काठमाडौं : नेकपा (माओवादी केन्द्र)का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समूहगत सुझावमाथि आज जवाफ दिँदैछन्। प्रथम विधान अधिवेशनको तेस्रो दिन आज समूहगत छलफलबाट प्राप्त सुझाव दिन बाँकी ७ नेताको प्रस्तुत पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यतालिका छ।
प्रचण्डले पेश गरेको विधान मस्यौंदामाथि समूहगत सुझाव समूह नेताले प्रस्तुत गरिरहेका छन्। बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेका छन् ।
मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।
सुझाव पेश गर्ने क्रममा नेताहरुले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद,वेपत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिएका छन्। प्रस्तावनालाई छरितो बनाउनुपर्ने,पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको भन्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने उनीहरुको सु्झाव छ।