९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुन्छ

९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुन्छ

डा. अरुण शाही, युरोपेली सर्टिफाइड मेडिकल अंकोलोजिस्ट हुन्। गत पुस महिनामा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार, २०२३ बाट सम्मानित डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अंकोलोजीको सहायक प्राध्यापकको रूपमा कार्यरत छन्। डा. शाहीको ‘नेपाली महिलाहरूमा स्तन क्यान्सरको ढिलो देखिने सम्बन्धित कारणहरू’ विषयक कार्यपत्रलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको थियो। क्यान्सर रोग विशेषज्ञ डा. शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश : 


क्यान्सर रोग कसरी लाग्छ ? 

शरीर अनगिन्ती कोषिकाले बनेको हुन्छ। ती अनियन्त्रित तरिकाले वृद्धि भएपछि अन्य तन्तुलाई पनि असर गर्छ। यस्तो अवस्थामा क्यान्सर रोग हुन्छ। अहिलेसम्म सयभन्दा बढी क्यान्सर रोग पत्ता लागेका छन्। सुरुमै पहिचान गर्न सक्ने हो भने क्यान्सरको उपचार शतप्रतिशत सम्भव छ। 

के कस्ता लक्षण देखिएपछि क्यान्सरको शंका गर्ने ?

विश्वमा हुने मृत्युको प्रमुख कारण क्यान्सर पनि बनेको छ। सामान्यतः खोकी दुईचार दिन लाग्छ। तर, लामो समयसम्म पनि खोकी निको भएन, खकारमा रगत देखा पर्‍यो भने शंका गर्नुपर्छ। वजन घट्ने, स्तनमा गाँठा भएको महसुस हुने, पेट दुख्ने, कब्जियत हुने, दिसा पातलो आउने, बान्ता आउनेलगायत विभिन्न लक्षण देखिएको अवस्थामा पनि क्यान्सरको शंका गर्नुपर्छ। कुन क्यान्सर हो ? त्यहीअनुसार विभिन्न लक्षण देखिन्छन्।

क्यान्सरका बिरामी हरेक वर्ष वृद्धि हुनुको कारण के हो ? 

मुख्यतः क्यान्सर हुनुको कारण खानपान र जीवनशैली नै हो। धूमपान, मद्यपान, मोटोपना र अस्वस्थ जीवनशैलीले गर्दा नै नेपालमा क्यान्सरका बिरामी बढिरहेका छन्। यसबाहेक ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या पनि देखिएको छ। घरमा हजुरबुवा, आमाबुवा वा नातेदार कसैलाई क्यान्सर छ भने सन्तानलाई पनि भएको पृष्ठभूमि पाइएको छ।

क्यान्सरका बिरामीको मृत्युदर कस्तो छ ? 

अधिकांश व्यक्ति समस्याले साह्रै गाह्रो बनायो भने मात्र जँचाउन पुग्छन्। जस्तै महिलाहरू स्तनको गिर्खा नदुख्दासम्म उपचारमा नजाने प्रवृत्ति छ। ९० प्रतिशत बिरामी क्यान्सरले जटिल अवस्थामा पुर्‍याइसकेपछि मात्र विज्ञ खोज्दै आएको पाइन्छ। त्यसैले नेपालमा क्यान्सरका बिरामीको मृत्युदर पनि बढी देखिएको छ। 

मधुमेह, उच्च रक्तचाप र थाइराइडमा झैं क्यान्सरका बिरामीले लामो समय औषधि सेवन गर्नुपर्छ ? 

सुरुकै अवस्थामा पहिचान गर्न सक्ने हो भने मधुमेह, उच्च रक्तचाप र थाइराइडभन्दा क्यान्सर केही कुरामा सहज हुन्छ। यी तीन प्रकारका रोग हुँदा मुख बार्नुपर्छ। खानपानमा बढी सजग हुनुपर्छ। तर, क्यान्सरमा केही गर्नु पर्दैन। त्यसैले यी तीन रोगभन्दा सहज प्रकारको रोगको रूपमा क्यान्सरलाई लिने गर्छु। तर क्यान्सर विभिन्न अंगमा सरिसकेको अवस्था छ भने यो जति खराब अरू कुनै रोग छैन। बिरामीमात्र होइन, पारिवारिक वातावरण नै तहसनहस हुन्छ। खर्च पनि बढी गर्नुपर्ने हुन्छ।

 क्यान्सरको रोकथाम तथा समयमै पहिचान गर्न के गर्नु पर्ला ?

क्यान्सरको रोकथाम र पहिचानका लागि परीक्षण (स्क्रिनिङ)मा ध्यान दिनुपर्छ। सुरुकै अवस्थामा पहिचान भयो भने ९० प्रतिशत क्यान्सर पूर्णरूपमा निको पार्न सकिन्छ। तर, ढिलो पहिचान हुँदा बिरामीको उपचार पनि खर्चिलो हुने र पूर्ण निको नहुन पनि सक्छ, त्यसैले सबै मानिसहरूले समयसमयमा आफ्नो शरीरको चेकजाँच गराउनु आवस्यक छ।

क्यान्सरको नेपालमै उपचार सम्भव छ ? 

९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुन्छ। रोबोटिक सर्जरी, प्रोटोन थेरापीलगायत केही उपचारविधि स्वदेशमा उपलब्ध हुन सकेको छैन। त्यसैले बाँकी एक प्रतिशतका लागि मात्र अन्य मुलुक जानुपर्ने हुन सक्छ। 

पाटन अस्पतालमा कस्ता किसिमका क्यान्सरका बिरामीको निःशुल्क उपचार हुन्छ ? 

सर्वप्रथम पाटन अस्पतालको व्यवस्थापन समूहलाई धन्यवाद दिन्छु। अस्पतालमा रेडिएसन (विकिरण) बाहेक सबै खालका उपचार सेवा उपलब्ध छन्। २०७६ जेठ महिनादेखि क्यान्सरका बिरामीको पनि उपचार सुरु भएको हो। अहिले दैनिक २० देखि २५ जनासम्म क्यान्सरका बिरामी केमोथेरापी उपचार सेवा लिइरहेका छन्। बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रवाह गरिरहेका छौं। एक किसिमको रगतको क्यान्सर (सीएमएल), पेटको क्यान्सर (जिस्ट), एक खालको मिर्गौला र फोक्सोको क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेका छौं। १५ हजारदेखि झन्डै २० लाखसम्म पर्ने औषधि निःशुल्क लिइरहेका छन्। नेपालमा यस्तो सुविधा दुई हजार व्यक्तिलाई उपलब्ध गराइएको छ।

चार किसिमको क्यान्सरको औषधि बिरामीलाई आजीवन दिइने हो ?

हो, पाटन अस्पतालको समन्वयमा म्याक्स फाउन्डेसनमार्फत औषधि पठाइएको हो। २० वर्षदेखि यो औषधि दिँदै आएका छौं। मापदण्डभित्र परेका नेपाली बिरामीलाई मात्र आजीवन दिइन्छ।

क्यान्सरका बिरामी उपचारका लागि अन्य मुलुकमा उपचार गर्न जाने प्रवृत्ति कस्तो छ ?

भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पनि कम जाने गरेको अनुभव छ। त्यहाँ जाने बिरामीमध्ये २० देखि ३० प्रतिशत नेपाली नै रहेछन्। त्यसमध्ये झन्डै ८० प्रतिशत नेपालीलाई उपचार कसरी भइरहेको छ भन्नेबारे पर्याप्त जानकारी नै छैन। सम्पत्ति बेचेर पनि उपचारका लागि भारत गएको प्रत्यक्ष देखेको छु। 

क्यान्सरको उपचार गर्न विदेश जानेलाई के सुझाव दिनुहुन्छ ? 

उपचार गर्न कहाँ जाने वा कोसँग उपचार गर्ने भन्ने बिरामीको अधिकारको कुरा हो। स्वदेशमै क्यान्सरका विज्ञ चिकित्सकहरू हुनुहुन्छ। बाहिर जाने नै हो भने पनि एक पटक नेपाली विज्ञ चिकित्सकसँग रायसल्लाह लिँदा बिरामीलाई धेरै फाइदा हुन्छ। अनावश्यक रूपमा खर्च र दुःख पाउनबाट बच्न सकिन्छ। 

 क्यान्सरको उपचारमा समान ढंगले सबै बिरामीसम्म कसरी पहुँच पुर्‍याउन सकिन्छ ?

बिरामीको संख्या वृद्धि भएअनुसार विज्ञ चिकित्सकको उत्पादन हुन सकेको छैन। चिकित्सक र बिरामीको अनुपात नै मिलेको छैन। दक्ष जनशक्तिसँग पूर्वाधार पनि अपर्याप्त छ। त्यसैले जनशक्ति र पूर्वाधारको विकास गर्नुपर्छ। म आफैं दूरदराजमा जन्मे हुर्केको कारण पनि तल्लो तहका जनताको अवस्थाबारे राम्रो जानकारी छ। शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ। त्यसपछि बल्ल समाजको तल्लो तहमा उपचारको पहुँच पुग्छ। 

क्यान्सरमा प्रयोग हुने केमोथेरापीको उपलब्धता र पहुँच कस्तो छ ?

अनियन्त्रित कोषिकाहरूलाई नष्ट गर्न केमो दिइन्छ। क्यान्सरको बिरामीलाई आवश्यक पर्ने केही औषधि विदेशबाट आयातीत हुन्छ। केही महँगा औषधिबाहेक अधिकांश औषधि नेपालमै पाइन्छ। बंगलादेशमा सरकारले क्यान्सरको औषधि निःशुल्क दिन्छ। नेपालमै क्यान्सरको औषधि बनाउन औषधि उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ। त्यसपछि सरकारले निःशुल्क औषधि दिन सके सबैको पहुँच पुग्न सक्छ। 

केमोथेरापी पटकपटक र केही समयको अन्तरालमा दिइन्छ, किन होला ?

केमोले शरीरमा आवश्यक नभएको र अनियन्त्रित तरिकाले वृद्धि भइरहेको कोषिकालाई नष्ट गर्छ। त्योसँगै शरीरलाई आवश्यक भएको कोषिकालाई पनि मार्छ। बिरामीलाई एक पटक दिएपछि फेरि केही समयमा ग्याप राखिन्छ। नचाहिने कोषिका नष्ट नभए पनि आवश्यक पर्ने कोषिका त शरीरलाई चाहिन्छ। यो बीचको ग्याप भनेको शरीरलाई आवश्यक पर्ने कोषलाई स्वस्थ राख्न समय दिइएको हो। खानपिनमा ध्यान दिन भनेको नै चाहिने कोषिकालाई स्वस्थ र बलियो राख्न हो। 

केमोथेरापी लिँदालिँदै पनि कतिपय बिरामीको ज्यान जान्छ, कारण के होला ? 

कहिलेकाहीँ केमोथेरापीले शरीरका अन्य संवेदनशील अंगहरूमा पनि असर गर्छ। क्यान्सरका एक प्रतिशतभन्दा थोरै बिरामीमा केमोथेरापी लिँदालिँदै ज्यान गएको पाइएको छ। क्यान्सरको स्थिति र बिरामीको शारीरिक अवस्थाले केमो कसरी दिने भन्ने निर्धारण गर्नुपर्छ। बिरामीको शारीरिक अवस्था हेरेर केमो दिइन्छ। डोज मिलाएर केमो दिनुपर्छ। 

सबै प्रकारका क्यान्सरको उपचार एकै ठाउँबाट दिन सके बिरामीलाई सहज हुन्थ्यो कि ?

हो, क्यान्सरका लागि टिमवर्क आवश्यकता पर्छ। क्यान्सरका साथै अन्य रोग पनि जोडिएको हुन सक्छ। शरीरका अन्य अंगमा पनि समस्या देखिन सक्छ। त्यसैले क्यान्सरको उपचार जटिल प्रकृतिको हुन्छ। क्यान्सरको उपचारका क्रममा मुटु, मिर्गौलालगायत अंगहरूमा पनि समस्या देखिन सक्छ। त्यस्तो बेला अन्य विज्ञ चिकित्सकको पनि आवश्यकता पर्छ। क्यान्सरको उपचारमा पनि केमोथेरापी दिने मेडिकल अंकोलोजिस्ट, रेडिएसन दिने रेडिएसन अंकोलोजिस्ट, सर्जरी, प्याथोलोजिस्ट, रेडियोलोजिस्टको आवश्यकता पर्छ। सरकारी अस्पतालबाट कम्प्रिहेन्सिभ उपचार सेवा दिनु आवश्यक छ। पाटन अस्पतालमा नयाँ भवन बनाउने योजना छ। त्यसबाट कम्प्रिहेन्सिभ उपचार सेवा दिने लक्ष्य छ। 

क्यान्सरको उपचारमा अपनाइने थेरापीहरू महँगो छ भन्छन् नि ?

वास्तवमा स्क्रिनिङदेखि हस्पिससम्मको व्यवस्थालाई क्यान्सरको उपचारको दायरामा राख्नुपर्छ। क्यान्सरका बिरामीको केमोथेरापी, रेडियोथेरापी र सर्जरी गरी तीन किसिमबाट उपचार भइरहेको छ। त्यसैले क्यान्सरको उपचार सेवा महँगो नै छ।

केमोथेरापीलाई सस्तो र सर्वसुलभ कसरी बनाउन सकिन्छ ?

केमो लेखेर दिए पनि कतिपय बिरामीले खरिद गरेर सेवन नगरेको पाएको छु। किनभने उनीहरूसँगै औषधि किन्ने पैसा नै छैन। केही समय खाए पनि बीचमै छोडिदिएको पाएको छु। औषधि महँगो छ, त्यसैले क्यान्सरको औषधि उत्पादनका लागि नेपालकै औषधि कम्पनीहरूलाई प्रवद्र्धन गर्नुपर्छ। स्वदेशमै क्यान्सरको औषधि उत्पादन गर्न सके धेरै सस्तो पर्थ्यो। 

सरकारले उपचारका लागि बिरामीलाई रकम उपलब्ध गराएको छ, यसमा तपाईंको टिप्पणी के छ ?

क्यान्सरको पुष्टि हुनेबित्तिकै संघीय सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रदेश तहमा पनि छुट्टै आर्थिक सहयोग दिने योजना सार्वजनिक भएको छ। बागमती प्रदेशले १ लाख ५९ हजार र लुम्बिनी प्रदेशले दुई लाख दिने घोषणा गरेको छ। यो पर्याप्त त छैन, यसले सुरुको उपचार वा सामान्य शल्यक्रिया गर्न सहयोग गर्छ। सरकारले सबैलाई एकै किसिमले एक लाख दिनेभन्दा क्यान्सरको प्रकृति हेरेर दिनुपर्छ।

क्यान्सरको उपचारमा कसरी समानता ल्याउन सकिन्छ ?

विकसित र विकासोन्मुख तथा अविकसित मुलुकबीच पनि उपचारमा असमानता छ। महिला र पुरुषबीच वा धनी गरिबबीच पनि उपचार पहुँचमा फरक छ। जातजातिबीच पनि उपचारमा असमानता छ। क्यान्सरजस्तो रोगको उपचारमा यस्तो असमानता हुनु नपर्ने हो, राज्यले सबैको उपचारमा समान पहुँच हुने नियम बनाउनुपर्छ। साथै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसमा ध्यानाकर्षण गराएको पनि छ। त्यसैले सन् २०२४ को नारा नै ‘क्लोज द केयर ग्याप’ राखिएको छ। सरकारले यसमा सहयोग गर्नुपर्छ। सरकारको सहयोगबिना उपचारमा असमानता हटाउन सकिँदैन। 

क्यान्सर हुनबाट कसरी जोगिन सकिन्छ ?

खानपिन र जीवनशैली स्वस्थकर हुनुपर्छ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन किशोरीहरूलाई खोपको व्यवस्था गर्नुपर्छ। सरकारले राष्ट्रिय खोपमा समावेश गरी लगाइदिनु पर्छ। स्तन क्यान्सरबाट जोगिन ४५ वर्षमाथिका महिलाले हरेक वर्ष म्यामोग्राम गर्नुपर्छ। महिलाले पाठेघरको प्याप स्मेयर गर्नुपर्छ। सरकारले म्यामोग्राम र प्याप स्मेयर परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्नुपर्छ। कलेजोको क्यान्सर हुनबाट जोगाउन हेपाटाइटिस बीको खोप दिन सकिन्छ। सरकारले उपचारभन्दा रोगको परीक्षण (स्क्रिनिङ)लाई प्राथमिकतामा राख्नुपर्छ। क्यान्सरको समयमै पहिचान गर्न सके राष्ट्रलाई नै फाइदा हुने हो। 

वंशाणुगत क्यान्सरको जोखिम कत्तिको हुन्छ ? कसरी सजगता अपनाउने ?

अहिलेसम्मका विभिन्न अध्ययनले ५ देखि १० प्रतिशतलाई वंशाणुगत हुन्छ। धेरैजसो वंशाणुगत छिट्टै नै थाहा हुनसक्छ। यसका लागि सजगता अपनाई बेलाबेलामा जँचाउनु पर्छ। लक्षणहरूप्रति सचेत हुनुपर्छ। यसबाहेक ९० प्रतिशत क्यान्सरको जोखिम अस्वस्थ खानपान र जीवनशैली नै हो। 

क्यान्सरका बिरामीलाई उपचारमा दायरामा कसरी छिटो ल्याउन सकिन्छ ? 

नेपालमा स्तन क्यान्सर वा अन्य क्यान्सर भएका महिला उपचार गर्न ढिलो आउने गरेका छन्। यसमा उनीहरूको सोचाइ नै जिम्मेवार छ। आफूलाई क्यान्सर भयो भने श्रीमान् वा छोराछोरीको अवस्था कस्तो होला ? भन्ने स्वयम् प्रश्न गरेर सोच्दै घरमा बस्छन्। बरु उल्टै धामीझाँक्री गर्ने वा आयुर्वेदिक उपचारतिर लाग्छन्। कोही चाहिँ उपचार खर्चिलो होला भनेर रोग लुकाएर बस्छन्। यो प्रवृत्तिमा परिवर्तन नहुँदासम्म चाँडै उपचार गर्न आउँदैनन्। 

क्यान्सरविरुद्ध जनचेतना फैलाउन र उपचारका लागि सरकारी, सामुदायिक र निजी क्षेत्रबीच साझेदारी गर्न सकिन्छ ?

यसका लागि सबैभन्दा पहिले कार्यविधि तयार गर्नुपर्छ। सरकारी, सामुदायिक र निजी क्षेत्रसँगको सहकार्य गरेर सबै प्रदेशमा प्रतीकारात्मक तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न सकिन्छ। समुदायमा आधारित पुनस्र्थापनात्मक तथा प्रशामक (क्यान्सर रोगीलाई उपचारका क्रममा खानपानको व्यवस्था) सेवालाई विकास र विस्तार गर्न सकियो भने उपचारमा दूरदराजमा बस्नेको पनि पहुँच पुग्न सक्छ। 

क्यान्सरलगायत नसर्ने रोगको नियन्त्रण एवम् उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन कस्तो रणनीति उपयुक्त हुन्छ ?

सर्वप्रथम त सरकारले नै नेतृत्वदायी भूमिका लिनुपर्छ। नसर्ने रोगबारे जनचेतना फैलाउनु पर्छ। गाह्रो नहुँदासम्म स्वास्थ्य संस्था नपुग्ने बानीमा सुधार ल्याउनु पर्छ। त्यसका लागि मिडिया एवम् सामाजिक सञ्जालको उपयोग गर्न सकिन्छ। त्यसैले क्यान्सरबारेको गलत बुझाइ हटाउन सचेतनालाई व्यापक बनाउनु पर्छ। क्यान्सरविरुद्ध प्रतीकारात्मक, प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ। त्यसपछि उपचारात्मक र पुनस्र्थापनात्मकका आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ। कम्प्रिहेन्सिभ उपचार सेवा प्रवाह गर्नुपर्छ। सरकारले रोगको पहिचानदेखि उपचारसम्मको व्यवस्था एउटै छानामुनि गर्नुपर्छ। 

 प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.