किर्ते नागरिकता बनाएर करोडौं ठगी

किर्ते नागरिकता बनाएर करोडौं ठगी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : धनुषाका नागेन्द्र यादवको नागरिकतामा सर्लाहीका रामसेवक सिंहको फोटो टाँसेर रामेश्वर सिंहले नयाँ किर्ते नागरिकता बनाए। आपूmलाई नागेन्द्र यादव बनाए। हरिवन ३ सर्लाहीका रामेश्वर सिंहले किर्ते नागरिकता बनाएर करोडौं ठगी गरे। ३५ वर्षीय सिंह हाल प्रहरी हिरासतमा छन्। उनको ठगी धन्दा भने सामान्य छैन। विभिन्न ठाउँँमा मेनपावर तथा कन्सल्टेन्सी खोल्दै ठगी गर्दै उनले पटक–पटक ४ करोड बढी ठगी गरेका छन्। 

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर नख्खुबाट पक्राउ गरेको हो। उनीसँगै रामसेवक सिंह पनि प्रहरी हिरासतमा छन्। रामसेवक र रामेश्वर ज्वाइँ जेठान हुन्। 

रामेश्वर सिंह बजाज ओभरसिजमा एक वर्ष काम गरेका थिए। त्यहीँ उनले वैदेशिक रोजगारमा पठाउने काम सिके। २०७४ सालमा काठमाडौंमा रहेको भेरी ओभरसिज किनेका थिए। यो ओभरसिजले वैदेशिक रोजगारमा जानेहरूलाई सुनौलो अवसर भन्दै रोमानिया, दुबई, कतार, साउदी पठाउन भन्दै २०० जनाबाट लाखौं रुपैयाँ उठाएर ठगी गरेका थिए। ठगी मुद्दामा डेढ वर्ष जेल बसेर छुटेका थिए। 

यसपछि उनले नागेन्द्रको नाम ठेगानामा रामसेवकको फोटो प्रयोग गरेर नयाँ नागरिकता बनाए। उक्त नागरिकता बोकेर पुनः ठगी धन्दामा लागे। आपूmलाई नागेन्द्र यादव भनेर चिनाए। यही नामबाट एनआईसी बैंक, कामना बैंकमासमेत खाता खोले। मान्छे एउटा, नाम अर्को र फोटो अर्का भएको नागरिकता प्रयोग गरेर बैंकहरूमा सजिलै खाता खुल्यो। यति मात्रै नभएर उनले साउथ नेपाल होल्डिङ, साउथ नेपाल कन्सल्टेन्सी, अन्जली होल्डीङलगायतका आधा दर्जन कम्पनी खोले र यी कम्पनीहरू विधिवत रूपमा नक्कली नागरिकताको विवरणमा नै दर्ता भएका छन्। 

अपराध अनुसन्धान कार्यालय काठमाडौंका डीएसपी गोबिन्द पन्थीका अनुसार आफूलाई धनुषाका नागेन्द्र भनेर चिनाएका रामेश्वरले विर्तामोड झापामा गएर विराट कन्सल्टेन्सी र काठमाडौंमा गढीमाई कन्सल्टेन्सी खोलेका थिए। त्यहाँबाट जर्मनी, अफगानिस्तान, क्रोएशिया र रोमानिया पठाउने भन्दै ४८ जनाबाट ७ लाखसम्म उठाएका छन्। पैसा उठाउने र त्यहाँबाट फरार हुने, अर्को ठाउँँमा गएर पुनः अर्को कम्पनी दर्ता गर्ने र ठगी सुरु गर्ने गर्थे। 

हरेक ठाउँमा नागेन्द्रका नाममा ठगी गर्दै हिँडेपछि पीडितहरू उजूरी लिएर अपराध अनुसन्धानमा पुगे। प्रहरी टोली नागेन्द्रलाई खोज्दै धनुषा पुग्यो। प्रहरी र पीडित त्यतिबेला चकित परे जब करोडौं ठगी गरेका नागेन्द्र खेत जोत्दै गरेको अवस्थामा फेला परे। नागेन्द्रलाई भेट्नासाथ पीडितहरूले ठगी गर्ने व्यक्ति यो होइन भनेर पत्ता लगाए। अनि मात्रै प्रहरीले अन्य व्यक्तिको नागरिकता किर्ते गरेर रामेश्वर सिंहले ठगी गर्ने गरेको पत्ता लगाए। 

अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर भन्छन्, ‘निकै चलाखीपूर्ण तरिकाले ठगी गर्दै हिँडेको देखियो। रामेश्वरको ठगी धन्दामा उनका ज्वाइँ र भाइले पनि सहयोग गर्ने गर्थे। परिचय नै बदलेर ललितपुरमा निकै भव्य तरिकाले बसेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राठौरका अनुसार पछिल्लो समय अनलाइन भिसा आएको भन्दै वैदेशिक रोजगारमा जाने व्यक्तिहरू ठगिन थालेका छन्। 

कारोबार पनि अनलाइनमार्फत नै गर्ने हुँदा पीडकहरू फरार हुने र पीडितहरू अप्ठ्यारोमा पर्ने घटना बढ्दो छ। उनले ठगी गरेका पीडितहरू एकै परिवारका ५ जनासम्म छन्। धेरै व्यक्तिले मानसिक तनाव झेलिरहेका छन्।

डीएसपी पन्थीका अनुसार, उनको ठगी कार्यमा सरकारी कर्मचारीको पनि मिलेमतो हुने सम्भावना छ। नक्कली नागरिकताबाट कम्पनी कसरी दर्ता भयो ? बैंक खाता कसरी खोलियो ? यो विषयमा अनुसन्धान अगाडि बढाएका छौं। रामेश्वर सिंह विरुद्ध २०७८ सालमा पनि ठगी मुद्दा दर्ता भएको थियो। २०७९ सालमा लागुऔषध मुद्दामा सिन्धुली कारागारमा २४ दिन थुनामा परेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.