यो हो राजनीति
अब कहिल्यै मिल्न नसक्ने जस्तो गरेर मुख छोड्नेदेखि हात हालाहालसम्म हुन लाग्यो। अन्तत : एकले अर्कोलाई गालीगलौज गर्दै त्यो ‘मिटिङ’ छोडेर पाँचैजना नेता मिटिङ स्थलबाट बाहिरिए।
बिहानको रापिलो घाममा, ठूला पार्टीका उच्च पदस्थ नेताहरू ठूलो मिटिङ हलमा जम्मा भए।
नेता– दुई : तर, सर्त राखेर मात्रै एजेन्डाहरूलाई टेबल गर्र्ने।
दुई : आजका एजेन्डाहरू सीधै अस्वीकृत गर्ने।
चार : मेरो पनि सहमति छ यसमा।
एक : त्यस्तो पनि हुन्छ कहीँ ! एजेन्डा नै नहेरी...!
दुई : किन हुँदैन ?
एक : पहिले एजेन्डा हेरौं अनि छलफल गरौं। त्यसपछि निष्कर्ष निकाल्ने नि !
दुई : के हेर्ने, एजेन्डा न सेजेन्डा !
चार : हो, हो एजेन्डा के हेर्ने ! सीधै अस्वीकृत।
यतिञ्जेल चुप रहिरहेका नेता– पाँच बोले– ‘त्यसरी हुँदैन।’
‘हुँदैन भने वार्ता पनि हुँदैन।’ नेता–दुईले भने। चार नम्बरले उनको समर्थन गरे– ‘वार्ता बहिष्कार गर्छौं हामी !’
वार्ता भाँडिएला जस्तो स्थिति देखिएपछि नेता– एक चिन्तित देखिए। उनको यस्तो अवस्था देखेर नेता–तीनले सहमतिको बाटो रोज्दै भने– ‘हैन हैन साथी हो, शान्त...। शान्त...। यसरी उत्तेजित हुनु हुँदैन।’
नेता– पाँचले मध्यम कुरा गरे– ‘वार्ता त गर्नै छ, कम से कम एजेन्डाहरू त सुनौं न !’
तत्काल विरोध जनाइहाले नम्बर चारले– ‘के सुन्ने ? सुनेर के गर्ने ?’
‘ठीक छ सुन्ने, तर भनिसकियो– एजेन्डालाई सर्लक्क अस्वीकृत गर्ने भए सुन्ने।’ नम्बर दुईले आफ्नै अडान दोहोर्याए।
कुरो मिलेन। निकैबेर चकाचर्की पर्यो। अन्तत : मिटिङ नै नबसी हिँड्नुपर्ने स्थिति देखियो। त्यसपछि नम्बर एकले विनम्र स्वरमा भने– ‘ठीक छ साथी हो, ल मैले मानें। बस्न त बसौं !’
नम्बर दुई र चार चुप भए। पाँचैजना नेताहरू गोल–टेबलका वरिपरि बसे र गफ गर्न लागे।
गफ गर्दागर्दै यही क्रममा भुलाएर नम्बर एकले एउटा फाइल खोल्दै फकाउने भाकामा पहिलो एजेन्डा प्रस्तुत गरे– ‘ए साथी हो, यो पहिलो एजेन्डा पास गरौं न हो। सामान्य छ।’
दुई र चारका कान ठाडा भए र तिनका ध्यान नेता एकतर्फ आकृष्ट भयो।
नेता एकले नेता तीनलाई एजेन्डा पढ्न लगाए, उनी पढ्न लागे– ‘एजेन्डा नम्बर एक..., भुटानी शरणार्थी काण्डका सबै अभियुक्तका फाइल फेरि खोल्ने।’
‘बन्द... बन्द...। अब त्यो केसका फाइल कुनै पनि खोल्दै नखोल्ने।’ तत्काल नेता दुई बोलिहाले। र, त्यसको समर्थन गर्दै नेता चारले थपे– ‘हो हो, यो एजेन्डा सीधै अस्वीकृत।’
पहिलोले सम्झाए– ‘हैन, त्यो फाइल खोल्न त खोलौं न ! खोलेर के हुन्छ र !’
‘खोलेपछि बन्द गर्न झन्झट हुन्छ। त्यसैले खोल्दै नखोल्ने।’ नेता दुई बोले।
पाँचौं नरम भएर बोले– ‘केही फरक पर्दैन। कुनै तरिकाले पछि बन्द गर्न मिलिहाल्छ नि !’
नेता– दुईले अलिक ठूलो आवाज गरे– ‘खोल्नु नै किन ? खोल्दै नखोलेपछि टन्टै साफ !’
कुरो नमिल्ने देखिएपछि पहिलोले अर्को एजेन्डा पढ्न खोजे– ‘ल भैगो ! यो एजेन्डा स्थगित ! ... दोस्रो एजेन्डा पढ्छु म।’
‘भयो, भयो ! सबै एजेन्डा हेर्दै नहेरी अस्वीकृत गर्ने भनेर अघि नै भनेको होइन ?’ नेता– दुई पड्किए।
पहिलो बोले– ‘पढ्न त पढौं न ! ... सय किलो सुनकाण्डका...।’
‘अस्वीकृत... अस्वीकृत...।’ बीचमै नेता– दुई नेता चिच्याए।
पहिलो फेरि बोले– ‘अर्को एजेन्डा... एनसेल काण्ड...।’
‘अस्वीकृत...।’ नेता– चार चिच्याए।
अर्को एजेन्डा नेता– पाँचले प्रस्तुत गरे। फेरि अन्य–अन्य एजेन्डाहरू पनि पढिए। तर, कुनै पनि एजेन्डामाथि छलफल नै भएन। पढ्न लाग्दानलाग्दै नै वादविवाद सुरु भइहाल्थ्यो।
अब कहिल्यै मिल्न नसक्ने जस्तो गरेर मुख छोड्नेदेखि हात हालाहालसम्म हुन लाग्यो। अन्तत : एकले अर्कोलाई गालीगलौज गर्दै त्यो ‘मिटिङ’ छोडेर पाँचैजना नेता मिटिङ स्थलबाट बाहिरिए।
दिन बित्यो। रात ढलिसकेको थियो।
राजधानीको एक चर्चित रिसोर्टमा एउटा गजबको दृश्य देखियो।
दृश्यमा–
एउटा गोलो टेबलको वरिपरि उनै पाँचजना नेताहरू देखिए। टेबलमाथि एउटा ठूलो थाल सजाएर राखिएको थियो। थालमा दाल–भात–मासु, अचारलगायत चौरासी व्यञ्जन एकै ठाउँ मुछिएको थियो।र, मुछिएको त्यो व्यञ्जन पाँचैजना नेताहरूले एकसाथ खाइरहेका थिए।