताउँछु।’ उनले आफ्नै नाममा एउटा चलचित्र निर्माण कम्पनी ‘राजेन्द्र 

खड्की फिल्म कम्पनी’ दर्ता गरेका छन्। केही चलचित्र बनाउने सोचमा पनि उनी छन्। फुर्सदमा फेसबुकमै रुमल्लिने उनी कहिले त फेसबुक चलाउँदा चलाउँदै ३/४ घण्टा बितेको पत्तो पनि पाउँदैनन् रे। पाँच सयभन्दा बढी द्वन्द्व निर्देशन गरेका उनी भन्छन्, ‘जानी—नजानी पाँच सयभन्दा धेरैमा गरें। मलाई लाग्छ संसारमा सबैभन्दा धेरै चलचित्रमा फाइट डाइरेक्सन गर्ने मान्छे मै हुँ।’ आपूmलाई खरो मान्छे भन्न रुचाउने उनी चित्त नबुझेको कुरा फ्याट्टै भनिहाल्छन् र विवादमा पनि आउँछन्। उनी ‘एक सन्तान एक रुख’ अभियानमा पनि लागे। साथीसँग मिलेर हेटौंडामा रुख रोपे पाउलोनिया। यो रुखबाट १० वर्षमा १० लाखसम्म कमाइ गर्ने सोच छ। भन्छन्, ‘बुढेसकालमा म जहाँ रुख रोपेको छु। त्यही डाले घाँस रोप्छु र बाख्रा पाल्छु।’


समयको माग जाँच्दै विजय

झट्ट हेर्दैमा निकै डरलाग्दा देखिने विजय देउजा यस्तै रूप भएर होला नेपाली सिनेमाका खलनायक बने। उनले एउटा टेलिचलचित्र पनि बनाए ‘अपराजिता’। सरकारी जागिरे देउजा लामो समयदेखि वीर अस्पतालमा जागिरे पनि भए। उनले धेरै पटक सञ्चारमाध्यमलाई दिएको एउटै उत्तर हो, ‘चलचित्रमा अफर आएमा खेल्छु नत्र जागिरतिरै हुन्छ।’ थुप्रै विज्ञापनतिर पनि मोडलिङ गरिसकेका देउजा अहिले यो क्षेत्रमा कमै देखिन्छन्। उनले बुझेको चलचित्र क्षेत्र अरूको भन्दा फरक छ। भन्छन्, ‘यो क्षेत्रमा होमिएकामध्ये अधिकांश भने अस्पष्ट नै छन्। धेरैको उद्देश्य त मिडियामा छाइन्छ अनि मान्छेले चिन्छन् र ‘वाहवाही’ कमाइन्छ, त्यसैले पनि यो क्षेत्रमा लागेका छन्।’null

चलचित्र क्षेत्रलाई नै कर्मथलो बनाएर अगाडि बढ्नेहरू अब थाकिसकेको उनको अनुभव छ। भन्छन्, ‘ठूला कुरा गर्ने र ‘गफ’ दिनेहरू क्रमशः चलचित्र निर्माणतर्फ अग्रसर देखिएपछि तत्कालका लागि राम्रो देखिए तापनि यसले चलचित्र उद्योगलाई दीर्घकालीन असर पार्ने अकाट्यलाई पनि भुल्न सकिँदैन।

चलचित्र निर्माण यतिबेला सस्तोमा पूरा हुन थालेपछि जो पनि निर्माता बन्नेहरूको लहर व्यापकै रूपमा आउन थालेको छ। यो सकारात्मक कुरा नभएर नै म धेरै देखिन्नँ।’ उनी यो क्षेत्रको सुधारका लागि केही गरौं भन्ने सोचमा आफू अझै रहेको बताउँछन्। केही नयाँ काम गर्ने टिम बने यो क्षेत्रमा पुनः फर्किने उनको सोच छ।

अनुभव बाँडिरहेछन् मैनाली

एक जमानाका खुँखार खलनायकका रूपमा परिचित हुन्, कलाकार पवन मैनाली। पछिल्लो समय उनी बाध्यताले नै यो क्षेत्रभन्दा पर छन्। बाध्यता उनको स्वास्थ्य अवस्था बन्यो।

दर्जनौं चलचित्रमा अभिनय गरेका पवनले ‘पिँजडा’ नामक चलचित्र निर्माणसमेत गरेका छन्, जुन चलचित्र अभिनेता निखिलको अभिनयमा डेब्यु गरिएको थियो। अहिले पनि उनमा अभिनयको तिर्खा मरेको छैन उनको। तर, उनलाई आफ्नै जिन्दगी सपना जस्तो लाग्छ। विगत सम्झँदा छटपटी हुन्छ। एक्लै बहकिन्छन्। मन शान्त पार्छन्। ‘मेरो के दोष ? मैले चढेको मोटरसाइकललाई गाडीले ठक्कर दियो, अनि मेरो यो हालत भयो,’ उनी आफ्नो वृत्तान्त यसरी सुनाउँछन्।

null२०५९ फागुन ८ गते बिहान ८ बजे बाराको निजगढमा ठूलो दुर्घटनामा परेका थिए, पवन। उनको दोस्रो चलचित्र ‘दिदी बैनी’को छायांकन सक्न एक सातामात्रै बाँकी थियो। उनी सोही चलचित्रको छायांकनको सिलसिलामा निजगढमा थिए। त्यहीबेला जीवनले अर्कै मोड लियो।

त्यो भयावह दुर्घटनामा परेका पवन एक महिना बेहोस नै रहे। बाँच्ने आशा सबैले मारे। एक महिनापछि उनको होस त खुल्यो तर, अर्धचेत थिए। पवन ‘स्प्यास्टिक हेमिप्लेजिया’ रोगको सिकार भएका छन्। जुन रोगको उपचार सम्भव छैन। लामो समयदेखि उनको जीवन स्थिर छ। अहिले पनि उनलाई हिँडडुल गर्न सहयोगी चाहिन्छ। उनी भन्छन्, ‘अब त अनुभव बाँड्ने न हो।’


खलनायकबाट खेलतर्फ युवराज

चलचित्रको पर्दामा प्राय खलनायकको भूमिकामा देखिने युवराज लामा खेलकुदमा ‘नायक’ बन्ने दौडमा चलचित्र पर्दाबाट हराए। बेला मौका त्यहाँ पनि ‘झुल्कने’ प्रयास उनी गर्छन्, तर सक्दैनन्। उनको यही चक्कर अहिले खेल र सिने क्षेत्रमा घुमिरहेको छ।

राजनीतिमा लागेर उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य—सचिवसमेत बने। उनी खुलेरै राजनीतिमा लाग्नेमध्ये एक कलाकारमा पनि पर्छन्। उनी माला लगाएरै माओवादी पार्टीमा प्रवेश गरे। र, अहिलेसम्म आफूलाई पार्टीको बफादार कार्यकर्ता भन्न रुचाउँछन्। भन्छन्, ‘पहिले मलाई राजनीतिप्रति पूरै वितृष्णा थियो। पञ्चायतकालमा २०४३ सालमा पहिलोपटक जोगमेहर श्रेष्ठलाई भोट हालेको थिएँ। त्यो पनि खेलकुदका एजेन्डामा साथ दिने वाचा गराएर।’

null

त्यसपछि उनले २०६३ सालसम्म एउटा पनि चुनावमा भाग लिएनन्। ‘म खाली नेतालाई गाली गरेर बस्थें। नेताहरू सबै खराब हुन्, भ्रष्ट हुन् भन्ने लाग्थ्यो। मलाई दरबारियाले कांग्रेस हो भन्ने सोच्थे, कांग्रेसीले दरबारिया हो भन्ने ठान्थे। अरू पार्टीले पनि आफ्नो ठान्दैनथिए। हुन पनि म कसैको थिइनँ। पछि माओबादी बनें।’, उनी सम्झन्छन्।

उनी चलचित्रबाट खेलकुदबाट चलचित्र क्षेत्रमा जम्प गरेपछि विभिन्न संघसंस्थामा आबद्ध हुन थाले। त्यतिबेला माओवादी जनयुद्ध जारी थियो। चलचित्र–राजनीतिका क्रममा सम्पर्क माओवादी निकट जनसांस्कृतिक महासंघसँग भयो। अनि उनी त्यही सिराबाट राजनीतिमा घुसे र अहिले पनि त्यसकै लयमा दैडिरहेका छन्। उनले चलचित्र क्षेत्रमा रहँदा दर्जनौं सिनेमामा खलनायकको अभिनय गरेका छन् भने केही चलचित्र निर्देशन पनि गरेका छन्।


संगीतमा रमाउँदै मुरलीधर

मुरलीधर मिजार नेपाली कलाक्षेत्रमा चर्चित नाम हो। त्यो पनि खलनायकमा। व्यक्ति एक भए पनि मुरलीधरमा प्रतिभा अनेक छन्। लेखक, निर्देशक, गायक, संगीतकारको अलवा उनी कलाका थुप्रै विधामा पोख्त मानिन्छन्। तर, पछिल्लो समय उनको यो नाम सुन्दा ‘ए, उनी पनि छन् नि ?’ भन्ने प्रश्न बन्न थालेको छ। उनले हालसम्म धेरै चरित्र अभिनय गरे भने त्यति नै निर्देशन पनि।

null

‘उडायो सपना सबै हुरीले...’ यो गीत पनि उनै मुरलीधरको शब्द संगीतमा आएको हो। धेरै चर्चित गीत दिएका मुरलीधर नेपाली फिल्म नगरी र बलिउडका सान पनि मानिन्छन्। थुप्रै नेपाली र बलिउड फिल्म अभिनय गरेका मुरलीधरका मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौं कर्णप्रिय गीत रेकर्ड छन्।

बलिउड फिल्म अभिनय छोडेर केही समयअघि नेपाली फिल्ममात्र अभिनय गरिरहेका मुरलीधर नेपाली फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने चाहना राखे, तर जम्न सकेनन्।। फिल्म ‘मिस्टर इन्डिया’मा आफ्नो भूमिका काँटछाँट भएपछि चित्त दुखाइका कारण बलिउड फिल्म अभिनयबाट बाहिरिएका मुरलीधरको जीवनमा धेरै उतारचढाव आए। अब भने उनी केही नयाँ काम गर्ने सोचमा भेटिएका छन्।

हालसम्म उनले आफूलाई फिट राख्न सकेका छन् स्वास्थ्यको हिसाबमा। यसो हुनुको पछाडि योगकै योगदान छ। बिहान डेढ घण्टा नियमित योग, प्राणायाम गर्छन्। त्यसमा घाँटीको अभ्यास, भद्रिका, कपालभाती, अनुलोमबिलोम, भ्रामरीलगायत गर्छन् रे। पहिले एक्सरसाइजका लागि क्लबसमेत धाउँथे। अहिले घरमै केही हल्का फिट्नेसका उपकरण राखेका छन्। आवश्यक परे त्यसको सदुपयोग गर्छन्। अविवाहित उनी अब अलि बढी संगीतमा ध्यान लगाउने बताउँछन्।


...अनि माछापालनमा लागे पहारी

जिउडालअनुसारकै रोल पाउँथे कलाकार टीका पहारी। उनको रोल हो खलनायक। सेताम्मे कपाल, सेतै जुँगा। खिरिलो तर अग्ला कद। कुर्ता–पाइजामामा ठिंग उभिँदा टीका पहारीको ओजिलो व्यक्तित्व प्रकट हुन्छ। उनको त्यो व्यक्तित्व चलचित्र क्षेत्रमा खलनायकमा दरियो। अहिले पनि यो नामले दर्शकमा नेपाली सिनेमाका कुटिल भिलेनको रेखाचित्र आँखैअगाडि नाच्न थाल्छ।

null

नेपाली सिनेमाले जतिबेला बामे सर्न सुरु गर्‍यो, ठीक त्यही बेला टीका पहारीको पर्दापण भएको थियो यो क्षेत्रमा। ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘दुई थोपा आँसु’ जस्ता थुप्रै सिनेमामा उनको अभिनयले दर्शकमा गहिरो छाप छाड्न सफल भयो। तर, पछिल्लो समय उनी पहिले जसरी चम्कन छाडे। करिब ७÷८ वर्षअघि नै उनी एकाएक टीका पहारी गुमनाम भए। चर्चा भयो उनी खेतीपातीमा लागेका छन् गाउँमै। उनी गाउँमै गएर माछा पाल्न थाले। १० बिघा जमिनमा पोखरी बनाए। माछा पाले। स्थानीय बजारमा बिक्री गरे। गाउँको बसिबियालो चलाए।

एक किसिमको रवाफ थियो रे उनको। गाउँलेले मान्थे र श्रद्धा गर्थे। छिमेकको झै–झगडा, सानोतिनो मुद्दा प्रहरीकहाँ पुग्दैनथ्यो। जिल्लासम्म फैँलदैनथ्यो। त्यसको उनी आफैं समाधान खोजिदिन्थे, चलचित्रमा जस्तै। भन्छन्, ‘गाउँमा बस्नुमा आफ्नै मजा’ फिल्मी चक्करमा पुना, मुम्बई छिचोलेका पहारीले भने, ‘त्यहाँ एकदम गाउँले भएर बसियो। फिल्मको काम आउँथ्यो, गरिएन।’ बिहान ५ बजे उठ्यो। माछापोखरीतिर टहल्न निस्कियो। ९ बजेतिर खाना खायो। गाउँ–समाजको काममा लाग्यो। कहिले विकासे छलफल, कहिले जन्त त कहिले मलामी। समाजसेवामा लागे।

यसैगरी एक दशकभन्दा धेरै समय उनले बिताए। पछिल्लो समय उनका छोरा पुस्ताले नेपाली सिनेमा कब्जा गरिसकेका छन्। यद्यपि उनको उपस्थिति कमजोर छैन। अहिले पनि उनी उसैगरी आफ्नो गह्रौं आवाजमा डाइलग फलाकिरहेका छन् बेला मौका। उनी नाटक पनि लिएर आए। तर, पहिले जस्तो यो क्षेत्रमा चम्कन उनलाई सहज भने छैन। उनी अझै पनि कलाकारिता क्षेत्रमा केही गर्ने सोचमा रहेको बताउँछन्।


फरक भूमिका खोज्दै हेमन्त
कुनै बेलाका चर्चित खलनायक हुन्, हेमन्त बुढाथोकी। फिल्म ‘सिमाना’मा उनले निर्वाह गरेको ‘मुरलीधर’को चरित्रले खुब प्रशंसा बटुलेको थियो। फिल्ममा उनले बोल्ने ‘मुरली बजाएर’ थेगो हिट थियो। ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका हेमन्त पछिल्लो चलचित्र ‘देश खोज्दै जाँदा’मा भुटानी शरणार्थीको भूमिकामा देखा परेका थिए। त्यसपछि उनको चर्चा यो नगरीमा कम छ।

null

सानु छँदा फिल्मका पर्दामा देखिने पात्रहरूको नक्कल गर्नु उनको ठूलो सोख थियो रे। २०४४ सालमा एसएलसी पास गर्दासम्म त उनमा ती पर्दाका कलाकारले झैं अनेक अभिनय गर्ने भूत चढिसकेको थियो। झापामा जन्मिएका उनी एसएलसीपछि झापा भद्रपुरकै मेची बहुमुखी क्याम्पसमा भर्ना भए। तर, कलाकार बन्‍ने लय समात्‍न पाएनन्। त्यसपछि काठमाडौंतर्फ मोडिएछन्। काठमाडौं आउँदा उनले अभिभावकलाई देखाएको लक्ष्य भने उच्च शिक्षा नै थियो।

तर, उनको लक्ष्य चाहिँ कुशल कलाकार बन्ने थियो। काठमाडौं पुग्‍नासाथ उनले दमकबाटै आएका अशोक पाठकलाई खोज्‍न थाले रे। पाठक हिमालय कल्चरल एसोसिएसनमा नृत्य र अभिनय सिकाउँथे। उनकै सहारामा उनी यो क्षेत्रमा प्रवेश गरेका रहेछन्।

भन्छन्, ‘२०४४ सालको अन्त्यतिर हुनुपर्छ, मैले युगको अन्त्य, झूटो रहेछ गीता पनि जस्ता नाटकमा अभिनय गर्ने मौका पाएँ। यो मेरो सुरुवात थियो।’ उनी नाटकमा सीमित रहेनन्। आफूलाई पर्दामा देखाउने लक्ष्य पनि पूरा गरे हेमन्तले। २०५१ सालमा ‘सौता’ फिल्म अभिनय गर्ने मौका पाए। त्यसपछिका चलचित्रमा उनले मुख्य खलनायकका रूपमै अभिनय गर्ने अवसर पाए।

हेमन्त एक समय निकै रुचाइएका खलनायक बने। ५० को दशकमा उनी निकै ‘हिट’ र व्यस्त कलाकार बने। उनले ६० वटाभन्दा धेरै चलचित्रमा अभिनय गरे। तीमध्ये धेरै चलचित्र हिट पनि बने। उनले खेलेका ‘मोहनी’, ‘शंकर’, ‘पृथ्वी’, ‘सिमाना’, ‘बाटोमुनिको फूल’, ‘अग्निपरीक्षा’लगायत चलचित्रले गर्दा उनले राम्रै नाम कमाए। पछिल्लो समय पनि उनी फरक–फरक अभिनय र कामलाई अघि बढाउन प्रयत्नशील छन्।

उचित समय कुरिरहेका रवि

रवि गिरी नेपाली चलचित्रको एक चर्चित नाम हो। उनी मुख्यतः चरित्र अभिनयमा देखिन्छन्। उनी आफैं भन्छन्, ‘बाटो हिँड्दा पनि गुण्डा आयो भन्छन् मलाई।’ उनले दर्जनौं चलचित्रमा चरित्र अभिनय गरेका छन् भने धेरै टेलिचलचित्र पनि खेलेका छन्।null

उनलाई धेरै दर्शकले भक्ते काजी भनेर पनि चिन्छन्। तर, पछिल्लो समय उनको चर्चा यो क्षेत्रमा कम छ। उनी पनि गुमनाम जस्तै बनेका छन्। उनी यो क्षेत्रमा लागेको ४१ वर्ष बढी भयो। जीवनको आधा उमेर यसैमा बिताइसके। भन्छन्, ‘कतिमा भिलेन भएँ ठ्याक्कै भन्न सक्दिनँ। अहिलेसम्म २ सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेको छु। टेलिफिल्म एपिसोडको हिसाबले हेर्ने हो भने हजारौं छन्।’

सिंगो टेलिफिल्मगन्दा पनि तीन–चार सय छन्। सबैमा भिलेन छैनन्। अधिकांशमा भने नकारात्मक रोल नै छ। उनको यो क्षेत्रमा लागेपछि पाएको नामको किस्सा धेरै छ। थप्छन्, ‘करिअर’ सुरु नै मैले भयंकर गुण्डाको रोलबाट गरें। त्यसको १५–२० वर्ष त मलाई बाटोमा हिँड्नै गाह्रो भयो। अझ गाउँतिर जाँदा त मान्छे टाढैबाट डराउँथे। ‘ऊ गुण्डा आयो भाग भाग’ भनेर भाग्थे। यस्तो हुँदा एकदमै नरमाइलो लाग्दो रहेछ।’ चलचित्रमा उनको भिलेन बन्ने रुचि भने होइन रहेछ। 

भन्छन्, ‘यो मेरो रुचि होइन। म त एउटा कलाकार हुँ, एउटा माटो न हुँ। मलाई घ्याम्पो बनाउने कि, गमला बनाउने कि, करुवा बनाउने, जे बनाए पनि डाइरेक्टरले बनाउने हो। तर, धेरैजसोले मलाई भिलेन नै बनाउँछन्। बनाएपछि त खेल्नै पर्छ।’ उनी अहिले पनि कलाकारिता क्षेत्रमा 
केही गरौं भन्ने सोचमा भेटिन्छन्। भन्छन्, ‘यो क्षेत्रमा धेरै काम गरें। अब पनि यसलाई सिँगार्नमा नै लाग्छु।’


खलनायकको परिचय बदल्न खोज्दै प्रशान्त

प्रशान्त ताम्राकार नेपाली र्‍याम्प मोडलिङको चर्चित नाममात्रै होइन, खलनायकमा अब्बल पात्र पनि हो। दशकभन्दा लामो समयदेखि उनी नेपाली फेसनसँग कुनै न कुनै रूपमा जोडिएका छन्। बितेका ४/५ वर्षयता उनी नेपाली फिल्मसँग पनि प्रत्यक्ष जोडिन खेजिरहेका छन्। तर, यसमा उनी चम्किन सकिरहेका छैनन्। 

‘सम्बोधन’ फिल्मबाट ‘कमनम्यान’को भूमिकामा डेब्यु गरेका प्रशान्तको दोस्रो फिल्म ‘ऐश्वर्य’ पनि आयो। फिल्ममा उनी ‘एन्टागोनिस्ट’ रहे।  झन्डै ६ फिट १ इन्च अग्ला र गठिलो शरीरका धनी प्रशान्त निकैपछि फिल्ममा प्रवेश गरे पनि यहाँ चर्चा कम भयो। उनी अहिले पनि यसै क्षेत्रमा केही गर्ने सोच बनाइरहेका छन्, गरिरहेका छन्। खलनायक बन्न खोज्ने उनको तर्क अलिक फरक छ।

null

भन्छन्, ‘पहिलाको भिलेनहरू पनि ह्यान्डसम नै थिए। पहिला भिलेन भन्नेबित्तिकै मान्छे तर्सिनुपर्छ। डराउने हुनुपर्छ भन्ने सोच थियो। अहिले सोच परिवर्तन हुँदै गइरहेको छ। मानिस भिलेन रूपले भन्दा पनि सोचले हुन्छ।’ उनी ‘ऐश्वर्य’मा म यही भूमिकामा देखिएँ। तर, खै चलेन।’ भन्छन्। उनलाई अहिले पनि फरक भूमिकाको लोभ भइराख्छ रे। भयो पुग्यो हुँदैन रे। भन्छन्, ‘त्यसका लागि गर्नुपर्ने र जानुपर्ने हदसम्म म जान्छु। 

‘सम्बोधन’ मा काम गर्न मैले १२ किलो वजन बढाएको थिएँ। ‘ऐश्वर्य’का लागि १७–१८ किलो वजन घटाएको थिएँ।’ मोडलिङ र फेसन क्षेत्र व्यावसायिक बन्दै गएकाले धेरैले यहीँबाट आफ्नो भविष्यसमेत सुखद बनाउन सक्ने अवस्था बनेको उनको ठम्याइँ छ। त्यसैले शरीरले साथ दिएसम्म, दर्शकले रुचाएसम्म यही क्षेत्रमा रहने अठोट उनीसँग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.