कुन बैंकको कति घट्यो ब्याजदर ?

कुन बैंकको कति घट्यो ब्याजदर ?
फाइल तस्बिर।

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि बैंकहरूले पछिल्ला हरेक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। माघ लागेसँगै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर साबिकको भन्दा अझै औसत ०.८२ प्रतिशत बिन्दुले घटेको छ। बैंकहरूले सूचना प्रकाशन गरेअनुसार बैंकहरूको माघको ब्याजदर पुस महिनाको भन्दा कम छ। विगत महिनादेखि नै ब्याजदर घट्ने क्रम जारी रहेकाले सेयर बजारमा पनि उछाल आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले साबित गरेको छ। ब्याजदर घट्ने खबरले लगानीकर्ता उत्साहित भएर कारोबार गरेको देखिन्छ। 

नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर, नीतिगत दरलाई साबिकको तुलनामा घटाएपछिका महिनामा ब्याजदर घटाउन दबाब पनि परेको हो। फलस्वरूप वाणिज्य बैंकले सार्वजनिक गरेको माघ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर एकल अंकमा कायम भएको छ। यद्यपि गत पुसमा पनि एकल अंकमै झरेको थियो। जब कि यसअघि गत असोजमा निक्षेपको ब्याजदर दोहोरो अंकमा अर्थात् औसत १०.२६ प्रतिशतसम्म थियो। यसपछिका महिनामा क्रमशः घट्दै गएको छ। बैंकहरूको माघ महिनामा घटेर व्यक्तिगत निक्षेपको अधिकतम औसत ब्याजदर ८.१७ प्रतिशतमा सीमित भएको छ। जबकि पुस महिनामा औसत ब्याजदर ८.९९ प्रतिशत थियो। यससँगै, बैंकहरूले संस्थापक निक्षेपको ब्याजदर पनि औसत ६.१२ प्रतिशतमा कायम गरेका छन्। 

सबै बैंकको ब्याजदर एकल अंकमा

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर घटाएर एकल अंकमा कायम राखेका छन्। बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा बढी सिटिजन्सको ९.१५ प्रतिशत, एनएमबी बैंकको ९ प्रतिशर तर नेपाल इन्भेस्टमेन्ट मेगाको ८.६ प्रतिशत रहेको छ। यसपछि क्रमशः नेपाल एसबीआईको ८.२५, हिमालयन ८.१५, सानिमा ८.१५ र कुमारी ८.११ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। यसपछि ग्लोबल आईएमई, नबिल, प्राइम र सिद्धार्थ बैंकको ८.१ प्रतिशत रहेको छ। यसबाहेक राष्ट्रिय वाणिज्य र स्ट्यान्डर्ड चार्टर्डको ८.०७ प्रतिशत छ। एनआईसी एसिया र प्रभु बैंकको ८.०६ प्रतिशत कायम गरिएको छ। यसबाहेक एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल बैंकको ८ प्रतिशत कायम गरिएको छ। वाणिज्य बैंकमध्ये सबैभन्दा कम निक्षेपको ब्याजदर कृषि विकास बैंकको ७.२६ प्रतिशतमात्रै निर्धारण गरिएको छ।

 संस्थापक निक्षेप औसत ६.१२ %

वाणिज्य बैंकहरूले माघ महिनाका लागि संस्थालाई दिने मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.१२ प्रतिशत कायम गरेका छन्। जसमा सबैभन्दा बढी भने एनएमबी बैंकले अधिकतम ७ प्रतिशत तोकेको छ। यसपछि ७ प्रतिशतभन्दा कम र ६ प्रतिशत माथि ब्याज निर्धारण गर्ने बैंकमा क्रमशः सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबीआई, हिमालयन, सानिमा, कुमारी, ग्लोबल आईएमई, नबिल, प्राइम, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया र प्रभु बेंक रहेका छन्। यसबाहेकका एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ६ प्रतिशत संस्थागत निक्षेपको ब्याजदर तोकेका छन्। यसबाहेक सबैभन्दा कम ब्याज तोक्नेमा कृषि विकास बैंकले ५.७६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बेंकले ५.२५ प्रतिशत निर्धारण गरेका छन्।

 ब्याजदर निर्धारणको नीतिगत व्यवस्था

बैंकहरूले ब्याजदर घटाउने भन्दैमा ह्वारह्वार्ती घटाउन वा बढाउन मिल्दैन। यसका लागि राष्ट्र बैंकले तोकेको परिधिभित्र रहनुपर्ने हुन्छ। केन्द्रीय बैंकका अनुसार ब्याजदर घटाउँदा पनि अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइन्छ। उदाहरणका लागि यदि ब्याजदर घटाउने भएमा अधिकतम औसत ८.५ प्रतिशतमा १० प्रतिशत कम गरी कायम हुने ७.६५ प्रतिशतसम्म मात्र वाणिज्य बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन्। यसैगरी यदि अघिल्लो महिना न्यूनतम ब्याजदरको औसत ५.५ प्रतिशत भएमा बढीमा १० प्रतिशतले मात्र कम गरी कायम हुने ४.९५ प्रतिशतसम्म मात्र वाणिज्य बैंकले न्यूनतम ब्याजदर निर्धारण गर्न सक्नेछन्। 

बैंकमा लगानीयोग्य पुँजी पर्याप्त छ। बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ। तर बैंकहरूको सीडी रेसियो ८०.१० प्रतिशत रहेकोले कुसन ९.९० प्रतिशत छ। बैंकहरूले १ सय रुपैयाँ लिँदा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्। तर बैंकसँग यतिबेला अतिरिक्त पैसा छ। दिनप्रतिदिन निक्षेप बढेको छ तर कर्जाको माग कम भएको र त्रैमासको अन्तिम महिना बैंकहरूले खासै थप नयाँ कर्जा पनि दिन चाहँदैनन्। यस अवधिमा सकभर साँवा तथा ब्याज, किस्ता उठाउनमा अर्थात् रिकभरीमै व्यस्त हुने भएकाले पनि नयाँ कर्जा प्रवाह हुन नसकेको बैंकरहरू बताउँछन्। 

यसै क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीका अनुसार बैंकमा तरलता अधिक छ। सुरुमा सबैले ब्याजदर महँगो भएकाले कर्जा गएन भने तर पछिल्ला महिनामा कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ तर कर्जाको माग खासै नभएको उनको भनाइ छ। वास्तवमा पैसाको फ्लो तल्लो तहसम्म नपुगेकाले पनि बजार केही प्रभावित भएको उनको अनुमान छ। यसैले सरकारले विकास खर्चमा बढी जोड दिनसमेत उनले सुझाए। 

घटेको ब्याजदरले लगानीकर्तामा उत्साह

महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएपछि ऋणीहरूलाई सहज हुने भएको छ। अझै आधार दर पनि एकल अंकमा आइसकेको छ। साथै, बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४ प्रतिशतभन्दा बढी गर्न नपाइने कार्यान्वयनमा आएको छ। यी सबै कारणले अब कर्जाको ब्याजदर घट्ने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसी बताउँछन्।  

बैंकमा पैसा बचतमा राख्ने निक्षेपकर्ताका लागि यो खुसीको खबर नहोला तर बैंकबाट कर्जा लिनेका लागि यो खुसीको खबर हो। निक्षेपको ब्याजदर घटिरहँदा लागत पनि कम हुन्छ। यसले अन्ततः कर्जाको ब्याजदर घटाउन मद्दत गर्छ। कात्तिक, मंसिर र पुस यी ३ महिनाको औसत सबै गणना गर्दा अब आधार दर पनि घट्छ। उक्त तीन महिनामा घटेको ब्याजदर पुस मसान्तको दोस्रा त्रैमासिक वित्तीय विवरणको आधार दरमा देखिन्छ। यसपछि ऋणको घटेको ब्याजदरअनुसार कर्जा प्रवाह हुन्छ। यसैकारणले सेयर बजारमा उत्साह छाएको अनुमान गर्न सकिन्छ। सेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जामा घटेको ब्याजदरले प्रोत्साहन मिल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.