धसिंग्रेको व्यावसायिक खेती
रसुवा : उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा रहेको भारेघारी सामुदायिक वनमा धसिंग्रेको व्यावसायिक खेती सुरु गरिएको हो। वन पैदावर धसिंग्रेको रसुवामा व्यावसायिक खेती सुरु भएको हो।
धसिंग्रेबाट राम्रो आम्दानी हुने र तेल उत्पादनसमेत बढ्ने स्थानीय युवा उद्यमी तथा जडीबुटी व्यवसायी संघ रसुवाका संयोजक भीमबहादुर तामाङले बताए। सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा धसिंग्रे पाइने भए पनि यसले आवश्यकता पूर्ति गर्न नसकेको उनले सुनाए।
डिभिजन वन कार्यालय रसुवा र तामाङको पहलमा खेती सुरु गरिएको हो। त्यहाँ ३६ हजार बिरुवा रोपिएका छन्। डिभिजन वन कार्यालयको क्षेत्रभन्दा लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा बढी मात्रामा धसिंग्रे पाइन्छ। निकुञ्जले संकलनका लागि अनुमति दिएको छैन। ‘जंगलमा खेर जाने धसिंग्रेको पातबाट औषधीय तेल बन्छ। त्यसैले हामीले धेरै बिरुवा रोपेर व्यावसायिक खेती गर्न थालेका छौं,’ तामाङले भने, ‘व्यावसायिक खेती सुरु भएसँगै तेल उत्पादनका लागि कच्चा पदार्थको अभाव नहुने विश्वास छ।’
धसिंग्रे पातबाट तेल उत्पादन
हिमाली क्षेत्रमा पाइने जडीबुटीबाट तेल उत्पादन गरेर स्थानीयले आम्दानी लिन थालेका छन्। २ हजार ५ सय मिटर उचाइमा रहेको कालिका गाउँपालिका–२ स्थित स्याउबारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले जडीबुटीको तेल उत्पादन सुरु गरेको हो।
गोम्बोडाँडा, प्रांसे, ढुंगेलगायतका गाउँका किसानले यसबाट आम्दानी लिने गरेका छन्। रसुवाको स्याउबारीमा रहेको धसिंग्रे तेल उत्पादन केन्द्र सञ्चालनमा आएको छ। भूकम्पका कारण तीन वर्षदेखि बन्द थियो। स्याउबारी मध्यवर्ती सामुदायिक वनले २०६६ सालमा तेल उत्पादन केन्द्र सुरु गरेको होे। लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको सहयोगमा उत्पादन केन्द्र स्थापना गरिएको थियो। यहाँ उत्पादन गरेको तेल प्रतिकेजी ३ हजार ५ सय रुपैयाँमा बिक्री हुने विक्रम लोप्चनले बताए। उनले भने, ‘भूकम्पका कारण क्षति पुगेको तेल उत्पादन केन्द्र पुनः स्थापनापछि उत्पादन हुन थालेको छ।’
स्थानीय जंगलबाट कच्चा पदार्थ अपुग हुने भएकाले आधा वर्षमात्र केन्द्रले तेल उत्पादन गर्छ। वर्षमा लगभग ८० केजी तेल उत्पादन हुन्छ। बर्सेनि जंगलमा आगलागी हुने कारण धसिंग्रे कम हुँदै गएको हो। वरिपरिको अरू जंगलबाट पनि कच्चा पदार्थ संकलन गर्दा उत्पादन भएको तेलका लागि बजार अभाव नहुने लोप्चनले सुनाए।
धसिंग्रे निकुञ्ज क्षेत्रमा बढी पाइन्छ। निकुञ्ज क्षेत्रमा संकलन गर्न अनुमति पाए कच्चापदार्थ अभाव नहुने उपभोक्ता बताउँछन्। सामुदायिक वन कार्ययोजनामा उल्लेख भएको अवस्थामा कच्चा पदार्थ संकलन अनुमति दिन मिल्ने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
स्याउबारी मध्यवर्ती सामुदायिक उपभोक्ता समितिले सञ्चालन गरेको तेल उत्पादन केन्द्रले वार्षिक ६ सय लिटर तेल उत्पादन गर्न सक्ने क्षमता भए पनि आवश्यक कच्चा पदार्थको अभावमा करिब दुई सय लिटरमात्रै उत्पादन हुने गरेको छ। केन्द्रले १ सय २१ हेक्टरको सामुदायिक वन क्षेत्रमा मात्र धसिंग्रेको पात संकलन गर्ने गरेको छ। वार्षिक एक लाख केजी पात संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्यअनुसारको पात संकलन हुन सकेको छैन।
केही वर्ष अघिसम्म पर्याप्त मात्रामा धसिंग्रे सामुदायिक वन क्षेत्रमा पाइने भए पनि दुई वर्षअघि वनमा डँढेलोको कारण वनमा उत्पादन घटेको छ। ‘देशमा मात्र होइन, हाम्रो उत्पादन विदेशमा समेत निर्यात गरिरहेका छौ,’ लोप्चनले भने, ‘धसिंगे्रका लागि वनमा मात्र भर पर्नुपर्ने बाध्यता छ।’ नर्सरीमा उत्पादन गर्न सके कच्चा पदार्थको कमी नहुने लोप्चनले बताए। यस वर्ष एक सय लिटरभन्दा बढी तेल उत्पादन गर्ने लक्ष्य राखिएको उनले सुनाए। उत्पादित धसिंग्रेको तेल निजी कम्पनीमार्फत भारत र युरोपियन मुलुकमा समेत निर्यात हुने गरेको छ।