चन्द्रगिरी नगरपालिकाका असिष्टेन्ट सव-इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : चन्द्रगिरी नगरपालिकाका असिष्टेन्ट सव -इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रगिरी नगरपालिका -१४ नयाँ नैकपास्थित वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव- इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद अर्यालले असिष्टेन्ट सव-इन्जिनियर पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले आइतबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको बताए।
आयोगको टोलीले केही दिनअघि पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। उनीविरुद्ध सजायसहित २५ हजार रुपैयाँ मागदावी गरिएको अख्तिायरले जनाएको छ।