जसले हिजो दिए, तिनलाई आज दिऔं

जसले हिजो दिए, तिनलाई आज दिऔं
सुन्नुहोस्

सरकारले दुई वर्ष घटाएर ६८ वर्षमै ज्येष्ठ नागरिक भत्ताको सेवा दिएको छ। जसबाट ६८ देखि ७० वर्षसम्मका तीन लाख बढी लाभग्राही थपिने देखिन्छ। तर, सरकारले दिँदै आएको मासिक चार हजार भत्ता जीवन धान्न नपुग्ने भइसकेको छ। ज्येष्ठ नागरिक भत्तालगायत सुविधामा वृद्धि गर्नुपर्ने देखिन्छ।

खसमा अब सातै प्रदेश र सबै ७ सय ५३ पालिकाले ज्येष्ठ नागरिकका लागि हेरचाह केन्द्र निर्माण गरी निःशुल्क सञ्चालन गर्नुपर्छ। जसलाई मनोरञ्जन एवं शारीरिक योगा तथा व्यायाम गर्न ज्येष्ठ नागरिक पार्कको व्यवस्था गर्नुपर्छ। ता कि तिनको स्वास्थ्यमा सकारात्मक परिवर्तन आओस्। समयको गतिसँगै जीवनशैलीमा परिवर्तन हुँदै छ। त्यसो त संस्कार र नैतिकता पनि हराउँदै जान थालेको छ। तितो यथार्थ यो छ कि शिक्षित व्यक्तिहरूबाटै वृद्धवृद्धाहरू अपहेलित र पीडित भएको पाइन्छ। यस्ता क्रियाकलाप हटाउन कडा कानुन बनाएर मात्र पुग्दैन, समाजमा वृद्धवृद्धाप्रति सकारात्मक धारणा ल्याउन घर–घर पुग्ने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। वृद्ध—वृद्धाका लागि सहज वातावरण सिर्जना गर्न समाजमा नैतिक शिक्षामार्फत सकारात्मक सोच बनाउनु नितान्त आवश्यक देखिन्छ।

ज्येष्ठ नागरिकको बहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा परिचालन गरी उहाँहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ। ज्येष्ठ नागरिकको ‘प्रोफाइल’ तयार गरी उनीहरूको क्षमताअनुसार राष्ट्रनिर्माणमा उपयोग गर्न अब सरकारले ढिलो गर्नुहुन्न। उनीहरूको अधिकार संरक्षणका लागि अभियान सञ्चालन गर्नु अर्को आवश्यकता देखिएको छ। ज्येष्ठ नागरिक स्याहारकर्तालाई तालिम सञ्चालन गर्नुपर्छ किनभने समाजमा वृद्धवृद्धाको हेरचाह प्रायः छोरा र बुहारीले गर्ने गरेका छन्।

ज्येष्ठ नागरिकसम्बन्धी विज्ञलाई ज्येष्ठ नागरिकसम्बन्धीको नीति निर्माण सहभागी गराउनु उचित हुनेछ। जसले तिनका समस्या समेट्न सहज हुन्छ। ज्येष्ठ नागरिकमैत्री वातावरण सिर्जना गर्ने जस्तै भौतिक संरचनाहरू, बजारलगायत कुरा पनि ज्येष्ठ नागरिकमैत्री बनाउनै पर्छ। वृद्धवृद्धालाई हेरचाह केन्द्रमा राख्दा नैराश्यता बढ्ने गरेको छ। सन्तान टाढा भए वा सन्तान नभएका वृद्धवृद्धालाई पनि व्यवस्थित हेरचाह केन्द्र हुनुपर्छ। सर्वप्रथम त वृद्धवृद्धाको योगदान तथा सिर्जनात्मक कार्यलाई घर–घरमा कदरको व्यवस्था गर्न आवश्यक छ। ताकि तिनलाई समाजमा अर्थपूर्ण जीवन बाँचिरहेछु भन्ने महसुस होस्। अझ समाजमा योगदान गरिरहेछु भन्ने होस्।

खासमा बुवाआमाले सन्तान हुर्काउँदा जुन कष्ट बेहोरेका हुन्छन्, त्यो ऋण त सन्तानले कहिल्यै तिर्न सक्दैनन् भनी चाणक्यले आफ्नो नितिमा उल्लेख गरेका छन्। सबै नागरिकले यो यथार्थ बुझ्न जरुरी छ। आजको बालबालिका नै हुन् भोलि वृद्धवृद्धा हुने। आफूले गर्ने अभिभावकप्रतिको कर्तव्य बिर्सिने संस्कारले नै अहिलेको समाजको ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण बिग्रिएको हो। ‘जुन छोराछोरीले श्रद्धाहीन, दुःशील, कपटी, कन्जुस, मूर्ख आमाबाबुलाई पनि श्रद्धाशील, सुशील, दानी, त्यागी, ज्ञानी र बुद्धिमान बनाउन सक्छ, ती छोराछोरीले मात्र केही ऋण तिर्न सक्छन्’ भनिएको छ।

ज्येष्ठ नागरिक स्वयं आफू पनि हरेक कुरामा सचेत हुन आवश्यक छ। धूमपान, मद्यपान नगर्ने, सरसफाइमा ध्यान दिने, सन्तुलित भोजन गर्ने बानी बसाल्ने, दैनिक हल्का व्यायाम गर्ने, बिहान खुला ठाउँमा हिँड्डुल गर्ने आदि। व्यायामले रक्तनलीसम्बन्धी रोगहरू लाग्नबाट बचाउँछ। हाड र मांसपेशीलाई बलियो बनाउँछ। अनि गर्छ श्वास–प्रश्वास र रक्तसञ्चार प्रक्रिया सहज बनाउँछ। यी सबै कार्यले उनीहरूमा पर्याप्त निन्द्रा आउँछ। जसले स्वस्थ, शान्त र सुखी रहन मद्दत गर्छ। कारणवश पर्याप्त निद्रा नभए चिडचिडाहट हुने, निराश हुने, बिर्सने, लड्ने वा अन्य दुर्घटना हुने सम्भावना बढी हुन्छ। त्यसैले हरेक दिन समयमै र एकै समयमा सुत्ने र एकै समयमा उठ्ने प्रयास गर्ने बानी बसाल्नुपर्छ। यसमा परिवारका सबै सदस्य उत्तिकै जिम्मेवार बन्नुपर्छ।

सबैले मनन गर्नुपर्ने कुरो यो छ कि बुढेसकालको अर्थ नै जीवन यात्राको अन्तिम चरण हो। जुन चरणमा आध्यात्मिक चिन्न्तन र मनन नितान्त आवश्यक छ। यसलाई आफैंले प्रयास र अभ्यास गरेर जीवन सहजताका साथ बिताउनुपर्छ। यी सबै गतिविधिमा राज्य, परिवार र समाजले ध्यान दिएमा ज्येष्ठ नागरिकका यावत समस्याहरू घटाउन सकिन्छ। समाज र राज्य किन यसबेला बढी जिम्मेवार छ भने युवावस्थामा उनीहरूले समाज र राष्ट्रका लागि ठूलो योगदान गरेका हुन्छन्। अन्य देशमा जस्तै नेपालमा पनि वृद्धवृद्धालाई सहज र पारिवारिक वातावरण उपलब्ध गराउनेतर्फ सबैको ध्यान जानैपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.