तेह्रथुमवासीले तयार गरेको ढाकाको लुगामा आकर्षक डिजाइनले सार्थकता पाउँदा विश्वभरका नेपालीको मन जितेको छ।
भनिन्छ, ‘असफलता नै सफलताको जननी हो।’ केही परीक्षामा फेल हुँदै गर्दा त्यसबाट अवसरका थुप्रै ढोका खोलिरहेका हुन्छन्। तर, त्यस अवसरलाई भने चिन्न चाहिँ सक्नुपर्छ। पढाइमा कुनै समय फेल भएकी तेह्रथुमको म्याङलुङ–८ आङबुङकी निर्मला (नीरु) आङबुङ लिम्बूले ढाकाको तानलाई आधुनिक डिजाइन दिएर विश्वबजारमा चर्चा कमाएकी छन्। उनले तेह्रथुमे ढाकाको तानलाई डिजाइनमात्रै दिइनन्, त्यसले उनलाई पहिचान पनि दिएको छ— फेसन डिजाइनको।
तेह्रथुमे ढाकाले विश्वबजार पिटेको छ भने स्थानीयलाई यसले गाउँमै गरिखाने माध्य बनाइदिएको छ। पाल्पापछि तेह्रथुम जिल्लालाई दोस्रो ढाकाको राजधानीको रूपमा चिनाएको छ। यसमा नीरुको डिजाइनको ठूलो हात छ। गाउँमै कुटोकोदालो गर्दै नीरु किसान परिवारमा हुर्किइन्। गाउँकै स्कुलबाट एसएलसी पास गरिन्। २०५८ तिर क्याम्पस पढ्न काठमाडौंको पद्मकन्या क्याम्पसतिर अघि बढिन्।
‘परिवारमा त्यो बेला एसएलसी पढ्ने मैमात्र थिएँ। बुवाआमाले छोरी धेरै पढून् भन्ने सपना थियो’, उनी भन्छिन्, ‘त्यसैले दाइले क्याम्पस पढाउन काठमाडौं लिएर आउनुभयो। तर, राम्रोसँग पढ्न सकिनँ। क्याम्पसमा ब्याक लाग्यो।’ पढाइ छोडेर थोरबहुत तालिम लिएर ढाकाको कपडामा डिजाइन कोर्दै जाँदा त्यसैले मलाई फेसन डिजाइन बनाएर पहिचान दिएको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘मेरो जिन्दगीको यो सबथोक हो।’
जब उनी परीक्षामा फेल हुन्थिन्। त्यसपछि उनी निराश हुन्थिन्। त्यसले उनलाई पढाइ छोड्न बाध्य पारिदियो। अनि उनी बेकाम भइन्। ‘पढाइ छोडेर त्यसै कोठामा बस्थें। अनि विदेशका साथीभाईले फोन गरेर भन्थे, डिल्लीबजारबाट तेह्रथुमे ढाकाको ड्रेस किनेर पठाइदिनू’, उनी भन्छिन्, ‘किनेर पठाइदिन्थें। पछि मात्रै मलाई पनि थाहा भयो कि बिजुलीबजारमा पाउने ढाका तेह्रथुमको होइन, अन्य ठाउँको रहेछ।’
एक दशक अगाडिबाट उनले गाउँबाटै ल्याएको ढाकाको कपडालाई डिजाइन दिएपछि यसले आफूलाई नाम, दाम र पहिचान सबै दिएको बताउँछिन्।
पढाइ छोडेपछि कामै नगरी त्यसै त सधैं कहाँ बस्न सकिन्छ र ? उनमा केही गर्ने हुटहुटी पलायो। साथीको पार्लर थियो। त्यहाँ सिकेर उनी बस्थें। २०६१ तिर पार्लरमै उनले गाउँबाटै ढाकाको कपडा ल्याएर बिक्री गर्न थालिन्। त्यो बेला साथीसँग १५–२० हजार सरसापटी लिएर ढाकाको कपडामा लगानी गरिन्। त्यसपछि आफन्त, साथीभाइ उनकै पसलमा ढाकामा लुगा किन्न आउन थाले।
‘पहिलो पटकमा व्यापारबाट ५०–६० हजार भयो’, उनी भन्छिन्, ‘त्यसपछि अलि राम्रै तरिकाले गर्न थाल्यौं। ललितपुरको तिखेदेवलको मिल्न चोकमा सो रुम नै खोल्यो। एकातिर पार्लर र अर्कोतिर ढाकाको।’ ढाकाको कपडामा उनले गरेको आधुनिक डिजाइनहरूका कपडा ग्राहकले मन पराउन थाले। उनी थप्छिन्, ‘पार्लरभन्दा ढाकाको कपडाले बजार लियो।’ अनि तिखेदेवलको बिग मार्केटमा अहिले तेह्रथुमे ढाका बुटिकको नामबाट सान्दार पसल सञ्चालन गर्दै आएकी छन्।
दुई वर्षअघि उनले नयाँ साजसज्जामा खोलेको पसलमा १०–१२ वर्षको अनुभवको आधारशिलामा लगानी गरेकी छन्। कुनै बेला ढाका लुगा लगाउनेहरूलाई पाखे भनेर होच्याइन्थ्यो। जब उनले ढाका लुगालाई आधुनिक डिजाइन दिए त्यसपछि यसले विश्वबजार ओगट्यो। उनी थप्छिन्, ‘महिला–पुरुषले लगाउने सबै खाले लुगा– दाउरा, सुरुवाल, कोट, टाई, ढाकाटोपी, चौबन्दी चोली नयाँनयाँ मोडेलमा डिजाइन गर्न थालें। यसले विश्वबजार पिटेको छ।’
नीरुले सुरुसुरुमा नयाँ डिजाइन बनाउन धेरै कठिन र चुनौती व्यहोरिन्। कहिले उनले बनाउँदा बनाउँदै कोट बिगारियो। ग्राहकले लुगा किन्न आउँदा लगाएर सिलाई फुस्काइदिए। यसले लगानी र परिश्रम दुवै डुब्दा पनि नीरुले हरेस खाइनन्। उनी भन्छिन्, ‘त्यसपछि लुगाको ज्वाइन्टहरूमा पेपर पेस्टिङ राखेर लगाउन थालें। फुस्किने समस्या हल भएर गयो।’
त्यसपछि समस्याहरू कमजोर हुँदै गए। कोटका सिलाइ भरपर्दो हुन थाल्यो। आम्दानीको हिसाबले सिँढी चढ्यो। यसले नीरुले गरेको डिजाइनका ढाकाका लुगाहरूको माग हङकङ, यूके, सिंगापुर, इजरायल, अस्ट्रेलिया र क्यानडासम्म पुग्यो। ‘जब हामी बाहिर जान्छौं तब मातृभूमि, आफ्नै उत्पादन, पहिरन र देशको सबैभन्दा बढी माया लाग्छ’, उनी भन्छिन्, ‘जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ तेह्रथुमे ढाकाको माग छ।’
सामाजिक सञ्जालबाट उनले आफ्नो व्यवसाय विश्वबजारमा पुर्याएकी छन्। सामाजिक सञ्जालका विभिन्न माध्यमबाट ग्राहकले विदेशबाट भिडियो कल गरेर ढाका कपडा रङ र डिजाइन मन पराएर सिलाउन अर्डर दिन्छन्। पैसा पठाइदिन्छन्। नीरुले पार्सल गरेर दिएको ठेगानमा पार्सल गरेर पठाउँदै आएकी छन्। उनी भन्छिन्, ‘तेह्रथुममा तयार हुने ढाकाको तान अलि अरूभन्दा गुणस्तरीय छ। अरू ठाउँभन्दा यहाँको ढाकाको दोलाई नै फरक र कसिलो हुन्छ। त्यसैले सबैको रोजाइमा परेको छ।’
तेह्रथुमका गाउँलेहरूले मेहनत गरेर तयार गरेको ढाकाको लुगामा नीरुको आकर्षक डिजाइनले सार्थकता पाउँदा विश्वमा रहेका नेपालीको मन जितेको छ। साब्ला, जिरीखिम्ती, आङबुङ, पार्टी गाउँ, आम्फुवा, सोल्मा, तम्फुला, गैरीगाउँमा घरघरमा उच्चकोटीको रेसाबाट ढाकाका कपडा तयारी गरिन्छ। नीरु भन्छिन्, ‘तेह्रथुममा तान नभएको कुनै घरै छैन। खेती लगाउने समयबाट फुर्सद हुनासाथ तान बुन्नु यहाँको मुख्य काम हो।’
ढाकाको कपडाले राम्रो बजार पाएको छ। पाल्पापछिको तेह्रथुमलाई ढाकाको दोस्रो राजधानी भनेर चिनिन्छ। ढाकाको कपडा १२–१५ सयसम्ममा बिक्री हुन्छ। तेह्रथुममा ढाकाको कपडाले तान बुन्नेलाई रोजगारी प्रदान गरेको छ। यता दस वर्ष अघिसम्म ललितपुरको महालक्ष्मीस्थान वरिपरि ढाकाको कपडा तयार गरेर बिक्री गर्ने युवा व्यवसायीमा नीरुको मात्रै पसल थियो। तर, अहिले अवस्था फेरिएको छ।
‘अहिले त ढाकाले एकदमै मार्र्केट लियो। मेरो पसल भएको क्षेत्रमा थुप्रै ढाकाको कपडाको पसल खुलेका छन्। यो देखेर निकै खुसी लाग्छ। आफ्नै माटोमा केही नयाँ सुरुआत गरेको भनेर भान हुन्छ’, उनी भन्छिन्, ‘बक्खुका लागि बौद्ध जान्छौं त्यस्तै ढाकाका लागि मानिस सातदोबाटो नख्खिपोट आउनुहुन्छ। यहाँ धेरै प्रकारका सस्तो, महँगो अनि सबै क्वालिटीका ढाका कपडा र तयारी पोसाक पाइन्छ।’
नीरुले सञ्चालन गरेको पसलमा ६ जनाले रोजगारी पाएका छन्। ढाकाको कपडामा युवा पुस्ताले भविष्य खोज्ने बढेका उनी सुनाउँछिन्। उनले आफ्नो पसलमा बनाएका लुगाहरूको ब्रान्डिङका लागि पनि काम गर्दै आएकी छन्। यो कपडाबाट बनेका पोसाक बढी जस्तो जनजातिले लगाउँछन्। उनले मिस लिम्बूमा अफिसियल ड्रेसको डिजाइन गरिन्। भ्वाइस अफ नेपालको फस्ट सिजनमा ढाकाको कपडाकै ड्रेसहरू डिजाइन गरेर तयारी गरेर दिइन्।
फिल्म, म्युजिक भिडियोका लागि पनि उनले विभिन्न थरीका डिजाइन गरेर ड्रेसहरू दिँदै आएकी छन्। विवाह, आदिवासी जनजातिको चाडपर्वमा त डिजाइन बनाउन र लुगा सिलाएर दिन उनलाई भ्याइनभ्याइ हुन्छ। भन्छिन्, ‘तेह्रथुमे ढाकालाई ब्रान्डिङ गर्दै देशभरिका सहरमा शाखा खोल्ने रहर छ।’