उनले विश्वका १ सय ७८ वटा मुलुकमा साइक्लिङ’ यात्राको अभियान पुर्याउने अठोट लिएका छन्।
बुटवल : ललितपुर महानगरपालिका–७ ग्वार्को निवासी ज्ञान महर्जनको स्वभाव अरूको भन्दा फरक छ। उनमा अरू जो कसैले गरिरहेको काम भन्दा फरक काम गर्ने हुटहुटी चल्छ। त्यही हुटहुटकै कारण ११ वर्ष अघि उनले नवीनतम सोच बनाए। हाम्रो वातावरणको अस्तित्व दिनानुदिन मेटिँदै जान थाल्यो। टिलिक्क टल्किने सेता हिमालहरू समेत पग्लिएर सकिन थाले। यो क्रम बढ्दै गयो भन्ने मानव समाजको अस्तित्व नै मेटिन्छ भन्ने कुरा उनको मनमा विझाइरह्यो।
११ वर्षअघि उनले एउटा अभियानको थालनी विश्वसामु पुर्याउने निधोमा पुगे उनी। र, अभियानको नाम थिए, ‘ग्लोबल व्यारनिङ अवार्डनेस क्याम्पियन’। त्यही अभियान अहिले उनले विश्वका २२ वटा मुलुकसम्म पुर्याइसकेका छन्। अभियानको मुख्य उद्देश्य थियो, अब सबैले साइकलको यात्रालाई पहिलो प्राथमिकता दिनुपर्छ। अन्य सवारीसाधनबाट निस्कने धूलो, धूवाँले नै वातावरणको प्रदूषण बिग्रँदै गयो भन्ने उनले निष्कर्ष निकालेका हुन्।
४० वर्षीय महर्जनले आफ्नो विश्वव्यापी ‘साइक्लिङ’ यात्राको अभियानलाई विश्वका १ सय ७८ वटा मुलुकमा पुर्याउने अठोट लिएका छन्। अहिलेसम्म चीन, हङकङ, जापान, साउथ कोरिया, स्विडेन, डेनमार्ग, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, जर्मनी, स्विट्जरल्यान्ड, लक्जमबर, थाइल्यान्ड, मलेसिया, बंगलादेश, भारतलगायत देशका मुख्य मुख्य शहरहरूमा पुगेर महर्जनले साइकल यात्रा गरेर वातावरणलाई स्वच्छ राख्नका लागि सचेतना फैलाएका छन्। ती देशका मुख्य मुख्य शहरहरूमा पुगेर उनले बृहत साइकलको र्याली निकाल्छन्। उनको अभियानमा सबैले खुलेरै साथ दिन्छन्।
उनले आफ्नो अभियान थालेदेखि अहिलेसम्म साइकल बाहेक अन्य सवारीसाधनहरू चढेका छैनन्। सयौं किलोमिटर पनि उनले साइकलबाटै आफ्नो यात्रा पुरा गर्छन्। ‘अब केही दिनभित्र अष्टे«लिया र लन्डनमा जाने तयारी गरिरहेको छु’, महर्जनले भने, ‘पुगिसकेका सबै देशका नागरिकहरूको अत्यन्तै साथ र सहयोग पाएको छु। अझै कम्तीमा १२ वर्ष यो अभियानलाई निरन्तरता दिएर विश्वका सवै देशमा पुग्ने लक्ष्य छ।’ विश्वको अनुभव बटुलेर नेपाललाई स्वच्छ र सुन्दर वातावरणमैत्री समाज बनाउनका लागि योगदान पुर्याउने उनको अठोट छ।
‘काठमाडौंमा एक हजारवटा बिरुवाहरू रोप्ने अभियान थाल्दै छु’, महर्जन भन्छन्, ‘बिरुवा रोप्नका लागि महानगरपालिकालाई आग्रह गरेको छु। अनुमति आइसकेपछि यसको प्रक्रिया सुरु हुन्छ।’ उनले आफ्नो अभियानले विश्वकै ध्यानाकर्षण गराएकोसमेत अनुभव सुनाए। विश्वका विभिन्न सहरमा गरेको साइकल यात्रा अभियानमा जुटेको सहयोगले नेपालमा आएर बिरुवा रोप्ने सोचमा समेत आफू रहेको उनले प्रतिक्रिया दिए।
महालक्ष्मी नगरपालिका ललितपुरमा एक हजार बिरुवा रोप्नका लागि नगरपालिकाले अनुमति दिइसकेको उनले सुनाए। ‘अव्यवस्थित प्लटिङ गरेर शहरलाई कंक्रिट बनाउन भएन’, उनी भन्छन्, ‘सकिन्छ आफैंले बिरुवा रोपौं, सकिँदैन अरूले गरेको अभियानमा सहयोग गरौं। जसरी हुन्छ वातावरणलाई सफा र सुन्दर बनाउन लागौं।’ दिनप्रतिदिन भएका रुख बिरुवाहरू मासिँदै गएमा मानिसहरू अक्सिजन नपुगेरै मृत्युवरण गर्नुपर्ने स्थिति सिर्जना हुनेसमेत उनले खतरा देखेका छन्। विश्वका जुनसुकै देशमा पुग्दा यसबारेमा गराएको ध्यानाकर्षण सबैले साथ दिएर अनुशरण गर्ने गरेको महर्जनले अनुभव सुनाए।
‘यो अभियानमा लाग्न त्यति धेरै समय र पैसा पनि खर्च गर्नुपर्दैन’, उनले भने, ‘एउटा साइकल भए मात्र पुग्छ। न ठूलो बाटो चाहिन्छ, न पेट्रोल, न त डिजेल, मात्र मानिसहरूको मनमा समाज परिवर्तन गर्ने सोच भए मात्र पुग्छ।’ आफ्नो अभियानबाट समाजका नयाँ पुस्ताहरूले पनि अनुशरण गर्नका लागि उनले सुझाव दिएका छन्। प्रदूषित वातावरणलाई सफा र सुन्दर राख्नका लागि सबैभन्दा बढी भूमिका मानवजातिकै हुने भएकाले यसप्रति सबैले चासो दिन उनले आग्रहसमेत गरे। सरकारले आफूसहित सबै वातावरण बचाउँ अभियन्ताहरूलाई हौसला दिनेगरी नीति तथा कार्यक्रमहरू बनाएर साथ दिन उनले सुझाव दिए। ‘आफ्नै निजी लगानीमा वातावरण जोगाउनुपर्छ भनेर लागिरहेका छौँ’,उनले भने,‘हामीलाई केही सहयोग चाहिएन्, तर सरकारले जसरी हुन्छ वातावरण जोगाउने काम गर्नुपर्यो।’