फालेलुङमा आयातित खादा,माला र ब्याच प्रतिबन्द
फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकामा आयातित खादा,माला र ब्याचमा प्रतिबन्ध गरिएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धार्मिक प्रयोजनबाहेक अतिथि सत्कारका लागि प्रयोग गरिने आयातित सामग्रीहरुमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाको बिनियोजित बजेटबाट व्ययभार हुने सार्वजनिक कार्यक्रममा आयाति सामग्रीमा प्रतिबन्द गर्ने निर्णय गरेको हो । आयातित सामग्रीले अनावश्यक खर्च बढेको ठहर गर्दै पालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।
‘अतिथि सत्कारका लागि स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिने उद्देश्यले आयातित सामग्री प्रतिबन्ध गर्ने निर्णय गरिएको हो,’आङ्देम्बेले भने, ‘गाँउपालिका अन्तर्गतका सार्वजनिक निकाय, संघ,संस्था र विद्यालयमा यो निर्णय लागू हुन्छ ।’
आयातित खादा माला प्रयोग गरिएको बिल,भरपाइ पेश भएमा पालिकाबाट भुक्तानी नहुने उल्लेख गरिएको छ ।