टि+२ कार्यान्वयनमा चुनौती

टि+२ कार्यान्वयनमा चुनौती

काठमाडौं : धितोपत्र कारोबार भएको दुई कार्य दिनभित्र कारोबार भएको धितोपत्र तथा रकमको राफसाफ तथा फस्र्योट हुनुपर्ने व्यवस्था छ। तर यो नीतिगत व्यवस्था कार्यान्वयनमा विकृति देखिएको छ। नेपाल धितोपत्र बोर्डले तीन वर्षअघिदेखि लागू गरेको टि+२ ब्रोकर कम्पनी (दलाल) का पहुँच नभएका सोझासाझालाई मात्रै लागू भएको तर पहुँचवालामा भने मनोपोली भएको लगानीकर्ताबाट गुनासो आएको छ। 

सेयर कारोबारी राजु चौहानले १३ हजारमा बिक्री गरेको आईपीओ ब्रोकरले एक महिनापछि त्यो पनि ८ हजार ४ सय रुपैयाँमात्रै भुक्तानी गरेको गुनासो गरे। उनको ब्रोकरसँग सीधै पहुँच छैन। ‘पैसा लिन फोन, म्यासेज गर्दा प्रतिउत्तर आउँदैन। अनलाइन सेक्युरिटीले डुबायो। सेयर बिक्री गरेको पैसा एक महिना हुँदासम्म पनि चुक्ता गरिदिएन,’ लगानीकर्ता चौहान दुःखेसो गर्छन्। बाँकी पैसा लिन पनि ब्रोकरसँग पहुँच भएकाहरूलाई गुहारिरहेका छन् तर चौहानले पैसा हात पार्न सकेका छैनन्। यस्तो व्यवहारले उनी ब्रोकर नै परिवर्तन गर्ने मनसायमा पुगेका छन्।

यस्तै अर्का लगानीकर्ता मेघप्रसाद श्रेष्ठ भन्छन्, ‘सेयर खरिद गर्दा अर्को दिन फोन आउँछ र खरिद गरेको भोलिपल्ट तिरिसक्नुपर्छ। तर सेयर बिक्री गर्दा रकम पाउन एक हप्ता कुर्नुपर्छ।’ तर टि+२ शतप्रतिशत दुवैतर्फबाट लागु हुन नसक्ने केही लगानीकर्ताको तर्क छ। यसैक्रममा यो लागु गर्दा कार्यान्वयन नभएमा दुवैलाई समान पेनाल्टीको व्यवस्था गर्न केही लगानीकर्ताहरू बताउँछन्। ‘ब्रोकर होस् वा लगानीकर्ता जस्ले पैसा समयमै बुझाउँदैन उसलाई पेनाल्टी दिने व्यवस्था गर्नुपर्छ। दुवैतर्फबाट समयमा पैसा पाउन यस्तो व्यवस्था आवश्यक छ।’ लगानीकर्ताहरू बताउँछन्। 

दैनिक ६–७ जना सेयर लगानीकर्ताबाट बिक्री गरेको सेयरको पैसा नपाएको भन्दै गुनासो सुनाउने गरेको लगानीकर्ता नवराज दाहाल जानकारी दिन्छन्। यो समस्याले विकराल रूप लिएको र ब्रोकरबाट पहुँच नपुगेका सोझासाझा लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ। सेयर बिक्री गरेपछिको दुई दिनमा यसबापतको पैसा बिक्रीकर्ताको खातामा आउनुपर्ने प्रावधानलाई टि+२ मानिएको छ। अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भइसकेको धितोपत्रहरू भुक्तानी फस्र्योट गर्नुपर्ने समय अवधिलाई टि+२ भनिन्छ। टि+२ मा राफसाफ तथा फस्र्योट प्रक्रिया सम्पन्न गर्न टि+१ अर्थात् कारोबार गरेको भोलिपल्टसम्ममा खरिदकर्ताले खरिद गरिएको धितोपत्रबापतको रकम बुझाउनुपर्ने व्यवस्था छ। त्यसपछि टि+२ मा बिक्रीकर्ताले रकम प्राप्त गर्नेछ र खरिदकर्ताले धितोपत्र प्राप्त गर्नेछ। 

लगानीकर्ता दाहालका अनुसार अहिले पनि ब्रोकरको पैसा उठेन, कोष व्यवस्थापन गर्न सकेन भन्ने सुनिन्छ। उनी भन्छन्, ‘यसो हुनु भनेको ब्रोकरले टि+२ लाई नअपनाएर भएको दाहालको तर्क छ। मलाई कारोबारमा समस्या नपरे पनि धेरैले बिक्री गरेपछि खातामा पैसा नआएको, ढिला भएको सुनाउँछन्। यसो हेर्दा ब्रोकरले पहुँचवालालाई २०–२५ लाख उधारो दिइरहँदा यो पैसा अरू सम्पर्कमा नआएका, टाढा भएका र पहुँच नपुगेकाहरूलाई भने झुलाइराखेको छ।’ दाहालका अनुसार करिब १० देखि १५ प्रतिशत सक्रिय कारोबार हुने रकम (१ अर्बको कारोबार हुँदा १० करोड जति) ब्रोकरका कारणले गर्दा अहिले कारोबार भइराखेको छैन।

‘बिक्री गरेपछि खातामा पैसा तोकिएको समयमा आउने स्थिति छैन। मैले त ब्रोकरलाई चिनेको छु, पहुँच छ, खातामा राखिदिन भन्नासाथ राख्छन्। तर पहुँच नभएकालाई धेरै समस्या भोग्नु परेको छ। अहिले ब्रोकरहरूले सिस्टमले दिएन भनेर पनि बहाना बनाएर ढिलाइ गरेका छन्। प्रणालीमा समस्या भए सीडीएससी एन्ड क्लियरिङ्स, एनसीएचएललाई सुधार्न भन्नुपर्‍यो।’ उनले अन्नपूर्णसँग भने। 
साथै केही ब्रोकरले भने केवाईसी अपडेड नभएर भुक्तानी नभएको भन्ने गरेको छ। ब्रोकरसँग ग्राहकसमक्ष सूचना पुर्‍याउने माध्यम छ। तर त्यस्ता ग्राहकलाई इमेल र फोनबाट सूचित गरेर भुक्तानी टुंग्याउन सक्छ। यसो नगर्नुको कारण उस्ले सेयर बेच्यो भने पैसा हाल्नु पर्दैन भन्ने सोच ब्रोकरमा हाबी भएको दाहालको भनाइ छ। ‘यसो हुँदा निरन्तर कारोबार गर्न नदिने, अल्झाउने र बजारमा चलेका ठूलाबडालाई उधारोमा ट्रेड गराउने प्रवृत्ति छ।’ दाहालले भने। 

केही ब्रोकरहरूले सेयर बिक्री गरेका क्लाइन्टलाई नमागेसम्म पैसै नदिने देखिएको एक ब्रोकरले स्वीकार गरे। ‘बिक्री गरेको पैसा खातामा राखिदिँदा कतिपय लगानीकर्ताले भने नपठाएको भए हुन्छ फेरि भोलि त्यहीँबाटै ट्रेडिङ गर्थें भन्नेहरू पनि छन्। खरिदबिक्रीको पैसा खातामा पठाउँदा कनेक्ट आईपीएस वा ईसेवाले शुल्क काट्छ। बरु नपठाई दिनुस् फेरि किन्दा त्यहीँबाट कटाउनुस् भन्ने लगानीकर्ताहरू पनि छन्। यसो हुँदा कस्लाई पठाइदिने कस्लाई नपठाउने भन्ने थाहै हुँदैन।’ एक ब्रोकरले अन्नपूर्णसँग भने, अर्को समस्या अहिले धेरैजसो रेमिट्यान्स खाता खोलेका विदेशमा रहेकाहरूको पनि भएको बताइन्छ। 

अधिकांश गुनासो गर्नेमा विदेशमा बस्ने लगानीकर्ता त्यो पनि आईपीओमा सेयर बेच्नेहरूका रहेको ब्रोकरको भनाइ छ। विदेशमा बस्नेको रेमिट्यान्स खाता हुन्छ। यो खातामा कनेक्ट आईपीएसबाट पैसा पठाउँदा जाँदैन। यसैले उनीहरूले समयमा पैसा नपाउने समस्या भएको हो। अधिकांश लगानीकर्तालाई टि+२ भनेको के हो, कसरी गणना हुन्छ भन्ने थाहा नभएकाले बढी गुनासो गर्ने गरेको ब्रोकरहरूको भनाइ छ। ब्रोकर कम्पनीका अनुसार प्रायः आईपीओ परेपछि सेयर बेच्नेहरूले राफसाफ नहुँदै आजको भोलि नै माग्छन् तर राफसाफ गर्न बिक्री गरेको दिनबाट कम्तीमा तीन दिन लाग्छ। पछिल्लो समय बैंकहरू मर्जर भएका छन्। त्यसो हुँदा केवाईसी अपडेट नभएका, खाता परिवर्तन भएको ब्रोकरमा जानकारी नदिँदा अधिकांश लगानीकर्ताको बिक्री सेयर भुक्तानीमा समस्या देखिएको ब्रोकर कम्पनीको भनाइ छ। ‘साँच्चै मर्कामा परेका लगानीकर्ता पनि छन्।

तर सबैलाई एउटै बास्केटमा हाल्नु भएन। कारोबारको राफसाफ नेटिङमा हुन्छ। जस्तैः कुनै ब्रोकरले १० करोडको खरिद गर्‍यो र १२ करोडको बिक्री गर्‍यो भने १२ करोडलाई त १० करोड पैसा उठाएर बाँड्नु पर्छ। यसरी नेटिङ हुँदा बाहिरबाट आउने दुई करोड रुपैयाँमात्रै हो। भित्रै भएको १० करोड पनि खरिद गर्ने लगानीकर्ताबाट समयमा नउठ्दा भुक्तानीमा ढिलाइ हुने गरेको हो,’ एक ब्रोकरले प्रष्ट्याए। उनका अनुसार खरिदकर्ताले सेयर किनेपछि दुई दिनमा दिनुपर्ने तर नतिर्ने, मोबाइल अफ गरेर बस्ने प्रवृत्ति छ। मुख्य समस्या राफसाफको हो। यसलाई सुनिश्चित नगरेसम्म यो समस्या दोहोरिरहने सेयर विश्लेषक कृष्ण गिरी बताउँछन्। यसैले सेवोनले यो कारोबारलाई उधारोभन्दा नगदीमा हुने नीति नल्याएसम्म यो समस्या हल नहुने उनको तर्क छ। 

यता स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा भने हल्लाको पछि लागेर ब्रोकरलाई बदनाम गर्न नहुने बताउँछन्। उनका अनुसार सेयर बेच्दा होस् वा किन्दा भोलिपल्टै पैसा माग्ने काम ब्रोकरले गर्ने गरेको छ। ‘आजको दिनमा किनबेच टि+० मा हुन्छ। टि+१मा लगानीकर्ताले किनेको सेयरबराबरको पैसा भुक्तानी गर्छन्। पैसा भुक्तानी गरेपछि मात्रै बल्ल सेयर ट्रान्सफर हुन्छ। सेयर बेच्ने लगानीकर्ताले टि+१मा सेयरहरू ब्रोकरको खातामा सार्नुपर्छ, नत्र भने क्लोज आउट बढ्छ अर्थात् २० प्रतिशत जरिबानामा पर्छ। 

बिक्री गरेको पनि र किनेको पनि ब्रोकरले भोलिपल्टै माग्ने हो। किनेको सेयर भोलिपल्टै आउँदैन। टि+२ अनुसार राफसाफ हुन्छ। यसमा नेप्से, सीडीएससँगको प्रक्रिया हुन्छ,’ उनले भने, ‘यसपछि बिल बनाउने काम हुन्छ। टि+३ मा किन्ने लगानीकर्ताको पैसा तिरेको छ भने सेयर पठाउने काम हुनछ। बेच्ने लगानीकर्ताले सेयर पठाएको छैन भने जरिबानामा पर्छ। समयमै सबै भएको छ भने खातामा जान्छ।’ ब्रोकरले आफ्ना पहुँचवालालाई काँखी च्याप्यो भन्ने आरोप कहिल्यै समाधान नहुने उनको भनाइ छ। आफूहरूले कसैलाई विभेद नगरेको र कार्यालय समय अवधिभर जति काम हुन्छ सोही गर्ने गरेको उनको तर्क छ। अहिले डिजिटल नै पैसा खातामा पठाउने गरेकोमा अधिकांश लगानीकर्ताको मर्जर भएको बैंकमा भने पैसा ट्रान्सफर हुन प्राविधिक समस्या भएकोले देखिएको उनले बताए। यसर्थ मर्जर भएको बैंकको खाता नम्बर ब्रोकरमा अध्यावधिक गर्न आवश्यक छ, यसो नगर्नेलाई यस्तो समस्या परेको उनले बताए। 

यता नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष तथा कार्यकारी निर्देशक डा.नवराज अधिकारी टि+२ भनेपछि सोहीअनुसार ब्रोकरले कार्यान्वयन गर्नैपर्ने बताउँछन्। ‘कारोबार भएको दिन छोडेर थप दुई दिनमा राफसाफ हुनुपर्छ। यदि त्यसो भएको छैन भनेर बोर्डमा गुनासो आए हामी समाधान गर्नेछौं। सेवोनले ऐन, नियममा परिपालना नभएका व्यवस्थालाई सकारात्मक रूपमा लिँदैन। नीतिमा विकृति आएको छ भने बोर्डमा गुनासो आएमा सम्बोधन हुन्छ।’ डा. अधिकारीले अन्नपूर्णसँग भने।

यसरी लागू गरिएको थियो ३ वर्षअघि टि+२

नेपाल धितोपत्र बोर्डले टि+२ लागू गरेको करिब तीन वर्ष भएको छ। बोर्डको नियमन तथा व्यवस्थापन विभागले वि.सं २०७७ पुस २४ गते धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र टि+२ कायम गरिएको घोषणा सुनाएको थियो। नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट प्रणाली टि+२ मा गर्ने बोर्डको आव २०७७÷०७८ को नीति तथा कार्यक्रममा समेत रहेको थियो। यसैले सो कार्यान्वयनमा ल्याउन सीडीएस एन्ड क्लियरिङ लि.ले आफ्नो विनियममा भएको हालको टि+३ लाई टि+२ मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो। यससँगै सो व्यवस्था संशोधन भएर कार्यान्वयनमा आएपछि धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र छोटिई टि+२ कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको थियो। 

तर यो व्यवस्था लागू गरेको करिब एक महिनाकै अन्तरमा कार्यान्वयन नभएको भन्दै गुनासो बढे र समाचार बन्यो। बोर्डले मिति २०७७ माघ १४ मा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट चक्र टि+२ मा हुनुपर्ने व्यवस्था लागू भइसकेकोमा कतिपय धितोपत्र दलाल व्यवसायीहरूले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएको थियो। यसपछि बोर्डको पनि ध्यानाकर्षण भएको थियो। यससँगै वि.सं २०७७ माघ १८ गते बोर्डले फेरि प्रेस विज्ञप्ति जारी गर्दै यसो नगर्न निर्देशन दिएको थियो। यो सुरुवातीदेखि नै त्यति प्रभावकारी नभएको गुनासो लगानीकर्ताबाट आइरहेकै थियो र अहिले पनि धेरैको गुनासो छ।  

दैनिक ६–७ जना सेयर लगानीकर्ताहरूबाट बिक्री गरेको सेयरको पैसा २०–२५ दिनसम्म नपाएको भन्दै गुनासो सुनाउने गर्छन्। यो समस्याले विकराल रूप लिएको र ब्रोकरबाट पहुँच नपुगेका सोझासाझा लगानीकर्ता मर्कामा परेका छन्। अहिले पनि ब्रोकरको पैसा उठेन, कोष व्यवस्थापन गर्न सकेन भन्ने सुनिन्छ। यसो हुनु भनेको ब्रोकरले टि+२ लाई नअपनाएर हो।
नवराज दाहाल, लगानीकर्ता 

टिप्लस टु (टि+२) भनेपछि सोहीअनुसार ब्रोकरले कार्यान्वयन गर्नैपर्छ। कारोबार भएको दिन छोडेर थप दुई दिनमा राफसाफ हुनुपर्छ। यदि त्यसो भएको छैन भने बोर्डमा गुनासो आए हामी समाधान गर्नेछौं। सेवोनले ऐन, नियममा परिपालना नभएका व्यवस्थालाई सकारात्मक रूपमा लिँदैन। नीतिमा विकृति आएको छ भन बोर्डमा गुनासो आएमा सम्बोधन हुन्छ।
डा. नवराज अधिकारी, कार्यवाहक अध्यक्ष तथा कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड 

हल्लाको पछि लागेर ब्रोकरलाई बदनाम गर्न भएन। सेयर बेच्दा होस् वा किन्दा भोलिपल्टै पैसा माग्ने काम ब्रोकरले गर्ने गरेको छ। टि+२ कै नियमभित्र रहेर कारोबार भएको छ। टि+२ अनुसार राफसाफ हुन्छ। यसमा नेप्से, सीडीएससँगको प्रक्रिया हुन्छ। यसपछि बिल बनाउने काम हुन्छ। टि+३ मा किन्ने लगानीकर्ताको पैसा तिरेको छ भने सेयर पठाउने काम हुन्छ। बेच्ने लगानीकर्ताले सेयर पठाएको छैन भने जरिबानामा पर्छ। समयमै सबै भएको छ भने खातामा जान्छ। ब्रोकरले आफ्ना पहुँचवालालाई काँखी च्याप्यो भन्ने आरोप कहिल्यै समाधान हुँदैन। आफूहरूले कसैलाई विभेद नगरेको र कार्यालय समय अवधिभर जति काम हुन्छ सोही गर्ने हो। अहिले डिजिटल नै पैसा खातामा पठाउने गरेकोमा अधिकांश लगानीकर्ताको मर्जर भएको बैंकमा भने पैसा ट्रान्सफर हुन प्राविधिक समस्या भएकोले देखिएको हो।
धर्मराज सापकोटा, अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.