इतिहास

गुरुङहरूमाथिको त्यो सांस्कृतिक अतिक्रमण

गुरुङहरूमाथिको त्यो सांस्कृतिक अतिक्रमण
गुरुङहरुलाई राजेन्द्रविक्रम शाहले प्रदान गरेको पत्र (स्रोतः भागवतनरसिंह प्रधान)

घटना २०७८ साल चैत १८ गतेको हो। त्यसबेला साहित्यकार सूर्य खड्का 'बिखर्ची' महत्त्वपूर्ण प्राज्ञिक जिम्मेवारीमा थिए। उनी त्यसबेला गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य। त्यसबेला उनले लेखेको पुस्तक 'लमजुङ र पृथ्वी सुब्बा' (२०७८) ठूलो विवादमा मात्र परेन, उनले पुस्तकको विवादित पृष्ठ च्यातेर सरोकारवालासामु आफै आगो लगाउनुपर्‍यो।

उनले उक्त पुस्तकको पृष्ठ १५ मा तत्कालीन गण्डकी प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङबारे चर्चा गर्दै लेखेको 'गुरुङ जातिहरूमध्ये उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जाति भनेर चिनिन्छ, यिनी चार जाते हुन्' भन्ने वाक्याङ्शलाई लिएर विभिन्न गुरुङ संस्थाहरुले आफ्नो ध्यानाकर्षण गरी कडा आपत्ति जनाएपछि गुरुङ संघ संस्थाका प्रतिनिधि र विखर्चीबीच बैठक बस्यो। बैठकमा लेखक स्वयम्ले विवादित पृष्ठ च्याती गुरुङ प्रतिनिधिहरूको सामु ती पृष्ठ जलाएर नष्ट गर्दै अब उप्रान्त गुरुङ समुदायको आत्मसम्मानमा दख्खल दिने कार्य नगर्ने र बाँकी सबै वितरण गरिएका पुस्तकहरु (इलेक्ट्रोनिक भर्सनसहित) नष्ट गर्ने र कहीँ कतै सो पुस्तक भेटिएमा लेखक स्वयं जिम्मेवार रहने प्रतिवद्धता र आत्मालोचनासहित क्षमायाचना गर्नुपरेको थियो। त्यसबेला गुरुङ संघ संस्थाका प्रतिनिधिहरुले उनी माफी दिएका थिए।

प्रादेशिक तहमा गठन गरिएको प्रज्ञा प्रतिष्ठानको कुलपतिजस्तो ब्यक्तिले नेपालको जातीय संवेदनशीलता नबुझी लेख्दाको परिणाम थियो त्यो।

 
नेपालमा शासकहरुले एउटै जातिभित्र विभाजनको रेखा कोरिदिएको पाइन्छ। तीमध्ये लिम्बूहरुमा नीति र स्मृति उपसमूह, मगर र तामाङमा १२ जात र १८ जात उपसमूह र गुरुङमा चार जात र १६ जात उपसमूहमा विभाजनको रेखा कोरिदिएका थिए। यस्तो विभाजनको रेखालाई स्वयम् सम्बन्धित जातिले नै मेट्ने प्रयास धेरै पहिलेदेखि गर्दै आइरहेका छन्।
 
तीमध्ये बुढिगण्डकी पश्चिम, कालीगण्डकी पूर्व, हिमालभन्दा दक्षिण र गण्डकीभन्दा उत्तरका क्षेत्रलाई मूल बसोबासको केन्द्र बनाई बसेका गुरुङहरूबीच चार जात र सोह्र जातले ल्याएको झगडा मेटाउने प्रयास भने कर्णेल लछमन गुरुङले गरेका थिए। उनले वि.सं. १९२४ मा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाबाट एक सनद जारी गर्न लगाएर यस्तो झगडाको अन्त्य गराएको जनकलाल शर्माको 'हाम्रो समाज एक अध्ययन' (२०७५:२८९-९०)मा पढ्न पाइन्छ।
 
यदि यो पुस्तक पढेर होशियारीपूर्वक लेखेको भए गण्डकी प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति सूर्य खड्का 'बिखर्ची'ले आफूले गुरुङहरुमाथि सांस्कृतिक अतिक्रमण गर्दै लेखेको पुस्तकको विवादित पृष्ठ च्यातेर आफै आगो लगाउनु पर्ने थिएन।
 
गुरुङहरुमाथि यस किसिमको सांस्कृतिक अतिक्रमण प्रशस्तै भएको इतिहास पाइन्छ। यसै ऐतिहासिक सेरोफेरोमा यो लेख तयार पारिएको छ।

ठकुरी राजा अस्वीकार

स्वायत्त रुपमा मौलिक परम्परा र शासन व्यवस्थामा रमाइरहेका गुरुङहरूले आफ्नो क्षेत्रमा पठाइएका ठकुरी राजाको शासन अस्वीकार गर्दै ती राजाको हत्या नै गरिदिएको इतिहास पाइन्छ। उनीहरूले कास्कीकोटबाट राजा बनाउन लमजुङ ल्याइएका कुलमण्डन शाहका माहिला छोरा कालु शाहको सिकार गर्न गएको बेला हत्या गरिदिएका थिए।

पुरातत्त्व विभागको मुखपत्र 'प्राचीन नेपाल' सङ्ख्या २० (साउन २०२९:२-३)मा प्रकाशित 'नेपाल देशको इतिहास'अनुसार कुलमण्डन शाहका जेठा छोराले कास्कीमा रजाईँ गरे । लमजुङ दुराडाँडाका पञ्चहरुले उनका माहिला छोरा कालु शाहलाई लमजुङ ल्याई राजा थापे। यिनलाई शेषालीहरुले शिकार खेल्ने बहाना गरी बनमा पुर्‍याए। अग्ला ठाउँबाट सबै देखिन्छ भन्दै अग्ला डाँडामा पुर्‍याए। अनि धनुकाँड लिई चारैतिरबाट घेरेर मृगलाई हानेको बहाना गरी शेषालीहरुले ती राजालाई मारिदिए। 

फेरि पनि दूराडाँडाका पञ्चहरु कुलमण्डन शाहकहाँ राजा माग्न पुगे। सुरुमा राजाले क्रुद्ध बनी उनीहरूलाई 'फेरि मेरो छोरा मार्न लैजान आयौ?' भनी हप्काए। उनीहरूले आफूहरुले राजा कालु शाहलाई मारेको होइन, यसमा शेषालीहरुको हात रहेको थियो भनी बिन्तिभाउ गरे। अन्ततः यशोब्रह्म शाहलाई लमजुङ लगेर पुनः राजा थापियो।

'शेषाली' भनेका त्यस ठाउँका हिउँ निथ्रिने शेष लेकका क्षेत्रका बासिन्दा भएको र उनीहरू गुरुङ भएको इतिहासकार डा. राजाराम सुवेदीले 'प्राचीन नेपाल'को सङ्ख्या १५० (२०५९असारः४९-५०)मा उल्लेख गरेका छन्। 

बालक अवस्थामै जाली थैलोमा सुरक्षित गरी लमजुङ पुर्‍याइएर दुराहरूबाट पालिएका यशोब्रह्म शाहलाई ठूलो स्वाँरामा लगेर ढुंगामा बसाली सिन्दुरजात्रा गरियो। त्यस ढुंगालाई अहिले पनि 'सिन्दुरे ढुङ्गा' भनिन्छ। 

यशोब्रह्म शाह वि.सं. १५१५ असार १५ गते लमजुङको गद्दीमा बसे। उनी हिजो आफ्ना दाजु मारिएकोबारे बेखबर भने थिएनन्। त्यसैले यहाँका गुरुङहरूलाई रिझाएर राख्नु उनको लागि जरुरी थियो। यसका लागि उनले सिक्लेसका ल्होचन गुरुङसँग मित्यारी लगाए। कविक्याल, सवक्याल, पुरुक्याल र कोकिल गुरुङलाई हात लाई पोंजोका घलेहरुको दमन गरे। यसमा सहयोग गर्ने ल्होचन र दुराहरुलाई यशोब्रह्म शाहले खोरिया फाड्ने, शिकार गर्ने, च्याङ्ग्रा पाल्ने र ब्यापार गर्नेेजस्तो सुविधाहरू दिएको डा. सुवेदीले उल्लेख गरेका छन्।

गुरुङहरुको बौद्धमार्ग

लमजुङ र गोरखामा ठकुरी शाहहरुको राज चल्न थालेपछि यहाँ प्रमुख रुपमा बसोबास गर्दै आएका मगर र गुरुङहरुमा शासकहरुले ब्राह्मणहरुमार्फत हिन्दु धर्मको प्रचार गर्न लगाए। मगरहरुले बौद्ध धर्म नलिएकाले उनीहरुलाई हिन्दु धर्मबाट प्रभावित गराउन असजिलो भएन। तर गोरखाको उत्तर भागमा रहेका गुरुङहरुले तिब्बती लामाबाट बौद्धधर्म अनुशरण गरेका थिए। 

इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' (२०६१:१०)मा उल्लेख गरेअनुसार गुरुङहरुसँग खुसामद गर्न गोरखाली राजाहरु बाध्य हुन्थे । गोरखाली राजालाई मगरको राजा भनेर वार्पाकका गुरुङहरु यिनका अधीनमा रहन गाह्रो मान्थे ।

गुरुङहरुसँग खुसामद गरेर मात्र तिब्बतबाट आउने नूनसँग चामल सटही गरी आफ्ना रैतिलाई चटाउने ब्यवस्था गोरखाली राजाहरुले गर्नुपथ्र्यो । गुरुङहरु बौद्ध धर्ममा रहेकाले तिब्बतीसँग उनीहरुको धार्मिक सम्बन्ध पनि भएको हुँदा नून ब्यापारमा उनीहरुको हात थियो भनी आचार्यले उल्लेख गरेका छन् । यसबाट गुरुङहरुको धर्मदर्शनको यात्रा प्राचीनकालबाटै बौद्धमार्गबाट हिडेको देखिन्छ ।

गुरुङहरुको बौद्धविद्रोह

जङ्गबहादुर राणा क्रमशः शक्तिशाली बन्दै गर्दा गुरुङ पल्टनका रुपमा रहेको 'कालीबहादुर पल्टन'का एक गुरुङ जमादारले वि.सं. १९१४ जेठमा जंगबहादुरविरुद्ध विद्रोहको तयारी गरेको तर उक्त विद्रोहलाई बीचैमा दमन गरिएको इतिहास त्यतिखेर लैनचौरस्थित ब्रिटिश दूतावासमा रहेका एक अधिकारी एच.ए. ओल्डफिल्डले आफ्नो पुस्तक 'स्केचेज अफ् नीपाल' (सन्२००५:१९-२०) मा उल्लेख गरेको पढ्न पाइन्छ।

गुरुङहरुको यो एउटा विद्रोह जबरजस्ती दवाइए पनि उनीहरुले जङ्गबहादुरविरुद्ध बेला बेलामा विद्रोह गर्दै गरेका पाइन्छ। 

गुरुङहरुले जङ्गबहादुर राणाको अन्तिम समयताका फेरि विद्रोह मच्चाएका थिए । गोरखामा सुकदेव गुरुङले आफूलाई 'नौ सरकार बौद्ध बादशाह' घोषणा गरी वि.सं. १९३३ मा  विद्रोह सुरु गरे। प्रशस्तै अनुयायीहरु बटुले। यसैक्रममा उनी पक्राउ परे। जेलमै उनको मृत्यु भयो। इतिहासकार त्रिरत्न मानन्धरको 'नेपालको इतिहासमा जङ्गबहादुर' (२०४८:१४५)अनुसार अदालत इटा चपलीमार्फत् जेल परेका उनको १९३३ चैत महिनामा मृत्यु भयो। ज्वरोको कारण मृत्यु भएको भनिए तापनि उनको मृत्यु कडा यातनाको कारणले भएको हुनसक्ने मानन्धरको अनुमान रहेको छ। 

उनको मृत्युले गोरखाको विद्रोह भने शान्त पार्न सकेन। लगत्तै सुपति नामका अर्को विद्रोहीले आफूलाई बौद्ध वादशाह घोषित गरी विद्रोहलाई निरन्तरता दिए। जङ्गबहादुरको मृत्युपछि नयाँ प्रधानमन्त्री भएका रणोद्दिपसिंहले सुपति गुरुङलाई जसरी भए पनि पक्रेर ल्याउन आदेश दिए। तत्कालिन कमाण्डर इन् चिफले कप्तान रन्धोज अधिकारीलाई यस्तो आदेश दिएका थिए। तर सुपतिलाई पक्राउ गर्न खटिई जाने अधिकारीले उनलाई गोरखा सात घरदेखि लमजुङ कास्की अठारसय खोलासम्म खोज्दा पनि फेला पार्न नसकेको विवसता जाहेर गरेका थिए।

यी तीन सपुतको विद्रोहले त्यतिखेरको राज्यसत्तामा ठूलै हलचल मच्चाएको थियो। यीमध्ये दुईलाई मारियो भने एक जना बेपत्ता भए। सुकदेव र सुपति गुरुङले गरेको यो विद्रोह सांस्कृतिक विद्रोह थियो।

'लामा घ्याव्रिङ होइन, बाहुन पुरेत लगाऊ'

उहिल्यैदेखि बौद्धधर्ममा विश्वास गरी सोहीअनुसारको रीतिस्थितिबाट आफ्नो धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिदै आएका गुरुङहरुमाथि राजा महाराजाहरुले उनीहरु स्वयम्ले मानिआएको सांस्कृतिक मूल्य र परम्परा लाद्न खोजेको ऐतिहासिक प्रमाणहरु पाइन्छन्।

त्यतिखेर बालक राजा गिर्वाणयुद्धविक्रम शाह राजगद्दीमा विराजमान भएको बेला तत्कालिन प्रधानमन्त्री जनरल भीमसेन थापाको ठूलो बोलवाला चल्थ्यो। नायव महारानी ललितत्रिपुरसुन्दरी भीमसेन थापाको आफ्नै भतिजी भएकोले त्यो बेलाको खास शासक भीमसेन थापा नै थिए।

तत्कालिन राजा गिर्वाणयुद्धको नाममा वि.सं. १८६५ मंसिर सुदी ५ रोज ६ मा गुरुङहरुको नाममा एक लालमोहर जारी गरी आफ्नो अर्घौं (बर्खान्तको शुद्धाई) गर्दा लामा घ्याव्रिङ नचलाई उपाध्यय ब्राह्मण चलाउनु भन्ने आदेश दिइएको छ। 

इतिहासकार ज्ञानमणि नेपालले 'नेपाल निरुपण' (२०५५:२६७)मा प्रकाशमा ल्याएको उक्त लालमोहरमा 'राज्यभर मुलुकका गुरुङ...तिमी गुरुङ गैह्रेले कुला धर्म भनी लामा घ्यावृङबाट अर्घौं गर्दा रहेछौ अब उप्रान्त कुला धर्म भनेको ब्राहृमणबाट दश कर्म गर्नु सुद्ध शान्ति गर्नु...' भन्ने उल्लेख छ।

यसबाट गुरुङहरु अपनाई आएको बौद्धमार्ग र बोन परम्परालाई मास्न वा मिच्न यस्तो लालमोहर जारी गरिएको स्पष्ट हुन्छ। यस कार्यलाई गुरुङलाई हिन्दू मतमा ल्याउने प्रयत्न गरिएको अर्थ लगाउन कुनै गाह्रो अप्ठ्यारो छैन।

गिर्वाणयुद्धविक्रम शाहपछि उनको छोरा राजा राजेन्द्रविक्रमले पनि यस्तै तर अलि लचिलो किसिमको भाषामा गुरुङहरुको सांस्कृतिक परम्परा मिच्ने किसिमको ताम्रपत्र जारी गरेको इतिहासप्रधान पत्रिका 'पूर्णिमा' को पूर्णाङ्क १९ (कात्तिक-पुस २०२५:२२४)मा पढ्न पाइन्छ।

मूलुक भरका गुरुङ, घले, लामा चार जात सोह« जातको नाममा वि.सं. १८८३ वैशाख सुदी १ रोज ४ मा जारी लालमोहरमा '...आज हामीबाट पनि तिमिहरुका अघिदेषी चलीआयाको रितिथिति अपुतालि चाकचकुई फर्नेडंलो हाम्रा दर्वारमा पस्याका पसुई वाहिक माफ गरि लामा घ्याव्रिंबाट गर्नु पन्र्या काम लामा घ्याव्रिंबाट गराउनु. ब्राहृमणबाट गराउनु पन्र्या काम उपाध्यय ब्राहृमणबाट गराउनु' भन्ने उल्लेख छ।

यो ताम्रपत्र सारेर राखेको अवस्थाको कागजको छायाँकपि इतिहास अन्वेषक भागवतनरसिंह प्रधानबाट यो लेखकलाई प्राप्त भएको छ। 

बीचमा आफ्नो परम्पराअनुसार कुलधर्ममा घ्याब्रिङ लगाउन गुरुङहरुले नछाडेको वा घ्याब्रिङनै लगाउनुपर्ने माग उनीहरुले राखेका कारण तत्कालिन राज्यसत्ता अलि लचिलो भई घ्याब्रिङ लगाउनेले घ्याब्रिङ र ब्राह्मण लगाउनेले ब्राह्मण लगाउनू भनी यस्तो लालमोहर जारी गरेको हुनसक्ने देखिन्छ।

गुरुङहरुमाथि राज्यसत्ताबाट बेलाबेलामा यस्तै सांस्कृतिक बलमिच्याई भएका कारण सुकदेव र सुपति गुरुङहरुले आफूलाई बौद्ध वादशाह घोषणा गरी विद्रोह गर्नुपरेको थियो भन्ने स्पष्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.