लगानीयोग्य पुँजीको परिचालन
अर्थतन्त्र सुस्ताउँदा एकताका त्यसको कारण पैसाको अभाव भनियो । बैंकले ऋण दिन सकेनन्, व्यापार, व्यवसाय चलेनन् । बजार सुस्तायो पनि भनियो । अहिले भने बैंकमा पैसा थुप्रिएको छ । पुस १८ सम्मको तथ्यांक हेर्ने हो भने समग्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग ४ खर्ब ३३ अर्ब हाराहारी रुपैयाँ कर्जा प्रवाह गर्ने क्षमता छ । बैंकहरूमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले पुस महिना सुरु भएयता निक्षेप संकलन उपकरणबाट १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको छ । बैंकहरूले कर्जा—निक्षेप अनुपात अर्थात् सीडी रेसियो ९० प्रतिशत गर्न पाउँछन् तर अहिले ८० मा सीमित छ । अर्थात् सय रुपैयाँ निक्षेप संकलन हुँदा ८० रुपैयाँमात्रै कर्जा लगानी सकेको अवस्था छ ।
बैंकमा पुँजी थुप्रिनु भनेको व्यवसायीले कर्जा नलगेको अवस्था हो । उत्पादन र कारोबारसँगको प्रत्यक्ष सम्बन्धको नतिजा के भने बजारमा माग छैन, उद्योगहरूको उत्पादन कम छ । बजार चलायमान नहुँदा व्यवसायी र उद्यमीले लगानी नथपेका हुन् र नयाँ पनि ननिस्किएका हुन् । जब कि ब्याजदर घट्दो क्रममा छ । तर, कर्जाको माग उतिसारो बढेको छैन । निक्षेप संकलन दर भने वार्षिक रूपमा नै उकालो लागिरहेको छ । व्यावसायिक वातावरणको अभाव अनुभूति व्यवसायी, उद्यमी र सर्वसाधारणसम्मले गरेका छन् । त्यसको परिणाम बैंकिङ प्रणालीमा पैसाको थुप्रो लाग्ने भएको छ । सरकारले नागरिकको विश्वास जगाउने निर्देशनात्मक कार्यबाहेक नीतिगत परिवर्तन गर्न खास सकेको छैन ।
सर्वसाधारणको क्रयशक्ति कमजोर हुनुको परिणाम आयात पनि प्रतिविम्बित भएको छ । जसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी थुप्रिन नै मद्दत गरेको छ । अर्थतन्त्रका बाह्य सूचक बलियो हुँदाहुँदै सूक्ष्म अर्थतन्त्रलाई सरकारले चलायमान बनाउन असफल सावित भएको छ । लगानीयोग्य पुँजी परिचालनमा पनि सरकारको यथोचित ध्यान जान जरुरी छ । त्यसो भयो भने समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउन र नागरिकको भरोसामाथि उठाउन योगदान पुग्छ । पैसा र अर्थतन्त्र आखिर नागरिक भरोसाको जगमा ठगिएका हुन्छन् । आज त्यसैको अभाव छ । सबैभन्दा पहिला सरकारले गर्नुपर्ने काम नै नागरिकमा आशा भर्नु हो ।