विषाक्त मासुका कारण मर्न थाले गिद्ध

विषाक्त मासुका कारण मर्न थाले गिद्ध
फाइल तस्बिर।

काठमाडौं : मुलुकमा खुलेआम विषाक्त औषधिको बिक्री वितरण भइरहेको छ। त्यसमा मारमा छन्– लोपोन्मुख प्रजातिका पन्छी तथा जनावरहरू। यस्ता औषधिको बिक्री वितरणमा नियमन तथा नियन्त्रण गर्न नसके लोपोन्मुख तथा अति संकटापन्न प्रजातिहरू लोपै भएर जाने विज्ञ तथा संरक्षणकर्मी बताउँछन्।  

यसै साता नवलपरासीमा विषाक्त औषधि भएको स्यालको मासु खाँदा सातवटा गिद्ध मरे। त्यसमा एउटा सुन गिद्ध थियो। अरू डंगर र हिमाली गिद्ध थिए। सुन गिद्ध र डंगर प्रजातिका गिद्ध अति संकटापन्न समूहमा पर्छन्। यस्तै, विषाक्त मासु खाएर ६ वटा गिद्ध बिरामी परेका छन्। गिद्ध संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको जटायु रेष्टुरेन्टका अध्यक्ष तथा संरक्षणकर्मी डीबी चौधरी भन्छन्, ‘६ वटाको उपचार भइरहेको छ।’ स्थानीयहरूले खुल्लेआम रूपमा विषाक्त औषधिको प्रयोग गर्दा यस्तो परिणाम आएको उनले दाबी गरे। उनका अनुसार घरपालुवा जनावर तथा पन्छीलाई जोगाउन कुकुर, स्याललाई स्थानीयले विष हालेर मासु तथा मरेका कुखुराहरू खुवाउँछन्। त्यस्तो मासु स्याल र कुकुरले खाएर मर्छन्। तिनै मरेका स्याल र कुकुरको मासु खाएर गिद्ध मर्छन्। यो समस्या निकै बिकराल चुनौतीका रूपमा विकसित भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

‘कुन प्रकारका औषधि प्रयोग भइरहेको छ ? कानुनी रूपमा बेचबिखनको अवस्था के छ ?’ उनको प्रश्न छ, ‘के औषधि खाएर स्याल मर्‍यो भन्ने विषय यकिन भएको छैन।’

गिद्धहरू मरेकै ठाउँमा भेटिएको स्यालको मासु परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको भए पनि रिपोर्ट आएको छैन। तर, योभन्दा पहिला यस्तै खालका घटनाको नमुना परीक्षण गर्दा प्रयोगशालाबाट कुनै कुरा पत्ता नलागेको (नट डिटेक्टेड) भनेर रिपोर्ट आउँदा मन खिन्न भएको चौधरीले बताए। ‘कुन औषधिले स्याल मर्‍यो, त्यो पत्ता लगाउन नसक्दा हामी अगाडि बढ्न सकेका छैनौं’, चौधरीले थपे, ‘यस विषयमा कुन निकायमा कुरा गर्ने ? 

कसले नियमनकारी भूमिका खेल्ने हो भन्ने पनि समस्या छ।’ राज्यको सरोकारवाला निकाय र जनता सचेत नभएसम्म समस्या रहिरहने उनले गुनासो गरे।

चौधरीका अनुसार यस वर्ष मात्रै तीनपटक गरेर विषाक्त औषधिका कारण २४ वटा गिद्ध मरिसकेका छन। गत वर्ष मार्चमा जटायु रेष्टुरेन्टको ब्रिडिङ सेन्टरबाट छोडिएको भोलिपल्टै १३ वटा गिद्ध मरे। त्यसको केही समयपछि कुकुर र स्यालको मासु खाएर अरू चारवटा गिद्ध मरेका थिए। तीन वर्ष पहिला नवलपरासीमा ६९ वटा गिद्ध एकैपटक मरेको भेटिएको थियो। बर्दघाट क्षेत्रमा तीन वर्ष पहिला १८ वटा गिद्ध मरेका थिए। यस्ता घटनाले संरक्षणकर्मीहरू निराश बनेको चौधरीले बताए। 

वरिष्ठ चराविद् डा. हेमसागर बराल भन्छन्, ‘विषाक्त औषधिको प्रयोग सरकारले चाहेमा तुरुन्त रोक्न सक्छ। प्रेस्किृप्सन बिना औषधि किन्न नपाउने व्यवस्था हुनुपर्‍यो। तर, एग्रोभेटहरूमा विषाक्त औषधि किन्न सजिलै पाइने हुँदा यस्तो परिणाम आएको हो।’ 

विगतमा पशुहरूलाई दिइने औषधि डाइक्लोफेनेकका कारण गिद्धको संख्यामा अत्यधिक गिरावट आएको थियो। यो दशकमा मात्रै ९० प्रतिशतभन्दा धेरै गिद्धको संख्या घटेकोे बरालले बताए। तर, जब सरकारले डाइक्लोफेनेक औषधिको बिक्री वितरण रोक लगायो। गिद्धको संख्या पहिला भन्दा राम्रो अवस्थामा आएको छ। तर, हिजोआज प्रत्यक्ष विष प्रयोग गर्ने प्रवृत्तिले लोपोन्मुख तथा संकटापन्न प्रजातिहरू पुनः मारमा पर्न थालेका छन्। गिद्ध जस्तै सिकारी चरा गोमायु महाचील, काग, जंगली जनावरहरू पनि मारमा परेको बरालले बताए। 

मुलुकमा संकटापन्न डंगर गिद्धको संख्या करिब दुई हजार छ। पहिला डंगर गिद्ध देशका सबैतिर पाइन्थ्यो। तर, विषाक्त औषधिको अत्यधिक प्रयोग, वातावरणीय तथा मानवीय अतिक्रमण लगायतका कारण हाल कोशी क्षेत्रमा थोरै मात्रामा पाइन्छ। बरालले भने, ‘पूर्वमा सखापै छ । मधेस प्रदेशमा पहिला पाइए पनि अहिले पाइन्न। चितवनको नारायणी र नवलपरासीतिर यसको वासस्थान राम्रो रहेको छ।’  

गिद्धको उपस्थिति पारिस्थितिक प्रणालीका हिसाबले एकदमै महत्वपूर्ण मानिन्छ। गिद्ध पाइने ठाउँलाई वातावरणीय रूपमा सफा क्षेत्र मानिन्छ।  

गिद्धले फोहोर तथा मरेका जीवजन्तु खाएर प्रकृतिलाई सफा गरेर रोगव्याधी फैलिनबाट बचाउँछ । यसले प्लेग, क्षयरोग, रेबिज, हैजा, आउँ, झाडापखाला, वायुमा हुनसक्ने विभिन्न खालका किटाणुबाट सर्ने सरुवा रोगबाट मानव जातिलाई जोगाउने गर्छ। पर्यावरण, जैविक विविधतामा यसको भूमिका उल्लेखनीय रहेको बरालले बताए। तर, विषाक्त औषधिको प्रयोगले संकटापन्न प्रजातिको संरक्षणमा गम्भीर चुनौती थपिदिएको छ । 

जटायु रेष्टुरेन्टका अध्यक्ष चौधरीले पनि अतिसंकटापन्न प्रजातीहरूलाई जोगाउन सरकारले जथाभावी औषधिको बिक्री वितरण नियन्त्रण गर्न अति आवश्यक रहेको बताए। सन् २००५ मा गिद्धका लागि जटायु रेष्टुरेन्ट स्थापनापछि विश्वभरि नै नेपाल नमुना बनको थियो। तर, विष खाएर मर्ने घटनाले समस्या सिर्जना गरेको गुनासो गरे। 

उनका अनुसार जटायु रेष्टुरेन्ट स्थापना गर्दा ७२ वटा गिद्ध थिए। सन् २०२३ मा पाँच सय १७ वटासम्म पुगेका थिए। संसारमा २३ प्रकारका गिद्ध पाइन्छन्। नेपालमा नौ प्रकारका गिद्ध पाइन्छन। जटायु रेष्टुरेन्टमा ८ प्रकारका गिद्ध छन्। सुन गिद्ध जम्मा ५ वटा मात्रै थियो। एउटा सिनो खाएर मरयो। डंगर प्रजाति चार सयभन्दा माथि छ। यिनीहरू अति संकटापन्न प्रजाति हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.