चोरीका भारतीय गाडी बेच्ने गिरोह सक्रिय

चोरीका भारतीय गाडी बेच्ने गिरोह सक्रिय
सुन्नुहोस्

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस २५ गते  चोरीका ७ वटा कार सार्वजनिक गर्‍यो। रोयल इन्फिल्डको एउटा मोटरसाइकल पनि उपत्यका अनुसन्धान कार्यालयले फेला पारेको थियो। गत पुस १ गते पनि विभिन्न ब्रान्डका सातवटा भारतीय कार र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो। 

चोरीका भारतीय कार र मोटरसाइकल सँगै प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दिलबहादुर तामाङ, सिन्धुपाल्चोकका आइतसिंह तामाङ, गोकुलप्रसाद श्रेष्ठ र भारतीय नागरिक मसरत उल्लाह खाँ छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार भारतीय नम्बर प्लेटका चोरीका गाडीहरू सजिलै नेपाल भित्रन्छन्। कार चोरीमा संलग्न एजेन्टहरूले नेपालमा बसेर नक्कली बिलबुक र कागजात बनाउने गरेका छन्। उनी भन्छन्, ‘नेपालमा भन्दा भारतमा गाडीहरू आधा सस्तोमा पाइन्छन्। सस्तोमा किनेर तस्करहरूले यहाँ महँगोमा बेच्ने गरेका छन्।’

प्रहरीका अनुसार भारतमा दर्ता भई चलिरहेका सेकेन्ड ह्यान्ड गाडीहरू केही दिन नेपाल कुदाउने पाउने पास लिएर तस्करहरूले देशका विभिन्न ठाउँमा पुर्‍याउने गरेका छन्। पछिल्लो समय उपत्यकामा यस्ता चोरीका गाडीहरू भेटिन थालेका छन्। एसएसपी राठौर भन्छन्, उपत्यकामा चोरीका गाडी किनबेच गर्ने गिरोह नै सक्रिय छ भन्ने सूचना प्रहरीले पाएको छ। हामीले केही व्यक्तिलाई नक्कली बिलबुक र कागजातसहित पक्राउ गरेर अनुसन्धान पनि अगाडि बढाएका छौं।’

अनुसन्धान अधिकृतका अनुसार केही दिनको पास लिएर बोर्डरबाट भारतीय नम्बरका गाडीहरू सजिलै छिर्छन्। ती पासको आधारमा बोर्डरबाट स्थलमार्ग हुँदै ती गाडीहरू उपत्यकामा पुग्छन्। बाटोमा हुने ट्राफिक चेकजाँचका क्रममा समेत त्यही पासले काम गर्ने हुँदा कुनै असहज हँुदैन। ती गाडीको चेसिस नम्बरसहितको बिलबुक नेपालमा बन्ने गरेको छ। यो बिलबुक पूरै नक्कली हो। गलत विवरण र किर्ते छाप लगाएर सक्कली जस्तै देखिने बिलबुक तस्करहरूले बनाउने गरेको प्रहरी बताउँछन्।

काठमाडौं पुर्‍याएर चोरीका भारतीय गाडीमा नक्कली नेपाली बिलबुक बनाएर बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको प्रहरीको दाबी छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीका अनुसार तस्करहरूले विभिन्न बहाना बनाएर सस्तोमा गाडी बेच्ने गरेका हुन्। ती गाडी न यहाँ दर्ता भएका हुन्छन्, न त कागजात नै सक्कली हुन्छ। भन्सार पाससमेत भएका हुँदैनन्। केही दिनमा पास गरौंला भन्दै पैसा लिएर गाडी बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ। पैसा लिइसकेपछि एजेन्टहरू फरार हुने गरेका छन्। 

अपराध अनुसन्धान कार्यालयले पुसको पहिलो साता नक्कली बिलबुक बनाउने गिरोह नियन्त्रणमा लिएपछि अनुसन्धानका क्रममा चोरीका गाडीको विषयमा जानकारी पाएको थियो। त्यस्ता केही गाडी अझै फेला पार्न नसकिएको एसएसपी राठौरले बताए। राठौरका अनुसार यस्ता गाडी किन्नेहरू ठगिएको भन्दै उजुरी लिएर प्रहरी कार्यालय पुग्ने गरेका छन्। पक्राउ परेका व्यक्तिविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान हुने र मुद्दा चलाइने 
राठौरले बताए। 

करोडौं मूल्यका गाडीहरू बरामद गरी अनुसन्धानका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। भन्सार छली गरेर आएका गाडीहरू  भन्सार कार्यालयले छानबिन गर्छ। निश्चित प्रक्रिया पुर्‍याएर लिलामीमा राख्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.