सत्तारूढ गठबन्धन दलको बैठक साँझ पुन: बस्ने, सिट बाँडफाँट हुने
काठमाडौं : सत्तारूढ गठबन्धन दलको बैठक साँझ पुन बस्ने भएको छ। शनिबार बिहान बसेको बैठकमा राष्ट्रियसभामा निर्वाचन हुने १९ सिटमा कुन दललाई कति सिट दिने भन्ने निर्णय गर्ने सहमति भएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको जानकारी दिए।
लेखकले एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवारी दिने घोषणा गरेकाले एमालेसँग सहकार्य नगर्ने बैठकमा सहमति भएको बताए। बैठकले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा गठबन्धनभित्रकै दलबीच भागबण्डा गरेर चुनाव लड्ने समझदारी गरेको उनले बताए। ‘अहिले त्यो विषय छैन अब, गठबन्धनकै दलहरुबीचमा सिटको बाँडफाँट हुन्छ।’, उनले भने, ‘सरकारमा सहभागी दलको छलफल र निर्णयले टुंगोमा पुग्छ र चुनाव लड्छ।’
लेखकले बृहत लोकतान्त्रिक धारणाका साथ सत्ता र प्रमुख प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर एमालेसँग छलफल गरेपनि सम्भव नभएको बताए।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।