‘समग्र बैंकिङ क्षेत्र सबल’
![‘समग्र बैंकिङ क्षेत्र सबल’](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-Rastra-Bank-59113b0ee87404.12453131_aHUVF9rOdJ_EsfAiRxUIk.jpg)
काठमाडौं : बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको नेपाल राष्ट्र बैंकले निचोड निकालेको छ। पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू तोकिएको निर्देशन अनुरूप नै रहेको बताएको छ।
कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा केन्द्रीय बैंकले समयसमयमा आवश्यक निर्देशन दिएर सुधार गराउँदै आइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने भएकाले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ। यसैले राष्ट्र बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ। इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।
बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको भन्दै नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ। यसर्थ बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेकोबारे सरोकारवालालाई ध्यानाकर्षण गरेको छ। जबकि बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरूसमेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहेको तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको छ।
यसैक्रममा पूर्वबैंकर पर्शुराम कुँवरक्षेत्री बैंकिङ क्षेत्र एकदमै संवेदनशील भएकाले यस्तो विषयमा तथ्यभन्दा बाहिर रहेर बोल्ने र भ्रामक सूचना प्रचार तथा प्रसार गर्ने अधिकार कसैलाई नभएको बताउँछन्। उनी भन्छन्, ‘तसर्थ बैंकहरूको बारेमा (अझ कुनै अमुक बैंकको नामै लिएर) बोल्दा वा लेख्दा निकै नै संवेदनशील हुन जरुरी हुन्छ। अनावश्यक र अनर्गल प्रचार गर्ने, भ्रम सिर्जना गर्ने, उत्तेजना फैलाउने आदि गर्नु हँुदैन र यस्ता प्रचार गर्नेहरूलाई निरुत्साह गर्ने र राज्यले पनि बेलैमा कानुनबमोजिम आवश्यक कार्बाही गर्नुपर्छ।’ दुष्प्रचार गर्नेविरुद्ध वक्तव्यमात्रै पर्याप्त नहुने बताउँदै पूर्वबैंकर कुँवरले अन्नपूर्णसँग भने, ‘सम्बन्धित निकायले वक्तव्यमात्रै निकालेर पुग्दैन। गलत प्रचार भइरहँदा सरकारले छिट्टै कानुनबमोजिम कार्बाही गर्नुपर्छ। राज्यले यसरी टुलुटुलु हेरेर बस्न भएन।’
अनावश्यक र अनर्गल प्रचार गरी उत्तोजना फैलाउनेलाई राज्यले कानुनबमोजिम आवश्यक कार्बाही गर्नुपर्छ। पर्शुराम कुँवरक्षेत्री, पूर्वबैंकर
राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरूको, खास गरेर ठूला संस्थाहरूको अनुगमन अति नै नजिकबाट गरिरहेको उनको भनाइ छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न तथ्यांकहरू दैनिक, साप्ताहिक, मासिक र त्रैमासिक रूपमा लिएर अनुगमन गर्नाको साथै आवधिक (सामान्यतः वार्षिक), लक्षित र विशेष निरीक्षण तथा सुपरिवेक्षण गरेर आवश्यक कार्यबाही गर्दछ र यस्ता कार्यबाहीको विवरण त्रैमासिक रूपमा प्रकाशित पनि हुँदै आएको छ।
नेपालका बंैकहरूका परिसूचकलाई केलाउँदा तोकिएको सीमाभित्रै छन्। चालु आवको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन पनि सार्वजनिक भइसकेका छन्। यसमा मुख्य वित्तीय परिसूचक पुँजीकोष न्यूनतम ११ प्रतिशत हुनु पर्नेछ। सार्वजनिक तथ्यांकअनुसार सबै बैंकहरू सोही सीमाभित्र छन्। यस्तै, बैंकसँग अनिवार्य तरलता २० प्रतिशत हुनुपर्छ। अहिले औसत २८ प्रतिशत हाराहारीमा छ। यससँगै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा बढी हुनु हुँदैन।
यतिबेला बैंकहरूमा सो सीमा कसिलो अवस्थामा छैनन्।
बरु पर्याप्त लगानीयोग्य पुँजीको अवस्थामा छन् अर्थात् वाणिज्य बैंकहरूको सीडी रेसिओ औसत ८०.१५ प्रतिशत छ। बरु समग्र अर्थतन्त्रमा केही दबाब परेकाले कर्जाको माग भइरहेको छैन। यसले गर्दा भने बैंक दबाबमा परेको बैंकविज्ञ कुँवर औंल्याउँछन्। लगानी गरेर ब्याज आम्दानी गर्नुपर्ने पैसा निक्षेपमा मात्रै थुप्रिँदा उल्टै बैंकले भार बोक्नु परेको छ। उनी भन्छन्, ‘उनीहरूसँग प्रशस्त तरलता छ। यतिबेला एक तिहाइ तरलता छ। यो तुरुन्तै नगदमा परिणत गर्ने क्षमता बैंकसँग छ। यसैले सर्वसाधारणको निक्षेप नै फिर्ता दिन नसक्ने भन्ने होइन। यस्ता गलत प्रचार गर्नेलाई आधार के भनेर कार्बाही हुनुपर्छ।
यता निष्क्रिय कर्जा (एनपीएल) हालका दिनमा बढेर वाणिज्य बैंकको मात्रै औसत ३.४० प्रतिशतमा छ। एउटा बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथिलाई भने उचित मानिँदैन। यसैले अहिलेसम्मको निष्क्रियकर्जा स्वीकारयोग्य स्तरमा रहेको बैंकविज्ञ कुँवर बताउँछन्। ‘विभिन्न किसिमका सक्सहरू बहन गर्न पुँजी पर्याप्त छ। बैंकको परिसूचक त राम्रा छन् तर व्यापार हो कहिले बढी नाफा त कहिले कम नाफा हुनु स्वाभाविक हो,’ उनले थपे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)