रसुवागढीले चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने
रसुवा : निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले चैतदेखि विद्युत उत्पादन गर्ने भएको छ। अहिले परीक्षणको काम सुरु गरेको छ।
आयोजना गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र २ टिमुरेको भूभागमा पर्दछ। नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बहने भोटेकोसी नदीको पानी उपयोग गरी निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो। आयोजनाको बाँधस्थलको सफल परीक्षण पछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले जानकारी दिए।
चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा रसुवागढी आयोजना सुरु भएको हो। २०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत गृह भूमिगत सुरुङहरू तथा विभिन्न उपकरण परीक्षण भइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत गैरेले भने, ‘परीक्षण कै लागि अहिले निरन्तर पानी पठाउने काम भइरहेको छ, चैतभित्र उत्पादन थाल्ने छौं।’
कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने प्रशासन प्रमुख टिका पौडेलले जानकारी दिए। निर्माण भएका सम्पूर्ण संरचनाको चरणबद्ध रूपमा प्राविधिक परीक्षण गरेपछि व्यापारिक उत्पादनको गर्ने परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने हुन्छ।
यस अवधिमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, गाईवस्तु चराउने र ढुंगागिट्टी उत्खनन तथा नदीमा कुनै पनि किसिमका कार्यहरू नगर्न सार्वजनिक सूचना जारी गरेर आग्रह गरिएको पौडेलले बताए। आयोजनाको इलेक्ट्रोमेकानिकलको भारतीय कम्पनी भोइथ हाइड्रोले गरेको हो। सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक ग्रुप चाइनाले गरेको थियो।
आयोजनाबाट गतवर्ष नै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहे पनि २०७२ सालको भूकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा २०७७ असार ६ गते भोटेकोसी र लेन्दे खोलामा आएको बाढी ठूलो क्षति गरेको थियो। सुक्खा पहिरो, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा विद्युत उत्पादनमा ढिलाइ भएको हो।