पर्सामा १६८ किलो गाँजा र बोलेरो गाडीसहित दुई जना पक्राउ
वीरगन्ज : सशस्त्र प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। वीरगन्जबाट ठोरी तर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीबाट सशस्त्र प्रहरीले १६८ किलोग्राम गाँजासहित गाडीका चालक र सहचालकलाई पक्राउ गरेको हो।
पर्साको जगरनाथपुर गाउँपालिका-४ सुपौलीमा सशस्त्र प्रहरीले उक्त गाडी रोकेर चेकजाँच गर्दा गाडीभित्र फल्स बटम बनाई लुकाएर राखिएको १६ वटा पोकामा रहेको १६८ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।
गाँजासँगै उक्त गाडीका चालक २० वर्षीय समिर तामाङ र सहचालक २२ वर्षीय राजु लामालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। उनीहरूको साथबाट नगद ७८ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल पनि बरामद गरिएको श्रेष्ठले जानकारी दिए।
बरामद गाँजासहित गाडी र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको श्रेष्ठले बताए।