लुम्बिनीमा बढे पर्यटक, बढेन व्यापार

लुम्बिनीमा बढे पर्यटक, बढेन व्यापार
सुन्नुहोस्

सन् २०२३ मा १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। तीमध्ये २ लाख ६६ हजार भारतीय पर्यटक छन्।

बुटवल : लुम्बिनीमा पर्यटकको आवागमन बढेको छ। पर्यटकको संख्यामा जसरी बढोत्तरी भएको छ, त्यसरी व्यापार बढ्नुको साटो झनै सुनसान छ। होटल व्यवसायी दैनिक खर्चसमेत धान्न नसकेको सुनाउँछन्। 

लुम्बिनीमा आउने पर्यटकलाई भुलाउने क्षेत्रहरू सिर्जना नगरिएपछि लाभ नभएको जानकारहरू बताउँछन्। लुम्बिनी सम्साँझै सुनसान हुन्छ। पर्यटकले साँझमा घुम्ने स्थान नपाएपछि होटलमा बास बस्दैनन्। होटल व्यवसायी मेघनाथ आचार्यले भारतीय पर्यटक प्रायः दिनभर घुमेर फर्किने गरेको बताए। ‘आउने संख्या त ठूलो छ, तर उनीहरूले लुम्बिनीमा पाँच सय रुपैयाँ पनि खर्च गर्दैनन्,’ उनले भने। भारतीय पर्यटकले रमझम रुचाउँछन् तर त्यो लुम्बिनीमा उपलब्ध छैन। लुम्बिनी आउने भारतीयहरू केही भैरहवा र बुटवलमा बस्छन् भने अधिकांश बेलुका भारत नै फर्किने गरेका छन्।

लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने बहस भइरहे पनि कुनै पनि निकायबाट त्यसको काम हुन सकिरहेको छैन। बौद्ध अध्येताहरूले लुम्बिनीलाई रातभर घुम्ने स्थानका रूपमा विकास नगरेसम्म पर्यटकीय लाभ लिन नसक्ने बताउँछन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका अध्यापक मञ्जिल सुवेदी स्थानीय खानाको सन्ध्याकालीन मेला, स्थानीय नाचगान तथा संस्कृति प्रदर्शनी, मायादेवी मन्दिर क्षेत्रमा दैनिक दीप प्रज्वलन र बौद्ध झाँकीहरू प्रस्तुत गर्ने हो भने पर्यटकको बसाइ हुन सक्ने बताउँछन्। ‘घुम्न निस्किने व्यक्तिले नयाँ कुराको अपेक्षा गर्छ, होटलमा बास बस्नकै लागि कोही पनि लुम्बिनी आउँदैनन्,’ उनी भन्छन्, ‘पर्यटक भुलाउने प्याकेज होटल व्यवसायीको अग्रसरतामै बन्नुपर्छ। स्थानीयलाई समेटेर काम हुनुपर्छ।’

लुम्बिनीसँग तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवम् रामग्रामलाई जोडेर बनाइएको टुर प्याकेजसमेत व्यवसायीले बेच्न सकेका छैनन्। भैरहवा विमानस्थलदेखि लुम्बिनी जाने स्तरीय बस सेवा नहुनु, महँगो ट्याक्सी भाडाका कारणसमेत पर्यटकलाई हतोत्साहित बनाउने गर्छ। लुम्बिनीमा पर्यटक टिकाउनका लागि सन्ध्याकालीन बौद्ध संस्कृतिसहित स्थानीय संस्कृतिको प्रस्तुति र खानपानको मेला लगाउन सकिने जानकार बताउँछन्। स्थानीय परिकारहरू साँझ ५ बजेदेखि रातिसम्म खुवाउने व्यवस्था मिलाउने, सांस्कृतिक कार्यक्रम नियमित गर्ने हो भने मात्रै लुम्बिनीमा पर्यटकले रात बिताउन थाल्छन्। अहिले मायादेवी मन्दिर र केही बिहार घुम्नेबाहेक लुम्बिनीमा पर्यटक भुलाउने कुनै क्षेत्र छैनन्।

भारतीय पर्यटक प्रायः भारतकै टुरगाइडमार्फत लुम्बिनी आउने गरेका छन्। नेपाली टुर गाइड नहुँदा पर्यटनमा असर परिरहेको छ। लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार लुम्बिनी आउने पर्यटकको मुख्य आकर्षण मायादेवी मन्दिर मात्रै छ। अन्य विहार तथा क्षेत्रहरूको भ्रमणसमेत नगरी फर्किन्छन्। लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवाली पनि व्यवसायीले लाभ लिन नसकेको स्वीकार्छन्। उनले सबै मिलेर बसाइ लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिन्छन्। 

लुम्बिनीमा सन् २०२३ मा झन्डै १० लाख पर्यटक आएको तथ्यांक विकास कोषको छ। तीमध्ये २ लाख ६६ हजार ५ सय १० भारतीय पर्यटक हुन्। सन् २०२३ को अन्तिम महिना मात्रै ४० हजार ८ सय ४२ भारतीय लुम्बिनी आएका थिए। सन् २०२२ मा २ लाख ३० हजार ८ सय ६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए।

कोषको तथ्यांकअनुसार सन् २०२३ मा ७६ हजार २ सय १० तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन्। यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलंकाबाट १६ हजार १ सय ७२ पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ। सन् २०२२ मा जम्मा 
२३ हजार ९ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। तेस्रो मुलुकमध्ये थाइल्यान्ड, भियतनाम, म्यानमार, चीन, दक्षिण कोरिया, जर्मनी, कम्बोडियासहित पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ६ लाख ५६ हजार नेपाली पर्यटक लुम्बिनी भ्रमणमा गएका थिए। कोरोना महामारीपछि पर्यटक वृद्धि हुँदै गएको छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.