पुँजीबजारसँग सम्बन्धित संस्था कुनले के गर्छन् ?

पुँजीबजारसँग सम्बन्धित संस्था कुनले के गर्छन् ?
फाइल तस्बिर।

काठमाडौं : सामान्यतया धितोपत्र अर्थात् पुँजीबजारमा लगानी गर्नेले यससँग सम्बन्धित निकाय वा बजार सहभागीबारे विस्तृत जानकारी राख्न आवश्यक छ। सेयर खरिदबिक्री प्रक्रियामा प्रवेश गर्नुअघि वा गरिसकेकालाई पुँजीबजारसँग सम्बन्धित संस्थाहरू कुनकुन छन् र यसले के गर्छन् भन्ने जानकारी लाभदायक हो। यसैले यहाँ पुँजीबजार सहभागी संस्थाहरू बारेमा चर्चा गरिएको छ।

विशेष गरेर बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित संस्थाहरूको नियमन गर्ने भूमिकामा नेपाल धितोपत्र बोर्ड (सेबोन) रहेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम बोर्डका काम, कर्तव्य र अधिकारहरू तोकेको छ। यसअनुसार बोर्डले पुँजीबजारको विकाससँग सम्बन्धित विषयका सम्बन्धमा नेपाल सरकारलाई आवश्यकतानुसार परामर्श दिने, धितोपत्र बजार, धितोपत्र व्यवसाय सञ्चालन अनुमति दिने, काम कारबाहीको नियमन तथा अनुगमन गर्ने र नियमानुसार कार्य गरेको नपाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गर्छ। यसैगरी, बोर्डले धितोपत्र सार्वजनिक रूपमा निस्कासन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने, दर्ता भएको धितोपत्रको निष्कासन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित तथा व्यवस्थित गर्छ। यससँगै सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने जिम्मा बोर्डको हो। ‘धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियम स्वीकृत गर्ने, धितोपत्र कारोबारसम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई नियमित तथा व्यवस्थित गर्ने, धितोपत्र बजारको प्रवद्र्धन, सम्वद्र्धन र स्वच्छ सञ्चालनका लागि धितोपत्रको परिमाण र कारोबारको तरिकालाई नियमित गर्न आवश्यक व्यवस्था गर्ने गराउने, धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबारसम्बन्धी अन्य कसुर हुन नदिन आवश्यक व्यवस्था गर्नेका धितोपत्र बोर्डको कार्यक्षत्र हो,’ ऐनले तोकेको छ।

यस्तै, बोर्डले वस्तु विनिमय बजारतर्फ वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायीको पनि नियमन गर्छ। बोर्डले नियमन तथा सुपरिवेक्षण गर्ने प्रत्यक्ष बजार सहभागीमा एउटा नेपाल स्टक एक्सचेन्ज लि., एउटा सीडीएस एन्ड क्लियरिङ लि. ३ क्रेडिट रेटिङ कम्पनी, २० सामूहिक लगानी कोष (दर्ता), २ धितोपत्र व्यापारी (स्टक डिलर), ३० मर्चेन्ट बैंकर, ८५ वटा धितोपत्र दलाल (स्टक ब्रोकर), १ सय ३ निक्षेप सदस्य, ४३ आस्वा सदस्य, १ सय ३९ योग्य संस्थागत लगानीकर्ता, १२ विशिष्टीकृत लगानी कोष र २ सय ५४ सूचीकृत संगठित संस्था रहेका छन्। यसअनुसार बोर्डले कुल ६ सय ९३ संस्थाको नियमन गर्दछ।

धितोपत्र बजार संयन्त्र धितोपत्र बजारको क्षेत्र तथा दायरा व्यापक हुँदै गएको छ। धितोपत्रको प्राथमिक बजारमा सेवा उपलब्ध गराउने मर्चेन्ट बैंकर, निक्षेप सदस्य, आस्वा सदस्य बैक तथा वित्तीय संस्था र योग्य संस्थागत लगानीकर्ता रहेका छन् भने धितोपत्रको दोस्रो बजारमा धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, रेटिङ कम्पनी, धितोपत्र दलाल व्यवसायी तथा विभिन्न क्षेत्रका सूचीकृत कम्पनी रहेका छन्। साथै खुलामुखी तथा बन्दमुखी सामूहिक लगानी योजना रहेका छन्। हालै विशिष्टीकृत लगानी कोष व्यवस्थापकले पनि योजनाहरू सञ्चालनमा ल्याएका छन्। धितोपत्र बजारीको दायरा र संरचना बढ्दो रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नेपाल

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नेपालको एक मात्र स्टक एक्सचेन्ज हो। यो सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रलाई तरलता प्रदान गर्नुका साथै यसको निर्वाध खरिदबिक्री सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोस्रो बजार स्टक एक्सचेन्ज हो। 

नेप्सेले सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने ब्रोकर बजार उपलब्ध गर्दछ। नेप्सेले निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ। पुँजीबजारको विकास र विस्तारका लागि सीडीएस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्डअन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ। पुँजीबजारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐनअनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीको नियमन तथा अनुगमन गर्छ।

नयाँ कम्पनीलाई स्टक एक्सचेन्जमा कारोबार योग्य हो भनेर सूचीमा राख्ने र सूचीकृत नभएका वा खारेजी भएका कम्पनीलाई ओटीसी मार्केटमार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गर्छ। यसअनुरूप नेप्सेले स्वच्छ, पारदर्शी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ। नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजीबजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ। यसमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल औद्योगिक विकास निगम    र ब्रोकरहरूका लगानी रहेको छ।

सीडीएस एन्ड क्लियरिङ

सीडीएस एन्ड क्लियरिङ लिमिटेड, कम्पनी ऐनअन्तर्गत स्थापना भएको संस्था हो। यो नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्वारा नेपालमा केन्द्रीकृत निक्षेप, क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्छ। सो कम्पनीको मुख्य उद्देश्य विभिन्न उपकरणहरू (इक्विटी, बन्ड, र वारेन्टहरू आदि) का लागि विशेषगरी अभौतिकीकृत रूपमा धितोहरू ह्यान्डल गर्न केन्द्रीय निक्षेपको रूपमा काम गर्छ। सीडीएससीलाई सेयर जारी गरेका संस्थाहरूको धितोपत्र प्रमाणपत्रहरू सुरक्षित गर्ने, जम्मा गर्ने र निकाल्ने र उक्त उपकरणहरूको स्वामित्व र अधिकार हस्तान्तरण गर्ने जिम्मा दिइएको छ। नेपाल धितोपत्र बोर्डको धितोपत्र नियमावलीअन्तर्गत कम्पनीले निक्षेपको कार्य सम्पादन गर्नेछ। यो नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को व्यवस्थाअनुसार केन्द्रीय निक्षेप र राफसाफ तथा फस्र्योट सेवा सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज लि.को पूर्ण स्वामित्वमा अर्थात् सहायक कम्पनीको रूपमा रहने गरी २०६७ सालमा स्थापित केन्द्रीय निक्षेपका साथै राफसाफ तथा फस्र्योट सेवा प्रदान गर्ने कम्पनी हो। सीडीएससी नेपालको एक मात्र धितोपत्रको केन्द्रीय निक्षेप कम्पनी हो। सीडीएससीले धितोपत्रको निक्षेप, भुक्तानी र हस्तान्तरण गर्छ। यस्तै, प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रहरू हितग्राहीको खातामा प्रत्यक्ष रूपमा अभौतिकरण गरी जम्मा गर्ने, हितग्राहीहरूका धितोपत्रहरूलाई विद्युतीय रूपमा सुरक्षित साथ राख्ने र पुस्तकीय प्रविष्टिको आधारमा सम्बन्धित हितग्राही खातामा डेबिट÷क्रेडिट गरी हिसाब खाता तयार गर्न, सहजता प्रदान गर्ने, निष्कासनकर्तालाई प्राथमिक निष्कासन र संस्थागत गतिविधि तथा लाभहरूको छिटो छरितो वितरण गर्दछ।

हितग्राहीहरूलाई धितोपत्रको धितो बन्धकी राख्न तथा बन्धकी रोक्का फुकुवाको सेवा प्रदान गर्ने, निष्कासनकर्ताको धितोपत्रको हिसाब मिलान सेवा प्रदान गर्ने र अद्यावधिक विवरण उपलब्ध गराउने काम गर्छ। सीडीएससीसँग प्रत्यक्ष सम्बन्धित पक्षहरू अन्तर्गत हितग्राही (बेनिफिसरी वनर), निक्षेप सदस्य, सेयर रजिस्ट्रार वा रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, राफसाफ सदस्य, निष्कासनकर्ता तथा धितोपत्र दलालहरू रहन्छन्।

क्रेडिट रेटिङ कम्पनी

क्रेडिट रेटिङ भनेको विशेष गरेर निष्कासनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने लगायत तत्सम्बन्धी प्रक्रिया समेतलाई बुझनुपर्दछ। यस व्यवसायलाई नियमित र व्यवस्थित गर्नका क्रेडिट रेटिङ नियमावली, २०६८ कार्यान्वयनमा रहेको छ। धितोपत्रको सार्वजनिक निष्कासन तथा कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तरको मूल्यांकन गर्ने एवम् राय प्रकट गर्ने कार्य क्रेडिट रेटिङ हो।

संगठित संस्थाले जारी गर्ने प्राथमिक निष्कासन, थप निष्कासन (फर्दर पब्लिक इस्यु), हकप्रद निष्कासन, अग्राधिकार सेयर निष्कासन, ऋणपत्र निष्कासन तथा बोर्डले तोकेको अन्य सार्वजानिक निष्कासनमा निष्कासनकर्ता संस्थाले क्रेडिट रेटिङ गर्नुपर्छ। त्यस्तै कुनै व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँँ वा सोभन्दा बढी रकम ऋण तथा सापटीका लागि उक्त व्यक्ति वा संस्थाको सावाँ र ब्याज तिर्ने क्षमताको मूल्यांकन गर्नुपर्छ। रेटिङ संकेत भन्नाले निष्कासनकर्ताले प्रयोगमा ल्याउने गरी रेटिङ नियमावलीको अधीनमा रही धितोपत्र सम्बन्धमा क्रेडिट रेटिङ संस्थाले स्तरमान जनाउने संकेत वा अन्य स्तरमान अपनाएर व्यक्त गरेको धारणालाई बुझ्नुपर्छ।

क्रेडिट रेटिङ संस्था भन्नाले क्रेडिट रेटिङ व्यवसाय गर्न बोर्डबाट अनुमति प्राप्त संस्था सम्झनुपर्छ। यस्ता संस्थाले सार्वजनिक निष्कासनकर्ता कम्पनीको स्तर, निश्चित प्रकारका ऋण दायित्वहरू तथा ऋणपत्र निष्कासनकर्ताका लागि रेटिङस्तर प्रदान गर्दछ। उक्त संस्थाले निष्कासनकर्ता कम्पनीको ऋण तिर्नसक्ने क्षमताको विचार गर्दछ। साख मूल्यांकन संस्थाले गर्ने साख मूल्यांकनले अन्य कुराको अतिरिक्त ब्याजदर निर्धारणमा समेत सहयोग पु¥याउँछ। 

साखस्तरको लगानीकर्ता, निष्कासनकर्ता, लगानी बैंक, दलाल व्यवसायी तथा सरकारले उपयोग गर्दछन्। कुनै पनि संगठित संस्थाले धितोपत्र सार्वजनिक निष्कासन गर्ने भएमा निष्कासन गर्नु पूर्व क्रेडिट रेट्री संस्थामार्फत रेटिङ गराएर मात्र निष्कासन गर्नुपर्ने हुन्छ। कम्तीमा तीन करोड रुपैयाँँभन्दा बढी मूल्यको सेयरको सार्वजनिक तथा हकप्रद निष्कासन गर्नुपर्छ। तर, बोर्डले आवश्यक देखेमा तीन करोड रुपैयाँँभन्दा कम मूल्यको सेयरको निष्कासनमा पनि रेटिङ गराउन सक्छ।

सामूहिक लगानी कोष

सामूहिक लगानी कोष भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मामा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीलाई समानुपातिक रूपले वितरण गर्न धितोपत्र ऐनबमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समयसमयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रमलाई सामूहिक लगानी कोष भनिन्छ। सामूहिक लगानी योजना ट्रस्टको रूपमा स्थापना हुन्छ जसमा कोषको स्थापना तथा प्रवद्र्धन गर्ने कोष प्रवद्र्धक, कोषको सुपरिवेक्षण गर्ने कोष सुपरिवेक्षक, कोषको रकम लगानी तथा व्यवस्थापन गर्ने लगानी व्यवस्थापक, कोषको डिपोजिटरी कार्य गर्ने डिपोजिटरी तथा एकांक होल्डरहरूको सम्पत्ति सुरक्षाको जिम्मा लिने ट्रष्टी आदि हुन्छन्। सर्वसाधारण लगानीकर्ताका लागि सामूहिक लगानी योजना एकदमै उपयुक्त लगानीको माध्यम हो किनकि यसले तुलनात्मक रूपमा न्यून लागतमा व्यावसायिक तवरबाट लगानी गर्ने अवसर प्रदान गर्दछ। हाल नेपालमा २० कोष दर्ता भई विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू सञ्चालन गरिरहेका छन्।

धितोपत्र व्यवसाय

धितोपत्रसम्बन्धी व्यवसाय गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ६३मा व्यवस्था छ। यसअनुसार धितोपत्र व्यवसाय भन्नाले धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रीय निक्षेप सेवा वा डिपोजिटरी सेवा, सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र दलाल, धितोपत्र व्यापार र बजार निर्माता निष्कासन तथा बिक्री प्रबन्ध गर्नु हो। यसका साथै लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूत र सेयर रजिस्ट्रार (मर्चेन्ट बैंकिङ), लगानी परामर्श सेवा तथा धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा र बोर्डले धितोपत्र व्यवसाय भनी तोकिदिएको अन्य कार्य जस्तैः योजना व्यवस्थापक तथा डिपोजिटरी आदिलाई धितोपत्र व्यवसाय भनेर बुझिन्छ।

मर्चेन्ट बैंकर

मर्चेन्ट बैंकर भनेको धितोपत्रको प्राथमिक निष्कासन कार्य प्रबन्धको जिम्मा लिने, धितोपत्रको प्रत्याभूति गर्ने, धितोपत्रको सेयर रजिस्ट्रेसन गर्ने, धितोपत्र लगानी व्यवस्थापन कारोबारका लागि दरखास्त संकलन एवम् वितरणजस्ता कार्यहरू गर्ने तथा संस्थागत परामर्शदाताको रूपमा कार्य गर्ने गरी बोर्डबाट अनुमति प्राप्त संस्थालाई मर्चेन्ट बंैकर भनिन्छ। हाल नेपालमा ३० वटा मर्चेन्ट बैंकर कार्यरत रहेका छन्।

धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)

धितोपत्र दलाल व्यवसायी भनेको ग्राहकको आदेशअनुसार ग्राहकको नामबाट मात्र धितोपत्र खरिद वा बिक्री गरी धितोपत्र दलाली सेवा प्रदान गर्ने कार्य गर्न धितोपत्र व्यवसायीको रूपमा बोर्डबाट अनुमति प्राप्त कम्पनीलाई धितोपत्र दलाल व्यवसायी भनिन्छ। धितोपत्र दलाल व्यवसायी अन्य कार्य गर्न नसक्ने प्रावधान रहेको छ। हाल नेपालमा करिब ८५ वटा धितोपत्र दलाल व्यवसायी कार्यरत रहेका छन्।

धितोपत्र व्यापारी (स्टक डिलर)

धितोपत्र व्यापारी भनेको आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्नु हो। साथै बोर्डबाट अनुमतिपत्र लिई धितोपत्र दलालको कार्य गर्ने, योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्ने र धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्ने गरी बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीलाई धितोपत्र व्यापारी भनिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.