आईसीसी क्रिकेट विश्वकप लिग-२ : अनिल साहको अर्धसतक
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको नेदरल्याण्ड्सविरुद्धको खेलमा अनिल साहले अर्धसतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा साहले २९ बलमा ५२ रन बनाएका हुन्।
साहले ४ छक्का र ५ चौका प्रहार गरे। अहिले ओपनर आसिफ शेख र अनिल साह क्रिजमा छन्। नेपालले १३ ओभरको समाप्तिमा १२८ रन बनाएर खेलिरहेको छ। शेखले हालसम्म ४६ रन बनाएका छन्।
आक्रामक ब्याटिङ गरेका नेपालका ओपनर कुशल भुर्तेल आउट भएका थिए। उनी ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर क्याच आउट भए।नेदरल्याण्ड्सका भिभिएन किंग्माले भुर्तेलको विकेट लिएका हुन्।
३९ ओभरमा सबै विकेटको गुमाएर नेदरल्याण्ड्सले १३७ रन बनाएको थियो।
यस अगाडि टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ'डाउडले १०/१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।